Skip to content

‘अक्षर’ : जीवन जिउँने एक ज्ञानशास्त्र


पुस्तक लेख्ने र प्रकाशमा ल्याउने धेरै हुन सक्छन् । तर, अमरत्व प्राप्त गर्ने लेखक र कृति थोरै हुन्छन् । जसको लेखनले पाठकलाई साहित्य रसास्वादन गराउन सक्यो वा ज्ञानको सागरमा डुबुल्की लगाउन वाध्य पार्यो, उसकै कृतिको नाम चर्चामा आउँछ । उसले नै समाजको मनलाई अपहरण गर्न सक्छ । त्यस्तै हाराहारी शक्ति र सामर्थ्य बोकेर देखापरेको कृति हो– ‘अक्षर’ ।

देशविदेशका ज्ञानविज्ञानलाई ‘अक्षर’मा रूपान्तरण गर्ने लेखक/सङ्कलक/सम्पादक हुनुहुन्छ– तेजनारायण शेर्पा ‘रञ्जन’ । सद्य कृति ‘अक्षर’मा धर्म, साहित्य कला, संस्कृति, दर्शन, जडिबुटी विज्ञान, राननीति, ज्योतिषशास्त्र, तन्त्रशास्त्र आदि थुप्रै क्षेत्रका जीवनोपयोगी कुराहरू समेटिएका छन् ।

थरिथरीका अनुभूतिले थरिथरीका कला जन्माउँछन् । कसैलाई गुरु नथापीकन, केवल किताब पढेर, खोजअनुसन्धान गरेर र यदाकदा अरूले गरेको निरीक्षण गरेर साहित्य, चित्रकला, हस्तकला, मूर्तिकला, काष्ठकला, तन्त्रविद्या आदि क्षेत्रमा स्थापित नाम तेजनारायण शेर्पा ‘रञ्जन’ हो भन्ने मैले बुझेको छु । भाषिक चमत्कार र साहित्यको व्याकरणमा जादु नहोला तर सर्जक ‘रञ्जन’सँग अनुभवको खानी छ । सोचसमझको व्यापक दायरा छ । अँझ भनूँ पूर्वज र अग्रजहरूका कृतिको अध्ययन, मनन र सम्मानमा उत्तिकै चासो छ । त्यसैले त ‘अक्षर’ले लिपीबद्ध भएर सार्वजनिक हुने मौका पाएको छ । र, हाम्रा हातमा परेको छ ।

मैले ‘अक्षर’ भित्रका अक्षर–अक्षर केलाउने सौभाग्य भेटेँ । आफ्नै मौलिक सम्पदाका अनगिन्ती कुराहरू बुझ्ने मौका समेत भेटेँ । कतिपय ठाउँमा रहेका धार्मिक र सांस्कृतिक क्षेत्रका कुराहरू समेटिएका संस्कृतका श्लोकहरूले भने मज्जाले अल्मलाएँ । सङ्कलकको सङ्कलनलाई हुबहु स्थान दिन वाध्य भएँ । लामो समयदेखिको खोज अनुसन्धान र अनुभूतिको संगालो भएको हुनाले आधिकारिक स्रोतहरू फेला पार्न हम्मेहम्मे पर्यो । जे भए पनि भाषिक त्रुटि नहोस् भन्ने कुरामा सचेतता अपनाउँदा अपनाउँदै पनि त्रुटिविहीन भने अवश्य छैन । त्रुटिहरू औंल्याएर आगामी संस्करणमा सुधार गर्न विज्ञवर्गले मार्गनिर्देश गर्नु नै हुने छ भन्ने कुरामा आशावादी छु ।

‘अक्षर’को अध्ययनले हाम्रो मस्तिष्कका भ्रम भाग्छन् । विकारहरू कुलेलम ठोक्छन् । र, हामी आँटिलो, नैतिकवान् र समाजप्रति उत्तरदायी बन्न पुग्छौँ । थरिथरीका ज्ञानबद्र्धक खुराक पाएर हामी नयाँ मनुष्य नै बन्न सक्छौँ । यो कृति जान्नेलाई श्रीखण्ड र नजान्नेलाई खुर्पाकै बिँड हो । थोरै शब्दमाभन्दा ‘अक्षर’ नामक प्रस्तुत कृति हाम्रा लागि जीवन जिउँने एक ज्ञानशास्त्र नै हो ।

धेरैजसो अरूकै र केही आफ्नै अनुभूतिले यहाँ स्थान पाए पनि ‘रञ्जन’ को अक्षर सेवाको अभियानले जीवन्तता पाएको छ । ‘अक्षर’ कृतिले समेटेका क्षेत्रगत कुराहरूको मूल्याङ्कन गर्दा विविधता पाइन्छ । मेरो हृदयलाई स्पर्श गर्न पुगेका एकाध उदाहरण–

१. शिक्षा क्षेत्र –
जस्तै : (क) बालकको संस्कार र सोचको भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति आमा र बाबु हुन् ।
(ख) मानिसको दिमाग मेसिन–औजारझैँ हो । चलाई राखेमा भने खिया लाग्छ ।

२. स्वास्थ्य क्षेत्र –
जस्तै : (क) आफ्नो शरीरको लागि सबैभन्दा राम्रो डाक्टर तपार्इँं आफैं हुनुहुन्छ । सरसफाइ, पथपरहेज रोगको उत्तम दवाई हो भन्ने उद्देश्यलाई व्यवहारमा लागू गर्नु भो भने मात्र । होइन भने जिन्दगीभरि मरिच भई गरिमामय डाक्टरको पद अरूलाई सुम्पेर बाँच्नुपर्ने वाध्यता हुन्छ ।
(ख) घडीयाल, मगर, गोहीको वीर्य वीर्य बढाउनेमा सबैभन्दा उत्तम छ । नपुङ्सकले पनि यो प्रयोग गरे गराए उत्तम हुन्छ ।

३. राजनीतिक क्षेत्र –
जस्तै : (क) लोककल्याणकारी राजा (नेतानेतृ)ले देश पवित्र गर्छन् ।
(ख) बहुदलीय प्रजातन्त्र सत्ययुगको ढोका खोल्ने साँचो होइन । यो त कलियुगको नदी पार तार्ने एउटा नाउ मात्र हो ।

४. सामाजिक क्षेत्र –
जस्तै : (क) सुखको अनुभव गर्न दु:ख सहनै पर्छ किनभने सुख सजिलै पाइने वस्तु होइन ।
(ख) साहसी व्यक्तिलाई उत्साहको इनाम दिनु आवश्यक छ ।

५. भौगोलिक क्षेत्र –
जस्तै : (क) सूर्य उदयको देश जापान हो भने सूर्यास्तको देश कुन हो ? बेलायत हो ।
(ख) चाँदीको शहर भनेर चिनिने देश कुन हो ? – क्यूवा हो ।

६. कला क्षेत्र –
जस्तै : (क) जित्नेले कहिल्यै छोड्दैन, छोड्नेले कहिल्यै जित्दैन ।
(ख) सङ्गित विद्याको उत्पत्ति सामवेदबाट भएको हो ।

७. जडिबुटी क्षेत्र –
जस्तै : (क) मरेकालाई पनि बचाउने पत्थरको नाम द्रोण पत्थर हो ।
(ख) आयुर्वेदको जन्म सृष्टिकर्ता ब्रह्माले उत्पत्ति गर्नुभएको हो । त्यसपछि ब्रह्मणबाट दक्षप्रजापतिले सिके ।

८. खेलकुद क्षेत्र –
जस्तै : (क) कसरत/व्यायाम शरीरलाई वलवान बनाउन र रोगमुक्त गराउनेमा राजा हो ।
(ख) सर्ट गेम खोलेर केही समयका लागि मानिसले सफलताको सिंढी त चढ्न सक्छ तर सफलतालाई कायम राखिराख्न मानिसले इमान्दारी, संलग्नता र प्रतिवद्धताको लङगेम नै खेल्नुपर्ने हुन्छ ।

