रमेशले गरिबको कोखमा जन्म लियो । गिट्टी कुट्थे उस्का बाबुआमा । छोरालाई निशुल्क पढ्न पाउनेसम्मको शिक्षा दिए पनि आर्थिक समस्याले धेरै पढाउन सकेनन् ।
पढाई छाडेपछि ऊ बाबुआमाकै काम सघाउन थाल्यो त्रिशुली किनारमा गिट्टी फोडेर । नजिकै थिई ऊजस्तै रमा, बगरमा एकले अर्काको अनुहार पढ्दै गिट्टीको चाङ नाप्थे कसले धेरै फुटाउने भनी । अनि साँझ पर्दै गएपछि माया पलाउँदै जान्थ्यो र आ–आफ्नु झुप्रामा वास हुन पुग्थ्यो ।
धेरै गिट्टी फुटाएर कमाएको पैसाले सानो निजी झुप्रो बनाई सोही झुपडीबाट डोली चढेर रमालाई भित्र्याउन चाहन्थ्यो रमेश । कसै गर्दा पनि निजी घर बनाउन सकेन बल्लतल्ल आमाबाबु र उसको कमाईबाट त्रिशुली किनार नजीकै चारआना घडेरी उसले काम गरेको दशवर्षमा जोड्यो ।
सेनामा जागीर खुल्यो नापीका लागि । गयो । लक्का जवान, भर्ती भैहाल्यो । तर सुगममा उसको मान्छे नभएकाले दुर्गममा काम गर्न गयो । त्यसताका देशमा माओवादीले युद्ध गर्दैथियो एम्वुबमा परेर घाईते भयो र डरले काम गर्न सकेन फेरि गिट्टी कुट्न थाल्यो । डोली चढ्ने रहर पुरा भएन ।
गाउँको साथी रत्नले पनि सेनाकै जागीर छाडेर बस्दै थियो सुरक्षागार्डमा । अफगानिस्तान जाऊँ महिनाको दुई लाख जोगाउन सकिन्छ भनेकाले मेन पावर कम्पनी धाएर घडेरी बिक्री गरी ऊ उतै हानियो । चार वर्षमा पैसा धेरै कमायो । पुन घडेरी जोड्यो घर बनाउन पैसा पठायो दुई कोठाको जस्ताको छाना भएको घर ठडियो ।
रमेशले फोन गर्यो रमालाई, “अब तिम्रो प्रतिक्षाको घडी सकियो । म पर्सी नेपाल आउँदैछु पाँचदिन पछि डोली चढेर तिमीलाई लिन आउनेछु ।”
रमा भूईंमा न भाँडामा भई उसको मनपर्ने रमेशको सिन्दुर पहिरिने सपना सजाई । पाँचौं दिनको राति निदाई रमेश डोली चढेर उसलाई लिन आयो उ। सले फूलमाला लगाई रमेशले सिन्दुर लगाइदियो र विहै धुमधामसित सम्पन्न भो । अनि राति सुहागरात मनाउने क्रम चल्दै गो । निद्राबाट झल्यास्स ब्यूउँझी सुरुवाल चिसो भएको रहेछ । कसैले थाह नपाउने गरी नुहाई र सफा बनी भरेसम्ममा रमेश आइपुग्नेछ भनी खुशी भई ।
दिउसो रमेशको घरतिर आँखा लगाई । रमेशको घरबाट डोली चढेर मान्छेहरूबाट बोकिएर ऊ भएतिर मान्छे आउँदैछन् । रमा के गरौं र कसो गरौं भई । बिस्तारै उसले गिट्टी कुट्ने नजीकै डोली बिसाइयो । डोलीभित्र को छ भनेर सोधी । गाउँलेको उत्तर आयो – रमेश ।
ऊ दगुर्दै डोलीनेर पुगी । नभन्दै उसको रमेश डोलीभित्र थियो । तर खुला होइन बन्द बाकसमा र चीर निद्रामा………….. ।
