भनिन्छ अति गर्यो भने खती हुन्छ । आज म अति गर्नेहरूको खती भएका दृश्य चौतर्फी देखिरहेछु । यसको सबैभन्दा ताजा उदाहरण ज्ञानेन्द्र शाहको नारायणहिटीबाट नागार्जुन जङ्गलप्रवासको दृश्य लाग्थ्यो । गद्दी समालेपछि राजा ज्ञानेन्द्र अब सय-पचास वर्ष होइन यो देशमा हजार वर्ष शासन गर्लान् । किनभने उनको शानमान, चुरीफुरी र तामझाम हेर्दा फुच्चे नेपालको होइन; उनी त सकल ब्रह्माण्डकै चक्रवर्ती सम्राट हुन् । नारीगणलाई गोडाको पानी खुवाएको देख्ता उनी साक्षत् विष्णुऔतार भगवानै हुन् । उनको शासनकालको दण्ड दपोट, ऐश अहंकार, फुर्तीफार्ती हेर्दा उनी रुसका जार स्रमाटहरूलाई फ्रान्सका लुइ राजाहरूलाई पछि पार्दैछन् भन्ने लाग्थ्यो । सिंहका मूर्ति कुँदिएको सिंहाशनमा बसेर देशलाई कान्छी औँलाको इसारामा नचाएका थिए । उनको हाईहाई, र ऐश ऐश्वर्य देख्ता यिनी साँच्चैका मानवशेर हुन् क्यारे जस्तो भाव सर्वसाधारणका आँखामा नाच्थ्यो । तर हेर्दा हेर्दै यिनै शेर स्यालमा परिणत भएको देख्ता मानव जाति नियतिको अगाडि कति निरीह र दुर्वल छ, प्रष्ट हुन्थ्यो । शेरबाट स्यालमा गिर्दाको घडी यिनको निम्ति समय कति दुर्दान्त, विद्रुप र दुःखन्तमय थियो, त्यो जो कोहीले अनुभूत गर्न सक्थ्यो ।
संस्कृतमा एउटा आप्त वचन छ –अतिवर्जेते सर्वयतेः । त्यसैगरी नेपाली लोकसमाजमा पनि एउटा सर्वप्रिय भनाइ छ –अति गर्नु अतिचार नगर्नु । यसको मतलव कुनैपनि कुरामा अति गर्न थाल्यो भने त्यसले खती निम्त्याउँछ । त्यसले साह्रै नराम्रो दुर्गति गराउँछ । ज्ञानेन्द्रको अतिले उनकै खति भएको कुरा उनले अहिले मनन गरिरहेका छन् । ज्ञानेन्द्रमात्र होइनन् संसारका कुख्यात तानाशाहरूले सीमा नाघेर अति गर्ने हुँदा उनीहरूको हालत के भयो ? इतिहास बोलिरहेको छ । अतिप्रति निर्मोही बन्न नसक्ता इतिहासका कति राजाहरू रंकमा झरेर सडकको धुलो चाट्नु पर्यो; त्योपनि अतितगाथाले बोलिरहेको छ । अतिको मोहमा लठ्ठिएर अगाडि बढ्दै जाँदा मान्छेले आफूलाई माथि उकाल्ने सिँढी पनि एकदिन आफैँलाई खाडीमा पछार्ने धराप बन्छ भन्ने कुरा बिर्सिन्छ । राजामहाराजा, शासकप्रशासकदेखि सर्वसाधारणसम्म आफ्नो अतिको खतिबाट बंचित रहन सकेका छैनन् ।
तिव्वती वाङ्मयको एउटा पुरानो कथा अष्टावक्र महागीताको आठौँभागमा पढ्न पाएको छु । तिव्वतदेखि धेरै टाढा पहाडी जंगलमा एउटा लुकेको तलाउ थियो । सरोवरको किनारामा एउटा विशाल वृक्ष थियो । त्यसका हाँगा र पातहरू तलाउको वीचसम्म फैलिएका थिए । वृक्षभन्दा तलाउ नै अनौठो र चमत्कारपूर्ण थियो । तलाउमा के चमत्कार थियो भने जो त्यो रुखमा चढेर तलाउमा झम्लङ्ग हाम्फाल्थ्यो । त्यो तत्क्षण रुपान्तरण हन्थ्यो । कहिलेकाहीँ भूलचुकबश कुनै पशुपंक्षीगण तलाउमा गिर्यो भने ऊ मानव योनीमा रुपान्तर हुन सक्थ्यो । कुनै मान्छे तलाउमा डुब्यो भने ऊ तुरुन्तै देवतामा परिणत हुनसक्थ्यो ।
एकदिनको कुरा हो । एकजोडी बाँदरबाँदर्नी त्यही रुखमा बसेर आराम गरिरहेका थिए । एउटा मानिसले धेरै दिनको खोजपछि त्यो तलाउको जादूमय रहस्य थाहा पाएको थियो । बाँदरका लोग्नेस्वास्नीले हेर्दाहेर्दै त्यो मानिस रुखमा चढेर सरोवरमा डुबुल्की मार्यो । डुबुल्की लगाएर बाहिर निस्किने बित्तिकै त्यो मानिस, मानिस थिएन । ऊ ज्योतिर्मय देवता बनेको थियो । उसको दिव्यरुप देखेपछि बाँदरबाँदर्नीको मनमा पनि एउटा सुषुप्त चाहनाको विजारोपण भयो । बाँदरबाँदर्नीलाई तलाउको यति ठूलो रहस्य थाहा थिएन । उनीहरू वर्षौंदेखि त्यो रुखमा खेल्दैवस्तै आएका थिए । तर उनीहरू रुखबाट तलाउमा कहिल्यैपनि हाम्फालेका थिएनन् । ज्योतिर्मय देवतामा रुपान्तरित मान्छे देखेपछि अब हामीले पनि पवित्र काममा ढिला गर्नुहुन्न भन्ने सोचेर बूढाबूढी नै तलाउमा डुबुल्की लगाए । डुबुल्कीबाट बाहिर निस्किँदा उनीहरू चकितचकित थिए । कारण उनीहरू सुन्दर मनुष्य योनीमा अवतरित भएका थिए । बाँदर सुन्दर पुरुष भएको थियो भने बाँदर्नी एक अति सुन्दर नारीको भेषमा रुपान्तरित भएकी थिई । सुन्दर मानवचोलामा परिणत भएकोमा बाँदरबाँदर्नी भित्रैबाट खुशीले धप्प बलेका थिए । उनीले जीवनमा नसोचेको घटना घटेको थियो । दुःखमय बाँदर जीवनबाट सुखमय मानवचोलामा आएका थिए । तर केहीक्षणमै बाँदरभित्र अर्को असन्तुष्टिको भाव मडारियो । उसले सोच्यो –अब एकचोटि तलाउमा डुब्ने हो भने मानवबाट देउता हुन सकिन्छ । अब हामीले किन मान्छेकै रुपमा रहिरहने ?
फेरि डुबुल्की लाउन स्वास्नीलाई भन्यो । स्वास्नीले भनिदिई –“अब फेरि डुबुल्की लाउँदा देउता हुने हो या होइन । के ठेगान ? हामी कुरुप बाँदर योनीमा थियौँ, आज भाग्यवश सुन्दर मानव योनीमा प्रवेश पाएका छौँ । यो सानो कुरा हो, यो सानो घटना हो । हामी यसैमा सन्तुष्ट हुनुपर्छ । यसमै महान् खुशी छ । देवता बन्ने लोभले हामीलाई दुःखमा पनि खसाल्न सक्छ । त्यसैले फेरि तलाउमा डुब्ने कुरा नगर्नुस् ।”
उसलाई देवता बन्ने आँकाक्षाले गाँजिसकेको थियो । स्वास्नीको कुरालाई वेवास्ता गर्दै भन्यो –“त्यस्ता तुइनाम्जे काँतर कुरा नगर । आँटीले संसार जित्ने हो । तँ डुबुल्की लाए ला । नलाए न ला । म त तलाउमा डुब्छु डुब्छु । म जाबो मानव योनीमा अल्झिनेवाला हुइनँ । म देवत्वको स्थान लिन्छु लिन्छु ।
स्वास्नीले हारेर भनी –“तपाईंको मर्जी । भिरजाने गाईलाई राम भन्न सकिन्छ । काँध थाप्न सकिन्न । हामीलाई हिजो बाँदर हुँदा त भएको थियो । आज मान्छे भएका छौँ, त्यो आफैँमा कम हो ? हाम्रो पुर्खाले भनेको कुरा पनि बिर्सनु हुँदैन नि, अति सर्वत्र वर्जयते ।”
स्वास्नीको कुरा बेवास्ता गर्दै तलाउमा हामफाल्यो । डुबेर बाहिर निस्किँदा ऊ मान्छेबाट बाँदर भएको थियो । देवता बन्ने लोभमा पुनःबाँदर भएको थियो ऊ । ऊभित्रपश्चात्तापको आगो बल्यो । अब पछुताएर के गर्नु ? रुनु सिवाय अर्को उपाय थिएन । उता उसकी स्वास्नी भने अति सुन्दरी नारीको रुपमा जंगलमा रमण गरिरहँदा एकदिन शिकार खेल्न आएका राजाले भेटे । उसको रुपसित मोहित भएर विवाह गरे । ऊ रानीको रुपमा दरवारमा भित्रिई । यता बाँदरलाई एकदिन मदारीले पक्र्यो । आवश्यक तालिम दिएर गाउँगाउँमा नचाई हिँड्न थाल्यो । एकदिन मदारीले त्यो बाँदरलाई नचाउँदै दरवारमा पुर्यायो । बाँदरको नाच हेर्न राजारानीको नै सवारी भयो । सिहांशनमा राजासितै बसेकी रानीलाई देखेर ऊ रुन थाल्यो किनभने उसले आफ्नीपूर्व श्रीमतीलाई चिनिसकेको थियो । उसलाई आफ्नो सिङ्गो अतित याद आयो । उनले मनको कुरा झलझली सम्झ्यो । आफ्नो एकोहोरो ढिपी पनि सम्झ्यो । ऊ पछुतो मानीमानी रुन थाल्यो । बाँदर रोएको देखेर रानीलाई पनि पुराना दिनहरूको सम्झना आयो । उसले बाँदरलाई यतिमात्र भनी –नरोऊ । अब रोएर केही हुँदैन । अबका दिनमा तिमीले यति सम्झ –अति सर्वत्र वर्जयेत् ।
कथा यही विन्दुमा समाप्त हुन्छ तर यसले एउटा चिरन्तन सत्यलाई उद्घाटित गर्छ । किटपतङ्गदेखि ठूलठूला जन्तुजनावरसम्म, राजादेखि रङ्कसम्म, सर्वसाधारण देखि अतिविशिष्ट मान्छेसम्म अतिवादको पोखरीमा पौडिखेल्दा कस्तो दुर्भाग्य भोग्नुपर्छ । र कुनैपनि अतिलाई अस्तित्वले कदापि स्वकिार गर्दैन नत्र अति धारिलो हतियारको धार किन छिट्टै झर्छ ?
२०६५/०४/०५
