Skip to content

छ श्रोत चाहिनेजति


यहाँ त हार्छ राज्यले, जितेर व्यक्ति के भयो ।
बनेन राष्ट्र आज यो, बनेर व्यक्ति के भयो ।।
दिएर जिन्दगी मरे, विचार उच्चको थियो ।
शहीदको विचार त्यो, कता गएर मिल्कियो ।।

भएन एकमात्र क्वै, यहाँ निस्वार्थको हुने ।
लिएर उच्च भावना, स्वराज्यको चलाउने ।।
दुहेर श्रोत राज्यको, कुनै खुबै कमाउने ।
नुहेर ढोग्नमा कुनै, विदेशतर्फ धाउने ।।

युवा हुँदै गए भने, विदेशमात्र धाउँछन् ।
बुढाबुढी यता बसी, कसोगरी चलाउँछन् ।।
हुँदैन राष्ट्रको यसै, विगार्न वा लडाउन ।
सबैजना मिलेर नै, सपार्नु यो बनाउन ।।

युवा जमात फर्क है, विदेशबाट राज्यमा ।
बनाउँदा त स्वर्ग झैं, हुनेछ राष्ट्र यो खडा ।।
युवा त शक्तिपुन्ज हो, यही देश बनाउने ।
परेछ राज्यमा भने, शरीर त्यो चढाउने ।।

बनाउ राज्य यो सबै, समाज जातको घर ।
मिलेर मात्र बन्दछन्, स्वदेश शान्त सुन्दर ।।
हुँदैन वाँडिनै यहाँ, स्ववर्ग वर्ण जातमा ।
विभाजितै बनेर के, हुनेछ यो समाजमा ।।

बुझेर त्याग स्वार्थको, विषाक्त भावना हुने ।
मिलेर लाग राज्यका, सबै मिली बनाउने ।।
हुनेछ राष्ट्र यो धनी, छ श्रोत चाहिनेजति ।
बसिन्छ चूप भै, कहाँ ? लिनेछ राष्ट्रले गति ?।

छन्दः पन्चचामर जम्मा १६ अक्षर ८ अक्षरमा विश्राम

Leave a Reply

Your email address will not be published. Required fields are marked *