दूर क्षितिज माथिको बादल
त्योभन्दा पनि माईलौं टाढा
एक्लै बस्ने
तिम्रो परदेशी साँच्चै
तिमीलाई वे प्रवाह मोहब्बत गर्छ
जसरी हिमाल पहाड समतल हुँदै
वे प्रवाह प्यारको इजहार गर्दै
समुद्र भेट्न
आतुर नदीहरू जस्तै !
तिमी सँगैका दिनहरू रंगिन बनाउने सोंच
कतै एउटा पहाडको खोंचमा
परेको सुन्दर सप्तरंगी
इन्द्रेणी जस्तै !
तिम्रो मुहारमा मुस्कान भर्न खोज्छ
स्वर्णिम बिहानी किरणमा
मुस्कुराउने हिमाल जस्तै !
नजर पर्दा
सजाई राखेको तिम्रो तस्वीरमा
बल्झाँउछ अतित
मनको बादलले नयनहरू घेर्छ
र वर्षिन्छन् विना गर्जनको माघे झरी जस्तै !
पल,पल …हर पल
बुनिदिन्छ ख्वाब भविष्यको
र हर्षाशु टपक्क खस्छ
मोती जस्तै !
फुलाउँछ सुन्दर फूल मनको बगैचामा
पराग सेचन गराउँछ
अस्तित्वको लागि
भमराले जस्तै !
तिमीसँग हुने मिलनका क्षणहरू
संसारसामु नमूना बनाउने प्रण गर्छ
पागल प्रेमी जस्तै !
हो तिम्रो परदेशी साँच्चै
तिमीलाई वे प्रवाह मोहब्बत गर्छ ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
