Skip to content

सरलरेखा बक्ररेखाको एक अध्ययन


परिचय

विष्णुबहादुर सिह जुकेना –६ अर्धाखाँचीमा २५अगस्त १९५२ जन्म भै हाल बुढा निलकण्ठ –१० मण्डिखाटार, काठमाडौमा बसोबास गर्दै आउनु भएका एउटा मूद्र्धन्य साहित्यकार हुन् । जनमैत्री विश्वविद्यालय, मास्को, रुसबाट (सन्१९८०)मा एम.ईं सिभिल (हाइड्रो पावर) शिक्षा हाँसिल गरेका सिंहजीले पोखरा विश्वविद्यालय (सन् २००३)बाट एम एससी वातावरण व्यवस्थापन समेत दोस्रो डिग्री हाँसिल गर्नुभएको छ । विष्णुबहादुर सिंह पेशाले एउटा विद्युत् इन्जिनियर हुन् । उन्को जागीर सन् १९८०–८१मा विद्युत् विभाग र कुलेखानी प्रथम जलविद्युत् आयोजनाका इन्जिनियरको रूपमा थालनी गरी कहिले आयोजना प्रमुख, कहिले आयोजना उपनिर्देशक, कहिले निर्देशक, कार्यकारी निर्देशक,प्रोजेक्ट म्यानेजरको सल्लाहकार जस्ता विभिन्न पदमा र विभिन्न स्थानमा आफ्नो जीवन देश सेवामा समर्पित गर्दै हाल पनि उहाँ लिवर्टी इनर्जी हाइड्रोपावर प्रा. लि. (माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, २५ मेघावाटमा प्रमुख कार्यकारी इन्जिनियरको रूपमा आफ्नो सेवा प्रदान गर्दै आउनु भएको छ ।

सिंहजी एउटा प्राविधिक सेवामा आफ्नो सेवा प्रदानकर्ता भएको हुँदा उहाँका आफ्नो सेवा सम्बन्धी चार दर्जनभन्दा बढी समसामयिक लेखहरू प्रकाशनमा आएका छन् भने नेपाली साहित्यको क्षेत्रमा कविता, नियात्रा, गीत, गजल, हाइकू, तान्का, चोका, सेदोका उनका मुख्य विषय हुन् र हालसम्म उहाँका दुई जर्दनभन्दा बढी कृतिहरू बजारमा आइसकेका छन् । सिंहजीले करिव एक दर्जन जति पत्रिकामा सम्पादक र प्रधान सम्पादकको भूमिका समेत निभाइसकेका छन् ।

‘सलबलाउँछन् ओठहरू’कृतिका लागि हरिभक्त कटुवाल गीतिकविता सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार, संयुक्त राज्य अमेरिका (सन् २००३)बाट सन्मानित भै सक्नु भएका सिंहजीले सयपत्री राष्ट्रिय सम्मान जनगाल काभ्रे ( २०७२) सहित गरी एक दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भै सक्नुभएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा विद्यार्थी जीवनबाटै थालनी भएको र अन्तर्विद्यालय कविता प्रतियोगितामा २०२४ सालमा कपिलवस्तुबाट प्रथम पुरस्कार प्राप्त गर्नु भएका सिंहजीले मास्कोमा अध्ययन गर्दा पनि नेपाली छात्र सङ्घ ( सोभियत सङ्घ )द्वारा आयोजित कविता प्रतियोगितामा सन् १९७४मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । अङ्ग्रेजी, नेपाली, हिन्दी र रुसी भाषाका ज्ञाता सिंहजी विश्वका ३ दर्जनभन्दा बढी देशको भ्रमण गरिसक्नुभएको छ भने करिव डेढ दर्जन जति सङ्घसंस्थासँग आवद्ध हुनुहुन्छ । सिंहजी बहुआयमिक व्यक्ति हुनुहुन्छ । उहाँको विभिन्न क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय र अनुकरणीय छ ।

कृति परिचय –सरल रेखा वक्र रेखा(सिजोसङ्ग्रह) नेपाली साहित्यमा एउटा नौलो र नयाँ साहित्यिक विधा हो । यस कृतिमा १८० ओटा चोइटा सिजो समावेश गरिएको छ । यो कृतिको प्रकाशन विष्णुबहादुर सिंह र शिवपुरी साहित्य समाज, काठमाडौले गरेको र मूल्य रु. २००/– राखिएको छ । आवरण सहित कूल ९० पृष्ठमा रचित यो कृतिमा नेप्रप्रका प्राज्ञ वियोगी बुढाथोकीले प्रकाशकीयमा ‘साहित्यकार विष्णुबहादुर सिंह आफ्नो सिर्जना यात्रालाई विविध विधामा समान रूपले माया गरेर एकसाथ हिँडेका छन्’ भन्ने धारणा राख्नुभएको छ । रामकुमार पाँडेले ‘सरल रेखा/वक्ररेख ’ सरस सिजोको प्रखरता ः कवि विष्णुबहादुरको विशेषता’ शीर्षकमा नेपाली साहित्यको वर्तमान अवस्था, नेपालमा कोरियाली सिजो काव्य वैधानिक प्रवेश, सिजो के हो ? कसरी लेख्ने ? आदिको साथै ‘विष्णुबहादुर सिंहले यो पुस्तकमा सिजोको मात्रात्मक धर्म निभाएका छन् । सिजोलाई सिजोकै रूप दिन सफल छन्’ भन्ने धारण राख्नुभएको छ’ । यो कृतिको भूमिका पुष्कर लोहनीले लेख्नुभएको छ ।

रामकुमार पाँडेको सिजो सम्बन्धी धारणामा नेपालमा कोरियाली सिजो काव्य उपशीर्षकमा यो सिजो लेखन नेपालमा एक्काइसौ शताब्दीको पहिलो दशकको उत्तरार्धतिर प्रवेश गरेको भए पनि वैधानिक रूपमा पेन नेपालले भित्र्याएको धारणा राखेका छन् । पाँडेले लेख्नुहुन्छ –कवि विष्णुबहादुरले जापानका छोटा कवितामा पुस्तक लेखेपछि यो यति ठूलो र सिङ्गो कविको कोरियाली शैलीको सिङ्गो सिजो पुस्तक नेपाली साहित्यमा थपिएको छ । पाँडेजीले भूमिकामा सिजोको इतिहासदेखि लिएर संरचनागत लेखन शैलीलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।पेन इन्टरनेसनल नेपाल च्यापटरले सर्वप्रथम नोभेम्बर १५, २०१०मा ललितपुरमा सिजो कार्यशाला गोष्ठि गरेको, नोभेम्बर २०, २०१०मा ललितपुरमा पेन नेपाल र कोरियन पेनको संयुक्त आयोजनामा भव्य कार्यक्रम भएको र २०१३, फेब्रुअरीमा टे«डिसनल पोयट्री राइटर्स एसोसियसन अफ द बल्र्डको टोलीसाथ भव्य गोष्ठी गरी सिजोलाई अगाडि बढाउने काम भएको विवरणमा पाँडेको धारणामा आएको छ ।अब म सिजो कृतिको भावसारतिर लाग्ने अनुमति चाहन्छु ।

प्रेमप्रणय र सरलरेखा र बक्ररेखा–सिंहजीको यो सिजोमा विविध दृष्टिकोणमा प्रेम सागरलाई बगाउने प्रयास भएको पाइन्छ । सिंहजीले कसैको ओठसँग मुस्काएर साथ दिनुहुन्छ कसैको फोटो आँखाको तरेलीमा खिची मनको मझेरीमा छाया साँची भविष्यको कल्पनानसँग टाँसेर हाँस्नुहुन्छ । कसैलाई आँखाको नानी भित्र लुकाउनुहुन्छ, मनको तिर्सनामा बोलाउनुहुन्छ र तिर्खालु छटपटीमा मन पनि बुझाउनुहुन्छ ।

वास्तवमा कविले लुकेर प्रेमपत्र पठाउँदा यदा कदा डराएको र मनको तरङ्गसँग हराएको अनुभूति पनि गरेका छन् । प्रेममा आनन्दको अनुभूति मात्रै हुँदैन, कहिले आँटिलो हुनु पर्छ, कहिले सजाएको भागी पनि भइन्छ, कहिले मायाको कारणले रुन पनि पर्छ साथै फस्न पनि सकिन्छ र कहिले सम्झौता पनि गर्नु पर्छ –

प्रेममा आफै फसेँ तातो हात तान्न खोज्दा
जिन्दगी खोक्रो हुँदै बग्न सक्छ, रोक्नु हुन्न
उफ्रिँदा कालो बिरालो मान्छेसँग आत्तिदा
चोइटा –३६

यौवन छताछुल्ल बैंससँग मात्तिँदो छ
जवानी मदहोस रङसँग आत्तिँदो छ
सम्झौता कसैसँगको यात्रासँग बल्झिँदै
चोइटा–३९

प्रेमको उपहार पनि कहिले उपहास बन्न सक्छ,पेन्डुलम सरि पनि भइन्छ । निस्वार्थ प्रेमको खोजी गर्नु पर्छ मायाको भोकमा आत्तीन हुँदैन, भेटसँग तात्तीन हुन्न र प्रेमको निम्तो पाएमा मात्तीन हुन्न, कसैको अस्मितासँग आँखा लाग्ने सपना देख्न हुन्न आदि प्रेम प्रणयमा लेखिएका सिँहजीका सिजो मर्यादितरूपमा दर्शिएका र पस्किएका छन् –

स्तनको स्पर्शसँगै मनभित्र बल्ने आगो
यौवन छताछुल्ल हुन थाल्दा पोखिएका
कसैको अस्मितासँग आँखा लाग्ने सपना
चोइटा –११४

राजनीति विकृति विसङ्गति र सिजोसङ्ग्रह– सिंहजीले नेपालको आजको राजनीति परिवेशलाई पनि सिजोमा समेटेका छन् । उर्लदो राजनीति सम्झौतामा जेलिएको, नेताको देशप्रेम भाग्न थालेको, संविधान जल्न थालेको, मधेश जलिरहेको, राजनीतिमा भ्रमको खेती गर्दा छलनीति गर्न खोज्दा रीतिथिति,वेथितिमा परिणत भएको, निष्ठाको राजनीति गर्नु पर्ने, राजनीतिमा स्वार्थ हुन नहुने आदि राजनीति विकृति र विसङ्गतिमा कविले व्यङ्ग कसेका छन् –

आस्थाको राजनीति हराएर ओइलायो
नेपाल नेपालीको नभएको जस्तो भयो
नेताले चालेको गोटी बजारिदै लौ ढल्यो
चोइटा –४८

राष्ट्रियता र सिजोसङ्ग्रह – सिंहजीको यो कृति राष्ट्र, राष्ट्रियताका भावनाले ओतप्रोत छ–

गोर्खाली बहादुरी संसारमा चिनिएका
खुकुरी चिलाउँदा शत्रुलाई तर्साएको
सहन्न अपमानको स्वाभिमान हारको
चोइटा– १३२

पाल्पाली ढाकाटोपी शोभै भिन्दै लगाउँदा
ढल्काई हिँडेपछि टाउकाको मानै कत्रो
बचाऊँ नेपाली सान नासो ठान्दै सबैको
चोइटा– ११२

स्थान विशेष, प्रकृति र कृति –यस कृतिमा स्थान विशेष पोखरा, फिदिम–पाँचथर, आँधीखोला, जन्मस्थान जुकेना जस्ता स्थान र ती स्थानको प्रकृतिक विवरण पनि कविले सिजोमा समेटेका छन् –

पोखरा मन पर्छ मलाई नै सधैभरि
आउन मन लाग्छ किनकिन घरीघरी
सुन्दर उपत्याकाले लोभ्याउने वेस्सरी
चोइटा –१३७

जीवन जगत र कृति– सिंहजीले जीवन जगतसँग पूर्ण परिचित हुनुहुन्छ । उहाँले सिर्जना गरेका सिजोमा जीवनका सुख दुःख, उकाली ओराली तथा मानव मनोदशालाई हामीले अध्ययन गर्न पाउँछौं –

विरक्त वियोगीको आत्मासँग अन्तर्मन
साँझमा अस्ताउँदो सूर्यास्तको दह्रो मन
चुस्कीमा रमाएपछि ब्रह्माण्ड नै दोमन
चोइटो– ३२

देशले भोग्न परेको द्वन्द्व, भूकम्प र कृति – सिंहजीको सिजोमा देशले भोगेको द्वन्द्वको मारलाई समेट्नुभएको छ र भूकम्पले ल्याएको आपतलाई मार्मिकरूपमा प्रस्तुत गर्नुभएको छ –

वैशाख बाह्र गते भूकम्पले हल्लाएर
आपत छरिदियो घरभित्र, चोकभित्र
मान्छेका लासहरूले थुपारेको सहर
चोइटा १५७

चाड पर्व र कृति – तीज पर्वमा महिलाले प्रयोग गर्ने स्वतन्त्रता र होलिमा प्रयोग रङ्को विशेषतालाई सुख दुःखसँग तुलना गरिएको पाइन्छ –

होलीमा सात रङ्ग मिलाएर खेल्नुपर्छ
दुःखमा कालो रङ्ग मिल्काएर फाल्नुपर्छ
खुसीमा नीलो रङ्गको गर्नुपर्छ आदर
चोइटा १२०

सिंहजीको यो कृति विविधताले भरिएको छ । पढ्दा आनन्द आउँछ । प्रणय र प्रकृतिको सुन्दर चित्रणले मनमा स्थान लिन्छ र रसिलो रसस्वाद गराउन सफल देखिन्छ । गायत्मक र लयात्मक पनि छ । सिजो मेरो लागि नयाँ विधा भएको र सिजोको पहिलो कृति अध्ययन गर्न पाएकोले मलाई आनन्दको अनुभूति भएको छ । सिजोसङ्ग्रहले नेपाली साहित्यमा नयाँ आयम थपेको र नयाँ योगदान गरेको छ । यस्ता गहन कृतिका कृतिकारलाई धन्यवाद दिँदै बिदामा अग्रसर हुँदाहुँदै अन्तिम चोइटोको स्वाद पनि चाखिहालौं –

मौसम चिसोचिसो जवानी छ तातोतातो
कसेर अँगालोमा युवा जोस मात्तिएको
स्पर्शको भोगाइसँग अनुभूति रित्तिँदा
चोइटा १८०

धन्यवाद
२०७३ कार्तिक,
शान्तिचोक, कावासोती नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *