Skip to content

भुइँचालो नियाल्दा


परिचय
भुइँचालोको लेखिका हुनुहुन्छ श्रीमती गङ्गा कर्माचार्य पौडेल । गङ्गा बाल साहित्यकी एउटा बाल कथाकार, बाल उपन्यास कारको साथसाथै विविध नेपाली साहित्य विधामा कलम चलाउने महिला हस्ताक्षर हुनुहुन्छ । गङ्गाले बाल साहित्यमा दुई दर्जनजति कृतिहरू प्रकाशनमा ल्याइसक्नुभएको छ । बाल साहित्य लेखकहरूको नाम लिँदा उहाँ अग्रणी पङ्क्तीमा पर्नुहुन्छ । यस्ती गहन बाल साहित्यकारको जन्म स्याङ्जा जिल्ला भिर्कोट उपनगरपालीकामा २०११।५।२०मा भएको थियो । उहाँका माताको नाम स्व. कृष्णदेवी कर्माचार्य र पिताको नाम स्व पूर्णलाल कर्माचार्य हो । उहाँका पति बरिष्ठ कलाकार(चलचित्र ) हेम पौडेल हुनुहुन्छ । गङ्गाजीका बालकृतिहरूले नेपाल बाल साहित्य समाजबाट उत्कृष्ट बाल साहित्य पुस्तक लेखन पुरस्कार र गोविन्द बहादुर गोठाले किसोर साहित्य पाण्डुलिपी पुरस्कार २०७२ प्राप्त गर्न सफल भएका छन् मैले जाने अनुसार गंगथाजीले धेरै साहित्यिक सम्मान पनि पाएको देखेको छु ।

कृति संरचना –
गङ्गाजीको यो भुइचालो उहाँको अठारौं कृति हो । यो छ ओटा बालकथाको सँङ्ग्रह हो । यसको प्रकाशन अक्षरधाम प्रकाशन प्रा.लि.ले गरेको छ र मूल्य ७५/–रुपियाँ राखिएको छ । आवरण सहित ३० पृष्ठमा सजिएको यसकृतिमा देब्रे पन्नामा तस्विरहरूले ढाकेको छ भने दाहिने पन्नामा कथाले ओगटेको छ । आकर्षकरूपमा देखिन्छ आवरणको पहिलो पृष्ठमा शोकमय अवस्थाको बालबलिकाको तस्विर छ भनेपछिल्लो आवरण पृष्ठमा गंगाजीको व्यक्तिगत विवरण सिहतको चित्रले सजाइएको छ ।

कृतिले पस्केका कथासारहरू–

भुइचालो –
यस कृतिको पहिलो बाल कथा हो । यसै बालकथाबाट यस कृतिको नामाकरण पनि गरिएको छ । सर्वप्रथम यस कथाले भुइचालो जाँदा सकेसम्म खुलाचौरमा बस्ने, त्यति नभए टेबुल, कुर्ची खाट जे भेटिन्छ त्यस्को मुनि छिर्नु पर्ने, भुइचालो आउँदा भागदौड गर्न नहुने, झ्याल कौसीबाट हामफाल्न नहुने, भर्याङ्मा पनि हिड्न नहुने जस्ता भुइचालोबाट जोगिने सन्देश दिएको छ । यस कथामा भुइचालो जानुको कारणमा सातओटा महादेश (एसिया, युरोप, अष्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिका दक्षिण अमेरिका र अन्टार्टिका) भएका र पृथ्वी मुनि इन्डियन, युरोसियन (यसलाई तिब्बतियन पनि भनिन्छ), अफ्रिकन, उत्तरअमेरिकन, दक्षिणअमेरिकन, अन्टार्कटिक, प्यासीफिक, गरी सात ओटा प्लेटहरू भएको । यी प्लेटहरू शरीरहने र सर्दा कहिले काहीँ ठोक्किने यसरी ठोक्किदा जमिन हल्लिदा भुइचालो आउने गर्छ,हाम्रो देश इन्डियन र तिब्बतियन प्लेटको बीचमा पर्ने भएकोले कहिले काहीँ ठोकिदा नेपालमा पनि भुइचालो आउने गरेको, यसरी भुइचालोबाट डराउन नपर्ने, सावधानी भने लिन पर्ने, हामीले बनाउने घर मठमन्दिर सबै भइचालोले भत्काउन नसक्ने खालका संरचनाहरू बनाउनु पर्ने सन्देश दिएको छ । काठमाण्डौ र नेपालगञ्जको परिवेशमा भुइचालोले बालबालिकामा ल्याएको त्रासदीबाट मुक्ब्त पार्ने उद्देश्य अनुरूप लेखिएको यो कथा सरल सहज भाषामा विवरणात्मक र ज्ञानबर्धकरूपमा पस्किएको छ भुइचालोमा के गर्नु हुने के गर्नु नहुने कसरी भुइचालो जाने आदि ज्ञान दिन सफल देखिन्छ यो कथा ।

