म यतिखेर श्रममा खुलेको सौन्दर्यको अनुपम छटा हेरिरहेछु । जुनजुन चिजमा श्रमका स्वेदकण बीच्छिएका छन् ती ती चिजबाट अप्रतीम सौन्दर्यको रोशनी उठिरहेछ । सुन्दरता भनेको श्रमको लताकुञ्जबीच फुल्ने सुन्दर फूल हो । सुन्दरता ज्ञात अज्ञात श्रमको नादबाट सिर्जना हुन्छ । निख्लो मरुभूमिको कंकडपत्थरमा किसानले आफ्नो पसिनाको थोपा निचोर्दा लहलह हरियालीका अनन्त दृश्य उमारेको हुन्छ । बालुवामा रङ्गविरङ्गका फूल फुलाएको हुन्छ । सोह्र शृङ्गार गरी बुर्जामा खुट्टा पसारेर बसेकी मालिक्नीभन्दा जुठेल्नोमा काला भाँडा मस्काइरहेकी भाँडाको पिँध जस्तै काली फ्याने दमिनी मलाई किनकिन राम्री लाग्छ । मालिक्नीको हिस्सीमाभन्दा उसको नाकबाट चुहुन लागेको पसिनाको थोपोमा अनुपम सौन्दर्य देख्छु । मालिक्नीको हातका, नङका, कुर्कुच्चा वरिपरिका नङपालीस र मेहन्दीका बुट्टाभन्दा फ्याने दमिनीका गोबर रसको तोडले चरचरी फुटेका पैतलाहरूमा ज्यादा सौन्दर्यको महक गम्किन्छ । मालिक्नीका मेहन्दी रसले हत्केलामा कुँदिएका बुट्टाभन्दा उसको हत्केलामा उठेका ठेलाहरूमा सुन्दरता झल्किएको पाउँछु ।
श्रम नगर्नेहरूका हात एकदिन खिएर जाने कुरा लेमार्क महोदयको सिद्धान्तले पुष्टि गर्दछ । शरीरमा उपयोगहीन अङ्ग कालान्तरमा खिइँदै खिइँदै गएर शरीरबाट समाप्त हुने कुरा उनैले भविष्यवाणी गरिसकेका छन् । मानव शरीरको पुच्छर गायव हुनुमा त्यसले आवश्यक श्रम नगरेर हो भन्ने कुरामा दुईमत रहेन । हातले श्रम नगर्ने हो भने हाम्रा सन्तान दरसन्तानका हात प्राकृतिकतवरले नै सानासाना हुँदै जान्छन् । यो कुरालाई पुष्टि गर्न टाढा जानैपर्दैन । कामगर्ने मानिसका हातका औँला कति मोटा, कति ठूला हुन्छन् ? तर कामको नाममा सिन्कोसम्म नभाँच्नेका औँला कति खिरिला, कति मसिना हुन्छन्, सहजरुपले देख्न सकिन्छ । मलाई डर छ, अरुको श्रममा रमाउनेहरूका हातखुट्टा कतै आदिम मानवको पुच्छर मासिए जस्तो हराएर त जाने होइनन् । गान्धीले किन सुरुवाल उधार्दै सिउँदै गरेका होलान् ? त्यसको अर्थ भर्खर भर्खर थाहा पाउनथालेको छु ।
बिस्तिर्ण फैलिएका खेतका लहलह फाँटहरू हेर्छु, नागबेली परेका कालोपत्रे सडकहरू नियाल्छु, सुन्तलाका झुप्पा झुलेको देख्छु, सबैमा प्रस्वेदको सुवास गम्केको पाउँछु । आफ्नै कोठेवारीको रहरलाग्दो तरकारी खेतीले श्रम संगीत सुसेल्छ । किन होला टि.भी. हेरिरहेकी आफ्नी छोरीभन्दा बाख्रा चराइरहेकी तुलीमाया राम्री देख्छु । यद्यपि तुलिमायाका कपडा झुत्राचिथरा छन् । यसको अनुहारको हिस्सी र बान्कीलाई पालिस पुगेको छैन । छालाको रङ हेर्छु, उसकोभन्दा छाला मेरै छोरीको छाला सुकोमल भएपनि तुलिमायाको खस्रो मयलदार छालाले फ्याँक्ने सौन्दर्यानुभूति अर्कै अर्कै लाग्छ, अतुलनीय लाग्छ ।
मलाई श्रममा रत मान्छेभन्दा सुन्दर अर्को मान्छे लाग्दैन । मानिस अनुहार र पहिरनलेभन्दा कामले सुन्दर देखिन्छ । काम गरिरहेको मानिस कति सुन्दर देखिन्छ भन्ने कुरा तास फिटिरहेको सफेदपोशभन्दा गोबर सोहिरिरहेका गोब्रेसाहिँलाहरूको हिसीबाट धर्ती मुस्कुराएको दृश्यमा अनुमान गर्न सक्छु । हरिलठ्ठकहरूले चौतारीमा जम्मा भएर गफ चुटेको दृश्यभन्दा पूर्वेलिंदाइले बाख्रा भैँसी चराएको दृश्य सुन्दर लाग्छ । बेकामे आइमाईहरू सिनेमा हेर्न बजार कुदेकोभन्दा ठकुर्नी बूढीआमैले खोस्टाका पिरा बुनेको, थोत्रे मुडा टालेको दृश्य राम्रो लाग्छ ।
दरवारका पटाङ्गीनीमा बीच्छिएका कलास्तम्भहरूमा, बुर्जा र आँखी झ्यालहरूमा, ढोका र थाम मेठमा कालीगढले अहोरात्र चुहाएका पसिनाहरूको साम्राज्य देख्छु । ठाउँ ठाउँमा स्थापित सुन्दरमूर्तिले मलाई त्यो उपर घन चलाउने, छिनो र हतौडा बजाउने मूर्तिकारको कथा खोतल्न उद्दिप्त गर्दछ । मूर्ति कुँदिसकेपछि हात काटिने कलाकारहरूको आँसुले रुने बनाउँछ ।
श्रममा सुन्दरता नदेख्नेहरू काममा खिल्ली उडाउछन् । अरुको कामको नाटीकुटी गर्छन् । आफू परजीवी भएर बाँचेको कुरा बिर्सिन्छन् । घरीघरी त हृदयमा यस्तो भाव उम्लिन्छ । र मपनि कतै कुरा नकथरुँ कुनै कर्मठहरूका कुरा नकाटूँ । बेकारका बाह्र बत्तीस कुरा नख्रेचाँरु । कुराको साटो काम नै काम गरुँ । कामकै उपसना गरुँ । कामकै पूजा गरुँ । कामकै आरधना गरुँ । कामकै प्रार्थना गरुँ । कामकै भाषण गरुँ । कामकै शासन गरुँ । कामकै योग गरुँ । कामकै ध्यान गरुँ । कामकै क्रान्ति गरुँ । कामकै आन्दालन गरुँ तर बिडम्बना कामलाई छोडेर कुराको खेती चलिरहेछ देशमा । कुराकै क्रान्ति कुराकै भाषण कुराकै शासन । कुराकै आरधना । कुराकै प्रार्थना । कुराकै चिन्तन मनन । कुराकै रप्रवचन । कामभन्दा कुराले समाजलाई थिचिरह नसार्ने कामचोरहरूको व्याप्तिले हामी अधोपतनतिर झरेका छौँ । माटिकोरे चराको कथाले, गौँथलीले एकएक थोपा हिलो माटो चुच्चोले च्यापेर गुँड बनाएको दृश्यले हामीलाई कर्मयोगमा जुट्न उत्प्रेरित गर्दैन । कतै पढेकोछु, जापानमा नब्बे पन्चानब्बे वर्षका बूढाबूढीहरू काम केही नहुँदापनि सडकमा खसेका पात टिपेर श्रमको अविरल अभ्यास गरिरहन्छन् अरे । हामी सडकको पात त के घरै अगाडि बाटोमा सिनो गनाएको छ भने पनि बरु नयाँ रुमाल किनेर नाक थुनेर हिँड्न सजिलो ठान्छौँ । त्यो फोहरलाई टिपेर फाल्नुपर्छ भन्ने चेतनाबाट बशिभूत छैनौँ ।
हरेक बिहानी श्रमको जागृत धुनले मलाई चलायमान बनाउँछ । घोर निदबाट जागरणमा ल्याउँछ । यो जागरण आफैँमा आल्हादकारी छ । आफैँमा मधुमय छ । चारबजे नै दूध बेच्न बजार हिँड्ने ग्वालाहरूका पदचापको आवाजले म ब्यूँझिन्छु । अगाडिको गल्लीमा उनीहरूका चट्टी बज्न थाल्छन् । त्यो चट्टीबाट निसृत आवाजमा मलाई ब्भूझाउँने र कर्मयोगमा जुटाउने ध्वनितत्व लुकेको हुन्छ । उठेर पहिलोचोटि अगाडिको बाँसझ्याङ्गतिर नजर फाल्छु । सिर्सिरे हावामा बाँसका पात हल्लिरहेका छन् । म थाहा पाउँछु हावा श्रमरत छ, वनस्पतीका पातहरू श्रमरत छन् । नदी श्रमरत छ । सूर्यचन्द्र देखि किटपतङ्गसम्म सबैसबै आ–आफ्नो ठाउँमा श्रमरत छन् । कर्मयोगमा अविरल जुटिराखेका छन् ।
प्रकृतिमा बिनाश्रमको चिज त मैले केहीपनि देखेको छुइँन । एकैठाउँ लडी बसेको ढुङ्गोपनि भित्रभित्रै चलायमान हुन्छ अरे । त्यो भित्रका त्यसका अति सूक्ष्म संरचक घटकहरू इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन आ–आफ्नो ठाउँमा श्रमरत छन् अरे । काँचो केराको कोसा भित्रपनि भोलि पाक्न र पँहेलो बन्नको लागि आन्तरिकरुपमा तयारी चलिरहेको हुन्छ । यसरी प्रकृतिको आन्तरिक तल, बाह्यतल दुवै तलमा श्रम चलिरहेको हुन्छ ।
श्रमलाई शरीरबाटै सिक्नसकिन्छ । मुटु अनवरत श्रममा छ । स्वासप्रश्वासमा यसका अनैकौँ अवयव श्रमरत छन् । रक्तसंचार प्रकृयादेखि कोशहरू निर्माण हुने र विघटन हुने प्रकृया शरीरमा अहोरात्र चलिरहेको छ । निदजस्तो गहन विश्राममा पनि स्वप्नमार्फत म श्रममा विचरण गरिरहेको हुन्छु । मलाई जीवित राख्ने, मलाई चलायमान राख्ने, चिज श्रममात्र रहेछ । अक्सर म भिरमा हिँडिरहेको सपना देख्छु । यसले मेरो कठिन श्रममय आगतको अमिरेखांकन गरेको हुँदो हो । अथवा त्यसको छनक र संकेत दिएको हुँदो हो । चरैवेती चरैवेतीको श्रम सरगममा धर्ती संगीतमय भएको छ । म त्यही संगीतमा श्रोता बनेर श्रमपथमा अविरल हिँडिरहेछु ।
समाप्त
