Skip to content

रामेछाप बसाइको मेरो एक दशक


नेपालीमा एउटा उखान छ –‘कुखुरो काट्यो दसैँ झोला बोक्यो बसैँ ।’ नेपालका अधिकांश जागिरेहरूको नियति यही हो । हामी पनि यो उखानको सार्थक अर्थबाट अछुतो रहन सकेका थिएनौ । हाम्रो नियति पनि जागिरमा लगभग यही हुन्थ्यो । म जो व्यक्तिसँग विवाह गरेर कर्मघर गएँ वहाँ रामेछापमा शिक्षण गरेर बस्नुभन्दा अघि राजधानीमा पत्रकारिता र लेखनलाई व्यावसाय बनाएर बस्नुभएको व्यक्ति हुनुहुन्थ्यो ।

मेरो विवाह २०४८ साल असार १० गते सोमबारका दिन इनरुवा निवासी श्रीश्याम आचार्यका जेठा छोरा पेशल आचार्यसँग शास्त्रीय कर्मकाण्डीय हिसाबले भएको हो । वहाँ मसँग वैवाहिक जीवनमा बाँधिदा बिए पास गरेर जागिरको दौरानमा राजधानीमा हुनुहुन्थ्यो । लगभग राजधानी बसेको सहयोगी र मझौला प्रतिभाका भएका हुनाले मैले मेरा घरपरिवारले ल्याएको वहाँसँगको बिहेको प्रस्तावलाई समर्थन गरेकी थिएँ । यसरी हामी पतिपत्नी भयौं ।

यो सानो संस्मरणमा म मेरा मावली हजुरबालाई सम्झन चाहन्छु । जो अहिले स्वर्गवासी भैसक्नुभएको छ । वहाँमा जीवनोपयोगी सीप निकै थियो । मैले केही काम आँट गरेर खानुपर्छ । परिश्रम गर्न छाड्नु हुन्न । दु:खमा नआत्तिई र सुखमा नपात्तिई जीवन बाँच्नु पर्छ र आफूले सकेको धेरथोर सहयोग गरिब गुरुवालाई दिनु पर्छ भन्ने जीवनोपयोगी शिक्षा मेरै मावली हजुरबाबाट सिकेकी हूँ । मैले मेरा मावलका हजुरबा स्व.दन्तप्रसाद निरौलाको जीवनलाई नजिकबाट पुस्तकझैँ भलिभाँती अध्ययन गर्ने मौका पाएँ जो ओखलढुङ्गा खानीभञ्ज्याङ, चिसङ्खु निवासी सामाजिक र सानो राजनैतिक व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो जीवनमा वहाँ दुईपटकसम्म प्रधानपञ्च हुनु भएको र गाउँठाउँमा सामाजिक अभियन्ताका रूपमा चिनिनुभएका व्यक्ति भएकाकले वहाँका सन्तानहरू प्राय: सबैले पढेका छन् । केवल मेरी आमाले मात्र उच्च शिक्षा लिन पाउनु भएन ।

मावलका हजुरबाको निकै ठूलो परिवार थियो । जब वहाँ आफ्नो सजिलो व्यवहारका लागि र सन्तानलाई योग्य शिक्षा दिन सुनसरी झर्नुभयो त्यसपछि मेरा ससुरा श्याम आचार्यसँग हजुरबाको चिनापर्ची भएको रहेछ । मेरो हुनेवाला श्रीमान् सामाजिक कार्य र साहित्यिक कार्यमा निकै जोश जाँगरका साथ काम गर्ने सहयोगी हृदयका भएकाले पनि मैले वहाँको नामलाई त्यस स्थानमा धेरथोर सुनेको थिएँ । हामी बाआमाका तीन सन्तानमध्ये म घरकी जेठी छोरी हूँ । मभन्दा मुनि एक बहिनी र एक भाइ थिए । हामी सबैजना साहित्य, कला र संस्कृति भनेपछि निकै चासोका साथ लिन्थ्यौं । मावलमा हामीलाई पढाइलेखाइमा निकै सुविधा दिइएको थियो ।

संयुक्त परिवार भएकाले मेरा मामाहरू पढ्न लेख्नमा निकै मेधावी हुनुहुन्थ्यो । जेठो मामा नवराज उपाध्याय सानैदेखि न्याय सेवाको जागिरे भएर पछि जिल्ला न्यायाधीश रही अहिले अवकाशीय जीवनमा रमाउँदै कानून व्यवसायमा रहनु भएको छ । वहाँका ५ सन्तानमध्ये १ जना बेलायत, २ जना अमेरिका र २ जना नेपालमै गृहस्थी जीवनमा रमाएका छन् । त्यसैगरी माइला मामाका २ छोराहरूमध्ये एकजना अमेरिका फिजिक्समा पिएचडी गर्न जानुभएको छ भने अर्को छोराचाहिँ म्यान्मारमा परराष्ट्र सेवामा सेवारत हुनुहुन्छ । निजामति सेवाबाट शाखा अधिकृत भएर रिटयर्ड भई केही समय पहिले म्यान्मारबाट नेपाल आउनु भएको छ । साहिँला मामा पनि यही २०७१ मङ्सिरमा सरकारी जागिरमै पेन्सन पकाएर समाज सेवामा मै सक्रिय हुनु भएको छ । योगाभ्यास र परामर्श सेवामा वहाँको निकै रूचि छ । वहाँका ३ छोरामध्ये १ जना काठमाडौँ विश्वविद्यालयबाट पिएचडीरत हुनुहुन्छ भने अर्को एकजना सिभिल इन्जिनियर भएर विभिन्न विदेशी संस्थामा काम गर्दै आफ्नो विद्वतालाई तिखार्दै हुनुहुन्छ । कान्छा मामाचाहिँ नेपालमा जिल्ला वन अधिकृतमा कार्यरत हुँदै अमेरिकाको डिभी चिठ्ठा स्वीकारेर सपरिवार अमेरिकाको क्लालिफोर्नियामा हुनुहुन्छ । थाइल्याण्डको एटिसीमा पढ्दा पाएको पूर्ण छात्रवृत्तिलाई सम्पन्न गरी वहाँ सपरिवार अमेरिका जानु भएको हो ।

मेरो जीवन निर्माणमा मेरा मावली हजुरबा, मामा तथा सानीमाहरूको निकै ठूलो हात रहेको छ । मेरो जन्मभूमि भारतको कोलकाता भए पनि माइती देश भन्नु नै ओखलढुङ्गा हो । त्यसबेला मलाई युगकवि सिद्धिचरण श्रेष्ठले लेख्नुभएको चर्चित ‘वखलढुङ्गा’ कविताले निकै प्रभाव पारेको थियो । बालापन मैले मेरो मावलीमै धूलोमाटोमा बिताए । जन्मले म रामपुरकी भए पनि बालापन बितेको हिसाबले मेरो बाल्यवस्था ओखलढुङ्गाको खानीभञ्ज्याङ्मा भएको हो । पछि म आमासँग सुनसरी गएँ । जहाँ मेरो माध्यमिक तहसम्मको पढाइ सकियो । मैले उच्च शिक्षाको आरम्भ सुनसरीस्थित क्याम्पसबाटै गरेकी हूँ । समयक्रममा मैलै त्यहाँबाट प्रमाणपत्र तहको शिक्षा लिएँ । स्नातक तहको शिक्षाचाहिँ मैले मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसबाट लिएको हूँ । मैले स्नातक तहमा बिएड् पढेँ । यो विषय अध्ययन गर्नुमा मेरो शिक्षण पेसाका कारणले सम्भव भएको हो । हामी सहपाठीहरूमा नवीन मनोहर, इन्दु बुढाथोकी, रमा आचार्य र रिता आचार्य अति नै मिल्ने साथी थियौं । क्याम्पसमा नियमित र स्तरीय अध्ययन हुने गर्नाले हामीलाई समयमै स्नातक हुन सजिलो भयो । अहिले व्यवहारका सिलसिलाका क्रममा राजधानीमा बस्नु परे पनि मैले मेरो जागिर र पढाइ भएको क्याम्पसलाई सम्झिरहेको छु । मैले यहाँ पढ्दा जागिरका मेरा सहकर्मी पति तथा लेखकका नाताले पेशल आचार्यबाट निकै सुविधा र दिशानिर्देश पाएँ । त्यसैगरी क्याम्पसका प्राध्यापकहरू र क्याम्पस प्रमुखहरूबाट पनि जीवनोपयोगी शिक्षा पाएकीले म मन्थली क्याम्पसबाट आजीवन ऋणिरहनेछु ।

मानिसको जाति नै फिरन्ते हो । प्रागऐतिहासिक युगदेखि नै हाम्रा पूर्वजहरू घुमन्ते जातिका रूपमा चिनिएका हुन् । नेपालमा प्राय: सबैजसो जातजातिको आगमन भारतबाट र केहीको चिनीयाँ भूमिबाट भएको हो । भाषा विज्ञानको इतिहासमा अध्ययन गरेअनुसार भोट बर्मेली भाषा परिवारका भाषा बोल्नेहरूको आगमन चीनबाट र भारोपेली भाषा परिवारका भाषा बोल्नेहरूको आगमन दक्षिण भारतबाटै भएको हो । हामी दुई बूढाबूढी नै शिक्षकशिक्षिका भएकाले असारको वर्षेबिदा र दसैँ तिहारको लामो बिदाम घर जाँदा उपरोक्त उखानको सार्थकता रहेको आभास हुन्थ्यो ।

हाम्रा तीन सन्तानमध्ये २ छोरीहरूले रामेछापबाटै अक्षरारम्भ गरेर अहिले उच्च शिक्षाका शिलशिलामा क्रियाशील रहेका छन् । गाँस, बास र कपासमा हामीले दस नङ्ग्रा खियाएर काम गर्ने मेलो रामेछापबाटै सिकेकाले अहिले पनि मेरो मन रामेछाप भनेपछि एक तमासले खुसी हुने गर्छ । जबजब म रामेछापलाई सम्झन्छु अनि मन्थली क्याम्पस र त्यहाँ काम गर्ने सबै किसिमका प्राध्यापक र कर्मचारीहरूलाई सम्झने गर्छु ।

शिक्षणका रूपमा हासपरिहास गर्न मन पराउने शिव सर हुन् या पथ प्रदर्शन गर्न हौसिने नवराज घिमिरे सर नै किन नहुन ? सामान्य सहयोगी कर्मचारीका रूपमा टहलबहादुर हुन् या रामबहादुर दाइ हुन् मैले सम्झनाको तिजोरी भित्र वहाँहरू सबैलाई राख्ने गरेको छु । म जहाँ र जसरीरहेभए पनि वहाँहरूलाई सम्झने गर्छु ।

अतिथिका रुपमा मेरो रामेछापमा प्रवेश २०५० सालमा भए पनि जागिरे शिक्षकका रूपमा भने मैले रामेछापमा निमावि तहमा नेपाली शिक्षक भएर एक दशक सेव गरेको छु । त्यो पनि जिल्लाको मुटुमा रहेको मन्थली उमाविमा । त्यसबेलाका आदरणीय गुरुहरू माधवप्रसाद घिमिरे, केशवप्रसाद सत्याल, नारायणप्रसाद सुवेदी, डिल्लीप्रसाद सुवेदी, चेतप्रसाद सुवेदी, गिरिंदास श्रेष्ठ, वीरेन्द्र सहनी, दीपककुमार क्षत्री, रमेशकुमार घिमिरे, सन्तोषकुमार रायका साथै प्रअका रूपमा रहनुभएका गुञ्जबहादुर श्रेष्ठ तथा सप्रअ टंकप्रसाद दहाल सबैप्रति म आभारी छु । मैले जहाँ पढेँ त्यही पढाउने अवसर पनि पाएँ । हामी दुवै पतिपत्नी पढाउने नभएका भए हाम्रा सन्तानले यतिसारो पढाइको महत्व बुझ्ने थिएनन् –सायद् । अहिले उनीहरू आआफ्नो क्षेत्रको अध्ययनमा अब्बल छात्राका रूपमा चिनिन परिश्रम गर्दैछन् । यो मानेमा पनि मैले एक दशक पसिना चुहाएको रामेछापलाई मैले कम्तीमा बिर्सनु हुँदैन ।

मेरो ज्ञानले पनि यही नै भन्छ ।

अहिले त मन्थली शैक्षिक परिसरको व्यापक विकास भएको सुनेको छु । आसा छ, एकपटक राम्रोसँग घुम्ने आसा छ ।

पूर्व विद्यार्थी, बिएड्, शिक्षा संकाय,
मन्थली क्याम्पस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *