त्रिवेणी कवितासङ्ग्रहका कृतिकार श्रीद्रोणराज उपाध्याय, पिता स्व. पं श्रीचक्रपाणी उपाध्याय र माता स्व. श्रीडम्वर कुमारी उपाध्यका सुपुत्र पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ४ अन्तरगत वँगैचाको सालघारी गाउँमा वि.सं. २००६ साल मंसिर १५मा जन्मेका हुन् । संस्कृत भाषामा स्नातकसम्म अध्ययन गरी विद्यालय तहको शिक्षकका रुपमा २०२९माघ ०८ गतेदेखि २०५६ साल कार्तिक ११सम्म त्रिभुवन उच्च माध्यमिक विद्यालय शंकरपोखरीमा नेपाली विषयको विषय शिक्षक र पदमा रही सेवा गर्दादेखि उहाँसँग मेरो परिचय भएको थियो । उनको सादा जीवन, उच्च विचार, भावनात्मक र शास्त्रीय अभिव्यक्तिदेखि म सधैं प्रभावित हुन्थे ।
२०५६ साल कर्तिकपछि उनी श्रीहिमालय उच्च माध्यमिक बिदालय पाङ्ग वगैंचामा सरुवा भै शिक्षक र प्राचार्य पदमा रही सेवा गर्न थालेपछि भने उहाँसँगको भेटघाट निकै पातलिएको छ । उनको योगदान शिक्षक क्षेत्रमामात्र नभै सामाजिक र राजनैतिक दर्शन, अध्यात्म दर्शनमा पनि गहिरो सकृयता रहेको पाइन्छ । विभिन्न मितिमा जिल्ला शिक्षा, समिति, पर्वत, शिक्षा सेवा आयोग पर्वतमा सदस्य, नेपाल मानव अधिकार संगठन, पर्वत सदस्य र नेपाल रेडक्रस सोसाइटी पर्वतको आजीवन सदस्यमा उन्को सम्लग्नता रहेको पाइन्छ । भारत, नेदरल्याण्ड, फ्रान्स, जर्मन, वेल्जियम, दुवै जस्ता विदेशको र साथै नेपालका विभिन्न क्षेत्रको ज्ञान आर्जन गरेका उपाध्याय निवृत्त जीवनमा नेपाली साहित्यमा, सकृयरूपमा विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशन गराउँदै त्रिवेणी कवितासङ्ग्रह लिएर हाम्रोसामु देखा परेका छन् ।
कृतिको संरचना – समर्पण (माता र पितामा), प्रकाशकीय( माधुरी साहित्य प्रतिष्ठान अध्यक्ष सरस्वती शर्मा जिज्ञासु बाट), भूमिका (डा. षडानन्द पौड्याल बाट), शुभकामना मन्तव्यहरू( त्रिभाषा कवि, नारायण प्रसाद उपाध्याय, अर्याल र नेपाली साहित्य संघ पर्वतका अध्यक्ष इन्द्र कुमार विकल्प), कृतिकारको कथन, लगायत ४१कविताले यस कृतिको सिर्जना भएको छ । माधुरी साहित्य प्रतिष्ठान, पर्वतले प्रकाशित यस कृतिको मूल्य एकसय रुपियाँ राखिएको छ ।
कृतिप्रति साहित्यकारको धारणा –कृतिकारले आफ्नो सिर्जनालाई प्रकाशनमा ल्याउँदा भूमिका र शुभकामनाका शब्दहरू आफ्नो कृतिमा समावेश गराउने चलनको निरन्तरता यस कृतिले पनि पाएको छ । भूमिका लेखनमा डा. षडानन्द पौड्यालज्यूले यस कृति र कृतिकारको बारेमा विश्लेषणात्मक विवरण दिंदै लेख्नुहुन्छ –‘त्रिवेणी कविता सङ्ग्रहमा समावेश गरिएका विवेच्य रचना उपाध्यायका जीवन र व्यवहारका साक्ष भएका छन्’ । त्रिभाषा कवि नारायण प्रसाद उपाध्याय अर्यालज्यूले यस कृतिकार कृतिप्रति आफ्नो धारणा यसप्रकार राख्नुभएको छ – द्रोणराजले प्रथमत : माता पितालाई समर्पण, मङ्गलाचरण, प्रार्थना आराधना आदि गरेका हुनाले यी कविताहरू पवित्र कल्याणकारी हुनुको साथै भावुक हृदयको पुकार र सरस, मन्जुल उव म प्रसाद गुणले भरिएका छन्’ । वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्पको यस कृतिप्रतिको धारणा यसप्रकार आएको छ –‘कविताको माध्यमबाट कविले धार्मिक सामाजिक, आर्थिक सँस्कृतिक, शैक्षिक र राजनैतिक पक्षमा भएका विकृति र विसङ्गतिहरूलाई उजागर गरेर त्यसका विरुद्ध आवाज उठाएका छन्’ । प्रकाशकीयमा माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुले लेख्नुहुन्छ–आफ्नो जीवन भोगाइ सांसारिकता, धार्मिक आस्था, स्वजनप्रतिको स्नेह, विग्रह, पूर्वीय दर्शन, आफ्नो देशको वैचित्र्यदेखि लिएर प्रजातान्त्रिक पद्ध्यतिका विशेषता बारे उपाध्यायले आफ्ना कवितामा प्रकाश पारेका छन् ।
विषय प्रवेश –त्रिवेणी कवितासङ्ग्रहमा समावेश गरिएका ४१ वटा कवितामा पूर्वीय अध्यात्म दर्शनलाई उच्चतम प्राथमिकता दिंदै कविले विविध विषयलाई समेट्ने प्रयास गरेका छन् ।यस कृतिलाई कविले माता पितामा समर्पण गरेका छद्धन् । समर्पण कविता पनि यस कृतिमा समावेश गरिएको छ, जस्मा यो संसारमा भएको सबै चीज ईश्वरको(तपाईंको) हो र मेरो कुनै आधार छ भने तपाईं नै हो भन्दै ईश्वरमा समर्पण गरिएको छ । कृतिको थालनी मङ्गलाचरणबाट गरिएको छ । मङ्गलाचरणमा सिद्धि र बुद्धि पति गणेशसँग रक्षाको लागि, सरस्वती(शारदा)सँग ज्ञानप्रदानको लागि र पशुपतिसँग मानिसलाई असल मति दिएर मही (पृथ्वी)लाई अमरावती बनाउन अग्रसर हउन् भनी आग्रह गरिएको छ । यसरी ईश्वरप्रति श्रद्धाभाव राखि रचिएका कविताहरूमा प्रार्थना (कृष्ण र शिवको), हे शशीशेखर(शिवजीमा भवसागरबाट पारलगाउन आग्रह)), आउन हात समाउ (ईश्वरमा भवसागरबाट पार लगाउनआग्रह), करुणा निधान (कृष्णसँग ), शरणागत प्रभु( कृष्ण), आराधना (शारदासँग), श्री., आराधना(जगदीश्वरीसँग) याचना (सरस्वतीसँग), विधाता, अति थाके दया राख( भगवानसँग), भगवान् ! र मलाई हँसाइदेन !, ईश्वरमा समर्पित कविता हुन् यी कवितामा कविले संसारलाई रक्ष गर्ने ईश्वर हुन् । भवसागरशबाट पार लाउने पनि ईश्वर नै हुनुहुन्छ हामी सबैलाई शरण दिने पनि, संसारको दुःखरूपी तम(अन्धकार)बाट बचाउने पनि सांसारिक दुखबाट किनारा लगाउने पनि एक मात्र शक्ति ईश्वर हो भन्ने कविको धारणा पूर्वीयदर्शनसम्मत छ । वास्तवमा जन्मेपछि मर्नु पर्छ असल कर्म गर्नु पर्छ । आखिर संसारमा सत्य के हो त ? मृत्यु नै सत्य हो । कविले जगतलाई यसरी परिभाषित गरेका छन् –
अति झुटो यो जगत रहेछ !
ज्ञान विहीन भूलिंदो रहेछ
आखिर छानाबाट खसे झैं
पछुतो मान्दै मर्नु रहेछ
हेशशिशेखर, पृष्ठ –६
माथिका भक्तिपरक कवितामा कविले ईश्वरलाई पालनहार, सर्वदर्शी, सर्वात्मा, समग्र चराचर जगत्को नियन्ताको रूपमा स्वीकारेका छन् र संसारमा रोइरहने सबैलाई हँसाईं दिने आग्रह गरेका छन् –
भगवन ! सबै तेरै हातमा छ
प्रभु ! सबै तेरै वसमा छ
ब्रजनन्दन ! मेरा आँसु पुछि दे न
भगवन् ! मलाई हँसाइ दे न ।
(भगवन् ! मलाई हँसाइ दे न, पृष्ठ ५२)
मातृत्वप्रतिको आदर भाव – आमा शब्द सर्वव्यापी छ आमाको त्यागको वर्णन जति गरे पनि सकिदैन । यहाँ कविले मातृत्व र मातृशक्तिप्रति राखेको धारणा मनन् योग्य छ –
महाकाली महालक्ष्मी महाविद्या त्रयीश्वरी
प्राणी मात्र हजुरको त्यो सिञ्चितछन् मातृस्नेहले
आफ्नो अनि परायाको भेदभाव रति भरि
नहोला तिमीमा कत्ति आदि शक्ति सुरेश्वरी
(मातृशक्ति पृष्ठ –१३)
कवि, प्रकृति र राष्ट्र राष्ट्रियता – कविले आफ्ना कवितामा नेपाली प्रकृति र राष्ट्र राष्ट्रियताको चित्रण प्रचुरमात्रामा पोखेका छन् । कवि आफ्नो जन्म भूमि स्वर्गभन्दा पनि दिव्य ठान्छन्, देश युगयुगान्तर बाँचोस्, देश भोको, नाङ्गो, र रोगबाट मुक्तहोओस् भन्छन् । नेपालको प्रकृति–विशालछ, सुन्दर छ, सुशान्त छ माता जानकी र बुद्धको जन्म भएको यस देश हेर्नकालागि स्वयम देवताहरू प्रलोभित भएको धारणा कविले यसप्रकार राखेका छन् –
देखी यो हिम शैल्य वा रजनको थुप्रोसरीका गिरी
यो संसार विशालको धवलको देदिप्य झुल्का सरी
माता जानकीको र बुद्ध भगवान जन्मेको यो भूमिमा
सारा देवहरू प्रलोभित भई हेर्छन सदा स्वर्गमा
(नेपाल, पृष्ठ २४)
कविले नदी र पाखुरा नेपालको हाम्रो भाग्य रेखा भन्दछन् । वास्तवमा नेपालको जनशक्ति र नदीबाट निस्केका उर्जालाई प्रयोग गर्न सकिएको खण्डमा देशको विकास सहजै हुन्छ ।
नैतिकता र कवि धारणा–कविले नैतिकताबाटै अध्यात्मिक र भौतिक उन्नति हुने, संसारमा यश झल्मल हुने, जीवन सात्विक हुने, विश्वको उच्च व्याक्तित्वमा यिनै व्यक्ति पुग्ने धारण राखेका छन् । आमा, बुबा, गुरु भ्राता जो जो छन् मान्य मानवमा सम्मान जस्ले गर्छ त्यही हो नैतिक । यस्ता नैतिक मानिसले ठूलोलाई आदर गर्छन् र सानोलाई माया गर्दछन्, अनुशाशित भएर काममा अघि बढ्छन् र नैतिकवान भएर जन्मनु पनि धन्य हो भन्ने कविको धारणा छ ।
जीवन जगत र कवि–कवि जीवन भोगाइलाई, राम्ररी बुझेका छन् र भोगेका पनि छन् भन्ने धारणा पश्चताप, मनस्थिति, हे शशिशेखर, शरणागत प्रभु, व्यथित जीवन चक्र, मेरो जीवन व्व्यथा, कहिल्यै वसन्त आएन, मेरो अति आदि कवितामा मनका वेदनाहरू आएका छन् । यी कविताले मानव जीवनका यथार्थतालाई बोकेका छन् ।
विविधखाले कविताहरू– देशमा प्रजातन्त्र आएकोमा सबैले हर्ष मनाउनु, एस. एल. सी टेष्ट पास गरेर जाने विद्यार्थीलाई शुभकामना कविता मार्फत उपदेश दिनु, जस्ता विविधखाले कविताहरू पनि यस कृतिले समेटेको छ । द्राण गुरुले आफ्ना विद्यार्थीलाई बिदाइमा दिएको आशीर्वचन –
तिम्रो कीर्ति दिगन्तमा पुगिदियोस् आभा विहानी सरी
तिम्रो जीवन पल्लवित भइरहोस् वैशाख जस्तै गरी
पाखा पर्वतमा सदा सुमनका ज्योत्स्नाहरूफैलियून
मानौं वैंस विषे गमक्क जननी नेपाल हाँसिरहून्
(शुभकामना, पृष्ठ –३२)
यस शुभकामनाका हरेक शब्द, प्रत्येक विद्यार्थीका लागि मननयोग्य र ग्रहणयोग्यछन् ।
शीर्षकीकरण– कविले् आफ्नो कृतिको नामाकरण समुच्च कविताको भावसारलाई लिएर गरेका छन् । त्रिवेणी नामको कुनै कविता यहाँ समावेश छैन । शीर्षक विषयमा स्वय म कवि भन्छन् – ‘.. आराधना, आदर्श र अन्य समेतको सङ्गालो भएकोले ‘‘त्रिवेणी’’ नामाकरण गरेको हुँ ’ । शीर्षकीकरणमा डा. षडानन्दको धारणा यस प्रकार छ – ‘यस कविता सङ्ग्रहका रचना विधान भजन, वार्णिक र मुक्तलयको त्रिवेणी बनेको छ ’। त्रिवेणीको धेरै अर्थ मध्ये तीनदोभान /तीन मिलनलाई यहाँ हेर्न सकिन्छ । कविले ईश्वरप्रतिको भक्तिभाव, मातृभूमि प्रतिको राष्ट्रभाव र समाजका यथार्थतालाई आफ्नो कविताको माध्यमबाट संयोजन गरेको हुनाले कविताको शीर्षक सार्थक देखिन्छ ।
भाषाशैली –भाषा गत पक्षलाई केलाउँदा यस कृतिमा समर्पण म र प्रार्थना कविता संस्कृतमा रचिएका छन् र अरु सबै नेपालीमा रचिएका छन् । त्यसो हुँदा यस कवितासङ्ग्रहमा मिश्रित भाषाको प्रयोग भएको छ । भाषा शिष्टमात्र नभएर ल्किष्ट पनि छ । भूमिका लेखनमा डा. षडानन्द पौड्याल लेख्नुहुन्छ –‘उपाध्यायले तत्सम शब्दलाई खेलाउने र गहन भाव प्रकट गर्ने, शैली ग्रहण गरेको पाइन्छ । त्यसैले उपाध्यायले कविता रचनाको शील्प पक्ष बौद्धिक पाठकको अपेक्ष गर्ने खालको छ ’। म पनि यसै अभिव्यक्तिमा सहमत छु ।
अन्त्यमा यस सङ्ग्रहका कवितामा विचार, व्यवहार, नैतिक आदर्श, छन्द अलङ्कार, राष्ट्र राष्ट्रियता मानतावादी धारणा, भजन, ईश्वरप्रतिको सादरधारणा, महान वाणीहरूको प्रयोग, भागवत दर्शनप्रतिको प्रभाव, आत्म चिन्तनको भावनाको प्रयोगको साथै फटाहा, लुटाहा, चोर, देशघाती, देशद्रोही, विखण्डनकारीको लागि व्यङ्गवाणीको प्रयोगले कवितालाई विविधतातिर लगेको महसुस हुन्छ । अध्यात्मवादी दर्शनको अमृतरूपी सागरमा पौडदै आत्मा र परमात्माप्रतिको धारणा कविले दिएको तपशीलको सन्देशलाई पश्कदै, कविलाई, अवको अमूल्य समय साहित्य सिर्जनामा वितोस् भन्ने, कामना गर्दै बिदा चाहन्छु ।
आत्मा विषे अनि ऊ आत्मा मिलिरहेछ
अन्तर्मुखी प्रवल चुप् अनुरागमा त्यो ।
आत्मीय भाव जगमा अभिव्यक्त गर्ने,
पाइन्न शब्द अथवा लिपी भाव भर्ने
आश्चर्य जगत, पृष्ठ –३८
धन्यवाद,
सदानन्द अभागी
मिति २०७२ साल पुष १९,
नवलपरासी, कावासोती, –७, शान्तिचोक,
