बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई नरे माइलाका बुबाले रित्तो हात फर्काउनुभएको थियो । त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै नरे माइलो त्यता दौडन लागेको थियो, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा नरे माइलाका परिवारजन कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थे । केही दिनसम्म यही क्रम दोहोरीरह्यो । तामाहरू चोरिँदा भए ।
दुम्सी मार्न बाँस झाँङ नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो । साँझमा बुबा गाई दुहनुहुँदैथ्यो । बच्चा रुन थाल्यो । आमाले नरेलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने दाउमा हुनुहुन्थ्यो ।
त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– “मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ….!”
त्यस आवाजलाई नरेले दुम्सीको गुहार ठान्यो । निकै बेर ‘गुहार बचाऊ’ भन्ने आवाज आइरह्यो । पक्कै पनि दुम्सी गहिरो खाडलमा खसेको हुनुपर्छ । उसले दुम्सीले पनि मान्छे आवाज निकाल्न सक्तो रहेछ भन्ठान्यो ।
कसलाई के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ । खाडलभित्रको बाँसको छड्के उसको शरीरमा रोपिएको रहेछ । ऊ नराम्ररी घाइते भएछ ।
मानिसहरू जम्मा भए । हायलकायल पारे । उसले सबै कर्तुत बतायो । बच्चा रोएको आवाज निकालेर दुनियाँलाई ठगेको रहस्य खोल्यो । त्यस घटनापछि नरे माइलाको मनमा भूतको डर पनि भाग्यो ।

ramro lagyo
Liked it