९. नैतिक आदर्श क्षेत्र –
जस्तै : (क) उकालो उक्लिने घोडाको लगाम तानेर कस्नु हुँदैन, छोडी दिनुपर्छ ।
(ख) असहारालाई सहारा दिनु उचित होइन । असहारा नै हुन देऊ तर असहाराले रोइकराई सहारा माग्छ भने मात्र उचित सहारा देऊ ।

१०. आर्थिक क्षेत्र –
जस्तै : (क) पैसा काल हो भने पैसाले नै ज्यान पनि बचाउँछ ।
(ख) जम्मा गरेको सम्पत्ति हातबाट जान्छ । निमार्ण गरेको भवन भत्केर जान्छ । मिलन बिछोडमा परिणत हुन्छ । जन्म मृत्युमा परिणत हुन्छ । यो जानेर पहिलादेखि नै सङ्ग्रह गरेर थुपार्ने बानीरूपी दु:खलाई त्याग । यसरी नै निर्माणार्थ समय व्यर्थ नफाल । व्यर्थै विछोडिने मिलनको मायाबाट अगल रही योग्य र पारङ्गत गुरूको आज्ञापालन गर र सत्य साक्षात्कार भई मुक्ति हुने मार्गमा हिँड ।

११. सांस्कृतिक क्षेत्र –
जस्तै : (क) सभ्यता भनेको एक किसिमले निरन्तर नफर्किने गरी बगिरहने खोलाजस्तै हो । अगाडि बढिसकेको सभ्यतालाई फर्काउन गहारो हुन्छ । त्यसैले आफ्नो सनातन अमूल्य संस्कृति छाडीे अर्काको संस्कृति पक्रनु आफ्नो मौलिकतामा प्रश्न चिन्ह लगाउनु हो ।
(ख) तिमी भगवानको खोजीमा, मन्दिर–मन्दिर, मस्जिद–मस्जिद, गिर्जाघर, शम्भु–बौद्ध जान्छौ । रोई–रोई उनलाई पुकाछौ । उनको खोजमा तीर्थस्थान पुग्छौ । त्रिवेणी संगम, पर्वतको टाकुरा, भन्ज्याङ, समतल डाँडा–काँडाका भूमि पार गर्छौ तर जहाँ गए पनि रोई–कराई हिँडे पनि उनी त तिम्रै अघिपछि–तलमाथि, तिम्रै वरिपरि, तिम्रै साथमा, तिम्रै पासमा जहिले–तहिले साथ दिइरहेकै हुन्छन् । यसरी तिमीले जहाँबाट उनको खोजीको तीर्थयात्रा शुरू गरेका थियौ/हुन्छौ, अन्त्यमा तिमी स्वयम्मा अन्त पनि हुन्छौ । तिमी र उनमा कुनै फरक छैन । तिमी स्वय म भगवान हौ । यस्तो गोप्य रहस्यमय महावाक्य हामी सामान्य मनुष्यले यस मानव चोलामा सुन्न पाउनु हाम्रो अहोभाग्य हो ।

१२. वैज्ञानिक क्षेत्र –
जस्तै : (क) वैज्ञानिकहरूले सबै चिज अटाउने भाडा निर्माण गरिसकेका छन् तर विचार अटाउन सक्ने भाडा निर्माण गर्न सकेका छैनन् ।
(ख) मैला कपडामा गहुँ राखी दिँदा त्यसबाट मुसा उत्पति हुन्छ । अन्नबाट घुन, चामलबाट चिल्सा, फोहर रौँमा जुम्रा ।

१३. तन्त्रशास्त्र क्षेत्र –
जस्तै : (क) तन्त्रशास्त्रमा मासु अनिवार्य खानुपर्छ ।
(ख) गायत्री मन्त्रमा कुन देवताको आह्वान गरिन्छ ? सूर्य देवताको ।

