क्रमागत
३ पद्य गद्य वृत्त मात्राबारे खुलासाः
संस्कृत भाषामा जे जति पनि सृजना पाइन्छन् ती अधिकांश पद्यमा रचना गरिएका हुन्छन् । तुलनात्मक रुपमा संस्कृतका रचनाहरु गद्यमा कमै मात्र रचित भएका छन् । काव्य, पुराण वा अन्य सामाजिक विधिव्यवहारका ग्रन्थहरु पनि छन्दमै लेखिएका छन्, श्लोकमै लेखिएका छन् ।
औषधिमुलो, कर्मकाण्ड, गणित, ज्योतिष, धर्मशास्त्र, लक्षणग्रन्थ लगायतका असाहित्यिक विषयहरुको जानकारी वा विधिहरुलाई पनि श्लोकमा लेखिएको पाइन्छ । यसबाट पाठकलाई सम्झनका लागि सजिलो हुन्थ्यो । यसो होस् भनेर पनि विद्वान्हरुले गणित जस्ता विषयहरुको परिचय पनि पद्यमै लेख्थे भन्ने कुरा सिद्ध हुन्छ । म छन्दकै क्षेत्रमा पुनः फर्किरहेको छु ।
हुनत गद्य पद्यमा लेखिएका सबै रचनाहरुलाई काव्य शब्दले बुझाउँछ तापनि काव्यहरुको रचना धेरै मात्रामा श्लोकहरुमा नै भएको हुन्छ ।
जुनसुकै छन्दको जुनसुकै श्लोकको रचना चार खण्डमा भएको हुन्छ ती चारखण्डहरु त्यस छन्दका पाउ हुन्, ती अलग भागलाई त्यस छन्दको पाउका रुपमा मानिन्छ । यसबाट बुझियो चार पाउयुक्त छन्दको रचना श्लोक श्लोकहरुमा अघि बढ्छ ।
पर्देश स्वर्ग जस्तै होस्
स्वप्न संसार तुल्य छ
हामी यो देश जस्मा छौं
यही भारी अमूल्य छ ।
यो एक अनुष्टुभ् छन्दको श्लोक हो, यसमा चार पाउ स्पष्ट छन् । यी चार हरफहरु नै यसका पाउ हुन् । कवितालाई यसरी चार ओटा पाउहरु देखिने गरी लेख्नै पर्छ भन्ने केही नियम छैन । दुई हरफमै लेखिए पनि पाउहरु स्पष्ट हुन्छन् । पाउहरु चिन्ने काइदा भनेको त्यो श्लोकको वाचनमा रहने अडान नै हो । यसमा तिन ठाउँमा समान अडान छन् र अन्तमा श्लोक सकिएपछि केही लामो अडान आउँछ । श्लोकको पाउ थाहा पाउनलाई अडान थाहा पाउनु पर्छ । श्लोकलाई मिचेर पढेन भने अडान थाहा पाउन सकिन्न । होस पुगाउनु पर्छ । हुनत कतिपय छन्द चार बेग्लाबेग्लै हरफमा लेखिएका छापिएका हुन्छन् । यदि त्यो रहेछ भने ता पाउ चिन्न कुनै समस्या नपर्ने भयो । ती हरफलाई नै पाउ भने भइहाल्छ । पाउ पाउमा पद्य हुनु भन्नुको पछि पनि यही कारण छ । मानिस हिंड्दा जसरी पाइला पाइला गरेर गति बढाउँछ श्लोक पनि यही मान्छेले टेक्ने पाइला पाइलाको गतिबाट अघि बढ्ने भएकोले पद्य भनिएको हो । नागबेली वा सर्पको हिंडाइको गतिबाट अघि बढ्ने गद्यको लक्षण हो । गद्यमा चरण हुन्नन् भने पद्यका यी पाउलाई चरण पनि भनिन्छ ।
पद्यहरु मूलतः चार चरणमा लेखिएका हुन्छन् । यी चरणहरु कि अक्षरको संख्या कि त मात्राहरुको संख्याका आधारमा निर्धारित गरिन्छन् । छन्दको अर्काे नाम वृत्त पनि हो । वृत्त र जाति गरेर वृत्त दुई प्रकारको हुन्छ । वृत्त र जाति भन्नु चाहिं शास्त्रीय छन्द र जातीय छन्द भन्नु जस्तै हो । वृत्तहरुका चरणमा अक्षरहरु र जातिका चरणमा मात्रालाई आधार मानेर तिनको निर्धारण गरिन्छ ।
पद्यलाई पनि वृत्त भन्न सकिन्छ । फेरि पनि अझ स्पष्ट होऊँ— वृत्त, छन्द वा पद्य भनेको एक यस्तो श्लोक हो जुन माथि भदिएझैं चरण चरणमा भएको हुन्छ जसको निर्धारण अक्षरहरुको संख्याका आधारमा हुन्छ । उता जाति वा जातीय छन्द चाहिं मात्राको आधारमा निर्धारित हुन्छन् ।
क्ररमशः
