जीवनमा साना साना कामहरुको ठूलो महत्व हुँदोरहेछ । मुटु रोगका सर्जन डा. भगवान कोइराला हिजो टि.भी.मा भन्दै थिए– सानो सानो कामबाट ठूलो काम बन्छ । उनको भनाइमा मेरा पनि धेरै चिन्तन सूत्रहरू मिले । वास्तवमा समग्र रुपमा थोक कार्य काहीँपनि हुँदैन । साना साना कार्यहरुका गठजोडबाट ठूला कार्य बन्दा रहेछन् । विशाल पहाड हेरौँ, साना साना धुलीकणहरुको योगबाट नरि्माण भएको छ । सीमाहीन समुद्र हेरौँ, थोपाथोपा पानीबाट निर्मित भएको छ । हजारौँ गजकपडाको बण्डल हेरौँ सानो केसभन्दा मसिनो धागोबाट बुनिएको छ । महाभारत र रामायण विश्वका धेरै श्लोक भएका महाकाव्य मानिन्छन् । महाभारतका प्रत्येक श्लोकहरू साना साना शब्दबाट, साना साना रुपबाट, साना सानाअक्षर, वर्ण र सूक्ष्म ध्वनिहरुबाट रचना भएका छन् । यसरी सानो चिजबाटै ठूलो चिज बन्नेरहेछ, सानो कामबाटै ठूलो काम बन्नेरहेछ ।
विगत केही महिनादेखि साना साना केही कामहरुको प्रयोग गरेर हेररिहेको छु । चिया दोकानमा, बजारमा, अनावश्यक गफ र छलफलमा, पार्टी अफिसमा र भट्टीमा गफ चुटेर फाल्ने समयलाई केही साना कामहरुमा लगानी गर्दा कालान्तरमा ती कामहरू निकै अर्थपूर्ण र ठूला काम बन्दारहेछन् । अध्यापन र अध्ययन पछिको थारै समय शारीरिक श्रममा लगाउनु पर्यो भनेर बेलुका बेलुका मैले टोकरीमा बस्तु हिँड्ने गल्लीको गोवर टिपेर थुपार्न थालेँ । दुईतीन महिनामै मेरो एक कठ्ठाको तरकारी बारीलाई त्यसले हराभरा बनाइदियो । अग्र्यानिक मलको प्रयोगमा फलेको आलु, भाण्टा, कोबी, सीमी, बकुल्ला, टमाटर, साग, चम्सुर, रायो, अदुवा, लसुनप्याजले मेरो भान्सा मीठो बनायो । गर्नलाई मैले सानो काम गरिहेरेको थिएँ तर त्यसले निकै सार्थक परिणाम दियो । तर मेरा केही छिमेकीहरुले भनेछन् –“फलानो कत्ति लोभी । बाटाको गोबरपनि टिपी हिँड्छ । मल किन्नाको लोभले गोबर टिप्छ ।”
अर्को सानो काम मैले ‘शिक्षामे क्रान्ति’ शीर्षकको ओशोको किताब अनुवाद गर्न थालेँ । आफू शिक्षण पेशामा रहेकोले यो किताबाएकचोटि पढेँ । पढेपछि मलाई लाग्यो, नेपालका तमाम शिक्षक र विद्यार्थीहरुले नपढी नहुने ग्रन्थ रहेछ । मेरो मनमा एउटा विचार आयो, यस पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्न पाए; हिन्दी भाषाको पहुँच बाहरिका नेपालीभाषी पाठकहरुले सजिलै पढ्न सक्ने थिए । मैले तुरुन्तै संकल्प गरेँ –यो पुस्तक अनुवाद गर्न थाल्छु अब । नभन्दै दिनको दुई पेज कापी अनुवाद गर्न थालेँ । छ महिनामा झण्डै खाधी खण्ड पुस्तक अनुवाद गरिसकेको छु । पाँच सय तेह्र पेजको पुस्तकको पहिलो खण्ड र दोस्रो खण्ड डिकुरा इन्टरनेशनल पब्लिकेशनले छाप्ने जिम्मा लिई छापिपनिसकेको छ । दिनको एकपेज दुईपेज अनुवाद गर्नु सरदर हेराइमा सानो काम हो तर यही सानो कामको समष्टिगत योगबाट ठूलो कामबन्ने रहेछ ।
छोरालाई दिनको एकपेजको दरले कम्प्युटर टाइप गर्न दिएको निबन्धहरुको सँगालो ‘रातको सुन्दरता’करिव एकवर्षमा तीनसय पेजको पुस्तक बन्यो । त्यही पुस्तक अहिले साझा प्रकाशनबाट प्रकाशनपनि भैसकेको छ । दिनको एक पेजको कम्प्युटर टाइपबाट वर्षदिनमा झण्डै साढे तीनसय चारसय पेजको पुस्तक तयार हुँदोरहेछ । एकएक पेज ख्यालख्यालमा गर्दा गर्दै त्यति ठूलो निबन्धको ठेली आफूले टाईप गरिसकेकोमा मेरो तेह्र वर्षको छोरोपनि चकित छ ।
यसरी दिनको दुई पेजको हिसावले कुनै महान् ग्रन्थ पढ्न थालियो भने वर्षभरिमा लगभग सातसय पेज छिचेलिसकिने रहेछ । दिनको एकजनाको दरले नयाँमित्र थप्नथाल्ने हो भने अर्थात नयाँ साथीको सङ्ख्या बढाउने हो भने वर्षदिनभरि सातसय तीसजना साथीबन्ने रहेछन् । यसरी नै आफ्ना नानीको भागमा दिनको २० मिने समय छुट्याएर उनहरिुलाई नयाँनयाँ कुरा सिकाउने हो भने उनीहरुले कति धेरै कुरा सिक्थे होला । घरको खुत्रेकेमा दिनको एक रुपैँया नै खसाउने हो भने दसौँ वर्षपछि त्यसबाट एउटा सानो सानो धनराशी जम्मा हुन्छ र त्यसलाई कुनै सार्थक काममा खर्च गर्न सकिन्छ ।
मानिसहरू कतिपय कामलाई सानो काम भनेर हेप्छन् । आँगनमा खरेटो लाउनु, माकुराको जालो पुछ्नु, तरकारी बारीमा पानी लगाउनु, आफ्ना लुगा धुनु, चर्पी सफा गर्नु, भाँडा माझ्नु, आगो जोर्नु जस्ता कामलाई त्यति ठूलो महत्व दिइँदैन । तर कुनैपनि काम आफैँमा सानो ठूलो हुँदैनन् । काम गराइको गुणवत्ताले कामलाई महान काम र निम्नकामको श्रेणी नरि्धारण गर्दछ । उच्चजातीय अभिजात वर्गले गु सोहर्ने काम, सीनो फाल्ने काम, फोहर टिप्ने कामलाई सानोकाम, तुच्छ काम, घृणित कामको श्रेणीभित्र राखेका छन् । यस्ता कामगर्ने मानिसलाई सानो जात र निम्न श्रेणीमा राखेका छन् । मेरो विचारमा त्यही सानो, तुच्छ र घृणित काम गरी समाजलाई स्वस्थ राख्ने मानिस चाहिँ ठूला मानिसहरू हुन् । उनीहरुले समाजलाई हैजा, झाडापखाला लगायतका अन्य भयानक संक्रामक रोगबाट बचाइराखेका हुन्छन् । यसरी समाजलाई रोग र प्रदूषणबाट जोगाउने च्यामे, पोडे, दुसाध चमार ठूलो मान्छे, असल मान्छेमा गणना हुने दिन कहिले आउला, म त्यहीदिनको प्रतिक्षामा छु ।
अशिक्षित अनपढहरुले त यिनीहरुलाई सानो जात र सानो कामका कामदारभित्र राख्छन् राख्छन् । शिक्षित भनाउँदा सफेदपोशले पनि उनीहरुलाई हेपेको देखेको छु । संसार बुझेका हौँ भन्ने बौद्धिकहरुले पनि उनीहरुलाई हिनाम बोलेको सुनेको छु । सफेदपोश बौद्धिक महादेयहरु, के मदरटेरेसाको घृणित र तुच्छ कामलाई तिमी के भन्छौ ? हाम्रै भगवानदास मानन्धर दिनै बागमतीका फोहोर सफा गर्छन् तिनलाई के भन्छौ ? चर्खा कात्ने महात्मा गान्धीलाई के भन्छौ ? तोल्स्तोईले जुत्ता सिएको, दाउरा काटेको, आफ्ना लुगा आफैँले टालेको कामलाई के भन्छौ ? लाउत्सु र लिंकनले गरेका ससाना कामलाई के भन्छौ ?
त्यसैले मलाई गम्भीरबहादुर बढाउले मरेको कुकुर घिसारेर खोलामा पुरेको दृश्य मनपर्छ । कवरिले तान बुनेर आफैँ बर्का बेच्नबजार गएको सन्दर्भले मोहित गर्छ । कृष्णले बाँसुरी बजाएर गाई चराएको पौराणिक घटनाले मन हर्छ र चेले मन्त्री हुँदापनि खेत जोतेको दृश्यले आनन्दित बनाउँछ । गोराले बनाएको माटोको मटियाको पानी पिउँपिउँ लाग्छ । माओले सुँगुरलाई चारो दिएको कुराले हृदयमा चारुताको भाव उमार्छ । तिलोपाले तील कुटेको, सरहपाले चामल निफनेको घटना मीठो लाग्छ । जीससले भेडा चराएको दृश्य सुन्दर लाग्छ । मलाई लाग्छ, आफूभित्रको अहंकारको पर्वत गलाइसकेका मानिसहरुको निम्ति सानो काम र ठूलो कामको पार्थक्य रेखा हुँदैन । उनीहरू सबै कामलाई समान देख्छन् । उदयपुर जिल्लाको शैक्षिक उन्नयनका अभियन्ता, शिक्षाजगत्का दीर्घ तपस्वी राजदेव गुरुलाई कहिले काहीँ उहाँको सानो झुप्रीमा भेट्न जाँदा उहाँ बडा तन्मयका साथ चट्नी पिसरिहेको देख्छु, मुलाका चाना काटरिहेको देख्छु, दाल केलाइरहेको देख्छु । उहाँ ती काममा लीन भएको दृश्यले मभित्र अपार सौन्दर्यबोध हुन्छ । साना साना कामले मानिस सरल बन्दो रहेछ । सहज बन्दो रहेछ । साना कामबाट मानिस अहंकार रहित हुँदो रहेछ । तथाकथित विशिष्ट र महान् कामले मानिसलाई असामान्य, अहंकारी र उच्चताभासमा डुबाउँदो रहेछ । ठूलो काममा मात्र आँखा लगाउने मानिसभित्र अहंकारको जालो हुन्छ । आफूलाई ठूला काम र ठूलो ठाउँमा राखेपछि त्योभन्दा तलको स्थानमा काम गर्नेलाई उसले हेय दृष्टिले हेर्ने गर्छ । ऊ आफूलाई जनसमूहभन्दा पृथक र विशिष्ट देख्न थाल्छ । अरुले आफूलाई विशिष्ट नदेखी आफूलाई विशिष्ट ठान्नु त्यही हो उच्चताभास । यस खतर्नाक मानसिक विमारीको सिकार हामी जानेर नजानेर बनरिहेका छौँ । तर साना झिनामसिना कामगर्दा हामी जनसमूहभन्दा पृथक हुन सक्तैनौँ । भित्रका अहंकारका ढिस्का भत्केपछि मानिस जुन कामलाई पनि उत्तिकै देख्छ –ऊभित्र समत्व पैदा हुन्छ ।
भित्र सम्यकत्व घटेपछि उचनिच, ठूलो सानोका पर्वतहरू धुलिसात हुन्छन् । उसलाई जुनसुकै कामगर्न पनि घिन लाग्दैन । जुनसुकै काममापनि सानो ठूलोको विभेद अनुभूति हुँदैन । तर दुःखको कुरो नेपाली समाजका अधिकांश युवाहरुलाई यहाँका सबैकाम सानो लाग्छन् –कुखुरा पाल्नु, भैंसी पालेर दुध बेच्नु, मल बोक्नु, भकारो सोहर्नु, घाँस काट्नु, बाख्रा पाल्नु, खेत खन्नु, तरकारी लगाउनु र त्यसलाई बजारमा बेच्नु, च्याउ खेती गर्नु, गाईलाई कुँडो पकाउनु आदिआदि कामलाई सानो काम, तुच्छ काम, घृणित काम, झिानामसिना काम ठानेर दिनदिनै सात आठ सयको सङ्ख्यामा नेपाली युवारु ठूलो कामगर्न विदेश जान्छन् । तर आफ्नो देशकोभन्दा साना र तुच्छ काम गर्नुपर्ने रहेछ भन्ने कुराचाहिँ त्यहीँपुगेर थाहा पाउँछन् । भाँडा माझ्ने, रड बङ्ग्याउने, सिमेन्ट मुछ्ने, चिहानखन्ने, सिनो फाल्ने आदिआदि काम मन नपरी नपरी गर्नुपर्दछ । मेरा केही सहकर्मी साथी छन् जो सानो कक्षा नपढाउने कुरा गर्छन् । सानो कक्षा भनेर हेप्नेहरुले ठूलो कक्षालाई कसरी कुशलतापूर्वक पढाउलान् । सानो कामगर्न अल्छी मान्नेले ठूलो काम लगनशील भएर गर्न सक्छन् जस्तो लाग्दैन । सानो सानो कामले नै मानिसको भित्री कार्यकुशलताको परिचय दिन्छ । यसैले मानिसको आन्तरिक गुणवत्तालाई उद्घाटन गर्दछ । साना अखटा उक्लिन अल्छी गर्ने पामर यात्रीले ठूला ठूला तला कसरी उक्लिन सक्ला । लिस्नो चढ्न हिच्किचाउनेले भर्याङ्ग चढ्न कसरी सक्ला । आउनुस् हामी साना साना काममा कलाप्रवीण बनेर ठूला ठूला काममा हात हालौँ ।
मधुपर्कमा प्रकाशित
२०६६/०८/१४
