Skip to content


आकासकाको मोन्टेरे होटलको दसौँ तल्लामा थियो बसाइ । म शनिबारको दिन बिहानै ब्रेकफास्टका लागि झरेको थिएँ होटलको रेस्टुराँमा । झ्यालतर्फको टेबलमा थिएँ म र अगाडि थियो जापानी मित्र सेई ।

होटलको झ्यालबाट हेर्दा कुनै जंगलको बीचमा बसेको भान भइरहेथ्यो । एकातर्फ लहरै ठडिएका ठूलठूला गगनचुम्बी महलहरू र अर्कोतर्फ हरिया घना जंगल । जंगल र महलको बीचमा लमतन्न सुतेको थियो चार–चार लेनको एकतर्फी सडक । साइडमा दुवैतर्फ साइकल–यात्री र पैदल–यात्रीका लागि सडक । प्रत्येक सडकको बीचमा लहरै थिए ससाना हरिया रूखहरू । एकै कद र एकै बान्कीका कुनै फ्याक्ट्रीबाट बनाएर राखिएजस्तै । अचानकै ती रूखहरूसँगै हराएँ म । बिहानै टोकियोका रूखहरू हेर्दै हिँड्ने इच्छा जाग्यो र सेईलाई अनुरोध गरँे । सेई मुस्कुरायो । उसले मेरो कुरालाई इन्कार गर्न सकेन । उसको मौन सहमतिपश्चात् म कोठाबाट क्यामेरा बोकी ऊसँगै निस्केँ होटलबाट ।

मौसम सफा थियो । सहर शान्त । फुटपाथमा हामी दुई । हाम्रा भान्साभन्दा पनि सफा सडकका फुटपाथमा हिँडेरै सहरका रूखहरू हेर्नु थियो मलाई । सेईका लागि टोकियोका ती रूखहरू सामान्य थिए तर मेरा लागि विशेष । सडकको स्वरूप र फैलावट अनुसार सबै ठाउँमा रूखहरू फरकफरक थिए । हरेक घरअगाडि अनिवार्यजस्तै थिए रूखहरू । सडकपिच्छे फरकफरक जात र फरकफरक उचाइका । यस्तो लाग्थ्यो, टोकियोका रूखहरूलाई सरकारले चाहेभन्दा बढ्ने अधिकार छैन । कतै पुड्का बनाइएका, कतै चुच्चाचुच्चा अग्ला बनाइएका, कतै सडकपट्टिका भाग छिमलेर नेप्टो बनाइएका । जस्तो बनाए पनि उस्तैउस्तै अनुहारका र उस्तैउस्तै चरित्रका । म फटाफट खिच्दै गएँ रूखका फोटोहरू । सेई मलाई हेरेर दंग पर्दै थियो ।

“सेई ! तिम्रो देशमा त कति राम्रा मान्छेहरू, कति मिहिनेतले हुर्काएका यी बोटबिरुवाहरू !” मैले सडकभरि लहरै उभिएका रूखहरूलाई देखाउँदै सेईको उत्तर खोजेँ ।

“राजु सान (साथी), हामी जापानीहरू मान्छेलाई भन्दा बिरुवालाई बढी माया गर्छौं । मान्छेहरू त खालि आफ्ना लागि बाँच्छन् तर यी सबै बिरुवा हाम्रा लागि बाँचिदिन्छन् । ल भन त, हाम्रा लागि बाँच्ने बिरुवालाई हामीले नगरे कसले माया गर्छ ?” उसले मुस्कुराउँदै जवाफ फर्कायो ।

उत्तर सामान्य थियो तर त्यसले मेरो मनको भित्रभित्रै कतै झनझनाइरहेको थियो । म मुस्कुराउँदै उसको श्रोता बन्दै हिँडिरहेँ केहीबेर ।

“राजु सान, हामी त हाम्रा हरेक नानीहरूलाई रूख रोप्न सिकाउँछौँ, रूखलाई माया गर्न सिकाउँछौँ, हाम्रा नानीहरूले कहिल्यै सडकका यी फूलहरू टिप्दैनन् । पातहरू छुँदैनन्,” ऊ बोल्दै गयो । म सुन्दै गएँ । सेईको कुराले मेरो मस्तिष्क भित्रभित्रै आन्दोलित हुँदै थियो । उसको कुराले बच्चादेखि नै आफूभन्दा ठूलाबाट अम्बा र नास्पातीको हाँगो भाँचेर फल खान सिकेको म बबुरोको घैँटोमा घाम लागेको थियो । राम्रो र सुरिलो रूखको हाँगो काटेर थाक्रो बनाउने हाम्रो गाउँको प्रवृत्ति र बन्द–हडतालको समयमा सडकका रूख–बिरुवाहरू भाँचेर, उखेलेर गर्व गर्ने र बहादुरी देखाउने हाम्रो सहरी संस्कृतिप्रति म लज्जित बनिरहेको थिएँ । हामीले कहिल्यै सोचेनौँ कुनै पनि आन्दोलन र विरोधका मुद्दाहरूमा ती निरीह बिरुवाहरूको कुनै दोष हुँदैन भन्ने कुरो । हामीलाई न कसैले रूखलाई माया गर्न सिकायो, न त हामी आफैँले सिक्यौँ ।

म र सेई पूरै जापानीको यस चिन्तनप्रति नतमस्तक बन्दै गयौँ । केहीबेरको हिँडाइपछि हामी टोकियो आर्ट ग्यालरीको सामुन्ने सडकमा आइपुग्यौँ । हामी उभिएको ठाउँबाट अत्यन्तै सुन्दर देखिन्थ्यो भवन । दुवैतिर अग्ला चुच्चाचुच्चा अनौठा प्रकृतिका एकै प्रकारका रूखहरू थिए । यति सुन्दर रूख बनाउन मालीहरूले गरेको अथक मिहिनेत र प्रयास प्रस्ट झल्किन्थ्यो । सडकतर्फ फैलिएका ठूलठूला हाँगा एकै पाराले काटिएका थिए । यो सडक वास्तवमै टोकियोको अन्य ठाउँको भन्दा अलि भिन्न नै थियो । एउटा भवनलाई सुन्दर देखाउन ती रूखहरूको छुट्टै योगदान र स्थान रहेको बुझ्न गाह्रो थिएन । सहर सुन्दर देखिन ठूलठूला भवन मात्र काफी नहुँदो रै’छ । चिप्ला सडक र चिल्ला कारहरूले मात्र नपुग्ने रहेछ । सहरको जीवन भनेको त हरियाली पो रहेछ । टोकियो डुलिरहँदा मैले बुझेको यथार्थ हो यो ।

रूखका हाँगाहरू सडकतर्फ गएर यात्रुहरूलाई कुनै बाधा अवरोध नपुर्‍याओस् भन्ने कुरामा निकै सजक देखिन्थे । कतिपय ठाउँमा त सडकतर्फका हाँगा कटिङ गरी छुट्टै स्वरूपको बनाइएको थियो । ठाउँठाउँमा घुमिरहेको देखिन्थ्यो बिरुवाको स्याहार गर्ने टोलीहरू । एउटा सानो रूखको कटिङ गर्नुपर्दा पनि फुटपाथमा पूरा ट्राफिक कोन र रातो टेपले घेरा हालिँदो रहेछ । रूख काट्ने कर्मचारीहरू फुटपाथका जनतालाई असुविधा नहोस् र रूखका हाँगाबिँगाले कसैलाई नलागोस् भन्ने कुरामा अत्यन्त सजग देखिन्थे ।

सेईको निधारमा पसिनाका सानासाना दानाहरू निस्कन थालेका थिए । हामी होटलबाट धेरै पर आइपुगेका थियौँ । हामी अब होटल फर्कने मनस्थितिमा थियौँ । टोकियो सहर जति हेर्दा पनि अघाएको थिइनँ । त्यसैले फर्कंदा अर्को बाटो प्रयोग गर्नका लागि सेईसँग अनुरोध गरेँ । ऊ खुसीखुसी राजी भयो । हामी बिस्तारै अर्कै बाटोबाट मोडियौँ । बाटो मुख्य सडकभन्दा सानो भए पनि बोटबिरुवाहरूको कमी कतै देखिएन । हरेक चोकचोकमा ढकमक्क फुलेका फूलले टोकियोका चोक स्वर्गकै कुनै टुक्रा खसेर बनेको पो हो कि जस्तो लागिरहेथ्यो । केहीबेरको हिँडाइपछि सडकपेटीका लहरै रूखहरूमा मेरा आँखा टक्क अडिए । जहाँ प्रत्येक रूखको फेदबाट बीच भागसम्म कपडाको ब्यान्डेज लगाइएको थियो । रूखहरू सोझो बनाउन दिएका टेकाहरूमा डोरीको ब्यान्डेज लगाइएका थिए । म अचम्मित र आश्चर्यचकित भएको थिएँ । मैले जीवनमा पहिलोपटक यस्तो देखेको थिएँ । यति ठूलो रूखलाई पनि यति बिघ्न स्याहार ! मैले केही नबोली सेईलाई देखाएँ रूखका पट्टीहरू ।

सेई अर्थपूर्ण मुस्कुरायो र बोल्यो, “रूखलाई इच्छा अनुसार बनाउन यसका हाँगाहरू काट्नुपर्छ र काटेको ठाउँमा कुनै संक्रमण नहोस् भन्नका खातिर र जाडोबाट बचाउनका लागि यो विधि अपनाएको हो ।” म निरन्तर ती काप्रो बाँधिएका रूखहरूलाई हेर्दै गएँ र एकएकको फोटो खिच्दै गएँ । साँच्चै वनस्पति–मोहको एउटा अनुपम उदाहरण थियो त्यो । आफ्नो औँला काटिँदा माटो र थुक लगाएर निको पार्ने गाउँको बिचरो म । रूखलाई हँसियाले कोपीकोपी मार्न सकेकामा मख्ख पर्ने हाम्रो बानीका अगाडि त्यो दृश्य साँच्चै नै तीन छक्क पार्ने खालको थियो । मेरो ढिलाइप्रति संकेत गर्दै सेईले घडी हेर्‍यो । म सचेत बन्दै सेईले इसारा गरेतर्फ बढेँ । म सेईसँग गफ गर्दै हिँडे पनि ऊसँग थिइनँ । म टोकियोको हरियालीमा हराएको थिएँ । जसले सहरको स्वरूप बदलिदिएको थियो । मेरो मन बदलिदिएको थियो ।

होटलनजिकै आइपुग्दा सेईले एउटा अनौठो कुरा देखायो । मेरा लागि त्यो फेरि अर्को आश्चर्य बन्यो । जहाँ एउटा रूख बचाउन घरको आर्किटेक्ट बदलिएको थियो । रूखलाई माथि जान दिनका लागि ठूलो प्वाल बनाई घरको गेट निर्माण गरिएको थियो । वनस्पति–मोहको एउटा ज्वलन्त नमुना थियो त्यो । सेईले भनेजस्तै रूखलाई कति माया गर्दा रहेछन् जापानीहरू । एउटा ट्वाइलेट बनाउनका लागि एक मिनेट पनि नसोची बीसौँ वर्ष पुरानो रूख ढाल्न तयार हुने हाम्रो लघुसोच र सडकको रूख ठूलो भएर बसको छतमा बस्ने मान्छे मरेपछि मात्र हाँगो काट्ने चेत पलाउने हाम्रा प्रवृत्तिप्रति थोरै ग्लानि पलाएर आयो । आफूलाई तनले सेईजस्तै देखिए पनि मनले सेईभन्दा धेरै सानो महसुस भइरह्यो । सहरमा कस्तो रूख लगाउने र कत्रो रूख बनाउने भन्ने योजना नै नभएका नगरपालिकाका जिम्मावालहरूप्रति भित्रभित्रै रिस उठिरह्यो । बाटोभरि मेरो मस्तिष्कमा टोकियोको सुगन्ध र काठमाडौँको दुर्गन्ध एकसाथ सिँगौरी खेलिरह्यो ।

“राजु ! तिमीलाई अचम्म लाग्ला, टोकियो मेट्रोपोलिटनसँग कुन रोडमा कतिसम्म अग्लो रूख बनाउने, कस्ता जातका बिरुवालाई कस्तो बनाउने भन्ने स्पष्ट योजना छ । उनीहरूको एउटा विङ सहरलाई कसरी सुन्दर बनाउन सकिन्छ भनेर लागिपरेका छन् । वास्तवमै तिनीहरू धन्यवादका पात्र हुन्, जसले टोकियोमा हरियाली बचाएको छ । हाम्रो काम त बोटबिरुवालाई नबिगार्ने न हो ।” मेरो मौनता भंग गर्न बोल्यो सेई ।

तीन घन्टा बितेछ सहरमा । होटलको गेटमा पुग्दा घडीले सूचना दियो । सेईको अनुहारबाट छुटेको पसिनाले उसको अनुहार रातो भएको थियो ।

“सेई ! तिम्रो टोकियोलाई बधाई, जसले तिमीहरूजस्तो सहरलाई माया गर्ने जनता पायो,” छुट्टिने बेला बधाई दिएँ ।

ऊ हाँस्दै भोलि भेट्ने बाचासहित बिदा भयो । म होटलअगाडि उभिएर प्रफुल्ल मुद्रामा सडकछेउमा लहरै उभिएका रूखहरूलाई हेरेर घोरिइरहेँ । फेरि टोकियोको हरियालीमा हराएँ । क्षणभरमै मेरो देशका एक हूल मान्छे आई उखेल्न र भाँच्न थाले ती सुन्दर बिरुवाहरू । एकैछिनमा काठमाडौँको सडकजस्तै उजाड बन्यो आकासका । सडक भरिए ढुंगा र इँटका टुक्राले । म असमञ्जसमा परेँ । मैले रोकेँ, कराएँ तर जति कोसिस गर्दा पनि बचाउन सकिनँ ती बिरुवाहरू । टोकियो सहरमा कोलाहल मच्चियो । सहर सहरजस्तो देखिएन । म आत्तिएँ । अचानक पूर्वतर्फबाट आएको प्रहरीको गाडीको साइरनले मेरो तन्द्रा भंग भयो । आकासका जस्ताको तस्तै थियो । फगत मेरो तन्द्रा रहेछ म आफैँसँग लजाउँदै होटलभित्र छिरेँ र सरासर कोठातर्फ लागेँ ।

प्रकाशित: जेष्ठ २६, २०७३
http://nepal.ekantipur.com/news/2016-06-08/20160608192305.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *