हरेक साल एउटा भोकाएको छोरो
रित्तारित्ता हातहरू लिएर
लाहुरबाट चाँडै फर्किएर
दशैं आउनुअगावै चाडबाड सम्झिएर
लुखुरलुखुर
स्वदेश आउँछ
अनि भोक र प्यासको दुब्लाएको
कुनै बचेरा झै गरेर मज्जाले मुख बाउँछ
अनि असारमा
उजाड र नाङ्गो निधारहरू लिएर
मानौ कि कुनै अभागी बिधुवा आइमाईले
कुनै नौजवान अल्लारे युवालाई बिन्तीपत्र बिसाए झै गरेर
ऊ भन्छ,
“मलाई भोक लाग्यो आमाबुवा
म मरुभूमि र बालुवाको देशबाट तिर्खाएर
आएको छु
मलाई अब छिट्टै मेरा यी साँघुरा निधारमा टीका लगाइदिनुस् ।”
कुनै तिहारको रङ्गिन दीपावलीमा गृहलक्ष्मी
वा
विवाहित महिलाले आगन पोते झै
सिङ्गो शरीर र शिर नै सजिने गरी
अनि सिङ्गो तक्दिर नै भरिने गरी
शान्तिका टीकाहरू लगाइदिएर
र उस्का बाउआमा भात बसाउनतिर लाग्छन
अफ्सोच
भण्डारमा चामल नदेखेर
र
निधारकै टीकाहरू ग्राराम ग्राराम चपाएर
अनि छिमेकीको छेवैको कुवा र खोलानालाका
पानी पिएर
र हतारहतारमै ऊ परदेश लाग्छ
जाने बेला भावुक हुँदै
मातृभूमितिर फर्किएर
अनि आफ्नो सिङ्गो जन्मभूमिलाई सम्जिएर
आमाबाउको अनुहार हेर्दै अनि अन्तिममा
फेरि ऊ एकपटक भन्छ,
“म अब अघाएँ आमा
म अब अघाएँ बा
मलाई बासी भात पकाउदै गर्नुस
म भोलि आएर खानेछु
अर्को पल्ट म घर फर्कदा
मेरा देशद्रोही दुश्मनहरुले मलाई मारेनन भने
सायदै पिर नगर्नुस म हजुरहरुको ऋण तिर्नेछु
म मङ्गसिरमा मात्र अब हजुरलाई दशैंको दछिणा दिनेछु
पिर नगर्नु है आमा
पिर नगर्नु है बा
म अब गए
म अब अघाए
म अहिले मेरा यी कानमा केबल
हजुरको हराबरा जमरा
र खप्परमा चामलको टीका
वा
आकाशे असिनाका टुक्राहरू जस्ता
पसिनाका छिण जीर्ण कणहरू
र
कुनै मजदुर वा किसानको दुर्गन्धित डामहरू मात्र
यी चेहेराहरुमा लाएर गएको छु !
सकेसम्म मलाई शरद रितुमै आउने रहर छ
म अब अर्को पाली दशैंमा मात्र मेरो गाउँ घर आउनेछु
कि तपाईंहरुकै ती विश्वयुद्धका मैदानहरुमा
अन्नबाली
भएर भन्नेछु कि कुनै उत्तिर्ण विद्यार्थी
बालकले आफ्नो स्कुल र शिछ्यकलाई
धन्यवाद दिए झै म भन्नेछु हप्पी विजयदशमी
त्यो दिन चाहे हेमन्त नै किन नहोस
म दिनेछु दशैंको अनन्त शुभकामनाहरू
आमा अहिले मलाई यी झुपडीबाट
भिखारी झै गरेर बिदाइ गर्नुस बा!
अर्को पल्ट आउदा म
धानको भकारी जस्तै भएर आउनेछु!
किनकि दुखले दिनरात रोपिएको
र हरदम बडादशैंको प्राकृतिक आशीर्वादहरू खुवाएर
पालिएको
म एउटा खेत-गरा हुँ,
वा
मानौ कि माटोले भरिएको जमिनको जरा-जराहरुमा
पोखिएको
म कसैको एक थोपा रक्तबीज हु
केबल एकथोपा ।
