इटालीमा जन्मेका (सन् १२६५–१३२१) महान् कवि दात्तेको काव्यिक योगदानलाई जतिसुकै प्रशंसा गरेपनि अघुरो हुन्छ । एउटी केटीलाई जीवनको आरम्भिक दिनमा नदेखेका भए, सायद उनी यति महान् काव्यकार हुँदैनथे होला । कविहरूको जीवनमा सानो सानो घटना र सन्दर्भहरूले यति महत्त्व राख्छ, जसको प्रभावप्रेरणाले उनीहरू भित्रको विराट सर्जकीय चेत सल्बलाएर उठ्छ । यिनको जीवनमा यस्तै एक अद्भूत घटना घटेको छ । एकदिन उनले अचानक नौ वर्षकी कलिली सुन्दरी बालिकालाई देखे । दात्ते उनको सुन्दरताप्रति यति मनमुग्ध भएकी जीवनभरै त्यो केटीको मोहनीरूप र प्रेमले उनलाई छोडेन ।
बेट्रिसे नाम गरेकी त्यस केटीलाई देखेको दिनदेखि सपना विपना उनकै यादमा तड्पिन थाले । त्यस केटीलाई एकोहोरो प्रेम गर्दै जानु, अविरल काव्यझरनामा बग्दै जानु दात्तेको जीवनचर्या बन्यो । बेट्रिसेलाई मनमनै पूजा गर्ने दात्तेको काव्यलेखनको प्रेरणा नै उसप्रतिको एकतर्फी प्रेमभाव थियो । आफूले हृदयदेखि चाहेकी त्या केटी फ्लोरेन्स सहरकी एक धनीमानी मान्छेकी छोरी थिई । कहिल्यैकाहीँ आक्कल–झुक्कल देख्नेबाहेक ऊसँग राम्रोसँग देखादेख र बोलचाल भने हुँदैनथ्यो । वीस वर्षको उमेरमा वर्षात्को एक विहान त्यो केटीसँग संयोगवश भेट भयो र ती केटीले कविसँग केही शब्दमात्र बोलिन् । यस घटनाले उनलाई यति छोयो, तुरुन्तै चौध हरफे काव्यलेखनमा प्रवृत्त बने ।
पछिपछि बेट्रिसे दात्तेप्रति निष्ठुर व्यवहार देखाउन थाली । जतिजति ऊ निष्ठुर गई त्यतित्यति दात्तेको काव्यलेखनी अरु कारुणिक, गीतिकाव्यात्मक र मर्मस्पर्शी बन्दै गयो । उसको निठुरी व्यवहारले दात्तेभित्रको कोमल कविहृदय अरु प्रखर र प्रज्वलित रूपमा बल्न थाल्यो । बेट्रिसले अर्कै केटासँग बिहे गरेपछि पनि उसको प्रेमले सताउन भने छाडेन । बेट्रिसेको बाबु मरेपछि बेट्रिसे पनि मर्ने भई भन्ने पीरले भित्रभित्रै सुक्न थाले । संयोग पनि कस्तो उनको शंकालाई मलजल गर्दै बेट्रिसे चाँडै मरी । उनी घायल भए, उनको व्यथित हृदयले उनलाई डिमाइन कमेडी काव्यको पात्र समेत बनायो । यसरी दात्तेलाई विश्वको एक सर्वश्रेष्ठ कवि बनाउनुमा बेट्रिसेप्रतिको एकतर्फी मायाले ठूलो भूमिका खेलेको छ ।
दात्तेको जीवनको अर्को उल्लेखनीय पक्ष भनेको उनले विद्रोही जीवनवरण गरे । तत्कालीन धार्मिक समाजमा पोप र पादरीहरूका रुढ विचारधाराले शासन गरेको थियो । दात्तेले पोयको विचारलाई विरोध गरेको कारणले आफ्नो देश छोड्नु पर्यो । झण्डै वीस वर्षसम्म प्रवासमा दुःखको जीवन बिताए । घरवारविहीन भएर एक्लो, निराश र अपमानित जीवन भोगे । संसारका प्रायः सबै स्रष्टाहरू यथास्थितिवादी पुरातन सत्तासँग झुक्न चाहँदैनन् । कसैको गुलाम, दासत्ता र हस्तक्षेपलाई उनीहरू पटक्कै सहन सक्तैनन् । त्यसैले स्रष्टाहरू स्वभावैले विद्रोही चेतना बोकेर संसारको यात्रा गर्छन् ।
दात्तेको जीवन औधी अशान्त, तनावपूर्ण र वेदनामय थियो । उनले डिभाइन कमेडीमा जुन खालका नर्कहरूको वर्णन गरेका छन् । त्यो उनले वास्तविक जीवनमा खेपका यातनामय युग र जीवनका प्रतिविम्बहरू थिए । घरीघरी आफ्नो मातृभूमिको प्रेमले उनलाई आहत बनाउथ्यो । अनि फर्किन कोसिस गर्थे तर अन्तमा के घोषणा भयो भने दात्ते देश फर्कियो भने जिउँदै जलाइनेछ । अत्यन्त्र कष्टमय जीवनको सामना गर्दै उनले ५६ वर्षको उमेरमा देहत्याग गरे । फ्लोरेन्सका शासकहरूले दात्ते जीवित फर्कियो भने खरानी पार्ने धम्की दिएको थियो तर इतिहासको संयोग उनको निधनको धेरै वर्षपछि सामानको लागि दात्तेको खरानी खोजी गरे ।
उनी मरेको पाँच सय वर्षपछि बेलायतका प्रख्यात कवि बाइरन उनको चिहान अगाडि गएर घुँडा टेकेर धरधरी रोए समय जति बित्तो छ, दात्तेको ख्याति अँझ दिनप्रतिदिन चुलिँदो छ । जीवनभरि अपमानित भएर मरेपछि पुजिने कविको पङ्क्तिमा दात्तेको नाम पर्दछ ।

धन्यवाद
लेखक ज्यूलाई धन्यवाद ऐतिहासिक साहित्यिक लेखका लागी ।