Skip to content


माधुरी शब्दले मिठास, मधुरस र रक्सी भन्ने अर्थ लगाउँछ । नव माधुरीभन्दा नयाँ मिठास भन्ने अर्थ लगाउन सकिन्छ । जे होस् नव माधुरीले नयाँ मिठास चखाउने काममा यसलाई अर्थ्याउँदा अनर्थ नलाग्ला भन्ने ठान्दै यसै नव माधुरीको बारे केही धारणाहरू राख्न चाहन्छु । नव माधुरी पर्वत जिल्लाबाट प्रकाशित गरिने पत्रिका हो । यस पत्रिकाको काम यथा नाम तथा गुण भने जस्तै नयाँ नयाँ अङ्क मार्फत पाठक वर्गमा मधुरस पान गराउँछ र आनन्दको अनुभूति दिलाउँछ । यस पत्रिकाको प्रकाशन थालनी २०६२ सालमा सरस्वती शर्मा ‘जिज्ञासुको सम्पादनमा भएको थियो । यस पत्रिकाले सातौ अङ्कसम्म बार्षिक रूपमा प्रकाशन हुँदै आएकोमा आठौअङ्कबाट त्रैमासिक पत्रिकाको रूपमा प्रकाशन हुने सुअवसर प्राप्त गर्न सक्यो । बार्षिक पत्रिकालाई त्रैमासिकमा रूपान्तरण गर्ने काम पनि सम्पादक सरस्वती शर्मा ‘जिज्ञासु’बाट भएको हो । साहित्यिक क्षेत्रमा पर्वत जस्तो जिल्लामा बसेर माधुरी जस्तो स्तरीय पत्रिका सञ्चालन गर्नु भनेको एउटा जटिल काम हो तापनि सरस्वती शर्मा “जिज्ञासु”ले १० बषदेखि निरन्तरता दिदै आउनु भएको छ । सरस्वतीजीले साहित्यका विविध विधामा विशेषाङ्क निकाल्नुहुन्छ भने कहिले साहित्यिक गोष्ठिहरू सञ्चालन गरेर नवसर्जकहरूलाई साहित्य लेखनमा लाग्न उत्पेरित गर्नुहुन्छ । मैले सरस्वतीजीलाई सानैबाट चिन्छु, र उहाँका प्रकाशनहरूपनि सबै जसे अध्ययन गर्न पाएको छु । उहाँ एक सम्पादक मात्र हैन, एउटा साहित्यकार, पत्रकार, समाज सेवी, राजनीतिक कर्मी र मानव अधिकारको क्षेत्रमा पनि समर्पित भएर काम गर्ने सफल व्यक्तित्व पनि हो । नवमाधुरीले रजत अङ्क पनि निकालिसकेको छ ।

आज म पूर्णङ्क २६को बारेमा केही कोर्न लागिेको छु । यस २६ पूर्णङ्कमा १८ जना सर्जकहरूका रचनाहरू समावेश गरिएका छन् । सर्व प्रथम छन्द नायक माधव वियागीका सारगर्भित अन्तरबार्ता समावेश गरिएको छ । माधव वियोगीले छ वटा महाकाव्यहरू नेपाली समाजलाई उपलब्ध गराई सक्नुभएको छ । थुपै्र कृतिहरू प्रकाशनमा आएका छन् । उहाँको अन्तवार्ता पढ्दै जाँदा ‘छन्द या लय वेगर कविता बन्दैन’ र अर्को शब्द पनि मेरो नजरमा पर्न गयो त्यो हो ‘छन्द आन्दालनको वदनाम गर्न खोज्नेले अनेक अफवाह फैलाएका छन्’ । उहाँ छन्द बचाऊ अभियान (२०५३) र महाकाव्य लेखन अभियान( २०६०) अभियान सञ्चालनमा लाग्नुभएको छ । यी दुवै धारणालाई साहित्यिक जीवनका अमूल्य गहना ठान्नुहुन्छ वियागीजीले । साहित्यकारले बोकेका यी धारणाहरू प्रशंसनीय छन् तर आजको परिबर्तित समयको माग अनुसार नै आधुनिक नवीन गद्य कविताको लहर चलेको हो । आजको कविताको लेखन शैली गद्य कविताको रूपमा अघि बढेको छ । छन्द बचाऊ अभियान चलाउनुसँग मेरो विमति होइन तर छन्दमा कविता हिजो पनि लेखिएका थिए, आज पनि लेखिदै छन् र भोलि पनि लेखिन्छन् । छन्द आन्दोलनको बदनाम गर्नु पर्ने कुने कारणा नै छैन । यसो हुँदा छन्द बाँच्छ त्यति चिन्तित हुन पर्ने देखिदैन । समयको माग अनुसार लेखन प्रवाह बग्छ । गद्यलयमा लेखिने कविता नै हैन भन्नु त छन्दमा लेख्नेहरूको अहम्ताको प्रदर्शनी त होइन ? उहाँको अन्तर्वाताले दिएका सन्देशहरू मनन्योग्य र पठनयोग्य छन् ।

कविताहरूको अध्ययन – यस अङ्कमा कविता र हाइकु गरेर ७ जना कविहरूका कविताहरू समेटिएका छन् । यी कवितामा लक्ष्मीराज शर्मा पौडेलले गीताको भावसार समेट्नुभएको छ । दामोदर पुडासैनीको कविता ‘बर्जित अस्मिताको एक आवाज’मा देशमा देखिएको छुवाछुतको बारेमा मार्मिक धारणा राख्नुभएको छ । घर बनाउने वलेसीमै बर्जित, मन्दिर बाउनेलाई मन्दिको ढोकामा नै बर्जित, अर्थात दलितहरूले खेप्न परेको मार, अपहेलना, गरिबी तथा भइरहेको शोषण दमनमा कविले दह्रो प्रहार गरेका छन् । श्रीराम श्रेष्ठको ‘सिजो’ कवितामा भू–कम्पनले गर्दा मानव बस्ती क्षण भरमा मरुभूभि भएको धारणा आएको छ ।

युगनाथ गौडेलको ‘शुभकामना’ कवितामा कविले यो देश स्वतनत्र राष्ट्र हो र यसमा शान्ति र सद्भावका सन्देश लिएर सबै एक जुट भएरबसौं, सबैमा समानता आवस्, ऋषिहरूको पालामा समाजवाद थियो । बुद्ध, भृकुटी, जनकको स्मरण गर्दै पूर्वजले चाहेको शान्ति सबैमा फैलाउनु पर्ने धारण राखिएको छ ।

विमल शर्माका दशवटा हाइकुले घोरेपानीको ओरालो उकालो अनौठो यात्र, लालीगुराँसको मन मोहक अवलोकन हुने, चम्किलो रातमा साथमा प्रेमिका रहेमा मनमा खुसी हुने, जस्ता जीवन जगत, गरिबीमा उदासिनता,मिलनमा पनि उजाड मन, यात्रा आदिमा आफ्नो सारभाव पोखिएको छ ।

वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराइको ‘मैले कुर्सी ताकें’ देशको समसामयिक राजनीतिमा व्यङ्गकसी लेखिएको यो कवितामा प्रजातन्त्र कसैले ल्याउने कसैले रमिता हेर्ने तर ती रमितेले नै क्रान्ति गए र शान्ति आए पछि कुर्सी घेर्ने काम किन गरियो भन्दै आजको कुर्सीमुखी राजनीतिले ल्याएको बिक्रीति र हिजोको क्रान्तिले दिएको पीडामा यथार्थ परक प्रस्तुति गरिएको छ । परिवर्तनको लागि गरिएको वलिंदान, “व्यर्थ नजाओस् मेरो वलिदान मैले विन्ति राखें, अरूले बोल्न व्यर्थ छ मैले कुर्सी ताकें”भन्दै कविले कुर्सीमुखी राजनीति नगरिओस् भन्ने धारणा राख्नुभएको छ ।

सरस्वती शर्मा जिज्ञासुको लोकतन्त्र कविता राष्ट्रिय भावनाले भरिएको छ । लोकतन्त्र सक्षम बनोस्, शान्तिमय बनोस्, बन्दहड्ताल हटोस्, अपहरण लुटपाट, खराब भावनाहरू सुधृउन भन्ने धारणा राखिएको छ । नेपाली बनिरहनको लागि नेपाल देश रहनु पर्छ भन्ने कुरा सबैले मनन् गर्नुपर्छ भन्ने गहन धारणा पस्किएको छ कवितामा ।

लेखहरू–यस अंकमा दुई ओटा लेखहरू समावेश गरिएका छन् । पहिलो लेख महेन्द्र के.सी.को ‘कालीगण्डकीको चित्कार’ र दोस्रो लेख डा. षडानन्द पौडेलको ‘सिनाका स्यालहरू’ हुन् । काली गण्डकीको चित्कारमा के.सी.ले कालीगण्डकीमा फालिने फोहोर मैला, क्रसर उद्योगहरूले गरेको शोषण आदिलाई बलत्कार सम्झन्छन् पवित्र तीर्थ मानिने कालीगण्डकी, पर्यटकीयनदीको रूपमा चिनिने नदीले गरेको चित्कारलाई तथा कालीगण्डकी माथिको अन्यायलाई कसैले नसुनेको गुनासो गर्दै सबैसँग प्रश्न राख्छन् – यदि काली तिम्री आमा, छोरी, दिदीबहिनी, भान्जी, नातिनी, फुपू, श्रीमती भै दिएकरो भए के उनीहरूलाई पनि यसरीनै निसंकोच बलत्कार गर्थ्यौ ?के उनश्ीहरू माथि भएको बलत्कारको यसरी नै दर्शक बनेर हेरेर बसिरहन्थ्यौ ? के उनीको पनि इज्जत लिलाम गरे पैसा कमाउने सपना सजाएर बस्थ्यौ’ । के.सी.जीको यो प्रश्न केवल काली गण्डकीमा मात्र हैन नदीनाल, सहरबजार, गाउँघर जिल्ला तथा समुच्च देशमा गरिने प्रदुषणको लागिा राख्न सकिन्छ । आज प्रदुषणको हकलाई बलत्कारको रूपमा लिने हो भने सारा देशनै बलत्कार भएको छ भने साशक र जनता प्रदुषणलाई स्वागत गर्ने रमिते भएका छन् । यही अवस्था रहिरह्यो भने नेपालको सुन्दर प्राकृतिक सुन्दरता नै प्रदुषणयुक्त बन्ने कुरालाई नकार्न सकिदैन समयमै यस्ता प्रदुषणमा सबैको ध्यान जानु आजको आवश्यक्ता हो ।

डा. षडानन्द पौड्यालको सिनोका स्याल एउटा व्यङ्गले भरिएको लेख हो । यस लेखको भावसार यसप्रकार छ –स्यालहरू विभिन्न रङका भएका र यिनको मुख्य काम झगडा गर्नु थियो । बलिया र औकात वालाले पेट भर्ने र कमजोड स्यालहरू भोकै रहनु पर्ने यसोहुँदा शसैले गिथोलेको सिनो भए पनि छुन पाउनु पर्ने माग राखे ।समुह बनाएर कहिले राता स्यालसँग कहिले काला स्यालसँग टाँसिनिेले पेट भर्न पाएर हेलिकप्टरमा सयर पनि गर्न पाए तर खाना नपाउनेले समूह बनाएर झण्डा बोकेर झगडा नारिहाले । जङ्गल थर्काउने गरी हुईय्या गरे । हुईय्यां रोकिएन । ‘शरीरमा मजाल भएका स्यालहरूले अन्तिम चित्कार निकालेर आवाजलाई बुलन्द पारे । सदियौंदेखि राज गर्दै आएका ठुला जानवर अर्को जङ्गलमा बसाइ सरे । स्यालहरूले सौर्य प्रस्तुत गरे । सिनोका स्यालहरूले सिन्दुरेका फूल सिउँदोमा सिउरेर उत्सवद मनाए । सबै स्याललाई रङ फेरिएको अनुभव भने भएन’ । देशमा घटेका सबै खाले राजनीतिक घटनाक्रमको एउटा व्यङ्ग प्रस्तुति जस्तो लाग्छ यो लेख ।

लघुकथा– वनमाली निराकारको यो लघुकथाको शीर्षक छ ‘सरकार’। कथाले व्यङ्ग कसेको छ । कापी जाँच्दा कथाकारले सरकार भनेको के हो ? भन्ने प्रश्नको उत्तरमा – एउटा विद्यार्थीले –’झुटो बोलेर जनतालाई पत्यारिलो ढङ्गले झुक्याउन सक्ने जुनजुन ‘सर’हरू ‘कार’ चढ्छन् नेपालीका लागि तिनै सरकार हुन्छन् । भन्ने उत्तर लेखिएको हुँदा, कापी जाँच गर्दा ‘कुरा सही हो या गलत, अथवा उत्तर सही हो या गलत छुट्ट्याउन गाह्रो’ भएको धारणा छ कथामा ।
समालोचना– यस अङ्कमा तीनवटा समालोचनाहरू समावेश गरिएका छन् । सदानन्द अभागीको ‘अवसान सपना कवितासङ्ग्रहको शल्यक्रिया’ जो विर्खे अनजानको कृति हो र त्यसमा ४७ वटा कविताहरूको विश्लेण गरिएको छ । कविताहरू समय सापेक्ष र यथार्थ परह रहेका, समय, सहर, र सपना शब्दहरूले अधिकांश कवितामा सजाइएको, समसामयिकतालाई समेट्ने प्रयास भएको पाइने,यस कृतिमा समयको अवलम्वन् गर्दै आएका सपना अग्रगमनकारी, उज्ज्वल भविष्य निर्माणको लागि देख्न पर्नेमा सो नभै अवसान भएको पाइन्छन् । आजको सम्पन्नतायुक्त सहर भन्दा, अर्गानिक गाउँ नै कविले मन पराएको धाराणा कविताले समाएकोछ ।

दोस्रो समालोचनाका समालोचक पेशल आचार्य हुन्, उनले दामोदर पुडासैनीको ‘सीमानाका रङ्गः सीमानाका तरङ्ग’ कृतिलाई बहुआयामिकरूपमा प्रष्ट्याउने प्रयास गरिएकोछ । दामोदरजीको यो कृति वंगला देश, श्रीलङ्का, पाकिस्तान, अफ्गानिास्तान र म्यानमाराजस्ता देशमा २०६२ सालमा गरेको नियात्राको बारेमा लेखिएको र यसमा यी देशको आर्थिक धार्मिक, सामाजिक, राजनीतिक र समसामयिक वेरोजगारी आदिको बारेमा बर्णन गरिएको र सो अध्ययन गरी समालोचकले गरेको मूल्याङ्कन तथा समालोचकको धारणा उनकै शब्दमा प्रस्तुत गर्ने अनुमति चाहन्छु –’सीमानाका रङ्गः, सिमनाका तरङ्ग’ले युद्धोन्माद रक्तपिपाषु मानिसलाई बुद्धभूमिका लेखकका हृदयबाट शान्तिको क्यामेरामा जुम गर्दै जुन लक्षणामय र व्यञ्जनामय अभिव्यक्ति प्रस्तुत कृतिमा पोख्नुभएको छ । त्यो तपाईं भित्रको शालिन लेखकको प्रस्फुटन हो’ ।

तेस्रो समालोचना अधिवक्ता –हरिनारायणको ‘नव–माधुरी रजत अंक’ सम्बन्धमा लेखिएको छ । यस समालोचनामा रेग्मीजीले छोटो तर अति मिठासपूर्ण रूपमा सरस्वतीजीले दैनिक क्रियाकलापलाई सहजता साथ निरन्तरता दिंदै, साहित्यिक सिर्जना, साहित्यिक संस्था, साहित्यिक पत्रिका, राजनीति, समाज सेवा र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान र यो रजत अङ्कमा समेटिएका ५९ जना सर्जक हरूका विविधखाले सिर्जनाले भरिएको धारणालाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।

शैक्षिक लेख– धनञ्जय शर्मा अधिकारीको ‘पाठ्यपुस्तक मात्र पढाउनेशिक्षा’ शीर्षकमा लेखिएको लेख आज शिक्षामा शिक्षकहरूद्वारा ठानिएका समस्या के हुन् र त्यसलाई कसरी सुधार गर्न सकिन्ध भन्ने धारणामा रहेर लेखिएको लेख हो । सामुदायिक विद्यालयको सुधार ‘शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने अभियानलाई लिएर जिल्लामा गएर शिक्षकसँग अन्तर संवाद गर्दा चारओटा प्रश्न आएका र ती चारओटा प्रश्नहरूमा पाठ्यपुस्तक विद्यार्थीकोमा समयमा पुग्दैनन् कसरी पढाउने,? दोस्रो प्रश्न सामुदायिक विद्यालयमा गरिबका छोराछोरीमात्र पढ्न आउँछन् उनीहरूको विपन्नता पढाईमा बाधक बनेको छ ।तेस्रो प्रश्न विद्यार्थी अनियमित हुन्छन् कसरी पढाउने कसरी सिकाउने? चौथो प्रश्न सत्रथरीका शिक्षक छन् स्थायीत्व र प्रोत्साहन छैन कसरी जाँगर आओस् । यी प्रश्नलाई स्मरण गर्दै शर्माजीले लेख्नुहुन्छ – ‘पढाउनका लागिमात्र पढाउने र पाठ गरेर कोर्स सिध्याउने परिपाठीले शिक्षकको तलव त पाक्ला तर यसरी विद्यार्थीको सिकाइ हुँदैन’ । शर्माजीको यो धारणा मनन् योग्य छ र कार्यान्वयन योग्य छ । उहाँले प्रस्तुत गरेका एक एक शब्दहरू सारगर्भित छन् । यस लेखमा शर्माजीले विपन्नता प्रतिभाको बाधक होइन, गरिबी प्रतिभाको बाधक होइन, धनिका छोराछोरीभन्दा गरिबका छोराछोरीबढी मेहनती र संघर्षशील हुन्छन् । बाल्यावस्थादेखि नै उनीहरू अभावसँग जुधिरहेका हुन्छन् । समस्यासँग डटेर मुकाविला गर्ने सामर्थ्य उनीहरूमा बढी हुन्छ । सङ्घर्षमा धनिकाभन्दा गरिबका छोराछोरी सफल देखिन्छन्, गरिबका छोराछोरी पढाउन पाउनु शिक्षकहरूका लागि गर्वको विषय हो । प्रयोगात्मक सिकाइ झन दिगो हुन्छ कक्षा कोठामा विद्यार्थीले २५ प्रतिशतमात्र ज्ञान हाँसिल गछन् र ७५ प्रतिशत ज्ञानत कक्षाकोठाभन्दा बाहिरबाटमात्र सिक्छन् । विद्यार्थीले पढ्न र सिक्न पाउने जस्ता धारणा राख्दै शर्माजीले भन्नुहुन्छ –’हामी पेशाकर्मी, पेशाधर्मी, र काक्षाकोठा प्रति उत्तरदायी बन्नसक्यौं भने गुणस्तरीय शिक्षाकोृ ग्यारेन्टी गर्न सक्छौं’ । आज सामुदायिक स्थिति’निकै दयनीय छ । शिक्षक, शिक्षामन्त्रालय र अभिभावक सबैले सामुदायिक स्कुललाई दरविलो बनाउन प्रयास गर्नु आजको आवश्यक्ता हो ।

बलराम अधिकारीले ‘पहिले भित्र्यायौ लेलिन आनि सोच्दै गरौंंला युद्धं’ शीर्षकमा अध्यात्मिकवादी र भौतिकवादीका बीचमा गरिने विचार विमर्समा लेखिएको निबन्ध हो यो । यस लेखमा लेखकले भौतिकवादीको ठम्याइलाई स्वीकार्ने जति प्रगतिशिल र जनमुखी अस्वीकार्ने जति प्रतिगामी र व्यक्तिमुखी ठहरिने उन्का साथीको धारणालाई प्रष्ट्याएका छन् । दुवैका बीचमा विमर्स हुँदा अध्यात्ममा विश्वास गर्ने अन्धविश्वासी भन्ने तर्कमा लेखकले धार्मिक अन्धविश्वास र वैज्ञानिक अन्धविश्वास कुरा साथी समक्ष राख्नु,,साथीलाई लेखकले माक्र्सलाई लेलिन, स्तालिन, माओसँग नदाज्न आग्रह गर्नु किनकि ‘माक्र्स कुनै दल या शासकको सम्पत्ति होइनन् । माक्र्स मानव इतिहाँसमा सबैभन्दा ज्यादा उपयोग र दुरुपयोग भएका चिन्तक हुन् । अनुआयी हुँ भन्नेका स्वार्थका कारणले यिनी निकै धमिल्लिए ।’ माक्र्सको मानवीय र सामाजिक पक्षलाई बाहिर आउन नदिएको, माक्र्सको ‘द इकोनोमिक्सएण्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट’ जस्लाई धेरैले माक्र्सिज्मको मानवीयरूप ठानिएको र लेखकले यसमा माक्र्सलाई अध्यात्मिक पाएको र यस्ता व्यक्तिको महान त्यागलाई कुनै दल या व्यक्तिसँग जोड्न नहुने, लेखक रगतको विरोधी भएको तर परिवर्तनको विरोधी नभएको सिवजीले कालकुट विष पिएर मानकल्याण गरेको, बुद्धलाई प्राप्त गर्नु पर्ने आदि तर्क साथीलाई राखेका धारणाहरू आएका छन् ।
विष्णु शर्मा ‘निर्दोषी’ले रजत अङ्कको विमोचन विवरण समेत यस अङकमा समावेश गरिएको छ ।

अतः यस अङ्कमा हामीले नव र पुराना सर्जकका लेख रचना समावेश गरिएको पाउँछौं । भाषाशैलीमा पनि विविधता छ । विषयगत समावेसीमा पनि नाटक बाहेक सबै विधालाई समेट्ने प्रयास गरिएको छ ।

यस अङ्कमा सबै खाले (थोरै लेख्ने र धेरै लेख्ने) लेखकको मूल्याङ्क निस्पक्षरूपमा हुनुपर्ने,गीता जीवन दृष्टिको अनुपम घोषणा पत्र भएको, जस्ले मन्दिर बनाउने घर बनाउनेलाई घर मन्दिरको गेटमै बर्जित हुननहुने, प्रदुषणको बलत्कारबाट बच्न पर्ने, झुटो बोलेर जनतालाई पत्यारिलो ढंगले झुक्याउन ‘सर’ हरूकार चढ्छन् नेपालीको लागि तिनै ‘सरकार’हुन्छन् जस्ता व्यङ्ग लघुकथा, विर्खे अन्जानको अवसान सपना, लेखन अन्तर मनको गुञ्जन, देश बुद्ध,भृकुटी र जनकको ज्ञान शान्ति स्थल भएको, नव माधुरीले गरेको यागदान, सामुदायिक विद्यालयको सुधार शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने धारणा, वनमा सिनोका स्यालहरूको चकचकीको राजनीतिक व्यङ्गपूर्ण धारणा, अध्यात्मिक वाद र भौतिकवाद बीचको तर्क वितर्क आजको नेताको कुर्सी ताक्ने प्रवृति, नेपाल रहेमा नेपालीरहने र लोकतन्त्र दह्रो हुनु पर्ने धारणा र रजत अङ्कको विमोचन विवरण यस अङ्कले समावेश गरेको छ ।

सम्पादनको लागि समय अभाव जस्तो देअिए तापनि समुच्चमा यस अङ्कका धारणाहरू मनन् योग्य छन् । सरस्वती शर्मालाई पर्वतमा बसेर पनि नेपाली साहित्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै, धन्यवाद दिंदै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७३ साल भाद्र ७ गते,
कावासोती नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *