आमा भएर बोकी हेर सन्तानका पीरहरू
आमा भएर बाँडी हेर सन्तानका खुसीहरू
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँची हेर सन्ताप अनि दुःखमा
एक पल्ट नियाली हेर आमाका दुवै आँखामा
बुझ्न खोज त्यसमा लुकेका दुःख सुस्केराहरू
एक पल्ट अडेर हेर आमाको सङ्लो मनमा
छुन सक त्यसमा उर्लेका माया ममताहरू
धर्ती भई एक चोटी सही हेर अरुले कुल्चेको
आगो भई एक चोटी बली हेर अरुले तापेको
आकास भई फैलाई हेर मायाको ओढ्ने
पवन बनेर फिंजाई हेर स्नेहको बिछ्यौना
शब्द – चाँदनी शाह
स्वर – तारादेवी
