म हिजो
शिवजीको आदेशमा
वायुपंखी धुँवाको विमान चडेर
मर्त्यलोकबाट आकाश गङ्गातिर जादैगर्दा
एकछिन
तिम्रो याद आ’को थियो
फेरि
हनुमानजीलाई
सुमेरु पर्वत बोक्न सघाउँदै गर्दा
अस्तिनै पोहर परार साल
मैले
तिमीलाई उचाल्न नसक्दा खेरी
मेरो सुकेको ज्यान देखेर
तिमीले खिस्सी गरेर याद आ’को थियो
हिजो नै
मैले पशुपतिमा
तिम्रो यादहरुको चिलिमे दागबत्ती दिदै गर्दा
तिमी आगोको झिल्को झैँ
रन्किएर
धुँवाको मुस्लो झैँ
बम्किएर
मेरो आँखैअगाडि तिमीले
मलाई आँखा तर्दै गरेको देखेको थिएँ
साँझ
म पशुपति नजान भनी हिडेर
पशुपति पुग्दा
तिमीले “पशुपति नजानु है”
भनेको सम्झेर
मनमनै मुस्कुराउदा
तिम्रो याद आको थ्यो
म त
सधै, तिमीलाई भुल्न भुलेको सम्झिदा
तिमीलाई सम्झिन्छु
तिमी कहिले सम्झिन्छौ ?
