लालचन्द्र राजभण्डारीको जीवनी केलाउँदा १९९९ साल पौष्गा १२ गते आइतबार जन्मेका उनको सारा जीवन शिक्षा र स।माज सेवामा लगानी भएको देखिन्छ । २०१८ सालमा विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्यपनमा सम्लग्न थिए भने २०२४ सालमा उनी विद्यामन्दिर पुस्तकालयको अध्यक्ष पदमा रही सेवा गरे । २०३६ सालमा बाग्लुङ व्यपार संघको अध्यक्ष पद सम्हाल्न पाउनु भयो । २०२९ सालदेखि २०४९ सालसम्म नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाको कोषादक्ष पदमा रहेर रेडक्रसका विविध कार्यक्रममा सेवा पुर्याउनु भयो ।
२०४९ सालमा लालचन्द्र राजभण्डारीलाई थप सेवा पुर्याउनको लागि पदहरू प्राप्त भए । उनी नगर उन्मुख कालिका गाविसको उपाध्यक्ष, धौलागिरी बहुमुखी क्याम्पस वाग्लुङको व्यवस्थापन समितिको सदस्य, विद्यामन्दिर हाइस्कुलको व्यवस्थापन समितिको अध्यक्ष, रुद्र्रेपिपल मा.वि.को धनधान्यञ्चल समितिको संयोजक, शंखधर बहुउद्देश्वीय सहकारी संसथाको अध्यक्ष, रुद्र्रेपिपल मा.वि.को भवन निर्माण समितिको अध्यक्ष, शंखधर बहुउद्देश्वीय सहकारी संस्थाको भवन निर्माण समितिको अध्यक्ष, पूर्व राष्ट्रिय उद्योग ब्यापार संघको अध्यक्ष, पूर्व २०४९ संयुक्त जनमोर्चा जिल्ला शाखा बागलुङको उपाध्यक्ष, पूर्व रुद्र्रेपिपल मा.वि. व्यवस्थापन समितिको सदस्य, २००२मा लायन्स क्लब अफ धौलागिरी बाग्लुङको अध्यक्ष, सुस्त मनस्थिति कल्याण संस्थाको संस्थापक सदस्य, धौलागिरी बहिरा विद्यालयको संस्थापक सदस्य, हाल राधाकृष्ण मन्दिर सेवा समितिको उपाध्यक्ष र नेपाल राष्ट्रिय अभिभावक संघ बाग्लुङ शाखाको उपाध्यक्ष आदि कल्याणकारी संस्थाहरुमा आवद्ध रहेर सेवा पुर्याउँदै आउनु भएको व्यक्तिगत विवरणले जनाउँछ ।
कृतिभित्र प्रवेश गर्दा – तेजरत्न स्मृति पुरस्कार संस्थान, बागलुङद्वारा प्रकाशित यस कृतिको मूल्य संस्थागत रु २००।– छ भने व्यक्तिगत रु १५० राखिएको छ । यस कृतिलाई लेखकको प्यारो नाति छक्कुमा समर्पण गरिएको छ । लालचन्द्रले विद्यार्थी कालदेखि नै कविता लेख्न मनपराउने र कविता कोर्दै जाँदा ‘मेरो छक्कु’ कवितासङ्ग्रह हामी बीच देखा परेको छ । । यस कृतिमा ६६ ओटा कविताहरू समावेश गरिएका छन् । लालचन्द्र भण्डारीले लेखकीय बाहेक कुनै साहित्यकारको भूमिका लेखाएका छैनन् । लेखकीयमा लालाचन्द्रले पाठकको प्रतिक्रिया जेजस्तो आए पनि त्यसलाई मनन गर्दै अघिबढ्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
लालचन्द्रका कविता विविधताले सजिएका छन् । उनका कविताको शीर्षकले नै उनका धारणालाई प्रष्टयाउने भएको हुँदा यहाँ मैले उनका कविताको शीर्षकलाई समावेश गर्न मन लाग्यो । विश्वलाई नियाल्दा, यस्तै छ अहिलेको यथार्थ, असरल्ल वगिदिन्छ मेरो जिन्दगी, तिमी आउँछु भन्यौ तर आएनौ, मेरो अभिव्यक्ति, खडेरी पर्दा, समस्या समाधान, मेरो छक्कु, मायाको स्पन्दन, तिमलाई सुहाउँछ यसरी चिच्याउन ? डम्फू, तिम्रो सु–शासनमा, विद्रोह, म पनि कविता मै आहाल बस्न चाहन्छु, प्रेमको बाचा बन्धन, लाल झण्डा फहराउँदै जनगणतन्त्र मनाउँदै, म आँफूलाई आफैँ विर्सिरहेछु, रोकिने छैन क्रान्तिको ज्वारभाटा, काठमाण्डौको बटुमा, बालीघरे साइला दाइ, शुभ–कामना, कसैको बहकाइमा बहकिने नगर, जीवन र जगत, हामी हौं ठूला मान्छे, ईलाम, मनन गरिदेऊ भोक रोग र गरिबीको, द्वन्द्व /परम्परा, नुर झुकाउनु पर्दार्, हाम्रो बकैना रुखलाई सम्झनु पर्दा, कहिले काहीँ अँध्यारो प्यारो लाग्छ, शब्दचित्रमा पुरस्कार र सम्मान, मेरो प्रारम्भिक शिक्षा, विचरा ती जोडी गौंथली गुँड छाडे, समझना गर, आधुनिक युगले निम्त्याएको द्वन्द्व, सधैं हाँस खेल गरेर जिउन सिर्कौ, प्रकृतिको विहङ्गम दृश्यमा, किन रोज्यौ यस्तो पेशा, संकटकाल, देशले नयाँ काँचुली फेर्दैछ, प्रतिक्षा, होइन यहाँ के हुन खोज्दैछ ? पछुतो, न मैले तिमीलाई चिन्न सकें, देश भित्र देश खोजिरहेछु, विरक्तिदो जिन्दगी, सँगसँगै हिड्छिन् ती दुई आमा छोरी, त्यो दिन अवश्य आउने छ, साउने झरी फाउने हिउँ म, बालापनमा, तिम्रै हालीमुहाली, दिन, त्रिसठ्ठी फाल्गुन संझना पुग्दा प्रकृति, कहाँ बस्न गए ती भँगेराका जोडीहरू आशीर्वाद तिमीलाई, प्रण गरौं परिवर्तनको अनु्भूति गराई छाडौं, भूकम्प, यस्तै हुन् बच्चाहरू, क्रान्तिकारी नेपाली, गुनासो जर्केर हिड्नेसँग, संविधान, दण्डहीनताले गर्नु गर्यो, कविता शान्ति, हरायो शान्ति सन्देश र आज मौसम धमल धुमुल शीर्षकमा कविता कोरिएका छन् ।
यी शीर्षकबाटै उनले मानव जीवनमा भोग्न परेका आजको यथार्थता, जीवन जगतका विविधता, कोलहाल, रुवावासी, आपत विपद, उदण्डता, मूख्र्याइ, निर्बलिया, निमुखा, सिधासादाको पिल्साई, राष्ट्र प्रेमको ह्रास, नागरिकको सर्वोच्चताको खोजी, द्वन्द्वले भित्र्याएको त्रास, मानव जीवनमा आइपर्ने दुख पीडाको भोगाइ आफै व्यहोर्न पर्ने, लामो प्रतिक्षा गर्दा पनि तिमी आएनौ, रवि पुग्न नस्कने ठाऊँमा पनि कवि पुग्ने, मानव भित्र अनगिन्ती भावनार र चाहनाहुन्छन् तर चाहेर व्याक्त गर्न कठीन पर्दछ, खडेरीले बालीनाली लगाउनमा देखिएका व्यवधान, समस्या भित्रै समाधानको खोजी गर्नु पर्ने, घर-परिवारहरूको लागि सन्तानहरू मुटुका धडकन, र मायका स्पन्दन हुन्छन्, आवरणरूपमा शालीन, सौम्य, सज्जन देखिए पनि भित्रीरूप अर्कै हुन सक्ने, कतै अश्लील शब्द बोल्न र आवेशमा आउन नहुने शिक्षा दिइएको छ ।
राजनीतिमा खिचातानी, प्रधानमन्त्री छान्न सकस, ठूलापार्टी एकले अर्कोलाई गाली गर्ने, सानादलले ताली बजाएर रमिता हेरिहेका, सरकारमा बस्ने गृह्य मन्त्रीले सुसाशनका नारा लगाउने हुनु पर्ने तर प्रभूको कसुरदार जोकोहीलाई पनि कार्वाही गर्ने प्रतिबद्धता जनाउने, कार्यन्वयन नहुने, प्रहरी अधिकृतले प्रहरी महिलामाथि बलात्थ्कृत गर्ने, मन्त्राणीले प्रमुख जिल्ल अधिकारीलाई गालामा चड्कन लगाएको, दुई दुई स्थानबाट हारेको मानिस गणतन्त्रमा प्रधानमन्त्री हुन पाएको, सरकार जनताको हुनु पर्ने तर कठपुतली सरकार प्रभूको आर्शिवाद पाएसम्म टिक्छ, झुक्नु सहनु पनि हद हुन्छ, त्योभन्दा बढी भए विद्रोह जन्मन्छ, गोली बारुद र बन्दुकको डर हट्छ, कवि कवितामा आहाल बस्न मन पराएक छन् र कवितामै हराउन मन पराउँछन् ।
भगवती माईलाई साक्षी राखी आलो रगतमा दुवैका हात चोवेर लगाएको माया पनि दीगो हुन सकेन, नयाँ नेपालमा प्रवेश गर्दै स्वतन्त्रताको लाल झण्डा फहराए, चीलहरू लोपहुन लागेकाले अस्तित्व बचाउनको लागि उडिरहेका, प्राकृतिको सौन्दर्यतामा कवि आफैले आफू विर्सिरहेका, क्रान्तिको ज्वारभाटा आँधीबेहरी सरह उर्लिरहेको, राजसत्ता ढलिसक्यो, काठमाण्डौको बटु टोलमा बाग्लुङेको बाहुल्यता, बालीघरे साइलादाइलाई कविले मायागर्ने, कविले मानवहरूको बीचमा मानव भएर बाँच्ने शुभ कामना दिएका, बहकिनुभन्दा पहिला आफूलाई हेर्ने सुझाव, नाटकमा पात्रहरूले खेल्ने भूमिका झैं नाटकमै सीमित हुन्छ हाम्रो जिन्दगी, पुराना पीढीले नयाँ पीढीलाई नहेप, कविलाई इलामको शौन्दर्यता मन पर्छ, पेटको समस्या ठूलो हो त्यसले चोरी, डकैती, लुटपाट निम्त्याउन सक्छ, बाबुआमाको क्रिया गर्नु छोराको दायित्व, कर्म, धर्म समाजको परम्परा हो तर विद्रोही छोराले क्रिया नगर्दैमा छोरा हुँदैन त ? छोरो नभए के हुन्छ भन्ने प्रश्न राख्नु, असत्यलाई सत्य भनेर आत्मले मान्दैन, झुट बोले पनि सत्यका अघि असत्य टिक्दैन, सबैलाई आश्रय दिएको त्यो बकैनाको रुखको सम्झना गर्छन् कवि, मानिसको लागि अँध्यारोभन्दा उज्यालो नै चाहन्छन् तर कविलाई कहिले काहीँ अँध्यारो मन पर्छ्, रत्न श्रेष्ठ गुठीको डा. बमबहादुर थापा, डा. लक्ष्मण गौतम, डा. मोदनाथ प्रश्रित अभिनन्दन समारोहको वर्णन, एस.एल.सी दिन पाल्पा पुग्नु परेको र बाग्लुङका १३ जना सहभागमिा ८ जना पास भएका, परेवा र भँगेराको प्रेम प्रदर्शनको आकर्षणलाई आजभोलि मानिसकै युवायुवतीले गर्ने रोमान्स देख्न पाइने र ढुङ्गेयुगको याद आउने, ‘यो हाम्रो चोखो समाजमा चरित्रहिन कालो दाग मिसाउन नल्याउ’, विवाह विनानै किशोर किशोरीले यौन आनन्द लिनु, आज जताततै द्वन्द्व त्यसो हुँदा द्वन्द्व बीच जिउन र मर्नु पर्ने, बढी भावुक अनि सोच मग्नले धेरै विचार भएको संकेत गर्ने, अनावश्यक चिन्तनले चितामा पुर्याउँछ, ‘संचारको दु्रतगति विकासले भूगोल विशालबाट साँघुरो घेरामा परिणत’, अचानोको पीडा खुकुरीले बुझिदिएन, पशुपंक्षीको शरीर पनि मानिसकै शरीरजस्तै हो त्यसो हुँदा बध गर्ने पेशा नअपनाउँ, देश विरामी छ, एक नेपालीले अर्को नेपालीको हत्या गरिरहेको, प्रजातन्त्र सुशासन र मानव अधिकार के यस्तै हो भनी प्रश्न राखिएको, देश संघात्मक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तर जनतामा अनुभूपित नभएको, प्रतिक्षाको समय लामो हुने, द्वन्द्वले सुन्दर शान्त नेपाल मसान घाट, कसाइको घर बन्दैछ, समस्यासँग जुद्धै अघि बढ्नु पर्ने, जनयुद्धमा न कसैको जित भयो तर सन्ततिको रगतको खोला बग्यो, पुरानो संविधान ध्वस्त भएको तर नयाँ संविधान नबनेको, देशको अवस्था भताभुङ्ग भएकोले मन विरक्तिदो, कुर्सीको हान थापमा नै समय बितेको, जनताले ठूलो परिवर्तन चाहेको र त्यो दिन अवश्य आउने आशा, त्रिसठ्ठीको फागुनमा हिउँ परेको याद, प्रकृतिको वास्तविक आनन्दको काखमा सधैं रमाइरहने इच्छा, भङ्गेराका जोडीहरू हराएकोमा चिन्ता, अध्ययनमा प्रथम हुँदा सबैको आशीर्वाद पाइने, नयाँ नेपाल निर्माण गर्न जिउ ज्यान अर्पण गर्नु पर्ने, भूकम्पमा आँधीबेरी आउने, पहिरो जाने जस्ता कामबाट हजारौ मानिस वेपत्ता भमएको धारणा, बच्चाहरूलाई तृप्तिगर्न असजिलो, दलीय स्वार्थ, १९ दिने जनआन्दोलनको उपलब्धीको माग, गलत बाटो लागियो कि फर्केर हेर्नु पर्ने, अमूल्य भोट दिएर जनपक्षीय उमेद्बारलाई जिताउन आग्रह, नेताले जनताहरूको मन जित्न नसकेको, जताततै शान्तिको वातावरण तयार गर्ने भूकम्पले गर्दा जन धनको क्षति तथा मौसमको गडबडीले मृत्युवरण हुन सक्ने जस्ता अभिव्यक्तिहरू कविले कविता मार्फत प्रस्तुत गरेका छन् । कविका केही धारणा –‘स्वतन्त्रता, मौलिक अधिकार अमनचयन सब हामीबाट बलात्कृत भैसके’पृष्ठ ८३ होइन यहाँ के हुन खोज्दैछ?
द्वन्द्वले निम्त्याएको गृह्य युद्धलाई भावी सन्ततिले कसरी हेर्ने छन् भन्ने कविको धारणा–‘यसरी गृहयुद्ध बढ्दै छ यी गतिविधिहरू भविष्यमा हाम्रा सन्ततिले दन्त्यकथाभित्रको राक्षस राज्य झै कान ठाडो पारी पारी सुन्ने छन् पढदा पढदै पुस्तकको पानाभरी आँसुका थोपाले भिजाउने छन्, यसरी पुर्खाको इतिहास पढ्ने छन् ’ (पृष्ठ ८४)।
कवि प्रकृति प्रेमी छन् उन्का कवितामा प्रकृतिका बर्णन यत्रतत्र भेटिन्छन् र लाली गुराँसले जङ्गललाई दुलही सरी सिङ्गारेको आभास पाउँछन् कविले प्रकृतिलाई सुन्दरताको प्रतिकको रूपमा लिएका छन् । प्रेमप्रणयले उनका कवितामा यथार्थपरक स्थान ओगटेका छन् –
परेवाको जोडी जस्तै
भँगेराको जोडी जस्तै मस्त छन्
ती नव युवा युवती…..
चूम्बन गर्नमा व्यस्छन् ।
यी ६६ वटा कविताहरूमा स्वतन्त्र रूपमा कविले आफ्ना भावनाहरू छताछुल्ल हुने गरी पोखेका छन् ।यसरी उनको धारण र भावना केलाउँदा उनी स्वछन्दतामा रमाउने कवि हुन् भन्ने कुरा ठोकुवा गरेर भन्न सकिन्छ ।
भाषाशैली –कविका धारणा यति सरल रूपमा पोखिएका छन् कि साधारण पढे लेखेका व्यक्तिदेखि लिएर विद्वान वर्ग समेतले सहज रूपमा पढ्न र बुझ्न सक्दछन् । भाषा सरल छ सुबोध छ र विम्ब र अलङ्कारको प्रयोग भएको छ । ठाउँ ठाउँमा उखान पनि पाइन्छ, विभिन्न रसले भरिएको कवितासङ्ग्रह चाख लाग्दो छ ।
शीर्षकीकरण –लालचन्द्रजीले यो कवितासङ्ग्रहलाई आफ्नो प्यारो नाति छक्कुलाई समर्पण गरेका छन् र यही नातिको बारेमा आठौं शीर्षकमा ‘मेरो छक्कु’ नामक कविता लेखेका छन् । कविता सङ्ग्रहको नामाकरण पनि मेरो छक्कु भनेर राखेका छन् । कविको नाति हरेक गुणले युक्त छ र कृतिभित्र रूपको वर्णन, बाल लीला, बाल उपदेश, बकालकपनको क्रियाकलाप आदि यस कृतिमा अध्ययन गर्न पाइन्छ । पारिवारिक परिवेशमा राखिएको कृतिको नामाकरणले भविष्यमा पनि इतिहास कायम हुने र परिवारमा पनि राम्रो संदेश जाने हुँदा लालचन्द्र राजभण्डारीले रोजेको कृतिको शीर्षक पनि उपयुक्त चयन गरिएको छ भन्न सकिन्छ ।
लालचन्द्र राजभण्डारीको यो कवितासङ्ग्रहलाई विविध दृष्टिकोणबाट अध्ययन गर्न नसकिने होइन । यी कवितालाई आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणमा विभाजन गरेर पनि विश्लेषण गर्न सकिन्छ तापनि मैले मेरो अध्ययनले देखेका भावसारलाई प्रत्येक कविता नछोडी उपरोक्त बमोजिम कविको धारणालाई केलाउँदै यो चिरफार प्रस्तुत गरेको छु । अन्त्यमा कविलाई पुन अर्को कृति लिएर प्रस्तुत हुनको लागि हार्दिक अपिल गर्दछु ।
धन्यवाद
सदानन्द अभागी
मिति २०७३ साल फागुन ७ गते,
कावासोती शान्तिचोक नवलपरासी
