विश्वका सर्वश्रेष्ठ लेखकहरू मित्र सजिलै पर्ने लेभ तोल्सतोईको जीवनरोचक तथा मार्मिक अभिव्यञ्जनाहरूले भरिएको छ । आत्मरूपान्तरणको लागि उनको जीवन विश्वका स्रष्टाको निम्ति प्रेरणाको पुञ्ज बनेको छ । आफू एक कुलिन, धनाढ्य र असाध्यै सम्पन्न जमिनदार या सामन्तको छोराको रूपमा जन्मिएर जीवनका ऊर्वर यौवनकालमा रक्सी, रण्डी, मांश, मिष्ठान्न, शिकार, जुवा, जाँडमा डुबेर ऐसआरामको जीवन भोग्दै उत्तरार्धमा त्यसकै अन्तर्गमबाट यी तमाम चीजहरूको निस्सारतालाई सूक्ष्म रूपमा अनुभूत गरेर एक त्यागी सिद्ध, सन्तको जीवनलाई अनावरण गरे ।
त्यति धेरै मासु खाने मान्छे मासु छोडिदिए, जुवा, जाँड छोडिदिए, शिकार खेल्ने बानीदेखि चुरोट खाने आदतसम्म परित्याग गरिदिए । आफ्नो लुगा आफैँ सिएर लाउन थाले । सार्कीसँग जुत्ता सिउने सीप सिकेर आफ्नो लागि टेक्न जुत्ताधरी आफैंले सिउन थाले । आत्मनिर्भर तथा स्वालम्बी जीवन बाँच्नुपर्छ । प्रत्येक व्यक्तिले आफ्नो श्रम, पसिना र खुट्टामा उभिएर जिउनुपर्छ भनेर पानी ल्याउने, दाउरा काट्न जाने, लुगा धुने, बारी खन्ने, खेत जोत्ने, पराल ओसार्ने आदि साना–साना कामहरूमा उनी यति दिलचस्पीका साथ संलग्न हुन थाले, आखिर उनीलाई नपुग्दो केही थिएन । आफ्नो पुरानो जिम्दारी पाराको शौखिन र विलासी जीवनलाई पूर्णरूपणे परित्याग गरी संसारका रइसहरूलाई रूपान्तरणको मार्ग सहज, सुखपूर्ण र खुल्ला छ भन्ने कुरा देखाइदिए ।
उनले आफ्नो पुरानो जण्ड व्यवहारमा हथौडा बजारेर सरलतापूर्ण सहज जीवनको प्रादूर्भाव गरे । पुरानोखाले क्रिश्चियन समाजको जड नैतिक मान्यतालाई भत्काउनको लागि यति सुन्दरखालका नैतिक शिक्षाको उद्घाटन गरिदिए कि उनका चेलाचपेटाहरू संसारभरि फैलिन थाले । स्वय म भारतका महात्मा गान्धी धरी तोल्स्तोईको नैतिक मान्यताबाट अत्यन्त प्रभावित थिए । तोल्सोईबाटै प्र्रभावप्रेरणा ग्रहण गरेर सत्याग्रह र अहिंसाको आन्दोलनको सूत्रपात गरेका थिए । उनले आफ्नो असीमित जग्गा–जमिन सारा भूदासहरूलाई बाँडेनन् कि दरिद्र र अभावग्रस्त मानिसहरूलाई आफ्नो पैसा र धन बाँडेनन् कि जाडोले कामिरहेको मानिसलाई कोट र लुगा बाँडेनन् कि आफ्नो सम्पत्तिबाट एक नीजि स्कुल खोलेर मानिसहरूलाई शिक्षित गर्ने काममा जुटेनन् कि यी सारा कामहरू उनले सम्पन्न गरे तर गरिब र विपन्न मानिसहरूलाई धन र पैसा बाँडदा उनीहरूले त्यो पैसा सदुपयोग गर्नुको सट्टा जुँवा, जाँड र चुरोटको धुवाँमा उडाएर सकेको देख्दा एउटा कटुसत्यको बोध गरे– पैसा भन्ने चीज खराब रहेछ । सम्पत्ति भन्ने चीजै अनैतिक बस्तु रहेछ ।
बूढा तोत्स्तोईलाई आदर्शको भूत यसरी चढ्यो कि आफ्नो पुस्तकबाट हुने आम्दानीको पैसा पनि नलिने घोषणा गरिदिए । फलस्वरूप उनकी श्रीमतीसँग कटुता पनि बढ्यो । श्रीमती सोन्याको थाप्लोमा तेह्र–तेह्रवटा सन्तानको आर्थिक भार थियो । जीवनको उत्तरार्धमा बूढाबूढीको द्वन्द्व झन्झन् बढ्दै गयो । आफूभन्दा उमेरमा केही जवान रहेकी श्रीमती सोन्या पनि के कम एक संगतिज्ञसँग सल्किन थालिन् । बयासी वर्षको उमेरमा राति घरबाट सुटुक्क निस्के, रेल चढेर कुनै अज्ञात ठाउँमा शान्तिको जीवन बिताउन हिँडेका उनी रुसको ठाउँ चिसोको मौसम ठण्डीको प्रकोपले ग्रस्त पार्दै लग्यो । चिसोले श्वासप्रश्वासलाई अप्ठ्यारो पार्दै लगेपछि अस्तापोभो स्टेसनमा रेलबाट खोरालियो । एउटा विश्वविख्यात लेखकको यो हविगत सुनेपछि सारा ठाउँबाट पत्रकार, डाक्टर, लेखक र बुद्धिजीवीहरू ओइरिन थाले । घरबाट स्वास्नी, छोराहरूबाट भागेका लेखकको भागेको १२ दिनपछि सन् १९१०मा निधन भयो, जब कि उनको जन्म १८२८मा भएको थियो ।
खराब चीजको विरोध नगर, नरिसाऊ, एउटै आइमाइसँग विश्वासपात्र होऊ, अनि यौततृष्णाप्रति संयम गर, किरिया नखाऊ, छिमेकीलाई माया गर भन्दै नवीन नैतिक मूल्यहरूको प्रतिष्ठापनमा जुटेका तोल्स्तोईको जीवन करिष्मामयी घटना परिघटनाहरूले भरिएको छ । उनले लेखेका दर्जनौं कृतिहरूले अहिलेपनि संसारलाई विवेकका आँखाहरू दिइरहेको छ । तिक्ष्ण प्रज्ञाचेत उमार्न उनका कृतिहरू एकसे एक बेजोड छन् । सबभन्दा अद्भूत कुरा त उनको जीवनी नै हो । उनले तत्कालीन रुसमा एकातिर पुरातन क्रिस्चियन रुढ अन्धविश्वासी नैतिक मूल्यलाई ढालिदिए भने अर्कोतिर जारशासकको अत्याचारका पर्दाहरू च्यातिदिए । जसले गर्दा तत्कालीन रुसलाई परिवर्तनको संघारतिर लम्किन बल प्रदान गर्यो ।
२०६४।१२।६
