Skip to content


बड्कीमा गजबहादुर शाहीकहाँको कार्यक्रम सकेर उत्तरतर्फ तेर्सै-तेर्सै ओरालो लाग्यौं हामी । मैले आफ्नो झोला आफैं बोकें । बेलुकीको स्याँठ निकै चिसो थियो । तल कणर्ाली नदीमा पुगेर नयाँ काठको पुल तर्‍र्यौं हामीले । खोलामा काठका थुप्रै चिटिक्क परेका पहेंला खटहरू अड्किरहेका देखिन्थे किनारतिर, सोद्धा थाहा भयो- अलि हुने खाने मान्छे मर्दा बोकेर लानु सट्टा यस्ता खटमा लास हाली खोलामा बगाएर पोल्ने घाटसम्म पुर्‍याउने चलन हुँदो रहेछ । जेमा पनि काठको प्रयोग हुने रहेछ यतातिर- घरका छानासम्म पनि सब काठैका देखिन्थे ।

खोलो तरेपछि सानो गाउँ आयो, बाटाछेउ धारो पनि रहेछ, पानी भर्यौं हामीले आफ्ना रित्ता बोतलमा । त्यसपछि कणर्ालीलाई बायाँ पारेर फेरि अर्क पहाड उक्लनुपर्ने भयो । छोटो बाटो समाउँदा खोला किनारकै एउटा अजङ्गको उत्तानो ढुङ्गोमा चार हातखुट्टा गर्दै, ढुङ्गाका स-साना कोपेमा टेक्तै, त्यहीं समाउँदै हिंडिरहेथ्यौं हामी सबै, ढुङ्गोको टुप्पैमा माथि पहाडको बाटो जोडिन्थ्यो । मस्तिरको बाटो भेट्नै लागेको बेला एकैचोटि बेस्सरी थकाइ लाग्यो मलाई, तलतिरको कणर्ाली हेर्दा कहाली पनि लाग्यो, पछाडिको झोलाले तल्तिर तानिरहेथ्यो, न अब तल ओर्ल सक्नु न माथि जान सक्नुको स्थितिमा अत्तालिएका बेला बाटामाथि पुगिसक्नुभएका नरहरिजीले हात दिनुभयो र बडो मुस्किलले माथि पुग्न सकें म । त्यसपछि लाग्यो- अरूको लहैलहैमा आफ्नो ल्याकत नपुग्नेगरी छोटो बाटो समाउनु पनि खतरनाक हुने रहेछ । मभन्दा पछि गाह्रैगरी कृष्ण खनालजी आउनुभयो र त्यसपछि रामचन्द्रजीलगायत अरू साथीहरू भने सामान्य किसिमले नै उक्ले । केहीबेर तेर्सतेर्सै हिँडेर ओरालो लागेपछि कणर्ालीको बडेमाको बगरमा आइपुग्दा साँझको छ बजेको थियो । जताततै हिलाम्ये थियो । फाँटभरि रोपाइँ चलिरहेको रहेछ, त्यो दिनको रोपाइँ सकेर रोपारहरू र्फकने तरखर गर्दै थिए । घामका मलिना किरण खेतको पानीमा टल्कँदा सुन्तले रङ व्याप्त भएको थियो बगरभरि । नराकोट यही थियो ।

नराकोट बजारबाट हामी सबैले घरमा फोन गर्यौं । एक घन्टाको मोटर यात्रा र त्यसपछि करिबकरिब आठ घन्टाको पैदलयात्राले शरीर थिलोथिलो भइसकेको थियो । निकै चिसो पनि अनुभव भइरहेथ्यो त्यतिखेर । कतै गतिलो बास फेला पारेर आराम गर्न इच्छा थियो । भोकले निकै अत्याएको थियो, दूध हालेको चियासम्म पनि खाने व्यवस्था मिलेन दिनभरि, बाटामा कतै पसल नै भेटिएनन् । प्रहरी चौकी नजिकै कृषि अफिस भएको घरको माथ्लो तलामा बस्ने व्यवस्था भयो हाम्रो । बाहिरैबाट लिस्नो चढेर जानुपथ्र्यो । सानो कोठाबाट छिरेपछि भित्रैबाट ठूलो कोठामा पुगिन्थ्यो । दुवै कोठामा स-साना खाट थिए । पातला डनलपहरू पनि थिए खाटमाथि । बाहिरको कोठामा खनालजी र रामचन्द्रजी तथा भित्री कोठामा हामी सुत्ने भयौं । बढी भएका डनलपहरू साथीहरूले लगे । अँध्यारोमा बाल्न टुकी आइपुग्यो ।

अलिपर खोलामा पानी भए पनि यताहुँदो धारो रैनछ नजिकै । रोपाइँको बेला आली कुलाबाट आउने पानीलगायत जताततै हिलो थियो । खाना खाने पसल तल्लो तलामा थियो, मन्जिते राना भान्सामा पकाउन बसेका थिए । उनकी पत्नी सीता बाहिर जुठेल्नोमा भाँडा माझ्दै थिइन् अँध्यारैमा । चर्पीमा जाने पानीलगायत हातखुट्टा धुने, चुठ्ने, भाँडा मा‰m्ने पानी पनि कताबाट हो, उनैले ओसारिरहेकी थिइन् । बिचरीलाई बेस्सरी रुघा लागेको रैछ । घरी सिंगान भित्रै तान्थिन् घरी बाहुला र ओढ्नेमा नाक दल्दै काम गर्थिन्, जुत्ता लगाएकी थिइन् कपडाका र ती भिजेका थिए । बिरामी, त्यसमाथि चिसोमै काम गरिरहँदा तिनको हालत निकै खराब भएको थियो, मनमनै लागिरह्यो- यिनलाई चुल्होछेउको काम दिएर श्रीमान्ले बाहिरफेरको काम गरिदिएका भए यिनलाई अलि सुबिस्ता हुनेथियो होला । हुन त अचेलको नयाँ पुस्ता अलि फरक छ, तर हाम्रो पुस्तासम्म पनि आफूलाई आधुनिक, अग्रगामी, समानताका पक्षधर भन्न रुचाउने श्रीमान्हरूसमेत कोठाभित्र जे गरे पनि अरूले देख्ने गरेर भाडा मा‰m्ने, लुगा धुने, पानी ओसार्न, सुकाउन राखेका लुगा उठाइदिनेजस्ता काम गर्नचाहिं काठमाडौंमै पनि गाह्रै मान्छन् । कमसेकम यहाँ मन्जितेले भातसम्म त आफैं पकाएका थिए भनेर चित्त बुझाएँ मैले ।

सीता छेवैमा उभिएर सिं-सिं गर्दै श्रीमान्लाई माझेका थाल समाउन दिइरहिथिन् । सिल्वटका थालमा एकपछि अर्क गर्दै राम्ररी पानी ननिथारीकनै मन्जितेले रातो चामलका चपरी लडाएर माथिबाट दालले नुहाइदिए, भात पस्केका थाल त्यहीं बेन्चीमा बसिरहेका हामीले एक एकवटा गर्दै लिंदै गयौं- ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार’ जस्तो भएको थियो मलाई भने । भान्छाको भुइँभरि फोहोर, हिलो थियो, हामी पनि हिला-मैला जुत्ता लगाएरै बसेका थियौं बेन्चीमाथि । राति भएर होला झिंगा धेरै त थिएनन् तर मनग्गे घुमिरहेकै थिए । मैले केही भनिहाल्छु कि भनेझैं नरहरिजी बडो सतर्क भएर मलाई हेरिरहनुभएको थियो, मैले वास्तै गरिनँ । अर्क थाल मागेर पानी तर्काए, त्यसैमा अलि थोरै भात र दाल थापेर कतै नहेरी चम्चाले चूपचाप खाए । दाउराको दुःख भने जुम्लामा पटक्कै देखिएन, यहाँ पनि चुल्होमा प्रशस्त मुढाहरू दन्दनी बलिरहेका थिए, आगोको रापमा निकै आनन्द आइरहेथ्यो ।

बेलुका भित्र कोठामा सुतीसुती म बाहिर कोठामा भइरहेका छलफल सुनिरहेथें । नरहरिजी, कृष्ण खनाल, रामचन्द्र बाबु र लक्ष्मीप्रसाद आचार्य अतिरिक्त थुप्रै स्थानीय व्यक्ति थिए । धर्मन्द्र शर्मा नामका एकजना कांग्रेस समर्थक शिक्षक बडो सुल्झेको कुरा गरिरहेका थिए । कांग्रेस भएर यो ठाउँमा टिकिरहनुपछाडिका पीडा र दुःखका कहानी थिए उनका आफ्नै । कांग्रेस पार्टी राम्रो होस्, सुध्रोस् भन्ने आकांक्षा थिए र देश यो हालतबाट मुक्त होस् भन्ने कामना थिए । युवा सचेतता केन्द्रका प्रेमबहादुर र हरिबहादुर हमाल तथा बलिराम शर्माहरू युवाहरूका निम्ति केन्द्रीय सरकारले केही नगरेकोमा दुःखमनाउ गरिरहेथे, स्थानीय टाठाबाठा, जनप्रतिनिधिहरूले गरिबको शोषण गरेको कुरा सप्रसंग जोशिलो तवरले बताइरहेथे ती । कणर्ालीका आवश्यकता र छनोटको वास्तै नगरी काठमाडौंले पठाउने योजना र वर्षको अन्त्यतिर आइपुग्ने बजेट-निकासाका बारेमा मैले जुम्ला टेकेदेखि नै तीव्र गुनासो सुनेकी थिएँ, यहाँ पनि त्यो विषय उठ्यो । किरण र सूर्यप्रकाश खत्री, हरि चौलागाईं र वेदप्रसाद उपाध्यायले पनि निकै उत्साहका साथ छलफलमा भाग लिंदै गरेको सुनिन्थ्यो । एकछिन लक्ष्मीप्रसाद आचार्यसँग पनि उनीहरूको तातो बहसजस्तो चल्यो, स्थानीय ठालूका रूपमा उनीसँग थुप्रै गुनासा रहेछन् तिनका ।

लक्ष्मीप्रसादजीको सिंजाको घर माओवादीले नियन्त्रणमा लिएका रहेछन्, गाउँमा बस्न नसकेर उहाँ नेपालगन्ज बसाइँ सरेको निकै वर्ष भएछ । यतिखेर पहिलोपल्ट घर र्फकंदै हुनुहुन्थ्यो हामीसँग । प्रायः घोडा चढेर नै ओहोरदोहोर गर्ने उहाँसँग यतिखेर घोडा थिएनन् । माओवादीहरूको चहलपहल बढेका बेला उनीहरूले घोडा चढ्ने चलन प्रतिबन्धमा पारेको चर्चा दिउँसो हिँड्दै गर्दा चलेको थियो । तर माओवादी अध्यक्ष प्रचण्डले घोडा मात्रै होइन, एकपटक मान्छेको बुई नै चढेर हिँडेको तस्बिर पनि छापामा कतै देखेको सम्झना यतिखेर मलाई भएको छ । त्यो साँझ उनीहरू सबैका कुरा सुन्दा मलाई लाग्यो- कणर्ाली मैले बाटो हिँड्दा सरसरी देखेजस्तो सपाट, वाणीहीन र कमजोर थिएन । यहाँभित्र उकुसमुकुस, दुःख, असमानता, अभाव, असन्तुष्टि, गुनासा सबै थिए- अर्थात् जीवित थियो कणर्ाली । आफ्नो हकप्रति सचेत, कुरा बुझ्ने र कुरा राख्न सक्ने सीप भएका दह्रा मान्छे पनि रहेछन् यता, कसैले सुने पनि र नसुने पनि मौका मिल्दा तिनले राज्यसँग आफ्नो नागरिक हकदाबी गर्न जान्दा पनि रहेछन् भनेर खुसी लाग्यो । निकै अबेला राति छलफल सकेर सबैजना बाटो लागेपछि नरहरिजी पनि सुत्न आउनुभयो ।

सानो खाटमा दुईजना अटाउन भने गाह्रै भयो । छेउकै कोठामा सुतेका लक्ष्मीप्रसादजीलाई सुतिसकेपछि पनि गफ गर्न पर्नेरहेछ, सानै आवाजले पनि निन्द्रा खल्बलिने, मलाई आज सुत्न सकिएलाजस्तो लागेन । आङमा पनि सुलसुल केही हिँडेजस्तो हुनथाल्यो । सोझो सुत्यो भने ठीकै, नत्र चल्न, र्फकन मिल्दैनथ्यो पटक्कै । यो सबैदेखि बेखबर नरहरिजी भने निदाइसक्नुभएको थियो, मलाई रिस पनि उठ्यो । थकाइले चुर परेको शरीर, भित्रैदेखि बडो अप्ठेरो अनुभव गरिरहेथें, निकैबेरसम्म पनि निन्द्रा नलागेपछि सोच्न थालें- भोलि कसरी हिँड्ने होला ? खान पनि यो भेकमा मुस्किलै रहेछ, बास अझ अघि कस्तो मिल्ने हो ? सकिन्न कि हिँड्न, अगाडि गएपछि अलपत्र परिने हो कि ? हुन त म एक साता हिँडेर हुम्ला पुग्ने भनेर कस्सिएरै आएकी थिए । यतिखेर भने आँट खस्कँदै थियो ।

बडो छटपटी भएपछि खप्नै नसकेर उठें म, हामी सुतेको खाटको चौडाइ नापें, ठ्याक्कै साढे तीन बित्ता रहेछ । अँध्यारोमा बाहिर कणर्ाली एकनास सुसाइरहेको थियो- जाडो थियो उस्तै । लाग्यो- यहाँभन्दा अघि पक्कै अझ बढी चिसो हुनुपर्छ । म उठेको थाहा पाएर केहीबेरपछि नरहरिजी पनि उठ्नुभयो । अँध्यारोमा हामीले एकअर्काको अनुहार पढ्न त सकेनौं तर मैले भनें- ‘बाबा, भोलि म यतैबाट जम्ुला र्फक्छु, हिँड्न सक्तिन जस्तो छ, खान सुत्न पनि गाह्रो भो मलाई त, बाटैमा बिरामी परे सबैलाई समस्या हुन्छ, तिमीहरू जानू ।’ करिब १२ बजेको थियो होला राति, सुनिरहनुभयो उहाँले- रिसाएको जस्तो पनि लाग्यो मलाई । धन्न केही भन्नुभएन, नत्र त्यो आधा रातमा झगडा हुन्थ्यो होला हाम्रो, बडो अशान्त र अधीर भइरहेथ्यो मेरो मन । केही नभनी अँध्यारोमा खाटमाथिको डनलप निकालेर उहाँले भुइँमा ओछ्याउनुभयो । सिरक पनि लैजान भनें । बाँकी रहेको पातलो ओछ्यानमाथि आफ्नो च्यादर र ज्याकेट ओढेर सुतें म । सफा, सुबिस्ता भएजस्तो भयो सुरुमा । जाने वा र्फके कुरा भोलि बिहानै टुंगो गरौंला भनेर नरहरिजी सुत्नुभयो र फेरि निदाउनुभयो । त्यतिञ्जेल अर्को कोठाबाट गफ गरेको आवाज आउन बन्द भएर घुरेको आवाज आउन सुरु भइसकेको थियो । जाडो र सुलसुले यथावत् क्रियाशील थिए, पेट पनि राम्ररी भरिएको थिएन मेरो । कोल्टे फेर्दाफेर्दै रात बित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *