घर सुनसान छ । आजबाट यस घरमा एक प्रकारको शून्यताले राज गरेको छ । जसरी बचेराहरू गुँड छाडेर उड्छन् र त्यहाँ शून्यता छाउँछ; त्यस्तै भएको छ मेरो घर । दुइटा बचेराहरू उडेर गए, आजबाट गुँड शून्य भयो । बचेराहरू उडेपछि माउको हृदयमा जुन शून्यताको, खिन्नताको घाउ लाग्छ । त्यही घाउ लागेको छ मनमा । बचेराहरू उडिगएपछि बच्चासँग गाँसिएका अनेकौँ सन्दर्भहरू विस्मृतिको गर्भबाट फटाफट बाहिर आए । अतितको त्यो मृदुल स्मृतिमा डुब्दा अनयास आँखामा आँशुको दह जम्यो । छोराछोरीसितको सन्निध्यता टुटेको छ आजबाट ।
जसै हिजो नानीहरू मातेको गर्भगुफामा अनुबन्धित थिए । त्यो घडी उनीहरुको असुरक्षाको कुनै चिन्ता थिएन । आफ्नै आत्माको भित्री तलबाट उनीहरुलाई सुम्सुम्याउँदा हुन्थ्यो । माया दिँदा पुग्थ्यो । सबभन्दा निकट सम्बन्धको डोरीमा बाँधिएका थिए बचेराहरू । उनै ममतामयी माताले फेरेको स्वासमा बचेराहरुको धुकधुकी चल्थ्यो । उनै ममतामयी माताले निलेको अन्नरसबाट बचेराहरुको गोजेरो भरिन्थ्यो । उनै ममतामयी माताले पिएको जलबाट बँचेराहरुको प्यास मेटिन्थ्यो । माउलाई जाडो, गर्मी, चीसो, तातोले सताएपनि, त्यसको अनभूति भएपनि, बच्चा त्यो असुरक्षाबाट दशहात टाढा अलग आनन्दको स्वतन्त्र राज्यमा थियो । एकदिन त्यो सुरक्षित स्थल छोडेर बच्चा बाहिर निस्किन्छ । र आफूलाई चौतर्फीरुपमा असुरक्षाले घेरेको अवस्थामा पाउँछ । अब आमाले फेरेको स्वासबाट गुजारा हुनेवाला छैन । अब आमाले खाइदिएको अन्नरसबाट उसको गुजारा चल्नेवाला छैन । अब आमाले पिइदिएको पानीले उसको प्यास मेटिनेवाला छैन । ऊ संघर्ष र प्राप्तिको अर्को यात्रामा हेलिन्छ । उसले अति तीव्र गतिमा संघर्ष गर्दै जान्छ । जीवनका नवीनतम चुनौतीहरुसँग आफैँ साक्षात्कार गर्दै जान्छ बच्चा । आफ्नै नासापुटबाट स्वास लिनुको चुनौतीपनि बुझ्छ, त्यसको मजापनि चाख्छ । आफ्नै कलिलो थुतुनोले आहार स्थल खोज्छ । आफ्नै मुखबाट पानी पिउन सिक्छ । खाएको आहारा पचाउन सिक्छ । विकारतत्व निष्काशन गर्न सिक्छ, प्रकृतिले उसलाई पूर्ण भरोसा प्रदान गर्दै जान्छ । र ऊ आमाको नाभीकेन्द्रबाट छुटेर बाहिर आएपनि आमाको ममतामयी बक्षस्थलमा शरणागत हुन्छ । बच्चा आमासितको कोखको सम्बन्धबाट छुटेपनि काखको सम्बन्धमा र छातीको सम्बन्धमा बेरिएर अगाडि बढ्छ । समयको गति अनुरुप केही कालपछि आमाको दूध छोडेपछि काख र छातीको सम्बन्धबाट पनि बिछोड हुन्छ । अब ऊ आमाबाउको वरिपरि घुम्ने, पछ्याउने अवस्थामा पुग्छ । दिनभरि बाउआमासित अलग भएपनि भान्सामा ओछ्यानमा माउसितै रहन चाहन्छ ।
बच्चाले सुत्नेबेलामा, खानेबेलामा माउ खोज्छ । हिजोको सम्बन्धको आयाम प्रकृतिवत ढंगले टुट्तै जान्छ, हिजो कोखसित जोडिएको थियो । त्यो सम्बन्ध टुटेर काखसँग जोडिन पुग्यो । छातीसँग जोडिन पुग्यो । काख र छातीको सम्बन्धपनि एकदिन टुट्छ; अनि सुत्ने ओछ्यानसँगको सम्बन्ध बाँकिरहन्छ । जब बालवयले बिदा लिन्छ तब बच्चा स्वभावैले माउसँगको ओछ्यानसितको सम्बन्धपनि तोड्न चाहन्छ । उसले आफ्नो अस्मिता र अस्तित्वको अलग अनुभव गर्न चाहन्छ । ऊ भित्र स्वतन्त्र बन्ने आकाँक्षाहरुले मुन्टो उठाउन थाल्छन् । अनि अलग ओछ्यान, अलग खाट, अलग कोठातिर आफ्नो सुताइलाई बसाइँ सार्छ । त्यो घडी माउसितको ओछ्यानको सम्बन्धपनि सँधाको लागि टुटेर जान्छ ।
किशोरवय पार गर्दा नगर्दै शिक्षादिक्षा र रोजीरोटीको खोजीमा बच्चा घरै छोडेर हिँडिदिन्छ । ओछ्यानसितको सम्बन्ध टुटेपनि एउटै चुलोचुकौमा खानुले एउटै छानोको ओतमुनि घामपानी हावाहुरीबाट बँच्नुले माउ बच्चाको सान्निध्यमा त्यस्तो कुनै दरार आएको हुँदैन । केन्द्रमा माउ रहन्छ परिधिमा बच्चा माउलाई कुनै न कुनै रुपमा फन्को मारिरहन्छ । तर यो एउटै छानो मुनिको सम्बन्धपनि लामो समय कायम रहँदैन । बच्चालाई किशोर वय पार गर्दा नगर्दै शिक्षा दिक्षाको खोजीमा रोजीरोटीको खोजीमा घरदेखि बाहिरकै संसारले हमेशा आमन्त्रण गरिरहेको हुन्छ । अब एककिसिमले उसलाई माउ बसेको घर बन्धन जस्तो, बाध्यता जस्तो महसुस हुन थाल्छ । ऊ आफ्नो पुख्र्यौली घरबाट निर्बन्ध भएर अर्कै क्षितिजमा उड्न चाहन्छ । बाबुआमाको आँगनको साँगुरो आकाशबाट आफ्नो स्वतन्त्रताको असीम आकाशमा कावा खान चाहन्छ । माउको गुँडमा कुचुक्क खुम्चिनुभन्दा आफ्ना पखेटाको वलमा माथि माथि उडान भर्नमा रुचि राख्छ । त्यही कारण ऊ आफू हुर्केको बढेको गुँड छाडेर भुर्र उडिदिन्छ । जुन दिन ऊ गुँड छोडेर उड्छ । त्यो दिन बचेराको मनमा गुँड छोड्नुको पिंडाभन्दा आफ्नै पखेटाको बलमा उड्नुको मजाले जितेको हुँदो हो । उसको हृदयमा विष्मात कम हर्ष बढीको भाव उच्छलन हुँदो हो । तर माउको भित्री दशा भने अर्कै हुन्छ । एकातिर त बच्चो ज्ञान र गुनको खाजीमा, काम र मामको खोजीमा गुँड छोडेर हिँड्दा खुशी नै लागेको हुन्छ तर अर्कोतिर आफ्नो कलेजोको टुक्रा क्रमशः कोख छोडेर काखमा, काख छोडेर, काँधमा काँध छोडेर औँलोमा, औँलो छोडेर ओछ्यानमा, ओछ्यान छोडेर ओतमा, ओत छोडेर अर्कै संसारमा, अर्कै ठाउँमा जाँदा पिंडाको करौँतीले माउको मुटु बारबार रेट्ने गर्छ ।
यसो गम्छु प्रकृतिको नियम र लय हो । एकदिन बचेराले घरदेखि बाहिरी संसारको शिक्षादिक्षा पुरा गर्दो हो । रोजीरोटीको लुतेधन्दामा आबद्ध हुँदो हो । यति ठूलो संसारमा एक्लै बाँच्नुको पींडाले औतालिँदो हो अनि एउटा जोडी जुटाएर झ्यास्झुस त्यान्द्रातुन्द्री चुच्चोले टिपीटिपी गुँड बनाउँदो हो, बच्चा काढ्दो हो । ती बच्चालाई ममताले बेरेर हुर्काउँदो हो । एकदिन उसका बच्चापनि गुँड छोडेर भुर्र उड्दा असीम न्यास्रो मान्दो हो ।
मलाई बचेराहरू गुँड छोडेर उड्नुको पींडाले जति दुःखी बनाएको छ; मेरो बच्चो पनि त्यो घडी त्यत्तिकै दुःखी हुँदो हो । जीवन त आखिर कोसीको घागी जस्तो बर्तुल चक्रमा पो घुमिबस्तो रहेछ ।
आज मेरो आँगन उदास उदास छ । नब्बे वर्षका पिताजीका आँखामा गहिरो पिंडा र सन्तापको छाँया देख्छु । हमेशा आफ्नो रेखदेख गर्ने नातिनी गुँड छोडेर हिँडेकीमा घरी घरी भक्कानिनुहुन्छ । तर पनि के सम्झेर हो नाति नातिना पढ्न गएकोमा फेरि बच्चा जस्तो फुर्केर पढाइको महत्व बखान गर्नुहुन्छ । तीनवर्ष अगाडि छोरो पढाइको सिलसिलामा गुँड छोडेर उड्यो । त्यो घडी त्यति न्यास्रो भएन । घरमा छोरी थिई । छोरी साथमा रहेका कारणले पनि छोरो विछोड हुनुको पींडा त्यति धेरै महसुस भएन । तर यसपालि छोरी पनि पढाइकै सिलसिलामा घर छोडेर हिँडेपछि थाहा भयो –मेरो हृदय भित्रपनि कति कोमलतम भागहरू रहेछन् । जसले पटक पटक आँखा निचोर्ने गर्छन् ।
मायाममताको आलिङ्गनमा बेरेर छोराछोरीलाई आफ्नै वरिपरि राखी राख्ता पनि उनीहरुको आत्मिक विकास अबरुद्ध हुन जान्छ । मैले यस्ता बाउआमा पनि देखेको छु । छोराछोरी प्रतिको अनावश्यक आशक्तिपूर्ण मायाले बाहिर पढ्न जान वञ्चित गरेर घाँसे गोठाले बनाएको, सधैँका लागि ज्ञानका आँखा बन्द गरिदिएका थुप्रै घटनाहरू छन् । माउलाई बच्चाको माया लाग्नु स्वभाविकै हो । माया पनि आशक्ति मुक्त हुनुपर्दोरहेछ । माया पनि विवेक निर्देशित हुनुपर्दो रहेछ । अहिले बचेराहरुले घर छोडी उड्नुमा पींडाका/विछोडका भावहरू सघन रुपमा दुखेर आएपनि साथै यही विछोडका घाउहरुमा उनीहरुको सुखद अनि सुन्दर भविष्यका रेखाहरुको डोब खनिँदै गएको दृश्यपनि देखिरहेछु । उज्यालोको खोजीमा ज्ञानको उज्यालोले आलोकित हुन, अनि त्यही उज्यालोले अन्धकारमा सुतेका मानिसलाई जगाउने अभिप्साबाट गुँडका कलिला बचेराहरू ज्ञानको ज्योति फैलेतिर उडान भरे । यसले मलाई अर्कोतिरबाट असीम आनन्द दिएको छ । दुइटा कलिला बच्चाहरुको ज्ञानप्रतिको आशक्ति र अभिप्साबाट सन्तुष्ट पनि छु ।
आफ्नै जीवनका विगत गोरेटाहरू सम्झिन्छु, जहाँ टेकेर आज यहाँसम्म आउन सकेँ । आफ्ना कलिला पखेटाहरुले उडान भर्दा त्योबेला वायुतरङ्गमा छोडेका पदचिन्हरू नियाल्न खोज्छु । मैलेपनि मेरा बचेराहरुकै उमेरमा गुँड छोडेर ज्ञानको उज्यालोबाट शिक्षित हुन, दिक्षित हुन नौलो क्षितिजतिर पखेटा चालेको रहेछु । त्यतिखेरको मेरो उडान र यात्रा अहिले मेरा बचेराहरुको जस्तो सहज र सजिलो थिएन । कलिलो किशोरवयमा आफ्नै श्रमबाट रोजीरोटी जुटाएर ज्ञानको आलोक कमाउनु मेरो निम्ति निकै कष्टकर कुरा थियो । तरपनि कठोर संघर्षको बलले जस्तासुकै अनाकण्टर पहाडहरू पनि छिचोल्न सकिन्छ भन्ने आत्मविश्वासबाट यात्रा अगाडि बढाएको रहेछु ।
अहिले बचेराहरुको लागि ज्ञान कमाउन जति सहज, सुनिश्चित र सुविधापूर्ण अवस्था विद्यमान छ । मेरो समयमा निकै ठूला ठूला चुनौतीहरू थिए । अनिश्चिताहरू थिए । सुविधापूर्ण स्थिति होइन, अभाव र कष्टपूर्ण समयसित साक्षात्कार गर्दै अगाडि बढ्नुपर्ने बाध्यता थियो । सुख वैभवको अलिकति नामोनिसानपनि काहीँ कतै नभेटिएको स्थिति थियो । त्यसैले बचेराहरुलाई म बारबार माउले आफ्नो जीवनकालमा गरेको कठिन यात्रालाई विस्मरण नगर्न भन्छु ।
माउले बडा दुःख गरेर सँगालेको रगत पसिनामा डुबुल्की मार्दै ज्ञानको उज्यालो क्षितिजतिर होइन; अज्ञानको बाटोतिर यात्रारत बचेराहरू पनि देखिरहेको छु । त्योघडी बाउआमाको हृदय कति जल्दो हो, औडाह र उफानले उनीहरुको आत्मा कति पोल्दो हो । यसलाई म माउप्रतिको कृतघ्नता ठान्छु । बचेराहरू हृदयमा आफ्नो गुँडप्रति, आफ्ना पितृप्रति कृतज्ञता भाव रोपिनुपर्छ । आफूप्रति पितृले गरेको अनुदान उपर बचेरो धन्यभागी हुन सकेन भने कृतज्ञ बन्न सकेन भने ऊभित्र उज्यालोका विजहरू टुसाउने सम्भावना कम हुँदै जान्छ । तर धर्तीमा जन्मेका सात अरब मान्छेकै अलग अलग यात्रा छन् । माउ आफ्नो जीवनको यात्रा गर्छ । बच्चा आफ्नो जीवनको यात्रा गर्छ । माउको यात्रामा बच्चाको यात्रा फेरि काहीँ न काहीँ जोडिएको छ । बच्चाको यात्रामा पनि माउको यात्रा काहीँ न काहीँ जोडिएको छ । मेरा पितामाताले गरेको यात्रामा, मेरो यात्रा काहीँ न काहीँ जोडिएको छ । मेरो यात्रामा मेरा छोराछोरीको यात्रा काहीँ न काहीँ जोडिएको छ । आफ्ना पितृहरुले गरेका यात्राबाट सार शिक्षा ग्रहण गर्दै आफ्नो जीवनको यात्रा तय गर्नुपर्छ । पितृत्वप्रतिको कृतज्ञता अहिलेसम्मको स्थितिमा मेरा बचेराको हृदयाकाशमा टनाटन भरिएको पाउँछु । भोलिका दिनमा यस भावमा घुनपुत्ली नलागोस् भन्ने कामना गर्छु ।
अब मेरो जीवनमा माउ हुनुको नाताले छुट्टै सफलता केही पनि छैन । बचेराहरुको सुख मेरो सुख हो, बचेराहरुको आनन्द मेरो आनन्द हो, बचेराहरू सफलता मेरो सफलता हो । मेरा पिताजी कहिलेकाहीँ केके कुराले दुखित भएको घडी यसरी नै सम्झाउँछु –अब तपाईंको छुट्टै सुख खोज्नुभन्दा छोराछोरी नातिनतिनाको सुुख, सफलता र आनन्दमा आफ्नो सफलता र खुशी खोज्नु जाति हुन्छ । यसरी सम्झाएपछि खुशी हुनुहुन्छ ।
बचेरा उडेपछिको रित्तो आँगनबीच छाएको गहन शून्यतालाई हेरेर टोलाइरहेको बखतमा सामुन्नेको सालवृक्षमा कलिला मुजुरा पलाएको दृश्य हेर्छु; हिजोसम्म शिशिरले उजाड बनाएको सिक्रो रुखमा एक उदासी व्यक्त थियो । एक शून्यता र उजाडतामा रुख फँसिराखेको थियो । आज वसन्तको मृदुल स्पर्शले सालवृक्षमा हरियालीको रौनक थपिदिएको छ । सालवृक्ष आह्लादित छ । पवन झोँक्कासित मुनाहरू हाँगाहाँगामा नाचिदिन्छन् । त्यही नै जुरेलीका माउपोथी अनि भर्खर उडेका बच्चाहरू एकसाथ जम्मा भएर चिरविर चिरविर गीत गाइरहेछन् । यो दृश्यले मेरो मनले कल्पना गर्छ । एकदिन सालवृक्ष झैँ उजाड यस घरमा हरियाली छाउला म बूढो जुरेली गीतहरू गाउँला । अहिले उडी गएका बचेराहरू अमृतमय ज्ञानको उज्यालो बोकेर गुँडमा फर्केलान् । एउटा असीम आनन्दले सबैको हृदय आपूरित गर्लान् । यो गुँड नानीहरुले कमाएको अजम्मरी चेतनाको पाठशाला बन्ला ।
अस्तु !