हनी र सनी-
यस कृतिको दोस्रो कथन हो । यस कथामा हनीले घरमा तयार पारिएको ताजा खाजा खाँदा स्वस्थ भइने शरीरमा तागत आउने जङ्कफुडले ताकत नदिने र स्वास्थमा समेत हानि पुर्याउने धारणा राख्दा सनीले चाउचाउ, लेज, चिजबल कुर्मुरे खान मीठो हुने र तिमीहरूले पैसाबचाउन यस्तो खाजा खाइरहेका छौ भन्दै विवाद चलाउँदै कथाले ताजा घरको खाजा नै राम्रो हुने कुरालाई सनीले महसुस गरी जङ्क खाजा नखाने र ताजा र स्वस्थकर खाजा खाने निर्णय गरेको धारणा आएको छ । बाल भावनालाई समेट्दै आजको समयमा प्रयोगमा आएका जङ्कफुडबाट बालबालिकालाई स्वास्थमा र शारीरिक शक्तिमा पार्ने असरलाई पेट दुख्ने र कबड्डी खेलमा सनीले हारेपछि घरमै तयार पारेको स्वस्थ खाजा खाने निर्णयमा पुर्याइ स्कुलको परिवेशमा लेखिएको यो लेख सहज र सरल भाषामा प्रस्तुत भएको छ ।बालबालिकालाई गुणस्तरहीन खानबाट जोगाउन पर्ने ज्ञान प्रदान गरेको छ लेखले ।

ईर्ष्या-
यो कथासङ्ग्रहको तेस्रो कथा हो । यस कथामा जुम्ल्यहा दिदी (बितिसा) भाइ (बिट्टु) को बीचमा आमाले दिदीलाई बढ्ता माया गर्ने र म (भाइ)लाई कम माया गर्ने, कपडा किन्दा पनि दिदीलाई राम्रा राम्र किनिदिने र म (भाइ)लाई नराम्रा कपडा किनिदिने, बिट्टुलाई पढ भन्ने तर दिदीलाई पढ नभन्ने जस्ता भेदभावपूर्ण व्यवहार भएको कुरा आमासँग राख्दा आमाले छोराछोरीलाई बराबर माया गर्ने, कुनै भेदभाव नराख्ने कुरा छोरासँग राख्दै दिदीले चाँडै उठेर पढाइको काम गर्ने साथै घरको काम पनि गर्ने तर बिट्टुले ढिलो उठ्ने, स्कुलको गृहकार्य गर्न नभ्याउने आदि कुराले सम्झाउँदा, बिट्टुले सबै गल्ती मलाई नै लगाउने, अब म दिदीसँग एउटै स्कुलमा नपढने भनेपछि आमालाई पीर पर्यो र बालमनोविज्ञानलाई सबै घटना सुनाए पछि बिट्टुलाई कपडा रोजेर किनाउने र खाना उसबाटै बाड्न लगाउने भनेपछि आमाले त्यसै गरेपछि समस्या हल भएको धारणा आएको छ । बालबालिकाको मनोविज्ञान बुझेर काम गर्नु पर्ने शिक्षा प्रदान गरेको छ कथाले । ईष्र्याको मुहान पनि घरकै परिवार हुन् भन्ने धारणा आएको छ । भाइ बहिनी बीचमा देखिने ईष्र्यालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने यथार्थलाई पस्केको छ कथाले घरयासी परिवेशलाई र बालमनोविज्ञानलाई सफल रूपमा ओगटेको छ । यो कथाको प्रस्तुति पनि सरल र सहज छ ।

कोसिस-
यो चौथो कथा हो । यस कथामा रुखमा अड्केको चङ्गालाई झारेर उडाउनको लागि अथक र सार्थकले गरेको अथक प्रयास गरेर चङ्गा झार्न सफल भएको धारणा आएको छ । कोसिस गरेमा कठिनभन्दा कठिन काम पनि गर्न सकिन्छ भनी उदाहरण सहित प्रष्ट्याइएको यो कथामा छोटो लठ्ठीले नपुग्नु लामो लठ्ठी हातले थाम्न नसक्नु, रुख चढ्ने प्रयासमा सफल नहुनु, कुर्सी राम्रोसँग नमिलाई कुर्सीमा चढ्दा लड्नु कुर्सी मिलाएर एउटा साथीले समाएर अर्को कुर्सीमा चढेर चङ्गा रुखबाट झारेर दुवै साथी रमाउनु जस्ता घटनाक्रमलाई यस कथाले जोडेको छ । बालबालिकामा कोसिस गरे सफल भइन्छ भन्ने ज्ञानको उर्जा थप्ने कोसिस गरेको छ कथाले ।

