Skip to content
BakhatBahadurThapa


सबैभन्दा पहिला रत्नपार्क पुगेको घरलाई ‘क’ भन्यौँ । निकै दुःखी देखिन्थ्यो ऊ । भूकम्पपछिका परकम्पहरू आउँदै थिए । ‘क’का जोर्नीहरू खुकुलिँदै थिए । आफ्ना हल्लिँदै र छुट्टिँदै गरेका अङ्गहरू देखेर छट्पटिनु सिवाय केही गर्न सक्दैन ऊ । जब भूकम्पको घच्घचाइले दायाँबायाँका घरहरूलाई अँगाल्ला जस्तो देखिन्थ्यो ‘क’ तब आफ्नै घरलाई यमराज ठानेर कहालिँदै भागेको थियो उसको साहु । साहुको त्यो आतंकित व्यवहारले झन् नूनचुक थप्यो ‘क’का घाउमा ! अब ऊ आफ्नो मनलाई शान्त राख्न चाहन्थ्यो, तर पटकपटक आउँदै गरेका परकम्पले उसको मुटुलाई घोचिरहेका थिए । उसको भयभित दृष्टि वरपर दौडँदै थियो ।

दक्षिणतिरबाट पुरै ढल्केर आयो ‘ह’ भन्न सुहाउँदो घर ! निन्याउरिएको थियो ऊ ।

‘क’ले आश्चर्य मान्दै सोध्यो, “ओ हो हो…, म त खुब बलियो छु भनेर फूर्ति गर्ने ‘ह’लाई पनि छोडेन छ भुइँचालाले ! छिमेकीहरूकै सातो लिने स्थितिमा पुगेछौ त तिमी ? अब तिम्रो नाम धराप राख्नु पर्छ !”

“हो हजुर, टोलवासीहरूको कुरै छोडौँ, मलाई हेर्न त टाढाटाडाबाट पनि आउँछन् मान्छे । छिमेकीका साहुहरू मेरा डरले आफ्नै घर छोडेर पर पालमा लुकेका छन् । बेला बखत पालको दुलोबाट टाउको निकालेर हेरिराख्छन्, सायद मलाई ढल्यो कि भन्ने आशाले होला । तिनको कचकचले नगरपालिकामा गएर ‘घर भत्काई पाऊँ’ भन्ने निवेदन हालेको छ मेरा साहुले !” लामो सुस्केरा हाल्यो ‘ह’ले ।

‘क’ले आँखा तिखार्दै भन्यो, “हैन हो ! एकतर्फको पिलर भास्सियो कि के हो तिम्रो ?”

“उत्तर–पश्चिम कुनामा पिलर राख्नलाई खाल्टो खन्दा कालोमाटो निस्क्यो । कालोमाटो भिजेमा दलदल हुन्छ, सुकेमा फुसफुस । यो कुरा मेरा साहुलाई थाहा रहेछ । दुःखी भयो र इन्जिनियरलाई बोलायो । इन्जिनियरले पनि राम्रो सङ्केत मानेन त्यसलाई । तिनले कति गहिराइसम्म कालोमाटो छ ? जान्नलाई मेसिन ल्याए । त्यस मेसिनले निकै तलको माटो निकालेर हेर्दा पनि कालोमाटो नै देखियो । घडेरी किन्दा फराकिलो जमिनको के काम ? आकाशिनु पर्छ ! छतबाट हेर्दा पुरै काठमाडौँ देखियोस् न ! कसैलाई ठेगाना दिँदा पनि आँखै चिम्लेर ‘ए सबैभन्दा अग्लो घरमा आइज न’भन्दा भइहाल्यो भन्ने मान्यता राख्थ्यो साहु । कुन कुन ठाउँमा पिलर राखेर घर बनाउने भन्ने हिसाब किताब लगाएर किनेको थियो जग्गा । यता उता च्याप्ने ठाउँ थिएन, कालोमाटो निस्केको ठाउँमा पिलर नराखे घरै नबन्ने भयो । थाप्लोमा हात राखेर झोक्रियो साहु ।

‘एक ट्रक ढुङ्गा ल्याऊ, निकै तलदेखि चट्टानको निर्माण गर र राख पिलर !’ छिमेकीले दियो तर्किप । ‘के खोज्छस् काना आँखो’ भनेजस्तो भएछ मेरा साहुलाई ! मेरो निर्माण सुरु भयो । तीन वर्षमा तम्तयार भएँ म । मात्र पाँच वर्षको त भएको थिएँ, तर भुइँचालोको आउने बेला भएको रहेछ । उसले हल्लाएपछि कालोमाटोले आफ्नो बर्कत देखायो । छिमेकको तर्किपमा लागेर निर्माण गरेको चट्टान कालोमाटोको दलदलमा पौडिन थाल्यो । तब त पिलर भास्सियो र ढल्केँ म ।”

महाविध्वंसकारी भूकम्पले क्षतविक्षित भएका घरहरू रत्नपार्कमा जम्मा हुने क्रम बढ्दै थियो ।

‘प’ पश्चिमतर्फबाट लङ्गडाउँदै आएको थियो, ‘आत्था…, आत्था…,’ उसको मुखबाट कष्टदायी स्वर झर्दै थियो । “असी नब्बे वर्ष बाँचिन्छ जस्तो लाग्थ्यो त ! क्या यस्तै दिन देख्नका लागि जन्मिएछ !” दायाँबायाँ टाउको हल्लाउँदै असन्तुष्टि जनायो उसले ।

‘क’ले ‘प’ को तलदेखि माथिसम्म हेर्दै भन्यो, “तिम्रो फूर्तिफार्ति पनि कम थिएन त हो ! छाती फुलाएर उभिएका थियौ ! के भयो र लङ्गडाउँदै आयौ ? अनि तिम्रो च्यापु पनि कसैले खुस्क्याइदिए जस्तो देखिन्छ त !”

“छिमेकी पनि गतिलो चाहिँदो रहेछ बन्धु ! आफू त लड्यो नै मलाई पनि यस्तो अवस्थामा पुर्यायो !” ‘प’ले दिक्दारिएर भन्यो, “भूकम्पले जमिन हल्लाएको मात्र के थियो ! छिमेकी ‘च’ को त होसै उडेछ ! एकैछिनमा उसका आँखा बटारिन थाले, मेरा खुट्टा पनि लरबरिन थालेकाले नाइँनाइँ भनेर टाउको हल्लाउन थालेँ म । भूकम्पको एकै झट्काले ‘च’का हाडजोर्नी खुस्क्याइदिएछ । उसको छत आएर मेरो च्यापुमा ठोक्कियो । दुःखाइले इन्तु न चिन्तु भएँ म । मेरो जिउमा ठाउँठाउँ ठोक्किँदै गल्र्यामगुर्लुम भुइँमै थुप्रियो ‘च’ । धुलो व्याप्त भयो । मेरा पनि एक दुइटा जोर्नी खुस्क्याइदिए जस्तो छ ! आत्था !” ‘प’ गोडा खोच्च्याउँदै एक पाइला अगाडि सर्यो र आफ्नो बह पोख्न लाग्यो, “‘च’ले आफ्नो साहुको सपरिवार समेत भाडामा बस्ने दुई परिवारलाई पनि लिएर गयो भन्ठानेको थिएँ, तर यता आउँदा मैले ‘च’ को साहुलाई छाती पिटेर रुँदै गरेको देखेँ । आफ्ना जोई र छोराछोरीको नाम लिएर बिलौना गर्दै थियो ऊ । सायद घर बनाउँदा गरेको कन्जुस्याइँका कारण आलाप विलाप गर्न साहुलाई छोड्दिएछ ‘च’ले ! तर वेदना पोख्दा पनि आफ्नो र भुइँचालाको दोषजति घरकै टाउकोमा थोपर्दै थियो ऊ ।

‘आफू बाँचे लाख उपाय । यसरी रोइकराइ गरेर केही हुँदैन भाइ । आफूलाई सम्हाल्नुस् र च्यापिएकालाई निकाल्ने प्रयत्न गर्नुहोस् ।’ छिमेकीको आर्तनाद सुनेर मेरो साहुले सान्त्वना दियो ।

मेरा साहुको मुखतिर हेरेर टोलियो ‘च’ को साहु । सायद उसको सम्झनामा विगत नाँच्न थाल्यो । उसले घर बनाउँदा मेरो साहुले सिकाउन खोजेको थियो तर उसले खिसी गर्दै भनेको थियो, ‘हैन दाइ, जति मोटो भयो त्यति डल्लिन्छ । कोठा पनि साना हुन्छन् र लागत पनि बढ्छ । भन्नाले तपाईंको कुरामा लागेँ भने तिनतिरबाट घाटा हुन्छ मलाई । हाहाहा…,’ खुवै डाइलग दिए जस्तो गरी आँखै चिम्लेर हाँसेको थियो ऊ !” ‘प’ले दिक्कलाग्दो भाव प्रकट गर्यो ।
उत्तरतिरबाट झरेकालाई ‘ऊ’ नामाकरण गर्दा उचित होला ! पाँचतले रहेछ ऊ, मात्र अस्थिपञ्जरमा बाङ्गो टिङ्गो ढल्किँदै आएर छेउमा उभियो ।

त्यसलाई हेरेर धेरैले आफ्ना पीडामाथि मलम लगाउँदै थिए ।

‘क’ले भन्यो, “हैन हो ‘ऊ’ भाइ ! यो के गति भएको तिम्रो ? चौँरी गाईको घिउ खाएका थिएनौ ?”

“म तपाईंहरूसम्म आइपुग्नु घिउकै नतिजा हो दाइ । मेरा थुपै्र साथीहरू माटामा मिलिसके । वरिपरिका पाँच छ तले भवन लडेको देखेर मेरो साहुले कुलेलम ठोकेको हो फर्केको छैन । प्राणभन्दा प्यारा भन्ने गरेका स्वास्नी, छोराछोरी र रगत पसिनाले आर्जेको सम्पत्ति यही घर हो भनेर देखाउने फुर्ति समेत छोडेर भाग्यो ऊ । भुइँचालोले हल्लाउँदा जता ढल्केँ, त्यतै लडे मेरा भित्ताहरू ।” उसले सुन्धारातिर पुर्यायो आँखा र च्वःच्वःच्वः गरेर दायाँबायाँ टाउको हल्लाउँदै भन्यो, “धरहराविना मुडुलो भए जस्तो असुहाउँदो पो देखियो काठमाडौँ !”

“तिम्रो छिमेकी ‘ई’ को पनि कन्तबिजोक भएको छ भन्थे त, आएन ऊ ?” ‘क’ को प्रश्न सुनेर ‘ऊ’ले बत्तीसतले ‘ई’लाई सम्झ्यो । उसले खित्का छोडेर हाँस्दै सुन्धारातर्फबाट आँखा घुमाएर ‘क’ तर्फ हेर्यो र आँखा डुलाउँदै भन्यो, “जब भुइँचालोले ‘ई’ को शिखा समाएर घुमाएथ्यो अत्यास लाग्दो अवस्था भएको थियो त्यसको ! अब ‘ई’ ढल्छ र च्याप्छ हामीलाई ! भन्ठानेर छिमेकीहरूमा फैलियो त्राहिमा म ! भूकम्प आउनुअघि ‘के छ बाबु खबर ?’ छिमेकीका टाउकामा हात राखेर जिस्क्याउँदै हाँस्थ्यो ‘ई’ । भुइँचालोले टुप्पी समाएर नचाएदेखि त्यसको होसै फर्केको छैन ! न लाजले हो कि ? आँखा पनि खोलेको छैन उसले !” ‘ऊ’ले आफ्नो भनाइ टुङ्ग्याएर सँगसँगै उभिएको ‘ठ’तिर हेर्यो ।

सात तले ‘ठ’का दुई तला कच्याककुचुक्क थिच्चिएका थिए । बाँकी पनि कतै झुकेको त कतै फुकेको देखिन्थ्यो ! बोल्न पनि असजिलो गर्दै उसले भन्यो, “एक आना जग्गामा सात तला उठायो मेरो असत्ति साहुले, उसको कन्जुस्याइँका कारण जब भुइँचालोले मेरा हातखुट्टा भाँचिए तब मैले प्रण गरेँ कसैलाई छोड्दिनँ म, तर मेरो साहु त तेस्रो तलाबाटै हाम्फालिहाल्यो नि ! नत्र अरू जस्तै किच्चिएको हुन्थ्यो ऊ पनि ! बेहोस् भएको थियो, छिमेकीले उठाएर अस्पताल पुर्याइदियो । सातौँ दिनमा होस् आयो र भुइँचालो आउँदा आफू तीन तलाबाट हाम्फालेको कुरा सम्झ्यो उसले, तर सद्दे छैन ! अपाङ्ग भएको छ ।

आफ्नो घरले किच्चिएका मान्छे निकाल्न सकेका छैनन् भन्ने कुरा समाचारबाटै थाहा पायो उसले । गैरकानूनी बनेका घरहरू घरधनी आफैँले भत्काउनु पर्ने कुरा पनि समाचारबाटै जानकारी पायो । जग्गाको मूल्यभन्दा त्यसमा बनेको घर भत्काउन र पन्छाउन महङ्गो पर्ने अटकलेपछि उसले सबै कुरा बिर्सिन खोज्यो ।

‘दाइ ! तीन तलाबाट हाम्फालेर दुईटै खुट्टा भाँचेछौ, अस्पतालमा हुने उपचार यति नै हो, बाँकी आफ्नै घरमा औषधीमुलो गर्दै गर्नु । जाऊ अब घर ?’भन्दा उसले नसुने झैं गर्यो । बिरामी राखेर उपचार गर्ने ठाउँको अभावले वार्डबाट जबर्जस्ती बाहिर निकाले उसलाई, तर घर आएन, अस्पताल हाताभित्रै वरपर घिस्रिरहन्छ । प्रहरी देखेपछि अस्पतालबाट निकाल्न आएकी भन्ने ठानेर ‘आयो आयो ! ऊ आयो !’ आफ्नै जिऊ हल्लाउँछ र टेबुलमुनि लुक्न खोज्छ । कहिलेकाहीँ कुनै महिलातिर हेरेर भावुक हुँदै भन्छ, ‘भाग्य लक्ष्मी ! तिमी आयौ ? खै त, छोरो ज्याक र छोरी ज्याकीलाई साथमा ल्याइनौ !” यति भनेर गम्भीर भयो ‘ठ’ ।

घिर्सिँदै आएर छेउमा सुस्ताउँदै थियो ‘घ’ त्यो देखेर ‘क’ले सोध्यो, “तिम्रो त स्वरुपै बदलिएछ त ! साहुलाई पनि किच्यौ कि क्या हो ?”

“परिवार सबै गाउँमा गएका थिए, घरमा एक्लै थियो साहु । भुइँचालो आएको चाल पाउनासाथ हाम्फाल्दै मूल ढोकासम्म त पुग्यो, तर भुइँचालोले उसलाई बाहिर जान दिएको थिएन । साहु बाहिर भाग्न खोज्थ्यो, भुइँचालोले हल्लाएर ढोका बन्द गरिदिन्थ्यो ! कुनै बेला भुइँचालोको धक्याइले लरखराउँदै अर्को कुनामा पुग्थ्यो ऊ । दिक्क भएछ र चिच्यायो, ‘पशुपतिनाथ ! यस भुइँचालोलाई समाऊ !’ संजोक हो वा भुइँचालोको थकान, अचानक थामियो जमिन । ‘एकछिन् है ।’ फुत्त बाहिर हामफाल्यो साहु । पर पुग्यो र पछाडि फर्को । अहिले तपाईंहरू झुक्किए जस्तै मेरो साहुले पनि चिन्न सकेनछ मलाई । वल्तिर पल्तिर हेरेपछि बल्ल चिन्यो आफ्नो घर र टाउको समाएर घोप्टियो ।

मान्छेहरू आत्तिँदै खुला ठाउँमा जम्मा हुँदै थिए । जसलाई घर परिवारको चिन्ता थिएन, तिनीहरू आआफ्नो दिमागको करामत देखाउन थाले, ‘हैन हो साथी हो, यो त भुइँचालै हो क्यारे !’ अर्कोले थप्यो ‘होहो पक्कै पनि भुइँचालै हो यो ! हाम्रा नब्बे सालका हजुरबुबाले यस्तै कथा सुनाउँथे ।’ अर्को भूगर्भविद् अघि सर्यो, ‘यसको केन्द्रबिन्दु बारपाक थियो ।’

बारपाक भन्ने शब्दले मेरा साहुलाई अर्को झट्का दियो । उसले स्वास्नी र छोरीलाई नयाँ वर्ष मनाउन पुर्खौली घर बारपाक छोडेर आएको थियो । ती फर्केका थिएनन् । त्यो सम्झेपछि ‘नाइ…,’ चिच्च्यायो र मोबाइल निकालेर बटन थिच्यो, कानमा लगायो । उसको चित्त बुझेनछ, फेरि मोबाइलको बटन थिच्यो, कानमा टाँस्यो । फेरि पनि उसको अनुहार उज्यालिएन । मोबाइल खल्तीमा घुसार्यो र दौडेर मोटरसाइकलमाथि गिध्दे चढाइ चढ्यो ।

कसैले भन्यो, ‘बारपाक जाने हो भने त्यहाँको नक्सा बोकेर जाऊ है !’

मानसिक सन्तुलन नै खलबलिएजस्तो मेरो साहु मोटरसाइकलबाट झरेर घरभित्र पस्यो । दराजबाट नक्सा निकाल्यो । फेरि मोटरसाइकलमा चढ्यो र कुदायो । एकातिर उसको मोटरसाइकल हावासँग बात मार्दै थियो भने अर्कोतिर मेरो साहु पिञ्चे अनुहार बनाएर आफ्नो घर परिवारको कुशलताको कामना गर्दै थियो । अचानक उसको मोटरसाइकल थामियो । घरहरू लडेर बाटो बन्द भएको रहेछ । उसको दृष्टि जति अगाडि बढ्दै गयो उति कहालीलाग्दो दृश्य नाच्न थाल्यो आँखामा । उसलाई त्यहाँको भूगोल चिरपरिचित जस्तो लागेकाले चिच्च्यायो ‘नाइ …, यो मेरो गाउँ हुँदै होइन !’ उसले हतार हतार नक्सा पल्टायो । हतारहतार उसको दाहिने हातको चोर औँलो नक्सामा दौड्यो । त्यस्तै हतारहतारमा उसको दृष्टिले वारिपारिका डाँडा पनि केलायो र केही दिनअगाडि घरको छतमा उभिएर ती दृश्यहरू हेर्दा आनन्द विभोर भएको सम्झ्यो । अन्तमा उसको दृष्टि आफैँ उभिएको बाटोमा आइपुग्यो । त्यही बाटोमा उफ्रेको, दौडेको अतित नाच्यो उसको मगजमा र पनि ऊ मान्न तयार भएन, ‘यो मेरो बारपाक हुँदै होइन ! कुनै प्राचीन खण्डहरमा पुगेँ क्यार ! न कुनै अत्यासलाग्दो सपना पो देखिरहेको छु कि !’ भन्ठानेर फेरि आँखा चिम्लेर टाउको हल्लायो उसले । आँखा खोल्यो र तिखार्यो त्यही विध्वंसकारी भूकम्पले नाचेर ध्वस्त बनाएको आफ्नो गाउँमा ! उसको चित्त बुझेन । अहँ, उसले आफन्तहरू बसेका बारपाकका घरहरू देखेन ! कति बेरसम्म ढाँटेर अल्मल्याउन सक्थ्यो र ऊ आफूलाई ! वास्तवमा मानवको हाँसो गुन्जिरहने बारपाक अकल्पनीय सन्नाटामा डुबेको थियो । अब यस गाउँमा रङ्गीचङ्गी मान्छेहरूको ठाउँमा हातखुट्टा भाँचिएका, टाउका फुटेका, हड्डी खुस्किएका आत्माहरू घुम्नेछन् जस्तो लाग्यो उसलाई र छाती पिटेर रुन थाल्यो ।

उसको त्यो चित्कार सुनेर कोही आइपुग्यो उसको नजिकै र भन्यो, ‘दाइ ! तपाईं त एक दिन बिन्दाससँग भन्दै हुनुहुन्थ्यो– मलाई त ‘सुगर’ भन्ने रोगले अँगालेको छ । चिन्ता गरेर बस्नै हुँदैन मैले ! यसरी आलाप विलाप गर्नु भनेको कुफत पार्नु हैन र !’

यस शब्दले मेरा साहुको मस्तिष्कमा कस्तो प्रभाव पारेथ्यो खै ? अचानक उसको स्वर फेरियो, ‘हाहाहा…,’ सुन्नेहरूलाई हाँसेको जस्तो लाग्न सक्छ, खुस्केको पो हो कि ! उसको त्यो हाहाहा हाँसेको जस्तो स्वर दिनप्रतिदिन बढ्दै गइरहेको छ !” यति भनेर लामो सुस्केरा हाल्यो ‘घ’ले ।

कुनामा एउटा झुत्रेमुत्रे घर उभिएको थियो । गाउँले भएकाले उसको नाम ‘ग’ हुनुपर्छ । बेलाबखत धङ्धगाउँथ्यो ऊ । सायद महाविध्वंसकारी भूकम्पलाई भूल्न सकेको थिएन उसको जिउले ।
‘क’ले सोध्यो, “भाइ ! तिम्रो समस्या के छ ?”

‘ग’ले मुखमा लागेका खरका त्यान्द्रा पन्छाउँदै भन्यो, “भूकम्पले मेरोतिरका दुईतिनटा जिल्ला नै खाइदिन थाल्यो हजुर ! राजधानीमै पुगेर निवेदन गरुँ कि भन्ने लाग्यो र आएको थिएँ ! आफूलाई सर्वेसर्वा ठान्ने ती हाम्रा नेताहरू कता छन् खै ? भू–भाग र समुदायको खिचातानीमा जुझिरहेका देखिन्थे त ? आज किन बोल्दैनन् ती, किन देख्दैनन् र सुन्दैनन् किन ? मेरो समस्या यही हो हजुर !” ‘ग’ले हात जोड्यो ।

आधा जिउ लतार्दै ठुलै नेता बस्ने अफिस ‘न’ आयो ।

ओहो…, हाम्रा नेताहरूको औकात हेर त ! जनतालाई आस्वासन दिएजस्तो हो र घर बनाउन ! भवन निर्माण गर्दा पैसा कुम्ल्याउनलाई ठेकेदारदेखि लिएर ज्यामी पनि आफन्त राखे होलान्, भुइँचालोले घरको स्वरुपै बदलेर छोड्दिएछ भन्ने कुरा लगभग सबैको मनमा खेल्यो, तर कोही बोलेनन् । ‘न’ को प्रतिकृया सुन्नलाई सबै चुपचाप उभिइरहे ।

‘न’ले सबैतिर बिस्तारै आँखा घुमाएर भन्यो, “पाँच सेकेन्डमै डेढ मीटर दक्षिण पश्चिम सर्यो राजधानी ! के दिल्लीलाई नै लक्षित गरेको हो ! यदि त्यस्तो हो भने हाम्रा पार्टीहरूलाई दक्षिणमुखी भयौ भनेर केको दुखेसो पोख्नु ! तर यसमा बिल्कुलै नयाँ विदेशी शक्तिको हात देखिन्छ ! अथवा कसैलाई हाम्रा नेताहरूको लोभलाग्दो कार्यशैलीमाथि आरिस भयो होला ! बयासी वर्षको अथक प्रयासले निकै शक्तिशाली रोबोट बनाएर हाम्रो देशलाई हल्लाउन पठाइदिएको पनि हुन सक्छ है !” ‘न’ले छाती फुलाएर सबैतिर आँखा घुमायो ।

डल्लिएर बसेको ‘छ’ले मुख खोल्यो, “भुइँचालो हो हजुर भुइँचालो ! हाम्रा नेताको लोभलाग्दो विभाजनमुखी लालच देखेर भुइँचालोले पनि आफ्नो हिस्सा खोजे जस्तो छ । आखिर यो देशलाई न कुनै नेताले जितेथे न त कसैले हारेर छोडेथे ! प्राचीन कालमा हाम्रो देश बसेको ठाउँमा समुद्र थियो रे ! त्यस समुद्रमुनि इन्डियन र तिब्बतीयन प्लेटको दोसाँध पर्दोरहेछ । दुइटा प्लेट जुझ्दै जाँदा इन्डियन प्लेट तिब्बतीयन प्लेटको मुनि घुस्दै गएछ र तिब्बतियन प्लेटको छेऊ माथि उठ्दै आएछ । त्यही छेउमा बसेको जमिन उठ्दै आएर पहाड बनेको पो रहेछ । यस हिसाबले हाम्रो पहाडी मुलुक नेपालको निर्माता भूकम्प पो रहेछ ! एक पक्षको भनाइ छ, ‘यो देश बनाउने भुइँचालो, आज आएर तेरो र मेरो भन्ने हाम्रा अदूरदर्शी नेताहरू ! त्यही भएर भुइँचालोले झट्का दिएर सबैलाई खबरदारी गरेको हुनुपर्छ !’ अर्को पक्षको भनाइ छ, ‘पृथ्वीभरि सातवटा टेक्टोनिक प्लेट छन् । हाम्रो देश दुइटा प्लेटको सीमानामा पर्छ । दुर्भाग्यवस इन्डियन प्लेटले तिब्बतीयन प्लेटलाई ठेल्न खोज्दैछ तर तिब्बतियन प्लेट ठुलो छ । इन्डियन प्लेट आफैँ गएर जोतिन्छ, आफ्नै टाउको फुटाल्छ । अनि दुःख दिन्छ हामीलाई । ठोक्किएपछि जुन ठाउँमा टुट्छ फुट्छ, त्यसैलाई केन्द्रबिन्दु भनिन्छ !”

“हो, गाँठी कुरो यही हो !” नजिकै कुप्रिएर उभिएको ‘ख’ले नेताले जस्तै चोर औँलो ठड्याउँदै भन्यो, “कट्कट्कट् दाह्रा किटेर केले हल्लाउँदैछ जमिन भन्ठान्थेँ म ! भाइ ‘छ’ को तर्कमा दम छ है !”

परकम्प काठमाडौँ नजिकै आइसकेको रहेछ । ठूलै झट्का दियो । सबैतिर त्राहिमा म फैलियो । ‘क’ गजधम्म बसेजस्तो लाग्थ्यो, उसले आँखा चिम्ल्यो, दुवै हातको मुठ्ठी पार्यो र दाह्रा किट्यो । नामर्द जस्तो भूकम्प पहिले जस्तै सुटुक्क आयो हतार हतारमा जमिन हल्लायो र गइहाल्यो । ‘क’ले आँखा खोल्यो र साथीहरूतर्फ हेर्यो । सबैमा त्रास फैलिएकै थियो ।

“हैन हो ‘क’ दाइ, तपाईं अरूको मात्रै खबर सोध्नुहुन्छ ? आफ्नो पनि सुनाउनुस् न ? हामी तपाईंको खबर जान्न चाहन्छौँ अब ?” ‘प’ले अड्को थाप्ने पारा निकाल्यो र आफ्नो प्रश्नमा कतिको सहमति देखिन्छ भन्ने अभिप्रायले आँखा घुमायो ।

उपस्थित सबैले ‘प’ को प्रश्नमा सहमति जनाएपछि ‘क’ले अन्कनाउँदै भन्यो, “‘ह’ को र मेरो रोग उस्तै उस्तै हो बाबै !”

सबैका आँखा ‘क’तिर तन्किए ।

‘के भन्न खोज्दैछौ दाइ ?’ सबैका अनुहारमा झल्केको भावभङ्गिमाले यस्तै प्रश्न गरिरहेको थियो तर कसैले सोधेको थिएन ।

“फरक बताऊँ ?” ‘क’ले मुन्टो घुमाएर सबैतिर हेर्यो र भन्यो, “मेरो दाँजोमा ‘ह’ को रोग एक चौथाइ मात्रै हो !”

“भन्नाले तिमी गजधम्म बसेको नभएर भास्सिएका पो हौ ?” पछाडिबाट कसैको आश्चर्य मिश्रित स्वर सुनियो ।

पछाडि फर्केर ‘क’ले आँखा तर्यो । अब पिलन्धरेहरूले पनि जिस्क्याउन थाले, भन्ने लाग्यो होला उसलाई, तर आफ्नो साहुको लालचले गर्दा ‘क’ को टाउको झुक्यो । उसले आँखा चिम्लेर तलमाथि टाउको हल्लाउँदै भन्यो, “तिम्रो अडकल बिल्कुलै ठिक हो, पुरै दुई तला भास्सिए मेरा !”

भूकम्पको कुदृष्टिमा परेका घरहरूको जम्मा हुने क्रम जारी नै थियो । खुट्टा गुमाएकाहरू हात टेकेर घिस्रिँदै आइरहेका थिए । कोही दायाँ ढल्किएका थिए त कोही बायाँ, मेरुदण्ड भाँचिएकाहरू छिमेकीको सहारामा देखिन्थे । सहरका पचास प्रतिशत घरहरूको आक्रोश आफ्नै साहुमाथि पोखिन्थ्यो । पन्ध्र प्रतिशत इन्जिनियरप्रति, पन्ध्रै प्रतिशत ठेकेदारप्रति, दश प्रतिशत छिमेकीप्रति त दशै प्रतिशत जमिन र भूकम्पप्रति ! गाउँका चालिस प्रतिशत घरहरूको दुखेसो तिनै गाउँलेहरूमा थियो जसले जङ्गल फाँडेर पहाडलाई कमजोर बनाए । बिस प्रतिशतको आक्रोस सुख्खा पहाडे जमिनमाथि देखिन्थ्यो । दश प्रतिशत साहुको गरिबीप्रति, दशै प्रतिशत साहुको अदूदर्शिता र दशै प्रतिशत गुनासो निर्दयी भूकम्पप्रति थियो ।

“हैन हो साथीभाइहरू हो, म त घरपटी विरुद्ध अदालत जान आएको हुँ ! के छ तपाईंहरूको विचार ?” ‘ठ’ले भन्यो ।

“ठिक भन्यौ ‘ठ’ भाइ ! हाम्रा लालची घरपटीहरूलाई छोड्नै हुँदैन । यिनैले गर्दा हाम्रो जात्रा भएको हो । जसले आफ्नो घरलाई मन र धन दिएर बनाएका थिए, ती घरहरू छाती फुलाएर उभिएका छन् । हामीलाई देखेर गिज्याउँदै हाँसिरहेका तपाईंहरूले पनि देख्नुभयो होला ।” ‘क’ले भनेपछि सबै आक्रोसित भएर घरपटी विरुद्ध नारा लगाउँदै अदालतमा पुगे ।

भूकम्पले गर्दा चारैतिर हाहाकार मच्चिरहेको थियो । अदालतमा काम थिएन, कर्मचारी झकाएका थिए । पीडित घरहरूको दुःखपीडाले तिनलाई छोएन । निकै बिन्तीभाउपछि एउटा कर्मचारीले भन्यो, “तपाईंहरूको निवेदन दर्ता गरेर के गर्ने ? न्यायाधीशहरू तनावमा छन्, कसैको सुनुवाइ हुनेवाला छैन ।”

“किन हजुर, तिनको घर पनि भूकम्पको चपेटामा पर्यो कि क्या हो ?” ‘प’ले भन्यो ।

“हैन, भूकम्पका कारण तिनको खानपिनको स्वादमा न्यूनता आएकाले साँझ बिहान किचलो हुन्छ घरमा । तिनको दिमाग खलबलिएको छ र काम गर्ने मुढमा छैनन् ।” कर्मचारीले आँखा पनि तर्यो ।

“हामी के गरौँ त हजुर ?” निन्याउरो मुख लगायो ‘ख’ले ।

“जाऊ, कोही खसी ल्याएर आऊ, कोही ग्याँसका सिलिण्डर बोकेर आऊ । आआफ्नो गच्छे अनुसार चामल, तरकारी, फल जस्तो जे सकिन्छ बोकेर आओ ।” कर्मचारी झर्कियो पनि ।

“हामीलाई आफैँ हिँड्न त गाह्रो भइरहेको छ ! कहाँ जानु त्यस्तो सामान खोज्न ?”

“खसी बोका च्यापिएर मरे भन्थे त ! बाटोघाटो बन्द छ, फलफूल पनि पाइँदैन ।”

घरहरू आपसमा गन्थन गर्न थाले ।

त्यो सुनेर कर्मचारीले भन्यो, “तिमीहरू पैसा ल्याएर आओ न, सामान हामी आफैँ ल्याउँला ।”

‘ह’ले ‘क’तिर झुकेर साउती गर्यो, “ए दाइ, एक दिन मेरो घरपटी भन्दै थियो– सरकारी अफिसमा काम गराउनलाई घुस खुवाउनै पर्छ ! कहीँ यो कर्मचारीले भन्न खाजेको त्यही घुस त हैन ?”

“ठिक भन्यौ दाइ,” नजिकै उभिएको ‘ऊ’ले भन्यो, “मेरो नक्सा पास गराउँदा पनि घुसै खुवाएको थियो घरपटीले !”

बबुरा घरहरू अदालतका प्राङ्गणमा जम्मा भए ।

एउटा पिलन्धरे घरले भन्यो, “अब दैवको अदालतमा जाऊँ ।”

“मन्दिर पनि हामीसँगै आएका छन् ।”

बीचबाट कसैले भनेपछि सबैको ध्यान त्यतै गयो ।

प्रायः मन्दिरहरूका टाउका थिएनन् ।

तीमध्ये एउटा मन्दिरले भन्यो, “तिमीहरूलाई लागेको होला माथिबाट दुलो पारेर भगवान् आकाशमा उडे ! त्यस्तो हैन । भगवान्लाई चढाएको धन दिन दुई गुनी रात चौगुनी बढ्छ भन्ने मान्छेको मान्यता रहेछ ! सय पचासका दरले जम्मा गर्दा पनि थुपै्र पैसा उठ्यो । त्यस पैसाले धातुको गजुर बनाएर मेरा टाउकामा लगाइदिए, जब भुइँचालोले हल्लायो गजुरको भारले मेरो टाउकै शुद्ध लड्यो । यी हेर त ।” मन्दिरले ढल्केर भित्रको दृश्य देखाएपछि सबैका मुख आश्चर्यले च्यातिए । एउटाले च्वःच्वःच्वः गर्दै भन्यो, “बीचरा ! भगवान् त भाग्नै पनिसकेनछन् ।”

बेलाबखत भुइँचालोले परकम्प नामक मिस कल दिएर तर्साउँदै थियो । अब के गर्ने, कहाँ जाने घरहरू असमझमा थिए । उनन्तिस गतेका दिउँसो दुस्मन भुइँचालो सुटुक्क आयो र देखायो ताण्डव ! बाह्र गतेको भुइँचालोले झक्झक्याएका संरचनाहरू माटोमा मिले । साहुको कन्जुस्याइँ, निर्दयी भुइँचालोको हतार, बजारमा बिक्ने डुब्लिकेट सामान, सम्बन्धित निकायको लापर्बाहीजस्ता काम बिरुद्ध घाइते घरहरू नाराबाजी गर्दै थिए । तिनको ध्वनि अचानक थामियो ! घरहरूले आत्था पनि भन्न पाएनन्, जमिनमा खात्तिए । काठमाडौँको जस्तै देशका केही भूभागको आकाश फेरि धुलो, धुवाँले ढाकियो ।

यो राजनैतिक शक्ति प्रदर्शनको धुलो, धुवाँ थिएन, न त कुर्सीका लागि विपक्षीहरूले टायर बालेका थिए । यो प्राकृतिक प्रकोप थियो । जसको हामी तयारी विना स्वागतमा थियौँ !

–बखतबहादुर थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *