साँझमा घनघसे पिँढीको डिलमा एकोहोरिएर बसेको थियो । उसको कुकुर काले, अघिल्ला खुट्टामा चिउँडो अड्याएर घनघसेको दाहिने छेउमा बसेको थियो । आँगनमुन्तिरको बाँसघारीमा डाङ्रेहरू (सारौं) कराउँदै थिए । घनघसे दिक्क थियो ।
“जा काले, समाई ।”, घनघसेले कुकुरलाई अह्रायो ।
घनघसेको बोली भूइँमा खस्न नपाउँदै काले जोडले भुक्यो तर डाङ्रेहरू कराइरहे । ढुङ्गो टिपेर घनघसेले जोडले बाँसघारीतर्फ हिर्कायो– “मेरै बाँसघारीआँ आ”र कराम्न पर्नी, …सीऽऽ माऽऽ ! एक दिन होइन दुई दिन होइन ।”, घनघसे फत्फताइरह्यो ।
डाङ्रेहरूको हल्ला कम भएपछि घनघसेको रिस अलि शान्त भयो । ऊ पीढीको डिलमा आएर पहिलाजस्तरी नै बस्यो । कालेको भुकाई पनि अलि कम हुँदै गयो । डाङ्रेहरूको हल्ला फेरि बढ्दै गयो । रिस खप्न नसकेपछि बाँसघारीतिर हेरेर मुखमा आएभरको फोहोरी गाली गर्यो । दिक्क भएपछि आधा भाग्य छोपेको थोत्रो टोपी झिक्यो । निधारमाथिको कपाल खुइलिसकेकोले उसको निधार पनि ठुलो देखियो । ठुलो निधार खुम्च्याएर घनघसेले तालु कन्यायो । काले चाहिँ पहिलाजस्तरी नै बस्यो ।
एकोहोरिएर कपाल कन्याइरहेको घनघसेको अगाडि प्याकुली टुप्लुक्क आइपुगी ।
“म त कस्तरी झस्कें !”, घनघसेले टोपी मिलायो ।
“अज धेरै झस्कञ्चौे ।”, प्याकुली हाँसी, “विर्किम्ली भाउजूले तिम्लाई भनेर सय रूपीयाँ पठाकी छन् । केही कुरो किनेर खाऊ अरे । सञ्चो बिसञ्चो पनि सोधेई थिइन । दोजीयाकी रैचिन, बरा !”
एकैछिन टोलाएपछि घनघसे हिक्क–हिक्क आवाज निकालेर रुन थाल्यो । घनघसेको हातमा सयको नाट थमाउँदै प्याकुलीले भनि, “दुःख मन अरेर क्यार्चौ ? जे हुनु भैहाल्यो, आ–आफ्नो लेखा हो ।”
त्यति भनेर प्याकुली आफ्नो घरतिर लागि । एक छिनपछि घनघसेले मन बुझायो । आडैमा रहेको लठ्ठी दाहिने हातले समात्यो । र, पक्षघात भएको देब्रे खुट्टो घिसार्दै गरुंगो मन लिएर भट्टीपसलतिर लाग्यो ।
घनघसेको मन अरू दिनकोभन्दा अलि बेग्लै थियो, अलि चंगा भए–भएजस्तो । केही पाए जस्तो, केही गुमाए जस्तो ।
कालेले घनघसेलाई पछ्याउँदै थियो, अघिपछि गर्दै । घनघसे रोकिएर लठ्ठीको टुप्पोले कालेको नाकमा छुँदै भन्यो– “बिर्किम्ली दोजियाकी भैचे, बुजिस् काले ?”
बुझ्यो वा बुझेन उही जानोस् । घनघसेको कुरा सुनेपछि काले पनि बुरुक्क उफ्रियो ।
घनघसे भट्टी पसलमा पस्यो । भित्र पस्नेबित्तिकै साहुनीले उसलाई एक बोतल कोदाको रक्सी ल्यादिई । घनघसेले सितन पनि माग्यो । एक बोतल रक्सी र साँधेको भट्मास सकेपछि घनघसे घोरियो ।
***
दशैंको रात थियो । घनघसे र विर्किम्ली आफ्नो घरको मझेरीमा बसेर रक्सी पिउँदै थिए । तैपनि उनीहरूको मनमा हर्ष थिएन । बुढी औँलाको नङ्गले एकतमाससँग मझेरी कोरिरहेकी विर्किम्लीले भनी, “तिम्ले आर्को बिआ अर ।”
नबोलीकन घनघसेले बिर्किम्लीलाई हेरिरह्यो ।
“किन बोल्दैनौ ?”, बिर्किम्लीले मझेरी कोर्न छोडी ।
“तँ पोइला जाञ्चेस् र ?”, घनघसेको गहभरी आँसु भए ।
“जैले नि यस्तै कुरा अर्चौ । सप्पैका घराँ कति रमाइलो छे ।”, बिर्किम्लीका आँखा पनि भरिए, “सौताका छोराछोरी भए नि चाडवाडाँ त…”
“भाग्याँ नभ”को कुरो पाइन्न ।”, घनघसेले भन्यो, “तँ मोरिस् भने नि मैले आर्को बिआ अर्दिन । किच्किच् नअर धेरै ।”
बिर्किम्ली घनघसेलाई झम्टेर रोई । दाह्रा किटेर घनघसेले बिर्किम्लीलाई अँगालो हाल्यो र सुम्सुम्याउन थाल्यो । उनीहरू त्यत्तिकै गुट्मुटिए ।
***
चिसो साँझ । ढिंडो ओडाल्नको लागि कोदोको पिठो ठीक्क पारेर बिर्किम्लीले घनघसेलाई कुरिरहेकी थिई ।
“बाइर निक्ली त विर्किम्ली, छोरो ल्याइदेयो छु तेरालाई ।”, घनघसे आँगनबाट करायो ।
बिर्किम्लीले बाहिर निस्की । घनघसेको काखमा कालो कुकुरको छाउरो देखेपछि बिर्किम्ली हाँसी– “म कुकुर्नी हु म र ? यो गलपासो नलेऊ यता ।”
“कस्तो कुरा अर्चे यल्ले ! हामी जस्ता गरीपलाई लौ पाल भनेर कल्ले दिन्छन छोरा छोरी ? कमसेकम साथे त हुञ्च ।”, कुकुरको छाउरो काखमा लिएर घनघसे भित्र पस्यो । बिर्किम्ली घनघसेको पछिपछि गएर ढिंडो ओढाल्न थाली ।
कुकुरको छाउरोलाई भित्र छोडेर घनघसे हातखुट्टा धुन बाहिर निस्क्यो । आमाको न्यानो काखबाट छुट्याइएको कुकुरको छाउरो तातो खोज्दै बिर्कीम्लीको टाँगमूनी घुस्य्रो । बिर्किम्लीले कुकुरको छाउरोलाई दाउरा राख्ने ठाउँतिर हुत्याइदिई । छाउरो कुँइकुँइ गर्दै बाहिर निस्केर घनघसेको खुट्टामा लुटुपुटु गर्यो । घनघसेले उसलाई मायाले काखमा लियो । छाउरो काखमा लिएर फेरि भित्र पस्यो । अगेनाको छेउमै बस्यो । छाउरालाई पनि तातो आउने ठाउँमा राख्यो । बिर्किम्लीको मुखमा हेरेर गुनगुनायो– “कति निष्ठूरी छेस् है तँ !”
“कुकुरका छाउरालाई ततेरिन भनेर मलाई निष्ठूरी नभन ।”, बिकिम्ली रनक्क रङ्की ।
“छोराछोरी भ” भ्या पो दया–मयाँ भन्नी कुरो थाहा हुञ्च । तँ त… ।”, घनघसे पनि रिसायो ।
“अब त्यसैलाई चेपेर बस ।”, झङ्केर बिर्किम्लीले आगो ओझाई ।
***
हिउँदको दिनमा कौछ्यानी बनमूनीको हर्दास खोलाबाट आएको सिरेटोले घनघसेको ज्यान हल्लाइरहेको थियो । खेतको डिलमा बोतलमा राखेको कोदाको रक्सीले जाडो छल्दै घनघसेले खेत जोतिरहेको थियो । गोरुसँग जिस्कँदै काले उफ्रिरहेको थियो । घरीघरी घनघसेको खुट्टामा पनि लुटपुटु गर्न आइपुग्थ्यो काले । एकपल्ट त कालेलाई भुक्क लात्तिले हानेर भन्यो– “जोत्न सक्नी भ भ्या ह्याँ आम्तीस् ? तेरीमा…”
पर पुगेर कालेले कान ठाडा पारेर घनघसेलाई हेर्यो । घनघसेले माटोको डल्लाले हानेर कालेलाई धपायो । काले पनि घुर्की लागाएर गयो । बोलाउँछ कि भनेर कालेले घनघसेलाई फर्कि फर्कि हेर्यो तर घनघसेले बोलाएन । पर पुगेर काले रिसाएर जोडले भुक्यो ।
“आइजो आइज ।”, काले दौडेर आयो र घनघसेको खुट्टामा फेरि लुटुपुटु गर्न थाल्यो ।
स्याँ स्याँ र सुँ सुँ गर्दै होमप्रसादकी बुहारी कलावती खेतमा आई– “सासू आमा खनियाको रुख”ट लड्नु भ” । टाउकामा बेसरी चोट ला”छ, तिमी छिट्टो घर जाऊ अरे ।”, घनघसे हल फुकाएर साहूका घरतिर हानियो– “गोरु लिएर आम्नु होला नानी !”, काले पनि घनघसेका पछिपछि दौडियो ।
घनघसे होमप्रसादको घर पुग्दा होमप्रसादले डोको काटेर घरेलु स्टेचर तयार पारिसकेका थिए । अस्पताल पुर्याउन झन्डै तीन घण्टा पुरै लाग्थ्यो । घनघसेले मालिक्नी धर्मकुमारीलाई राखेको घरेलु स्टेचर बोकेर हिंडिहाल्यो । होमप्रसाद र अरू दुईजना सहयोगी घनघसेको पछि लागे । आफ्नो पछि लागेको कालेलाई घनघसेले हकारेर घर पठायो ।
“वहाँलाई रगत दिनुपर्छ ।”, धर्मकुमारीलाई अस्पताल पुर्याएपछि डाक्टरले भन्यो । घनघसेले आफ्नो नाडी तेस्र्यायो । होमप्रसादको जेठो छोरो जन्मँदा पनि उसैले धर्मकुमारीलाई रगत दिएर बचाएको थियो ।
“तँ नभ”को भए मेरी स्वास्नीको हालत के हुँदो हो ?”, आफ्नी स्वास्नीलाई अलि बिसेक भएपछि होमप्रसादले भन्यो र हजारको नोट निकालेर तागत आउने कुरा खाएस भन्दै घनघसेलाई दियो तर घनघसेले पैसा लिएन ।
अस्पतालको शैय्यामा सुतेकी धर्मकुमारीले भनी– “ठूलो गुन लाइस् बाबै । सन्तानको मुख देख्न पाएस् ।”, किन हो कुन्नि धर्मकुमारीको कुरा सुनेपछि लामो श्वास लिन्दै घनघसे चुप्चाप् बाहिर निस्क्यो ।
***
देशमा बहुदल आयो । बहुदल आएको अलिक वर्षपछि गाउँमा बाटाघाटा खन्न थाले । घनघसेको गाउँमा पनि बाटो खन्नलाई गाविसको अलिकति बजेट आयो । गाउँलेहरू पनि श्रमदान गर्न तम्सिए । घनघसे बाटो खन्ने काममा यसरी लाग्यो कि उसलाई गाउँलेहरूले डोजरै भन्न थाले ।
गाउँमा मटर हिन्ने बाटो खनेर सकियो । पहिलो पटक गाउँमा आउन लागेको जीपको स्वागतमा सबै गाउँलेहरू हातमा फूलमाला लिएर उपस्थित भए । बडो मुस्किलले गाउँमा जीप आइपुग्यो । जीप र चालकलाई फूलमालाले गाउँलेले स्वागत गरे । घनघसे जीपको छतमा चढेर खुशीले कराउन थाल्यो । काले पनि घनघसेसँगै जान खोज्यो तर सकेन । खुशीको क्षणमा दिउसै अलिकति कोदाको तीनपाने चढाएकोले ऊ अलि बढी नै उत्साहित थियो । त्यहीँमाथि गाउँलेहरूले पनि घनघसेलाई सम्झाउनुको सट्टा झन उकासे । जीपको ड्राइभरले जीप स्टार्ट गर्यो । बाटो समथर थिएन । त्यसैले जीप फर्काउँन खोज्दा जिप कोल्टो पर्यो । घनघसे जिपको छतबाट उछिट्टियो । भुइँमा पछारिएपछि घनघसेको होस हरायो । सोही जीपमा राखेर घनघसेलाई गाउँलेहरूले अस्पताल पुर्याए ।
गाउँलेहरूसँग ऋण मागेर बिर्कीम्लीले घनघसेको उपचार त गरी तर घनघसेलाई निको भएन । डाक्टरले उसको दाहिने हर चल्दैन भने ।
एउटा हरै चल्न छोडेपछि घनघसेले कसरी काम गरोस् ! त्यसपछिका दिनमा बिर्किम्लीले निबेक गरेर घनघसेलाई पाल्न थाली ।
***
वैशाखको साँझमा जोडले चलेको हावाले स्याउलाले छाएको घनघसेको घरको पाली फट्फटाइरहेको थियो । काममा गएकी बिर्किम्ली अँझै फर्केकी थिइन । निकै भोक लागेकोले घनघसे रिसले धुम्मिएर पींढीको डीलमा बसेको थियो । काले पनि घनघसे जस्तै रिसाएर उसको आडैमा बसेको थियो । झमक्क साँझ परेपछि बिर्किम्ली टुप्लुक्क घर आइपुगी । आँगनमा छिरलिएका झिँजा दाउरा टिप्न थाली । काले बिर्किम्लीलाई हेरेर घुर्यो ।
“किन ढिलो आइस् तनी ?”, घनघसेले बिर्किम्लीलाई आँखा तर्यो ।
बिर्किम्लीले चुपचाप् दाउरा टिपिरही । राता आँखा तर्दै घनघसेले फेरि भन्यो– “सुनिनस् ? किन ढिलो आइस् भनेको ?”
“तँ डुँडालाई किन चाइयो ? घिच्न पा”कै छस् के रे ।”, बिर्किम्लीले अलि मोटो चाहिं दाउरो भाँच्दै भनी ।
दाहीने हातले लठ्ठी समातेर झोँक्किदै घनघसे उठ्यो– “ए, मलाई पालेइछु भनेर ठूली भ” कि हैनस् तँ ? तँलाई मैले कुन दुःखले पालेथेँ, सम्जेइछस् ? दुःख भनेको कस्तो हुँदो रैच भन्नी कुरो बुजेइछस् बल्ल ? तँलाई नाठे रन्नी !”
“दाउराले थतुनाँ ठोउतिम्ला नि फेरि, बढ्ता नबोल !”, बिर्किम्लीले आगो ओकलेजस्तै गरी भनी ।
लठ्ठी ताक्दै घनघसेले बिर्कीम्लीलाई झम्टन तम्सियो । घनघसेसँग उठेको रिस बिर्किम्लीले कालेलाई दाउराले हानेर पोखी । काले कुइँकुइँ गर्दै भाग्यो ।
“तेरा बाउ अर्न हाञ्चेस् तेल्लाई ? नाठा नखेला भए भन् के रे ? थुतुनाँ हाञ्चु भञ्चे है रन्नीले ! जिन्दगीयाँ मैले अरेको दुःख बिर्सिस् ?”, घनघसे अँझै जङ्गियो ।
“ख्याँसो थिइस् तैंले । जम्मै रोसी खा” र भ्याइस् । अइले के कान्यै अरोथिएँ भञ्चस् !”, बिर्किम्ली च्याँठ्ठीइ ।
“जेभाका नाठा छन् के रे, एउटा समातेर हिने भ” । कस्ती रन्नीका फेला परेचु म अभागी । धिक्कार छ मलाई ।”, बोलेर जित्न नसकेपछि घनघसे पिँढीमा बस्यो ।
रिसले बौलाएपछि बिर्किम्लीले घनघसेलाई झम्टी । घनघसे पनि सकिनसकी बिर्किम्लीमाथि जाइलाग्यो । दुवै लुछालुछ गर्न थाले । बिर्किम्लीको पटुकाको फुर्कोमा रहेको सबै चामल पोखियो । ट्वाल्ल परेर दुवैले एक–अर्कालाई हेरे । दाह्रा किट्दै घनघसेको टाउकोमा धारे हात लगाएर बिर्किम्लीले भनी– “अब खालास् तेरा बाउको काट्टो !” र, रिसले भुम्भुनिँदै भित्र पसी । घनघसे पींढीको डिलमा बसेर झोक्रायो । काले बिस्तारै घनघसेको नजिक आएर बस्यो ।
घरमा झगडा चर्केपछि केही दिन हराउने बिर्किम्लीको बानी थियो । बिर्किम्ली हराएका दिनमा गाउँमा उसको बारेमा निकै चर्चा चल्थ्यो । पँधेर्नीहरू र जंगलमा घाँस दाउरा लिन जाने महिलाहरू बिर्किम्लीकै चर्चा गर्थे तर गाउँका बुढापाका, अधबैँसे पुरुषले विर्किम्लीको कुरा काट्दैनथे । कारण, लगभग सबैजसो अधबैँसेहरू र बुढापाकाहरू विर्किम्लीसँगको लसपसबाट अछुतो थिएनन् ।
***
माघेसंक्रान्तीको दिन बिहानै घनघसे र बिर्किम्ली रक्सीले झुल परेका थिए । बिर्किम्लीले भात पकाउँदै थिई । घनघसे अगेनाछेउमा बसेर चुरोट तान्दै थियो । काले घनघसेको नजिक गुटमुटिएको थियो । देब्रे हातले अगुल्टो समातेर आगो खोस्रँदै घनघसेले भन्यो– “सप्पैका घराँ खुदो चिउरा खा”छन्, तैले ल्याम्न सकिनस् ?”
“तिम्ले ल्या भे नि हुन्तो के रे ।”, बिर्किम्लीले आँखा तरी ।
“मेरो पाखुरा चल्दा तँलाई मिठो–मिठो घिचाकै थिएँ ।”, घनघसेले भन्यो ।
“रिस् नउठाउ है !”, बिर्किम्लीले जलिरहेको अगुल्टो जोडसँग अगेनामा ठोसी । एक छिन सन्नाटा छायो । दुवैजना आ–आफ्नो सुरमा धुम्मिए ।
“ए घनघसे डाँका, क्यारोछस् ?”, बाहिर आँगनमा होमप्रसाद आइपुग्यो । घनघसे आफ्नो देब्रे खुट्टो घिसार्दै पिंढीमा आएर उभियो । काले पनि उसको पछि लाग्यो । होमप्रसादसँग गोविन्दबहादुर पनि थियो ।
“हाम्रो पैसा खानी भइस् के रे हैन ?…यस्ता हरामलाई पैसा दिने हामी पनि बुद्धि नभकै हुम्, क्यार्नी । अब तेरो घरजग्गा छोड, नत्र हाम्लाई मार ।”, गोविन्दबहादुरले भन्यो ।
“मुन्छे मारे पनि पैसा दिञ्चन् के रे आजोली त । गाममा जम्मैले इमानी छ भन्ते । डाँका पो रैचस् तँ त ! तेरीमा स्याल !”, होमप्रसादले सुनको दाँत टल्काउँदै भन्यो, “स्वास्नी छ एकनम्बरकी बेश्य ! …बेश्यले त बेसरी पैसा कमाम्चन भन्ते । तेरी स्वास्नीले कमाइछैन ?”
घनघसेले निरीह भावमा आफ्नी स्वास्नीलाई ढोकाको चेपबाट हेर्यो । बिर्किम्लीले रिसले कराइ उतारेर बेपर्वाहसँग भूँइमा छोडीदिइ र आगोको भुङ्रोमा पानी खन्याई । उडेको खरानी र धुँवाले उसको शरीर ढाक्यो ।
रङ्कँदै गोविन्दबहादुरले भन्यो, “लामो कुरा नअर म । हाम्रो पैसा हाम्लाई चाइयो । चाइयो भनेसी चाइयो, एकद म तुरुन्त । हामीसँ पैसा धेरै भ”र तँलाई दिएको हैन । कुरो बुज् ।”
“मेरो रिस् जानोछस् केरे घनघसे ? छिटो मिला हाम्रो कारबार ।”, बनावटी हाँसो हाँसेर होमप्रसादले फेरि सुनको दाँत टल्कायो ।
घनघसे केही बोलेन । मलिन आँखाले उनीहरूलाई हेरिमात्र रह्यो । होमप्रसाद र गोविन्दबहादुर आफ्नो बाटो लागे । उनीहरू गएतर्फ निराश भएर घनघसेले हेर्यो । निराश घनघसे छिटो छिटो घरभित्र पस्यो । काले पनि उसको पछिपछि गयो । अगेनोछेउमा उडिरहेको धुँवा र खरानीको धुलोमा घनघसे र काले पनि हराए ।
***
एक दिन बिर्किम्ली गाउँबाट हराई । पहिला पहिला हराउँदा बिर्किम्ली छरछिमेकमा देखिन्थी । यसपालि भने कहीँ कतै देखिइन । केही दिनपछि थाहा भयो, ऊ टाढाको गाउँको पेन्सीनवाला बुढो मान्छेसँग पोइला गइछ । यो कुरा घनघसेले थाहा पाएपछि गाउँमा रुँदै हिंड्यो । ऊ जहाँ हिंड्दा पनि बिर्किम्लीलाई गाली गरिरहन्थ्यो । यतिसम्म कि, निष्पट्ट रातमा पनि घनघसे आँगनको डिलमा बसेर फत्फताइरहन्थ्यो । काले भुकेर उसलाई साथ दिन्थ्यो । घनघसेको गाली र कालेको भुकाइले गाउँलेहरू दिग्दार भइसकका थिए । । सबै गाउँलेले लख काटिसकेका थिए– “स्वास्नी पोइल गएपछि घनघसे बौलायो ।”
घनघसेको घरको बेथिति देखेर गाउँलेहरू पनि आजित भइसकेका थिए । त्यसैले पनि होला जजसको ऋण घनघसेले खाएको थियो उनीहरूले घनघसेलाई ऋणतिर भनेर कराइरहेका थिए ।
घरमुन्तिरको बाँसघारीमा बास बस्ने बेलाका डाङ्रे कराउँदा पनि, “मेरो ऋणतिर !” भनेर कराएजस्तो लाग्थ्यो घनघसेलाई । आजित भएपछि एक दिन घनघसेले सोच्यो, “एक दिन त यिनोरको रिन जसरी पनि तिर्नैपर्च, भ’को सम्पत्ति बेचेर किन नतिर्नी ? आखिर म मोरेसी यो बँचे–खुचेको सम्पत्तिमा यिनोरकै रजाइँ हुने हो । कहिलेसम्म यिनीहरूको अगाडि मुन्टो निहुर्याएर हिन्नी !”
घनघसेले गाउँकै स्कुलको मास्टर पुरुषोत्तमलाई आफ्नो श्रीसम्पत्ति बेचिदियो ।
***
भट्टी पसलको बाहिरपट्टि कालेको चर्को कुँइकुँइ सुनेर टोलाइरहेको घनघसे झस्क्यो । गाउँका दुइटा कुकुरले कालेलाई लछारपछार गरिरहेका थिए । काले भागेर घनघसे नजिक आयो । घनघसेले कालेको टाउको मायाले मुसार्यो ।
खिन्न मुद्रामा उठेर घनघसेले बिर्कीम्लीले पठाइदिएको सयको नोट साहुनीलाई दियो । साहुनीले चालीस रुपैयाँ फिर्ता दिई । ऋण छ्याङ्ग हुने कुरा सोच्दै घनघसे घरतिर हिँड्यो, काले उसको पछिपछि ।
***
बैशाखको बिहान, घाम चर्किसकेको थियो । गाउँमा सडक खन्ने होडमा सर्भे नगरिकन खनिएको साँघुरो कच्ची सडकमा धुलो उडाउँदै मानिसहरू सडकछेउको चौतारीमा जम्मा भइसकेका थिए । पण्डितको नजिकै आएर होमप्रसाद बस्यो । र, आफ्नो बेतको लठ्ठीको टुप्पोले भूँइको सानो ढुङ्गालाई थिच्दै भन्यो– “हैन, तो घनघसे कता मोरो तनी ? झन् मुख्य मुन्छे !”
“मुत्न ग”छ ।”, पण्डित खिस्स हाँस्यो ।
पुरुषोत्तम र पण्डितलाई आफ्नो नजिक कान ल्याउन इशारा गरेर होमप्रसादले भन्यो– “हिजोआज ऋण मिनाहा गराउने कुरा गरिराख्या छन् । गाम्मा उनीहोरको चहलपहल पनि निकै बढ्यो छ । पछि लिनु न छोड्नु बनाम्चन, छिटो अर ।”, होमप्रसादको श्वास गन्हाएको थियो । उनको मुखबाट निस्केको दुर्गन्ध सहन नसकी पुरुषोत्तमले आफ्नो अनुहार अर्कोपट्टी फर्कायो । होमप्रसाद पण्डितको कानमा अरू केही कुरा पनि भन्यो ।
केही समयपछि घनघसे आइपुग्यो । पुरुषोत्तमले खाता निकालेर हिसाब गर्न थाल्यो । खातामा घनघसेले भनेबमोजिम ऋणको विवरण लेखिएको थियो । सबैले पुरुषोत्तमको प्रतिक्षा गरिरहेका थिए ।
“आठसय बयालिस रूप्याँ घनघसेले पाउने भए ।”, पुरुषोत्तमले अलि चर्को गरी फेरि भन्यो, ”बुजेउ घनघसे बा ? चित्त बुजो ?”
“तेसै त होला नि हजुर, सप्पैसँ सापटी लिएर खा” थेँ ।”, घनघसले भन्यो ।
“अब को–कोलाई कति–कति तिर्न छ भनम्े ।”, होमप्रसादले भन्यो, “ल घनघसे, तँ पनि रिन तिरेर हलुङ्गो हुनी भइस्, सिमलको भुवाँजस्तै !”
सावाँब्याज जोडेर बनाएको हिसाव सुनाउने अनुमति पुरुषोत्तमले सबैसँग माग्यो । सबैले सहमतिमा टाउको हल्लाए ।
“होमप्रसादको दशहजार तीनसय सत्तरी, गोविन्दबहादुरको सातहजार नब्वे, हरिकलाको तीनहजार दुइसय, चमसुरीको एकसय आठे ।”, एकै सासमा पुरुषोत्तमले अरूको नाम पनि लिएर हिसाबको विवरण सुनायो, “जम्मा–जम्मी साठीहजार एकसय अन्ठाउन्न घनघसेको ऋण ।”
पुरुषोत्तम ऋणको विवरण सुनाएर सास फेर्न नपाउँदै पण्डित चर्को करायो– “ए घनघसे डाँका ! परारै तैंले पैसा तिर्दा बाँकी र”को साठी रूप्याँ बियाज बिर्सिस् ? तेरिमा ! चारपाँच वर्ष भैसको । त्याँ लेख पुरुषोत्तम बाउ ।”
पुरुषोत्तमले “हो ?”, भनेर घनघसेसँग सोध्यो ।
“सम्जेसी होलानीे ।”, घनघसेले भन्यो ।
“तिर्दिन भन् न डाँका !”, पण्डित चर्को करायो । सबै हाँसे ।
सुनको दाँत टल्काउँदै पण्डिततर्फ फर्केर होमप्रसादले भन्यो– “जाबो साठी रूप्याँमा के तमासा देखाम्चौ पण्डित ।”
“तिम्ले छोड्देऊ न । जिन्दगीभोरी तिम्रा घराँ कमारो बसो । अइले यो हविगत हुँदा तिम्ले यल्लाई एकरूप्याँ छोड्यौ ? मलाई भञ्चन् अज ।”, पण्डितको मूखको दुई छेउमा सेतो थुक देखियो ।
“लेख्तेउ पुरुषोत्तम पण्डितको साम बियाज अरेर एकसय बीस ! हैन, घनघसे ? चारवर्षां त डबल हुञ्च । कुरो बुजोछस् के रे ।”, लाज पचाएर होमप्रसादले भन्यो ।
पुरुषोत्तमले कापीमा हिसाब सँच्यायो । पण्डितले कर्के आँखाले होमप्रसादलाई हेर्यो । पुरुषोत्तमले खल्तीवाट पैसा निकालेर सबैलाई तिरिदियो ।
छेवैको कच्ची बाटोमा माथिबाट एउटा थोत्रो जीप् धुलो उडाउँदै आयो । धुलोबाट बँच्न चौतारीमा रहेका मानिसहरू जीप जाने दिशातर्फ नै फर्केर टाउको झुकाए तर घनघसे धुलोको प्रवाह नगरी धुलोको गुजुल्टोभित्र हराएको जीपतर्फ हेरिरह्यो । जीप चौतारीलाई छोडेर तलतिर गयो । धुलो जीपको पछिपछि लाग्यो । धुलो बसेपछि गाउँलेहरू पहिलाजस्तरी नै बसे ।
आफ्नो अनुहारमा ठोक्किन आएको धुलोलाई पन्छाउन दाहिने हत्केलाले अनुहारमा हावा हम्कँदै गोविन्दबहादुर चौतारीमा आयो । र, ढिलै भए पनि आफ्नो सातहजार नब्बे रूपैयाँ लिएर घनघसेलाई भन्यो– “रिन तिरिस् के रे घनघसे ? अब आनन्द भ तँलाई पनि ।”
घनघसेले कुनै प्रतिक्रिया दिएन । सबै त्यहाँबाट हिंड्ने तरखर गरे ।
“मेरो रिन तिरेर सकियो पुरुषोत्तम बाउ ?”, घनघसेले भन्यो ।
“सकियो । यो बाँकी पैंसा तिम्ले पाम्चौ ।”
“मैले अब कसैलाई एक रूप्याँ नि तिर्न छैन त ?”
“छैन ।”
“पक्का ?”
“पक्का ।”
घनघसेको अनुहार त्यसै चाउरियो । निधार खुम्च्याएर ऊ भक्कानिएर रोयो । टोपी फुकालेर एक छिन आफ्नो रुञ्चे अनुहार छोप्यो । सबैले मुखमुख गरे । शिरमा टोपी मिलाउँदै घनघसे उठ्यो । आफ्नै सुरमा बाटोबीचमा गएर टुक्का गाउँदै नाच्न थाल्यो ।
तारा
मैं जस्तै होला कि
सनिसार…
तारा
मैं जस्तो होला कि
सनिसार…
ओऽऽऽ होऽऽऽ एऽऽऽ
ओ हो ए
ओ हो ए
देब्रे हातका चोरी र बुढी औँला सीधा बनाएर भुइँतिर देखाउँदै दाहिने हातले लठ्ठी माथि उचालेर घनघसे फनफनी घुम्दै नाच्यो । कालेले उसलाई हेर्यो । टुक्का गाउँदै नाच्दै नाच्दै घनघसे ओरालो लाग्यो । काले पनि उसकै पछि लाग्यो ।
चौतारीबाट पुरुषोत्तम चर्को करायो– “ए घनघसे बा, तिम्रो बाँकी पैसा लैजाऊ ।”
नाकको टुप्पोमा झुण्डिएको आँसुको ढिक्कालाई दाहीने नाडीले पुछ्दै घनघसे चर्को करायो– “मलाई चाइन्नोऽऽऽ बिर्किम्लीलाई पठाइद्याओ ।”
घनघसे नाच्दै गाउँदै ओरालो लाग्यो । ऊ नाच्दा उडेको धुलोले चौतारीबाट काले र घनघसे धमिला देखिए ।
