कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो । कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ । सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो । सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन् ।
जुनसुकै विधाका पनि आफ्नै रुप र आकारप्रकार हुन्छन् । काव्य विधामा वृहत म काव्यदेखि महाकाव्य, खण्डकाव्य, फुटकर कविता, मुक्तक बन्दै आएको स्थिति जस्तै आख्यान विधामा पनि उपन्यास, नाटक, एकाङ्की, कथा, लघुकथादेखि परिवर्तित हुदैं आइपुगेको रचना विशेषको नाम हो सूत्रकथा । काव्यको क्षेत्रमा मुक्तक कविताको एउटा स्वतन्त्र प्रविधा भएजस्तै आख्यान विधाको स्वतन्त्र प्रविधा हो सूत्रकथा । यसै आधारमा सूत्रकथाको पहिचानलाई निरुपण गर्नु उपयुक्त देखिन्छ ।
सूत्रकथा सूक्तिमय, सूत्रात्मक, शुरु, मध्ये र अन्त्यको सटिक मेल, पात्र र परिवेशको सामन्जस्यता, भाषिक तरलता, शैल्पिक सहजता, संरचनात्मक कलात्मकता, कथनगत विश्वसनीयता, कथ्यको छरितोपन तथा कसिलोपन र अनुभूतिमा तीक्ष्णपन रहने पन्ध्र बीस पङ्क्तिभित्र रचिने, थोरैमा धेरै व्यक्तिने आख्यानको सशक्त प्रविधा हो ।
चालीसको दशकमा आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतमले सूत्रपात गरेका र प्रयोगवादी स्रष्टा अमर त्यागीले सूत्रकथा संग्रह नै प्रकाशन गरेर अगाडि बढाइएको सूत्रकथा साहित्यको सुन्दर र चोटिलो कथाको प्रविधाको रुपमा स्थापित भइरहेको छ ।
सूत्रकथाका अपेक्षित तत्वहरू
कथावस्तु: कथामा जस्तै सूत्रकथामा पनि कथावस्तु/कथानकको मुख्य भूमिका रहन्छ तर कथाको तुलनामा सूत्रकथामा वस्तुको प्रभावकारिता, जीवनसापेक्ष र ग्रहणीयता तीक्ष्ण र तीव्र हुनुपर्छ । कथावस्तुको आयतन सङ्क्षिप्त, ठोस र मर्मसंवेदक हुनुपर्छ । कथानक मानवीकरण र गतिमान, गतिशील र वेगवान् हुनुपर्छ ।
पात्र: पात्र र चरित्रको सङ्ख्या सीमित हुन्छ तर हृदयमा तरङ्ग र झङ्कार उत्पन्न गर्न सक्ने किसिमको हुनुपर्छ ।
परिवेश: कथावस्तुको आधारभूमि भनेकै परिवेश हो । सूत्रकथाको परिवेश कथाको सापेक्षतामा सङ्क्षिप्त र सीमित हुन्छ यद्यपि मूलकथालाई उत्कर्षमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
द्वन्द्व र कौतुहलता: भोक्ताले भोगेका सम्पूर्ण पक्षहरू उत्कर्षसम्मका क्षणलाई द्वन्द्वले समेटेको हुन्छ । यो द्वन्द्व कहिले पात्रको अन्तरसंघर्षको रुपमा देखिन्छ भने यसको विकास अत्यन्त गतिशील, वेगवान् र तीव्ररुपमा निष्कर्षतिर बढेको हुन्छ । कथामा जस्तै सूत्रकथामा पनि पाठकलाई रचना पठन कार्यमा अग्रसर गराउन कौतुहलता अनिवार्य हुन्छ । सङ्क्षिप्त आयतनको सूत्रकथामा कथाको आरम्भदेखि उत्कर्षमा आरोहित भएर चरमबिन्दुसम्म पुग्ने हुदाँ यसमा कुतुहलताको प्रबल भूमिका रहन्छ ।
सूत्रकथामा सूक्तिमयता र सूत्रात्मक रुपमा सीमित र तीव्र प्रभावोत्पादक अनि लामो विषयवस्तुबाट मुक्त र एकोन्मुख हुन्छ । पात्र र परिवेश सीमित हुन्छ । द्वन्द्व उत्कर्षोन्मुख बिन्दुबाट आरम्भ भई यथाशीघ्र चरमोत्कर्षमा प्रवर्तित भएको हुन्छ । कथा भएर पनि कथाभन्दा भिन्न हुनु नै सूत्रकथाको मूल अभिलक्षण हो । आख्यानको लघुतम रुप लघुकथा र सूत्रकथालाई कविताको प्रभेद मुक्तकसँग तुलना गर्न सकिन्छ । उत्तरोत्तर पङ्तिहरू क्रमशः उत्कर्ष हुदैं जानु, अन्तिम वाक्य वा सूत्रपङ्तिले रहस्यको पटाक्षेप गर्नु छरितो/कसिलो सूत्रात्मक अभिव्यक्ति हुनु सूत्रकथाका प्रमुख अभिलक्षण हुन् । सूत्रकथाका मुख्य र मानक अभिलक्षणलाई निम्नानुसार देखाउन सकिन्छ ।
-सूत्रकथा सूक्तिमय हुन्छ ।
-यसमा सिङ्गो कथानक सूत्रात्मकरुपमा व्यक्तिन्छ ।
-विषय र आख्याननको अत्यल्प र सूत्रात्मक प्रतिपादन हुन्छ ।
-आख्यानसापेक्षरुपमा अनुभूतिको एक झोक्का उत्पन्न गराउँछ ।
-आदि, मध्ये र अन्त्यको सुन्दर संयोजन र सटिक मेल हुन्छ ।
-पात्र, चरित्र र परिवेशको समुचित सामन्जस्य रहन्छ ।
-विम्बात्मक र प्रभावोत्पादक हुन्छ ।
-सङ्क्षिप्तता, सूक्ष्मता र वर्णनमा सीमितता हुन्छ ।
-न्यून पात्र र परिवेशको चित्रण हुन्छ र अनुभूति तीव्र, रोचक र गत्यात्मक हुन्छ ।
-संरचनात्मक कलात्मकता र कथनगत विश्वसनीयता रहन्छ ।
-आकस्मिक अन्त्य र यसमा कौतुहल जगाउने सामर्थ्य हुन्छ ।
समापन
सूत्रकथा लेखनको इतिहास त्यति लामो नभए तापनि छोटो समयमा हृदयलाई झङ्कृत गराउन सक्ने र मनमा तरङ्ग ल्याउन सक्ने सामर्थ्य भएकाले यसप्रति साहित्यकार र पाठकहरूको झुकाव निरन्तर बढ्दै गइरहेको छ । अहिलेको व्यस्तताबीचमा समेत छोटो समयमा सजिलै अध्ययन गर्न सकिने भएर पनि सूत्रकथाको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । सीमित आयतनको भए तापनि यसले पार्ने प्रभाव भने चीरकालसम्म रहन सक्छ र मानव मनलाई उद्वेलित बनाउन सक्षम हुन्छ । अन्य विधा र प्रविधामा झैँ यसमा पनि विषयवस्तु चयन र भाषाशैलीमा नवीनता, सचेततापूर्वक सजगता अपनाएर समाजको सकरात्मक परिवर्तनको लागि सूत्रकथाको सिर्जना गर्न सकेमा र अध्ययनशील तथा पठन संस्कृतिको विकास गर्न साहित्यिक संस्थाहरूले यसबारेमा सूत्रकार्यशाला एव म सूत्रसंगोष्ठी आयोजना गर्ने, साहित्यिक पत्रपत्रिकाले उचित स्थान दिने, विशेषाङ्क प्रकाशन गर्ने कार्य गर्न वान्छानीय देखिन्छ ।
ओखलढुंगा ।
