Skip to content


थाहा छैन नुमा,
पोहोरको हुरीले
मेरो सम्झानाको टुक्राहरू
तिमीसम्म ल्यायो कि छैन ।
तर कोषौ टाढा भए पनि
तिम्रो यादका मझेरीहरू नियालिरहेछु,
निराशाको बादल नहटे पनि ।

कसरी बाहुपासभरी उठाउँ ?
कल्पनाको बलेँसी भरी
छताछुल्ल पोखिएको
तिम्रो नामका त्रृष्णाहरुलाई,
कुन तरलको सहायताले मेटाउँ ?
तिम्रो सामिप्यताको प्यासलाई,
कुनै सार्थक नमुना छैन नुमा ।

तर पनि किञ्चितसम्म दुखी छुइन,
किन कि
मेरो सम्झानाको बगैचामा
तिम्रो यादको कोपिला मुस्कुराइरहेछ,
साँच्चै तिमी मुस्कुराए झै ।

हो आज याद गर्दै छु नुमा,
लजाउँदै तिमीले भनेकी थियौ,
म त हजुरलाई असीम माया गर्छु ।
तपाई नी…?
तिम्रो सवालको जवाफ एकलासको
सम्झनाको चौतारी बसेर गुनेँ,
थाहा भो
तिमी त मेरो जीवन भनेर ।

तर नुमा
यो बादल हट्नु पर्छ ।
आकाश निश्चल हुनु पर्छ ।
आशाका किरणहरू
एकरुपले छाउनु पर्छ ।
र त हाम्रो पुनर्मिलन हुन्छ ।

त्यो समय निक्कै पर हुन सक्छ,
पर्खाइ लम्बिन सक्छ ।
फेरि पनि
आशाको दिप जलाई राख ।
पर्खाइलाई बैशालु बनाई राख ।
म पाइलाहरू साँचेर फर्कुँला,
थोरै यौवन बोकेर आउँला ।
अनि मनाउभला
खुशीको जसन ।
र
साटौँला असीम प्यार,
एक अर्काको बाहुपासमा बाँधिएर ।
तर नुमा
तिमी फुलेको
मेरो सम्झनाको बगैचा
वसन्तबिहीन नबनाई देऊ है ।
हो नुमा पर्खिराख ल ।

श्रेङ लक्ष्मी चोङवाङ
पान्थर

Leave a Reply

Your email address will not be published. Required fields are marked *