मानवताहीन शहरको भव्य महलमा
मान्छेहरुको घुइँचो छ
कोही आउने
कोही जानेक्रम
अनि
खानेक्रम चलिरहन्छ ।
सुकिला आवरणले बेरिएका
भलाद्मी भनाउँदा मान्छेहरू आउँछन् जान्छन्
राताकाला भुस्याहा कुकुर
पुच्छर हल्लाउँदै
र्याल कार्दै
आङको धुलो झार्दै
आउँछन् जान्छन्
अनि खान्छन् पनि धित मरुञ्जेल
खान नसकेर आधा फालेर जान्छन् मान्छेहरू
निर्धक्कसाथ खान्छन्
अघाएर पुच्छर हल्लाउँदै
गन्तव्यही यात्रामा जान्छन् भुस्याह कुकुरहरू ।
उस्तै मान्छे शान्तिको गीत गाउँदै
सारङ्गी बजाउँदै
भोको पेटको द्वन्द्व साम्य पार्न
विशाल महलको सजिएको गेटबाट छिर्न खोज्छ
अफसोच !
उस्तै अर्को मान्छेले उसको बाटो छेक्छ
विचरो, टोपीबाट टुप्पी निस्किएको टाउको हल्लाउँदै
आशै आशमा त्यही कुरिरहन्छ
जब भोज सिद्धिन्छ
भोको पेटको आशाहरुमा
बज्रपात हुन्छ ।
– खजुराखुर्द १, (बाँके)
हाल- जानकी गाउँपालिका (बाँके)
