Skip to content

मनमनको गुनगुनको शैल्यक्रिया


परिचय
लामो समयसम्म सरकारी जागीरमा जीवन बिताउनु भएका कविवर श्रीचिरञ्जीवी सिग्देलजी एउटा साहित्यमा रुची राख्ने सरल स्वभाव, साधा जीवन तर उच्च विचारको धनी मित्र हुनुहुन्छ । जागिरे जीवनबाट अनिवार्य अवकाश पाए पछि २०६९साल कार्तिक २८ गते पूर्व र बहालवाला कर्मचारीहरूलाई जमघट गराएर लक्ष्मी जयन्ती मनाउने र नवलपरासी जिल्लामा एउटा साहित्यिक संस्थाको स्थापना गर्ने भनी मलाई बोलावट भयो । उक्त अवसरमा उहाँको यो कृति मैले प्राप्त गरेको थिएँ । हाल उहाँ साहित्यिक कार्यक्रममा सकृयरूपमा लाग्नुभएको छ ।

चिरञ्जीवी सिग्देलको जन्म किहूँ –७, तनहूँ जिल्लामा भएको हो तर हाल उहाँ नवलपरासी जिल्लाको कावासोती नगर पालिकामा स्थाइरूपमा बसोबास गर्नुहुन्छ । उहाँ पिता स्व श्रीभवानी शंकर सिग्देल र स्व. माता श्रीकौशिला सिग्देलको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म बि.सं. २००८मा भएको थियो । उहाँले स्नातक शास्त्री नव व्याकरणमा र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ । उहाँ बर्दियाली साहित्यको संस्थापक र आजीवन सदस्य हुनुहुन्छ । उहाँले कलिकोटमा रहँदा सङ्गम भित्ते पत्रिकाको सम्पादन गर्नुभएको थियो र मुखपत्र मिलनको पनि सम्पादन गर्नुभएको थियो । जागिरमा छँदा उहाले विभिन्न पदकको साथै गोर्खा दक्षिण वाहु चौथाले विभूषित हुनु भएको थियो । ३६ वर्षसम्म सरकारी सेवामा रही उपसचिवको पदसम्म ओगट्न सफल भई राष्ट्रसेवकको भूमिका निभाउनु भएको चिरन्जीवी सिग्देल हाल सेवा निबृत्त भै साहित्यमा उन्मुख हुनुभएको छ । यो आफ्नो दैनिकीलाई व्यस्तताको साथै समाज सेवामा जुट्नु भनेको साह्रै प्रसंशनीय काम हो जस्तो लाग्दछ ।

कृतिको संरचना–

२०६९मा प्रकाशित मनमनको गुनगुन कवितासङ्ग्रहको संरचनामा ७६ पृष्ठको छ । यसको प्रकाशन स्वय म सिग्देदजीले नै गर्नुभएको छ यसमा लामा र छोटा गरी ५६वटा पुष्प गुच्छाले सुसज्जित भएको पाइन्छ । यसको मूल्य रु ६० राखिएको छ । उहाँले यस कवितासङ्ग्रहमा कसैको भूमिका पनि लेखाउनु भएको छैन ।

सिग्देलजीको यो कवितासङ्ग्रहलाई, अध्ययन गर्दा उहाँ प्रकृति प्रेमी, राष्ट्र र राष्ट्रियताप्रति समर्पित भौगोलिक परिवेशमा खुबै रमाउने, युवाहरूलाई जागृत गराने जस्ता उहाँका व्यक्तिगत विशेषता देखिन्छन् भने कविता लेखन क्षेत्रमा पनि उहाँले भिन्नै प्रकारको विशेषतालाई समाउनु भएको छ । जहाँ गयो त्यहींको भौगोलिकतामा नजर राख्दै कविता कोर्ने चराहरूको चिरविरे आवाजलाई विम्ब बनाएर कविता कोर्दा रमाउने जस्ता उहाँका विशेषताले भरिएको यस कविता सङ्ग्रहलाई विविधरूपमा अध्ययन गर्न सकिन्छ । मैले निम्नरूपमा अध्ययन गर्ने जमर्को गरेको छु ।

राष्ट्रियताले भरिएका कविताहरू –

सिग्देलजीको पहिलो कविता ‘म र मेरो जन्मभूमि’ चार पंक्तिको कविताबाट कवितासङ्ग्रहको थालनी गर्नुभएको छ । प्रथम कवितामा कविले आफ्नो सारा बैंश राष्ट्रको सेवामा अपर्ण गर्नुभएको र अवको बाँकी जीवन पनि राष्ट्रकै सेवामा अर्पण गर्न चाहानुहुन्छ र भन्नुहुन्छ– “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” । ‘टाक्सिएको मेरो देश’मा पनि कविले अनेकौ गरिमा बोकेको सत्वम शिवं सुन्दरको देश तर राजनीतिक लुक्षाचुडीको कारणाले टाक्सिने पो हो कि भन्ने चिन्तामा हुनुहुन्छ । ‘ मेरो देश, म अनि संसार’कविता मेरो देश मनभरि मुटुभरि समेटिएको छ । चित्रमा हेर्दा ससानो देखिए पनि विशाल छ मेरो देश भन्दै राष्ट्रियताले भरिएका भावनालाई पस्कनु भएको छ ।

जीवन र जगतसँग सम्बधित कविताहरू –

कविले जीवन र जगतलाई आधार मानेर लेखेका कवितामा ‘चुइगम जस्तो जिन्दगी’, ‘रित्तो जिन्दगी’, ‘टाढिएको एउटा जीवन’,‘धरोहर जिन्दगीको’ र ‘कथा व्यथा जीवनको’ कविताहरू पर्दछन् । यी कविताहरूले गौरवमय जीवन बिताउन, विशाल छातीको धारण गर्न, जिन्दगीलाई चुइगमसँग दाँज्न सकिने, प्रेमपूर्ण जीवनको भोगाईमा व्याधाको आक्रमण हुने नियतिको भोगाइमा छाती जल्नु जस्ता जीवनमा भोगिने मार्गदर्शनलाई दर्शाएका छन् ।

स्वाद लिइलिई खाँदा
मीठो हुन्छ र मजा पनि आउँछ
जति चपाए पनि हुने,…..
तनकाउँदा लामो हुन्छ
…… मनलागेन भने
यसलाई थुक्क गरेर
थुकसँगै थुक्न पनि सकिन्छ
(चुाइगम जस्तो जिन्दगी पृष्ठ ११)

रित्तो जिन्दगीमा कविले अल्प उमेरदेखिनै आफ्नो यौवनको व्यपार गर्नेलेपछि गएर जीवनलाई रित्तो प्राप्त गर्ने कुरा दर्शाएका छन् । मार्मिक छ कविता । देहव्यपार किन गरिन्छ –

….. आफ्नो गरिबी छोप्न
जीवनको पसल थापी
खुबीले भ्याएसम्म रित्तो जिन्दगीको पनि
कालो बजार गर्न खोजी
तर ग्राहक पाउन सकिन
(रित्तो जिन्दगी पृष्ठ १८)

टाढिएको एउटा जीवनमा घाम पानी, साँझ विहानीमा पिल्साउने र पकाउने, रुवाउने र फकाउने, एक ढेडी खुर्सानी र एक ढिका नून, एक तान्द्रो गुन्द्रुकर एक गाँस ढिडोसँग डाँडा पाखामा हुर्केको जीवन आज टाढिदै गएको महसूस हुँदै छ कविलाई
जीवन जगतसँग गाँसिएको कविको अर्को कविता हो ‘धरोहर जिन्दगीको ’ । मानव जीवनमा पूर्ण हाँसो,पूर्ण रोदन गर्न पनि कठीन छ किनकि हाँसे किन हाँसो र रोए किन रोयो भन्नेहरूको कमी छैन । जे होस् –

रुनु हाँस्नु दुवै मेरा
जिन्दगीका धरोहर हुन्
जस्को भित्र मैले आफ्नो
यो जिन्दगी साँचेको छु
(धरोहर जिन्दगीको, पृष्ठ ५४)

स्रष्टा स्मरण र कवि –

सिग्देलजीले भानुको सम्झनामा र कवि मोती प्रति शीर्षकमा स्मरण गर्नुभएको छ । दुई जना कविलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । भानु काव्य सिर्जनाका पहिला ( आदिकवि) र वाल्मीकि सरह पुजिएका भन्ने धारणा राख्नुभएको छ । मोतीराम भट्टलाई अल्प आयुमै, धिप्प ज्योति बनी बलेको र भानुभक्तका कृतिलाई खोजेर र कलापारखीका पहिला ध्वनि भएर गएको (मृत्यु भएको) धारणा पोखिएका छन् कवितामा ।
स्थान विशेषका कविताहरू–

सल्यानी सुसेली, दमौली, पहाडी साँझ, शालैदीको कलकलमा ढोरपाटन, एक दिन खाँडा चक्रमा, हुनहुनाउँदै छ कर्णाली, छिस्तीको पानीमा, र काठमाण्डौ पहिले र अहिले जस्ता कविताहरू स्थान विशेषलाई महत्व दिएर लेखिएका कविताहरू हुन् । यी कविताहरूमा स्थान विशेषको विशेषता, सामजिक संरचना, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक र धार्मिक महत्वको बारेमा प्रकाश पारिएको छ । सल्यानी सुसेलीमा ढुङ्गा र माटो मिलाएर घरका छानाहरू छाइने, भूतप्रेतलाई मान्ने, डाँगर र राँगा काटेर बली दिने, भदौमा जात्राहुने, कुभिण्डे दह देवी, विष्णु गणेश र मष्टोको पूजा गरिने र शिशुलाई जाइँना–जाइँने, लोग्नेलाई लोकन्छोरो र स्वास्नी मानिसलाई स्वाञ्छरी, नाकलाई नाक्चो, मुखलाई खाप्चो, तन्नेरीलाई छोरेटो, तरुनीलाई छोरेटी, रातमा गीत गाउने चलनलाई छोट्टी बस्नु,आगोको लागि झुलो र चकमक लिनु कट्कट् खानुजस्ता सामाजिक परिवेशलाई समेटेको छ । बास्वमा यी माथिका कविताहरूले भूगोललाई समेटेको छ, त्यहाँको सांस्कृति, सामाजिक परम्परा, मातृभाषाको प्रयोग, धार्मिक परम्परा, आवासको निर्माण आदि विविधतालाई त्यहाको सांस्कृतिक सम्पदालाई टपक्कै टिपेर लपक्कै टाँसेको महसुस हुन्छ ।

दमौलीै सेती, मादी, र बुल्दीको सङ्गम स्थल, लोकसाहित्यको केन्द्र बिन्दु, खैंजरी, मादल र मुजुराको तालमा पाङदुरे नाच र सोरठीको भाका, वेदव्यासको जन्म थलो ऋषि पारासरले माझी–पुत्रीमा रमण गरेको ठाउँ भनी उल्लेख गर्नुभएको छ । निश्चय नै गण्डकी अञ्चल अर्थात पश्चिमाञ्चलको लोकसाँस्कृति र लोक साहित्यले नेपालकै लोक सास्कृति र लोक साहित्यमा अग्रणी स्थान ओगटेको छ । कविले यथार्थताको कसौटीमा उभिएर कविता कोरेका छन् । पारसर ऋषिको कामुकता र व्यासको जन्मले पौराणिक यथार्थतालाई झल्काउँछ र वेदव्यासले सिर्जना गरेका ती पूराणहरूले सनातन धर्मलाई नै डोर्याएको छ र विश्वमा ज्ञानको प्रकाश छरेको छ, । त्यस्ता व्यासलाई दमौलीले जन्माएको छ जो हिन्दूधर्मकै गौरव हो । पहाडी सम्झना, रमाइला दिनहरूमा पहाडको प्राकृतिक सौन्दर्य तथा त्यहाँको वनस्पतिले मानवन जीवनमा आउने आनन्दलाई समेटेको छ ।

शालैदीको कलकलमा कविताले शलैदी नदीको गीतको गुञ्जन र शलैदी नदीको विभिन्न नामको साथै यस क्षेत्रको ऐतिहासिक विवरणलाई समेट्न खोजेका छन् । कही गैरी खोला कहीं, शाल ‘डी,” कहीं शाल ‘दी’ नामले कहलाउँदै जलाउँदीमा सुसाएर दोख मसानको खानी, वायुको खेल भन्ने मानवमा छाप छोड्दै, खेतबारीहरूलाईं सिँचित गर्दै, चाँपटारीको अजङ्गको चापको रुख जसमा मुस्किलले एउटा लाखु चढेछ तर तल झर्न सकेनछ त्यस्तो रुखको छाहारी हुँदै बग्ने शालैदीमा आज त्यो चापको रुख नभएको हुँदा कविमा चाँप रोपनको धारणा उब्जनु, रेनुका नामकी नारी घरको खटपटले गर्दा दहमा हाम फल्दाको संझनामा रेनुकीदह नामकरण गरिनु, डुम्रीबेंसी हुँदै सेरा बूँदी कुलाङ्ग र दोभानमा गएर गङ्गामा मिसिनु आदि ऐतिहासिक बर्णन र प्राकृतिक सौनदर्यमा रमण गरेकी शालैदी खोलाको सम्झनामा व्यस्त देखिन्छन् कवि । यो कविता यस कृतिको लामो कविता हो ।

रमाइलो नाम्चे कवितामा कविले हिमाललाई हातले छोइएला जस्तो लाग्ने,शिरमा छोएर आशीर्वाद देलाजस्तो लाग्नेर सगरमाथा पनि देखिने अति रमणिय स्थल नाम्चे भन्ने धारणा पोखिएको छ ।

देउरालीबाट देखिने दृश्य, देरालीको हावा, तथा आकाशमा देखिने लाखौ तारा आदि प्राकृतिक बर्णनले भरिएको छ कविता ।

पुषको एक विहान–यो कविता पनि स्थान विशेषलाई महत्व दिएर लेखिएको कविता हो । काठमाण्डु र सिमभञ्ज्याङमा पर्दो हिउँ, यातयात चल्न नसक्नु र जनतताले भोग्न पर्ने जाडोको कठोरताको बर्णन छ ।

एकदिन खाडा चक्रमा रहदा कविले कर्णाली र तिलाको निरुद्देश्य बगिरहेका, चुलीमालिकाजस्ता चुचुराहरू झुक्न नसकी उभिइरहेका प्राकृतिकसँग मानव जीवनको तुलना गर्न खोजिएको छ र यसै कवितामा कविले गोलाबारुद पड्काइलाई जोडेर जनयुद्धको त्रसादिलाई पनि समेट्नुभएको छ ।

ढोरपाटन अवलोकनमा काठमाण्डु जस्तो देखिने, ढोर खोला माझलाई चिरेर बगेको पाइने, बीचमै मिलेको उत्तरगङ्गाको दृश्य, बाग्लुङबाट चुइनेटा हुँदै जाँदा साथै आलु र स्याउ खाँदाको आनन्दता, नाउर, बुकी घाँसको कोमलता आदि मन रसाउने खालका प्राकृतिक दृश्यको बर्णन हेर्न सबै जानु राम्रो हुने कविको आग्रहले सजिएको छ ढोरपाटन कविता ।

काठमाण्डौ पहिले र अहिले यस कृतिको अन्तिम कविता हो । यसमा कविले ४० वर्ष यता काठमाण्डौमा देखिएको गन्दगीको यथार्थ चित्र उतार्नुभएको छ ।

चराहरू र कविता सङ्ग्रह–

कवितासङ्ग्रहमा चराहरूप्रतिको मोह पनि गाढा देखिन्छ । धेरै भाषा, शब्द, कापी, कलम, पुस्तक, पत्रिका विनानै धोविनी, रानी चरी, जुरेला जुरेली, विभिन्न बोटमा बसेर मादलु र मुरली बजाएर काफल पाक्यो भन्ने जस्ता गीतको लयलाई गुञ्जिरहेका हुन्छन् । यी गीतलाई श्रवण गर्दा केवल आँखाँको अवलोकन र मनमनको गुनगुनमै रक्तिम पोती आउने सविता नै कविको बन्यो पहिलो कविता । शरद ऋतु जो प्राकृतिक सौन्दर्यताले भरेका बेलाको रामइलो दशैंको आगमन, फिस्टे चरीले, फूलमा बसेर कविसँग बार्तालाप गर्नु र कविलाई आनन्दता प्रदान गर्दा कविले जाने बेलामा पनि कविजीको खुसी, मन मुटुको पराग कुनै न कुनै शन्देश लिएर जाने अनुरोधगरेको पाइन्छ कवितामा ।

ढुकुरलाई कविले प्रेमको प्रतिकको रूपमा लिनु भएको छ । मानव जीवन भँगेरासरि सादा हुनुपर्छ भन्ने कविको धारणा छ ।

विविधखालका कविताहरू–

तृप्तता, विशाल छाती,दिलको गहनता, आरोपको प्रतिवाद आदिले गौरवमय हुनु, राजनीति र कुर्सीमोहले गर्दा भमताभुङ्ग भएको चाला, लथालिङ्गभएको स्थिति र जनताले भोगेका कष्टदाइ अवस्थाहरूमा कवि चिन्तित छन् । ,चियाको गिलासमा सम्पन्नता र विपन्नताको अनुभूती गर्न सकिनु, हुरीले कुचोको काम नगरी प्रदूषण निम्त्याएको भावना, मनभित्र रहर पोखिदा नउठाउनु, मन बरालिदा नसम्हालिनु आदिको खोजी गर्दा मन रित्तो पाउनु, रिसाए पनि रिसाएको सम्झना नरहिरहनु, बाडुलीले वैलिएको मन पनि कोपिला झै फक्रिनु, कविता कहिले खेलाँची, कहिले कुखुरे बैंशको जुरो, अहिले मायाप्रीतिको चुरो भए जस्तो भोलि यो जिन्दगीको धुरो नै बन्न सक्ने अवधारणा, फूलहरूको सन्देशमा फूलको फुल्ने क्रममा निरन्तरता, अति कठोर संक्रमिक कालमा पनि पाइने कोमलताको बर्णन छ कवितामा । परदेशी भाइलाई पत्रमा देशमा आफन्तले खोजिनु, देउरालीले पखिर्नु, जस्ता मार्मिक भावुकताको पोखाई छ । दशैं आएकोमा रमाइलो अनुभूति, आदि विविध खाले कविताहरू यस कृतिमा पढ्न पाइन्छन् ।

मुक्तक पनि तीनवटा समावेश गरिएका छन् । बादल भित्र घामहुने,मन भित्र ठामहुने नजरमा याम हुने धारणा पहिलो मुुक्तकले राखेको छ । दोस्रो मुक्तकले मानव स्वभावमा कसै कसैको धारणा प्रयोग गर र फाल अर्थात योगदानको कुनै कदर नगर्ने बानी प्रति कटाक्ष देखिन्छ तेस्रो मुक्तक हेरौं –

जून खुल्दा जूनैसरी हुन्छु खुलेको म
तोरी पुल्दा बारीभरि हुन्छु फुलेको म
पर्छ भने छामी हेर धुकधुकीमै छु म
नचिनेर पो त मोरी ! उही मान्छे हुँ म

कवितामा पोखिएका धारणालाई यहाँ पस्कने प्रयास गरिएको छ । माथि उल्लेखित कविता र तिन्को विचारलाई केलाउँदा छोटा मझ्यौला र लामा खाले गरी तीनवटा संरचनामा कविता कोरिएका छन् । यी संरचनाले कवि कविता कोर्न स्वछन्द छन् । जहाँ जान्छन् जे देख्छन् त्यसलाई कवितामा उतार्दछन् । स्वछन्दवादको अवलम्वन् कविले अङ्गालेका छन् भन्न सजिलै सकिन्छ । कविका कविता धेरै रसिला र ओजपूर्ण छन् । स्थान विशेषले बोकेको प्राकृतिक सौन्दर्यता, मानवीय संवेदनशीलतामा प्रकाश पार्ने प्रयास गरिएको छ कवितामा ।

अत: कविता नेपाली साहित्यमा सबैभन्दा बढ्ता लेखिने विधा हो । साहित्य समाजको दर्पण हो । कविता साहित्य भित्रको एउटा विधा भएकोले यो पनि समाजको ऐना हो । यो स्वत : स्फुरणमा लेखिने कला हो । यस कविता सङ्ग्रहमा कविले विविधता अपनाएका छन् । कविताको निमार्णमा छवटा तत्वहरू ( बस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिविन्दु र भाषाशैलीय विकास)बाट कविता निर्मित भएको हुन्छ । यहाँ कविले सरलरुपमा कविताको यथार्थ भनाइलाई सबैले बुझन सक्ने रुपमा निर्माण गर्नुभएको छ । भाषाशैलीमा हामीले सरलता कोमलता विशिष्टता र श्रुतीमधुरता पाउन सक्छौ । कविका यी कविताहरूलाई प्रयोगात्मक कविताको रुपमा लिन सकिन्छ भने कविलाई प्रयोगवादी कविको रुपमा गणना गर्न सकिन्छ । केही कविताहरू र गीतहरूलाई लयात्मकरुपमा प्रस्तुत गरिएका छन् । गाउँ, शहर, पहाड, स्थान विशेष, प्राकृतिक सौन्दर्यता, नदीनाला हरियाली, सामाजिक, धार्मिक, ऐतिहासिक, आदिलाई सुन्दर परिवेशमा प्रष्ट्याउन खोज्नु कविको विशेषता हो । कवितामा भावपूर्ण काल्पना, नैतिकवादी प्रस्तुति, सामाजिक बिकृति, बिसङ्गति प्रति कटाक्ष प्रेममा विशिष्टता र देशप्रेमले भरिएका छन कविताहरू । मैले माथि नै प्रत्येक कविताको भावलाई प्रष्ट्याउने प्रयास गरेको हुँदा कविले पोखेका भावनालाई सुन्दर शैलीमा भावपूर्ण तरिकाले कविताको रचना भएको छ भन्दै यो सानो विवेचनालाई यहीं बिट मार्दछु र भावी दिनमा अँझै सुन्दर कविताको निमार्णको कामना गर्दै कविजीलाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।

धन्यवाद,
सदानन्द अभागी
शान्तिचोक, कावासोती नवलपरासी
२०७३ सालश्रावण २३ गते,

Leave a Reply

Your email address will not be published. Required fields are marked *