१४. ऐतिहासिक क्षेत्र –
जस्तै : (क) शनिवार बिदा दिने चलन कसले चलाएको हो ? प्र.मं. भीमशम्शेरले चलाएको हो ।
(ख) नेपालको पहिलो शहिद लखन थापा हुन् । उनलाई २०७२ साल असोज ३मा पहिलो शहिदको रूपमा सरकारले विधिवत्रूपमा घोषणा गर्यो ।

१५. सामान्यज्ञान क्षेत्र –
जस्तै : (क) मूर्खले स्वर्गलाई नर्क बनाउँछ तर बुद्धिमान्ले नर्कलाई नै स्वर्ग बनाउँछ ।
(ख) कुकुर राजा भीर कहाँ छ ? –लामाबगरको केही दुरीमा एउटा गजबको ठाडो पहाड छ त्यसको नाम कुकुर राजा भीर हो ।

१६. धार्मिक क्षेत्र –
जस्तै : (क) रावण रामको शत्रु होइन, रामलाई पराक्रमी बनाउने पुरूष हो ।
(ख) भगवान राम–विष्णु, लक्ष्मण–शेष, भरत–शंखा, शत्रुघन–चक्रावतार हुन् भनेर ऋषिले दशरथजीलाई बताए ।

१७. विविध क्षेत्र –
जस्तै : (क) जुन देशमा श्रमिकको सम्मान गरिँदैन/हुँदैन त्यो देश विकाशमा सबैभन्दा पछाडि धकेलिन्छ ।
(ख) अरूको आँखाबाट आफ्नो विह्वलित आँसु झार्नु र अरूको मुखाकृतिबाट आफ्नो खुसीको अनगिन्ती मुस्कान निस्किनु सम्वादको सिङ्गो रूप हो ।

रञ्जनद्वारा लिखित ‘अक्षर’ परेका जस्ता जीवनोपयोगी कुरा जो कोहीलाई जहिले पनि काम लाग्दछन् । कृतिमा परेजस्तै भावका म स्वय म चकित भएका एकाध प्रसङ्गलाई यहाँ समेट्न सके यस पुस्तकको महत्त्व अँझ बढ्न सक्छ भनेर यहाँ समेट्ने जमर्को गरेको छु ।

–आजका विद्यार्थी नानीहरूलाई सम्झाउने लोकलयमा आधारित एक उपाय यस्तो छ–

हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।

–लोकजीवनमा आधारित वर्षभरिका बाह्रै महिनामा खाँदा लाभ हुने चीजवस्तुको कहिरन यस्तो छ–

भदौका गिठा, असोजका कोसा
कात्तिकको जौ–तिल, मंसिरका रोटा
पुसको पुसे डल्ला, माघको खिच्रो
फागुनको साखिनु, चैत्रको रायो
बैशाखको खुदो पानी, जेठको गिठा
असारको दुधच्युरा, साउनको खीर
यत्ति खान पाए लाग्दैन पीर ।

त्यस्तै हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभास दिन र लिन व्यवहारोपयोगी जम्मा चौँसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ । ती हुन्–

(१) गायन, (२) वादन, (३) नर्तन, (४) नाट्य, (५) चित्रकारी, (६) विशेषकच्छेद्य (टीकाटाला गर्नु), (७) तण्डुलकुसुमावील (चामलका दानाले फूलबुट्टा बनाउनु), (८) पुष्पास्तरण (फूलैफूलको शृङ्गार रच्नु), (९) अङ्गराग (बुकुवा–पाउडर आदि लगाउनु), (१०) मणिभूमिका–कर्म (घर सजाउनु), (११) शयनरचना (विछ्यौना सजाउनु), (१२) उदकवाद्य (जलतरङ्ग बजाउनु), (१३) उदकाघात (पचका हान्नु), (१४) चित्रायोग (उमेर वा अवस्था परिवर्तन), (१५) माल्यग्रन्थन (माला गाँस्नु), (१६) केशशेखरापीड (कपालमा फूल सजाउनु), (१७) नेपथ्य–योग (पोशाक फेर्नु), (१८) कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा लगाउनु ), (१९) गन्धयुक्ति (अत्तर आदि लगाउनु), (२०) अलङ्कार–योग (गहना पहिरनु), (२१) इन्द्रजाल (चटक गर्नु), (२२) कौचुमार–योग (रूपरचना), (२३) हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), (२४) सूपकर्म (खाना पकाउने काम), (२५) पानकादि भोजन (सर्वत आदि बनाउनु), (२६) सूचिकर्म (सिलाइको काम), (२७) सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), (२८) वीणा–डमरुवाद्य (सितार, तबला आदि बजाउनु), (२९) प्रहेलिका (जान्ने–गाउँखाने कथा, कविता रच्नु), (३०) प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), (३१) दुर्वाचक–योग (कठिन पदहरूको अर्थ पत्ता लगाउनु), (३२) पुस्तक–वाचन (राम्ररी पुस्तक पढ्नु), (३३) नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु, खेलाउनु), (३४) समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), (३५) पट्टिकाबाण–विकल्प (मेच, कुर्सी आदि बनाउनु), (३६) तक्षकर्म (काठको मर्मत गर्ने काम), (३७) तक्षण (सिकर्मी काम), (३८) वास्तुकर्म (घर आदि बनाउने काम), (३९) रूप्यरत्न–परीक्षा (सुन, चाँदीको काम), (४०) धातुकर्म (धातुको काम, ढलोट आदि), (४१) मणिराग–ज्ञान (जुहारती काम), (४२) आकरज्ञान (खनिज विद्या), (४३) वृक्षायुर्वेद–योग (बगैँचा बनाउने काम), (४४) सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), (४५) शुकसारिका–प्रलापन (सुगा–मैना पालेर पढाउनु), (४६) उत्सादान (तेल मालिस गर्ने काम), (४७) अक्षर–मुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), (४८) म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु), (४९) देशभाषा–ज्ञान (देशका विभिन्न भाषा जान्नु), (५०) पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), (५१) यन्त्रमातृका (जन्तरमन्तर गर्नु), (५२) धारण–मातृका (रक्षाबुटी बाँध्ने काम), (५३) सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), (५४) मानसी–काव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), (५५) अभिधानकोश–छन्दोज्ञान (शब्दकोश र छन्दका लयहरू जान्नु), (५६) क्रिया–विकल्प (क्रियाको प्रभाव बदल्नु), (५७) छलितयोग (ठगी वा ऐयारी गर्नु), (५८) वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), (५९) द्यूतक्रीडा (जुवा), (६०) आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), (६१) बालक्रीडन (केटाकेटीको खेल), (६२) वैनायिकी (नम्रता, शिष्टाचार), (६३) वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), (६४) वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि) ।

कलाका रूपरङ्गका बारेमा केस्राकेस्रा केलाउन जमर्को गर्ने हो भने बालकको गर्भावस्थादेखिकै अध्ययन हुनुपर्छ । बच्चाले गर्भदेखि नै सिक्न थाल्छ । उसको सादा दिमाखमा समाजका कुराहरू भरिँदै जान्छन् । यसको ज्वलन्त उदाहरण हो– स्वस्थ बच्चा जन्मनासाथ रुनु । उसको रुवाइको कारण हो– वातावरणीय असहजता ।

आमाको गर्भमा भएभन्दा विल्कुलै फरक अनुभूति धर्तीको स्पर्श अर्थात् वाह्य वातावरणले दिने हुनाले बच्चा जोडजोडले रोएको हो । ऊ असहज वातावरणका विरुद्ध उभिन्छ र सहज वातावरणको माग गर्दछ । त्यस बखत बच्चाअनुकूलको वातावरण बनाइदिनु संरक्षकहरूको परम कर्तव्य हुन आउँछ । तत्पश्चात् उसले बिस्तारै, बिस्तारै परिवारजन र सामाजिक पृष्ठभूमिअनुरूप भाषा र व्यवहार सिक्दै जान्छ । दिनानुदिन ज्ञान बटुल्दै जान्छ ।

कुन कुरो ठिक र कुन कुरो बेठिक भनेर कारण सहित बोध गराउँदै लैजाने काममा संरक्षकहरू जुट्छन् । सत्य कुराले ठाउँ लिँदा सर्वस्वीकार्य हुन्छ, असत्य कुराका निम्ति भने आपत्तिजनक हुन्छ । ठक्कर खाँदै र दर्द सहँदै बच्चा सिकाइको महासागरमा हेलिन्छ । कलाको अङ्कुरण गर्भमै हुन्छ तर विकास र विस्तार भने बिस्तारै–बिस्तारै हुँदै जान्छ । समाजमा हरेक सदस्यहरूका आ–आफ्नै खालका दायित्व हुन्छन् । त्यस्ता दायित्व पूरा गर्न समेत हामीमा कला विद्यमान हुनु जरुरी हुन्छ ।

अन्त्यमा, ‘अक्षर’ कृतिका लेखक/सङ्कलक/सम्पादक– तेजनारायण शेर्पा ‘रञ्जन’ले लगभग आधा शताव्दी अघिदेखि आफ्नो मनलाई छोएका कुराहरू सङ्कलन गर्दै जाँदा त्यसले ग्रन्थको रूप लिएको हो । वृद्धावस्थामा समेत लेखन, पठन र साहित्य र जडीबुटीका क्षेत्रमा अनुसन्धानरत् उहाँको जीवनशैलीले हामी युवा पिढीलाई आदर्श पाठ पढाएको छ ।

नेपाली, मैथिली, हिन्दी, शेर्पा भाषामा सिद्धहस्त लेखक शेर्पाको लेखन विधा कविता, काव्य, संस्मरण, निबन्ध भए पनि उहाँ सबै विधामा कलम चलाउन उत्तिकै पारखी हुनसुहुन्छ । आयुर्वेद विज्ञानको समेत औपचारिक/अनौपचारिक अध्ययन, खोज, अनुसन्धानमा सक्रिय लेखकको आफ्नै वैद्यखानामा सजाइएका हस्तकलाका नमुनाहरूले जो कोही पनि उहाँको कलाकारिताबाट मन्त्रमुग्ध नभइरहन सक्दैन ।

अर्कातिर १. नेपाली, मैथिली, हिन्दी भाषामा कविता सङ्ग्रह ‘पूर्णिमा’, सन् १९७०, २. ‘रौता महारानी भगवतीको चिनारी’ चम्पुकाव्य वि.सं. २०५३, ३. ‘अधुरो’ कविता सङ्ग्रह, वि.सं. २०५६, ४. ‘कविको कविता मनभित्र’ कविता सङ्ग्रह, वि.सं. २०६९ र ५. ‘अक्षर’ विविध सङ्ग्रह (प्रेसमा) प्रकाशन गरेर भाषा साहित्यको मन्दिर निर्माणमा योगदान दिइसक्नुभएका शेर्पाज्यूले १. जडीबुटी विज्ञान, २. शरीर विज्ञान, ३. आरोग्य विज्ञान, ४. मुक्तिमार्ग, ५. ‘घामछायाँ’ कविता सङ्ग्रह गरी अरू पाँच प्रकाशोन्मुख कृतिहरूको पाण्डुलिपी मेरा हातमा थम्याउँदा मलाई दार्शनिक ओशोको सम्झना भयो । ओशोका ६५०भन्दा अधिक पुस्तक प्रकाशित छन् । ती सबै उहाँको अडियो र भिडियोबाट बनाइएका हुन् । शेर्पाज्यूले पनि आफ्नो दैनिक कार्यलाई निरन्तरता दिँदै बुढ्यौली उमेरमा त्यत्तिका काम गर्नसक्नु हाम्रा लागि अनुकरणीय मात्र नभई अनुसन्धेय विषय होभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *