एकदिन गुराँसलाई भनेँ,
“तिमी अब तराईमा फुल्नु पर्छ”
उस्ले न्यास्रो हुँदै भनी …
लेकका तीन जुरे भिरहरूमा फुल्ने बानी परेको छ ।
कसरी सकुँला र मुस्काउन त्यो तराईको फाँटहरूमा?
हो ! मलाई पनि थाहा छ ।
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।
तर पिउन कहाँ छोडेको छु र?
खुशी होस या गम ।
हरेक साँझ पिउनै पर्छ ।
नत्र यो बिस्ताराले यसरी बिझाउँछ मानौ …
हिट्लरको कारबाहीमा परेको छु ।
त्यसैले,
पिउनु बानी हो ।
जिन्दगी यसरी बाल्नुमा मज्जा लाग्छ
जसरी दीपमा सलेदो आफू बनेर
श्रमको पसिना तेल होस
अनि बलिरहोस सदा सदा यसरी …
जसरी बल्ने गर्छ अखण्ड ज्वती ।
सायद जलिरहनु बानी हो ।
बिर्सन कस्लाई मन हुन्न र दु:ख दिने हरेक यादहरू?
धुम्म बादल फाटेर चंगा हुन चाहँदा चाहँदै ।
हरेक पल याद आइरहन्छ छोडिजानेहरूको …
सायद उस्लाई सम्झने पनि बानी हो ।
यही बानीले यति दुखाउँछ कि?
के दुखाउँछ र मृत्युको डेट तोकिएको रोगीलाई ।
हरेक जिन्दगी बानीमा अडिएको छ ।
न सकिन्छ बानी बदल्न?
न सकिन्छ आफूलाई नै बदल्न?
कोही छ जो बानीलाई आफ्नो अधीन राख्न सकोस?
-धरती कल्पना
दक्षिण कोरिया