रुख हाम्रो मित्र –
यो पाँचौ कथा हो यस कथामा दिदी (पवित्रा) भाइ(उत्तम) मामाघर जानलाग्दा बाटोमा घामले पोलेकोले रुखको छहारीमा बसेर रुखको तल बस्दा शीतलो हुने, रुखले सूर्यको तातोपनलाई छेक्ने, मानिसले सास फेर्दा निस्कने कार्वनडाइअक्साइड बिरुवाले लिएर मानिसलाई अक्सिजन दिने, रुख बिरुवालाई वनस्पति भनिन्छ, वनस्पति मानिसको लागि ठूलो महत्त्व भएको, वनस्पतिले आहार दिने, सुकेका दाउराबाट भात पकाउन सकिने, रुखमा चराहरूले गुड बनाउने आदि बार्ता दिदी भाइमा हुँदै जाँदा एउटा मानिसले रुख काट्न लागेको देख्दा पवित्राले रुख काट्न नहुने अडान लिएर रुखकाट्नेसँग छलफल गर्नु रुख काट्नेले आवेशमा आएर हपार्दा पवित्राको मामा आउनु र मामालाई पवित्राले सबै कुराभन्दा मामाले रुखकाट्ने मानिसलाई ‘ज्ञान भन्ने कुरा सानो ठुलो जोसित पनि लिन सकिन्छ । पवित्राले भनेको कुरा ठिक हो’ भनेपछि रुखकाट्ने मानिसले पनि अबदेखि काँचो बिरुवा आफ्नो स्वार्थको लागि काट्ने छैन भन्ने धारणा आएको र पवित्रा खुसी भएको कुरा प्रस्तुत गरिएको छ । वनस्पतिलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा यस कथामा पस्किएको छ ।
साना हातका ठुला काम –यो यस कृतिको अन्तिम तथा छैटौ कथा हो । यस कथामा शान्तिको पहलमा नगरको फोहोर मैला स्कुलका विद्यार्थीले बटुलेर सफा बनाएको र फोहोरमैला सडकमा फाल्न नहुने फोहोर मैला सडकमा फाले जस्ले फाल्छ उस्कैमा फालिदिने आदि प्रयासबाट नगर सफा बनाएको साथै नगरबासीमा चेतना जगाएको विवरण प्रस्तुत गरिएको छ । यो खबर नगर प्रमुखकोमा पुगेपछि नगर प्रमुखले विद्यार्थीलाई भेटेर ‘तपाईंको साना हातले नगरमा ठूलो काम भएको छ । नगरपालिको बार्षिकोत्सवमा पुरस्कारको व्यवस्था गर्ने भनेपछि शान्ति, विमल, लगाएका सबै विद्यार्थीहरूले हर्षविभोर भई ताली बजाएको धारणा आएको छ । यस कथामा साना साना बालबालिकाको प्रयासले ठूलो ठूलो काम हुन सक्ने ज्ञान प्रदान भएको छ । एकता नै बल हो भन्ने धारणा, बालबालिकाले पनि सिर्जनशील काम गर्न सक्ने र ठूला मानिसको धारणामा परिवर्तन ल्याउन सक्छन् भन्ने ज्ञान प्रदान गरेको छ कथाले ।

शीर्षकीकरण –
२०७२ साल वैशाख १२ गते शनिवार राति ११:५६ बजे महाभूकम्प आएको वेलाको यथार्थतालाई समाउँदै बालबालिकालाई भुइचालेको बारेमा जानकारी गराउने उद्देश्य बमोजिम यो बाल कथाको सिर्जना गरिएको देखिन्छ । आलो र घटित घटनाको असर जनमानसबाट हटी नसकेको हुँदा भुइचालो शीर्षकमा कृति प्रकाशन गर्नु उपयुक्त र समयसापेक्ष नै देखिन्छ ।

भाषशैली –
बाल साहित्यको लागि भाषा सरल र सुबोध हुने खालको चाहिन्छ । गंगाजीले सरल र सुबोध हुने भाषाको प्रयोग गर्नुहुन्छ । उहाँको बाल साहित्यको सफलताको कारण पनि भाषाशैली पनि एक हो । निष्कर्ष –भुइचालो भित्रका सबै कथाहरू ज्ञान बद्र्धक त छन् नै यसको साथसाथै सबै बालबालिकाले सहजै बुझ्न सक्ने व्यवहारमा उतार्न सक्ने खालका पनि छन् । गङ्गाजीले बाल मनोविज्ञानलाई राम्ररी बुझेर बाल साहित्य रचना गरेको उनका कृतिहरूले प्रमाणित गरेका छन् । उनका कृतिमा भाषा सरल छ, सलल बगेको छर, लेखमात्र नभएर चित्रले पनि सजिएको छ । प्रस्तुति मीठो पनि छ आकर्षक पनि छ । यस्तो गहन काममा आफूलाई समर्पित गर्ने बाल साहित्यकारको भावि जीवन सफल, सुस्वास्थ रहोस् भन्दै दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद

सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७, नवलपरासी
मिति २०७३ । ८। १०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *