Skip to content


आज सोह्र वर्षे जन्मदिन । जीवनले पन्ध्रौँ वसन्त पार गरेर सोह्र टेकेको दिन अलिकति प्रफुल्लित र अलिकति दु:खी पनि । कक्षा–१०का सबैलाई आमन्त्रण गरेको थियो उसले आफ्नो घरमा । करिब करिब सबै उपस्थित भइसकेका थिए । रातको ९ बजिसकेछ ..केक काटने होइन ? आमाको मायालु मुस्कान सहितको मधुर आवाजसँगै झसँग हुन्छ तैपनि उसका आँखाहरूले त्यो भीडमा कसैलाई खोजिरहेको प्रष्ट बुझिन्थ्यो । आधा घण्टासम्मको प्रतिक्षामा पनि उसले खोजेको अनुहारको आगमन नभए पछि । अन्तत: गह्रुंगो मन लिएर केक काटन बाध्य हुन्छ । धुमधाम चल्यो पार्टी रातभर हाँसिरहे नाचिरहे सबै सबै शिवाय एउटा मन जो समुद्रमा पनि पानी पिउने नपाएको प्यासी झैँ प्याक प्याक्ती थियो ।

जीवनमा पहिलो चोटी ती आँखाहरूले कसैलाई हेरिरहन खोजेको थियो प्रज्वल उसको सबैभन्दा मिल्ने साथी । मन–मुटूले नितान्त एक्लो महशुस गरेको थियो त्यति विघ्न मान्छेको भीडमा पनि । एस एल सी नजिकै थियो पढाईमा व्यस्त हुँदा हुँदै पनि राती किताबमा उसको अनुहार नझल्केको क्षण कमै हुन्थ्यो । एस एल सी पनि सकियो अब कलेज लाईफसँगै च्यातिइने दिनहरू पनि आए ऊ धरानमा पढने भयो त प्रज्वल काठमाण्डौँमा । पुग्ने गन्तव्य एउटै नभएपछि बाटो पनि बेग्ला बेग्लै समाउनु पर्छ । छुटिएको दिन उसलाई शरिर मात्र बोकेर ठिँङग्रीङग उभिएको छु झै लागिरहयो आफनो मुटू झिकेर फ्याँके जस्तो । समयको चक्रलाई कस्ले रोक्न सक्ने घुमिरहयो एकसुरले । कक्षा ११ पनि सकियो कक्षा १२ को श्रीगणेशसँगै पहिलो पटक जीवनमा नयाँ घटना घटयो गुलाबी फूल र प्रेमिल चिठीको झटारो आयो जवाफमा ढुंगो हान्न पनिसकेन । दिन बित्दै गए उनीसँगको सम्बन्ध झाँगिदै गयो ऊ त बस थाँक्रा भएर उभिरह्यो लहरा भएर त उनी झाँगिरहिन ।

कक्षा १२ को परीक्षा पनि सकियो । काठमाण्डौँबाट साथी आउने कुराले उसमा बेग्लै हर्षको तरँग तरंगिएको छ यो अर्थमा झन खुशी पनि कि अब उप्रान्त काठमाण्डौ होइन धरानमै बसेर पढने रे । प्रेमिकासँग भेडेँटार डेटमा जाने प्रोग्राम क्यान्सिल गरेर ऊ साथीलाई रिसिभ गर्न भानु चौक आयो । एकै छिनमा बाल्यकाल देखिको साथीको आगमनले उसमा बेग्लै उल्लास उमंग छाउँछ । उमेरमा दुवै दाँवाली एक कोरी हाराहारीका हुन बेलुकीसँगै बसेर हल्का चिरिप्प लगाए दुवैले आज किन किन उसलाई बेग्लै अनुभव भइरहेको छ । दुई वर्ष अघिकोभन्दा बिल्कुल फरक उसको चेहरामा झल्किएको चमक, मुस्कानी चेहराले कताकता उसमा काउकुती र आँधी बेहरी चलाइरहेको छ मानौँ कि ऊ काठमाण्डौँबाट आएको अजीव चिज हो याने कि कुनै रक्सी हो जति पिए पनि झन लाग्छ झन झन पिउँ लाग्छ । पुन: मिलनले साथीसँगको सम्बन्ध झाँगिया साथमा मनमा एककिसिमको आकाँक्षाहरूको पहाड पनि जो कुण्ठा बनेर गडन थाल्यो दिलमा । पुन: मिलन पछिको पहिलो भ्रमण विहानै निस्किए भेडेटार घुम्न तीन जना । आफ्नी प्रेमिकालाई प्रज्वलसँग परिचय गराउने कार्य सिद्धीपछि । दिनभरि चाल्स टावर चढेर रमाइलो गरे पाथिभरा मन्दिरमा पूजा गरेपछि साँझ फर्किए धरान बजार । आज बजार धुम्म कालो पछ्यौरी ओढेर रिसाएको देखिन्थ्यो शायद मेघ गर्जन सहित धरान रुन लागेको थियो । प्रज्वललाई एक्लै पठाएर ऊ प्रेमिकालाई पुर्याउन उनको कोठासम्म गयो अकस्मात मेघ गर्जन सहित आँशु चुहाउन थाल्यो धरानले ओताउने छाटकाट नभएपछि आज यतै बस्ने तरखर गर्यो । पानीमा रुझेर होला अनि धराने मौसम निक्कै चिसिएर होला अलि बढी नै जाडो थियो त्यसैले एउटै खाटमा सुत्ने भए दुवै । आकाशको निरन्तर गड्याङ गुडुङ कतै चटयाङ वर्षेको आवाजसँगै सीमाना नाघेर दुई शरिरहरू एक हुन लम्किए सुस्तरी सुस्तरी जीवनमा पहिलो पल्ट यस्तो अनुभव गर्यो उसले । मधुर बतिको उज्यालोमा मुटूको बेजोड धडकाइसँगै चुम्बनको वर्षातबाट सुरु भएको यात्रा अन्तत: गन्तव्यसम्म लम्कियो आफ्नै तालमा ।

निक्कै अचम्मित थियो ऊ बादलमा बस्ती बसेको जस्तो । रातीको कृत्यहरू स्मृतिको पानाबाट नियाल्यो जे लाग्न पर्ने थियो किन लागेन उसलाई जे महसुस हुनु पर्ने किन भएन उसलाई अनुत्तरित थियो मौन थियो दिल बिल्कुल विल्कुलै । आफैले आफैसँग प्रश्न चिन्ह खडा गर्यो तैपनि जवाफ थिएन केवल अनुत्तरित भइरहयो । सहमतिमै भएको कार्यमा पनि आफूले बलात्कृत भएको महसुस गरिरहेको थियो । समयको चक्रहरू घुमिरहे वारम्बार आफूलाई बलात्कृत गराइरहे आफैलाई…सम्झौता गर्नको विकल्प पनि देखेन । उमेर सँगसँगै आफूमा आएको परिवर्तनले चकित थियो ऊ मानौँ शरिर भरि काँडाहरू उम्रिएका थिए मानौँ गुलाबको थुँगामा चटानको कभर लागेको थियो । एकापटी पहाड उठदा अर्कातिर खाल्डो पर्छ शायद त्यसैलाई भन्छ विविधता तराई नभए पहाडको अस्तित्व र महत्व पनि त हुन्न । प्रज्वलसँगको हर क्षणको उठबसले उसलाई अपराधी बनाउन थालिसकेको थियो उसको हेराई, बोलाई, या पुरै अंग अंग राम्रो लाग्न थालेको थियो आँखाहरू उसैलाई हेरिरहौँ भन्थ्यो । एकदिन ठुलो भीरबाट आफूलाई नराम्ररी झरेको भान भयो उस्लाई जब प्रज्वलले आफ्नी प्रेमिका काठमाण्डौँमा रहेको स्टाफ नर्स कोर्स सिद्धाए पछि आफूहरू बिहे गर्ने योजनामा कुरा बतायो । हुन त यो कुराले उसलाई हर्ष हुनु पर्ने हो तर निक्कै नमज्जा लाग्यो । पहिलो पल्ट उसले आफूले आफैलाई आफू हुनुमा घृणा गरिरहेको थियो । झमक्क साँझ पर्यो साँच्चै भोक थिएन निद थिएन लाग्थ्यो ऊसँग केही थिएन विल्कुलै रित्तो रित्तो थियो । भित्तामा टाँसिएको ऐनामा आफूलाई हेर्यो । कतै नमिलेको जस्तो बाङगो टिंगो मूर्तिकारले मूर्ति बनाउँदा बिर्सिएर नाकको ठाउँमा कान बनाए जस्तो अमिल्दो आकृति आँखै अगाडि छर्लगँ देखिरहेको थियो । अनि आफैलाई प्रश्न गर्यो के मेरो आँखाले खोजेको र मनले रोजेको शरिर यही हो त ?विज्ञानले चुम्बक पनि विपरित ध्रुवमा आकर्षित हुने पुष्टि गरेको छ । प्रकृतिको नियम पनि हो तर उसलाई यो विपरित धु्रवको कुरा रति पनि विश्वास लागिरहेको थिएन यदि यसो भने किन आफूलाई प्रकृतिको नियम विपरित पाइरहेको छ । आज साथीको जीवनमा कुनै स्त्रीको आगमनले किन उसलाई यति धेरै इष्र्या, डाहा लागिरहेको किन मुटू पोलिरहेको आखिर किन यो सब उसलाई लागिरहेका छ आफै बुझन सकिरहेको थिएन । गर्मीमा हिउँदको ज्याकेट लगाएर हिडन परिरहेको जस्तो घरि घरि त फालेर हिँडने आँट पनि गर्न खोज्थ्यो तर भोलिको परिणामको बारेमा अनभिज्ञ थिएन ऊ ।

आज २२ औँ जन्मदिन सबैलाई जन्मदिनमा बोलाईयो वाहेक उसकी प्रेमिका किनकि उनीसँगको सम्बन्ध दिगो चल्न सकेन ८ महिना अघि नै टुंगिइसकेको थियो । आमाले यही वर्ष बिहेको लगन जुरेको बताइरहनु हुँदा ऊ फेरि एकपटक झस्किएको थियो । किनकि आमाको विज्ञता त्यहाँसम्म थिएन सँसार एउटै भए पनि सोचाई बेग्ला बेग्लै । निक्कै बेर ती आँखाहरूले फेरि उही हसिँलो चेहरा खोजिरहेको थियो । नभन्दै साथीको आगमन भयो कालो चस्मा, क्याजुअल ड्रेसमा । साँच्चै ऊभन्दा सुन्दर त सँसारमा कोही छैन होला जस्तो लाग्ने । “ मेनी मेनी रिर्टन्स अफ द डे” आज पहिलो पल्ट अंगालोमा कसेर वर्थ डे विश गरेको थियो प्रज्वलले । शरिरमा बेग्लै करेण्ट प्रवाह भए जस्तो एकदमै खुशीसाथ केक काटन थाल्यो । जीवनमा कहिले भएको थिएन यस्तो मीठो अनुभव कसैको कसिलो बाहुपासमा कसिनुको मज्जा जुन प्रेमिकासँगको सहवास नै किन नहोस पहिलो पटक अनुभव गरिरहेको थियो उसले…नलागेको कहाँ हो र चुमिरहौँ उसको हसिलो अनुहार…नियालिरहौँ उसका आँखाहरूमा प्रेमको थुँगा तर भाग्यमानीहरूलाई मात्र यस्तो सु–अवसर प्राप्त हुन्छ आफूलाई सम्हालेर पार्टीमा सामेल भयो ऊ, धेरै पिए पछि प्रज्वल घर जान सक्ने अवस्थामा थिएन अनि भित्र कोठामा लगेर सुताइयो । एक बजिसकेछ सबैसँग छुटिसकेपछि अन्तत: आफू पनि कोठामा गयो । प्रज्वल नशामा मातिएर बेहोशी भई ओछयानमा ढलेको छ…उसको हसिलो चेहरा,बलिष्ठ शरिरले कहिले देखीको पागल पागल ऊ । एक्कासि ऊ भित्रको कुण्ठाको महासागर उर्लिएर सुनामी आउन थाल्यो सम्हालिन हम्मे हम्मे पर्यो । कति पटक त आँखैले बलात्कार गरिसकेको थियो आज अघाउन्जेल बलात्कार गर्न चाहिरकेको थियो ऊ जुन कुण्ठाले उसलाई अपराध गर्न उक्साइरहेको थियो । सुम्सुम्याउन थाल्यो साथीको लडेको लाश झै शरिरलाई चुम्न थाल्यो हसिलो चेहरामा ..एकाएक मन भित्रको असल पाटो बलियो भएर प्रस्तुत भयो “जे गरिरहेको छस विल्कुल गलत हो । प्रकृतिको नियमलाई स्वीकार्नै पर्छ” जुरुक्क उठयो आफूले आफूलाई प्रश्न गर्यो “त्यसो भए के आफ्नो जीवन ज्युँन नपाउनु मैले ?” आमाको पूजा कोठामा गएर भगवानसँग प्रश्न गर्न थाल्यो “यो सँसारमा भगवान छ भने खै भगवान…यो शरिर तेरो सृष्टि हो भने लैजा अहिल्यै, शरिर र आत्माको मिलन छैन भने के गर्ने यो शरिरमा मात्र बाँचेर मैले…तैँले सृष्टिमै ठुलो गद्दारी गरिस शरिर एउटा दिइस मन अर्को दिइस । म आफैलाई छल्न सक्तिन, कतिञ्जेल सम्झौतामा बाँच्ने भो चाहिंदैन यस्तो जिन्दगी मलाई उठा सँसारबाट……” शायद नशाको सुरमा वास्तविकता ओकलिरहेको थियो, भक्कानिएर रोइरहेको थियो ऊ । उसको जलिरहेको छातीको तापक्रम नाप्ने कुनै थर्मोमीटर छैन न थियो नै अचानाको पिरलो त अचानाले मात्र बुझ्न सक्छ न कि कुनै खुकुरीहरूले । आफूले आफैलाई बिल्कुल फरक पाइरहेको ऊसले सपनामा या विपनामा आउने अनुहारले उसलाई सोँच्न बाध्य पारिरहेको थियो ।

आफ्नो वास्तविकता बताएर समाजमा हाँस्यको पात्र बन्न चाहन्थ्यो न कि बारम्बार बलात्कृत हुँदै ज्यून चाहन्थ्यो बैवाहिक जीवन ऊ न त कातँरले झै मर्ने आँट नै गर्न सक्थ्यो । यसरी कुण्ठा लिएर अपराधी मनस्थीतिमा बाँच्नको नमज्जा त कुनै बेश्यालयमा नारकीय जीवन बिताउनेहरूले पनि महसुस गर्दैनन होला । केही हप्ता पछि प्रज्वलको बिहे उही स्टाफ नर्ससँग हुने कुराले चर्चा पायो नभन्दै उसको बिहेको कार्ड पनि आइपुगेको आमाबाट थाहा भयो । बेलुकाको खाना पनि खाउँ लागेन उसलाई त्यसै नून खाएको कुखुरा झै झोक्राइरहयो कसैले सोधेन उसलाई के भएको छ । धेरै नरमाइलो लागिरह्यो उसलाई बिहेको निमन्त्रणा कार्ड हेर्यो आयुष्मतीमा आफ्नो नाम जोडेर एक्लै बर्बराइरहयो प्रज्वल प्रतिको समआकर्षण र एकोहोरो प्रेम गराईले पागल जस्तै भइसकेको थियो ऊ । प्रार्थना गर्यो काश यो सपना भए तर वास्तविकता लुक्न सक्तैन जे छ जे देखिन्छ त्यही सत्य हो वास्तविकता हो । रातभरि आँखा ओभाएन उसको झल्झली विगतहरू सम्झना बनेर आइरहयो ….आँखै वरिपरि नाँच्न थाले ती क्षणहरू जतिबेला उसलाई आफ्नो बारेमा फरक अनुभव भएको थिएन हो त्यही बाल्यकाललाई ऊ सम्झिरहयो ।

हेर्दा हेर्दै प्रज्वलको बिहेको दिन पनि आयो सम्पूर्ण पकाउने र पाहुनाको सत्कार गर्ने जिम्मा उसले पाएको थियो । कर्तव्य पालनमा अडिग कुनै कमि हुन दिइएन धुमधामसँग बिहे सम्पन्न भयो । जब साँझ पर्यो झन अब त उसको मनमा सही नसक्नु पीडा हुन थाल्यो । प्रज्वल अरुसँग अंगालोमा बाँधिएर बसेको देख्न त परै जावोस सुन्न पनि सक्तैन थियो ऊ । आफूलाई अति नै मन परेको चिज बरु हराएका सहन सकिएला तर कसैको हातमा परेको देख्न सकिदैन । भनिन्छ हरेक कुराको एउटा सीमा हुन्छ सहनको नि म िपनि तर आज त्यो सीमा गल्र्याम गुर्लुम ढल्यो झिसमिसे उज्यालो भइसकेको थियो अन्तत : जिन्दगीको भारी बिसाउन उचित ठान्यो उसले र दौडियो सप्तकोशीको छालमा….मानिसहरूले रोक्दा रोक्दै पनिसकेन उसलाई न रोक्न नै सके न निकाल्न नै अन्तत : कोशीको छालले लगिरहयो उसलाई एकतमाससँग निरन्तर निरन्तर धेरै धेरै तल ।

भनिन्छ मिति नपुगेकाहरूसँग यमराजको जोर चल्दैन निक्कै तल पुगेपछि छालले उसलाई किनारामा फ्याँकिदियो ऊ उता बाँचिरहयो यता उस्को अन्तिम क्रियाकर्म गरियो । अब ऊ स्वतन्त्र थियो विगतलाई विर्सिएर आफ्नो नबाँचेको जिन्दगी बाँच्न चाहन्थ्यो काठमाण्डौँ भाँसियो जहाँ उसलाई चिन्नेहरू नहुन । आफू जस्तै नयाँ जिन्दगी बाँचिरहनेहरू भेटिए । उनीहरूको साथ अधिकारका लागि लडिरहेका सँस्था पुगे । अब आफ्नो लागि ज्युने अठोट गर्यो उसले आत्मासँग शरिरको मेल गराउन जस्तो सुकै मूल्य चुकाउन समेत तयार भयो ऊ । ऊसँग आफ्नो बैंक एकाउण्टमा १५ लाख व्यालेन्स थियो जो परिवारको कुनै पनि सदस्यलाई थाहा थिएन किनकि ऊ सम्पन्न परिवारको थियो ।

९ महिना पछि……..

आज उनीको २५ औँ जन्मगाँठ ऊबाट उनी भएको पहिलो जन्मोत्सव चिनजानका साथीसँगी सबैलाई निमन्त्रणा गरिएको थियो लगभग सबै उपस्थित थिए सिवाय एक जना जसलाई उनको आँखाले चारैचिर त्यो भीडमा नियालिरहेको थियो । निक्कै वेरसम्म पर्खिन तर ऊ आएन अन्तत : केक काटन अघि बढिन अकस्मात नेपथ्यबाट एकजना चिच्याएको आवाज आयो “एकछिन पर्ख”….यसो फर्किएर हेरिन जसलाई इन्तजार गरिरहेका थिए उनका आँखाहरू लालायित थिए उही हसिलो चेहरा हेर्न…ऊहि व्यक्ति विगत ५ महिना देखी उनको पछि पछि लागेका छ, जो बिदेशमा पढेर फर्किएका हुन त्यसैले त यी सब कुरा सामान्य लाग्छन उसलाई..आज यही बर्थ डे पार्टीमा सबैकासामु बिहेको प्रस्ताव राख्यो उसले ….उनी अवाक भइन……उनीलाई अँझ विश्वास छैन यो अन्धविश्वासी समाजले त्यो सम्बन्ध पचाउँनेमा….भर्खरै जीवनको पहिलो अध्याय सकिएर दोष्रो अध्याय सुरु भएको छ थाहा छैन यो अध्यायमा कति तगाराहरू पन्छाउन पर्ने हो कति सँर्घषहरू गर्न पर्ने हो यही सोँचेर उभिरहिन त्यो भीडमा निर्जीव शालिक झै एकटकले चुपचाप चुपचापसँग ।

समाप्त

(नोट :–यो कथा अलिकति बेग्लै तरिकाले लेख्न खोजेको छु हाम्रो समाजमा लाखौँको सँख्यामा हुनुहुने फरक लिंगीहरूको व्यथाहरूलाई कथामा उतार्न खोजेको छु मलाई लाग्छ म एकछेऊ पनि पुग्न सकिन । वहाँहरूलाई हाँसोको पात्र होइन वहाँहरूको भित्री व्यथालाई यसरी केलाउन सकौँ । )

1 thought on “अध्याय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *