Skip to content

छरिएका फूलहरू एक झलक


परिचय

छरिएका फूलहरूका कृतिकार हुनुहुन्छ वेदप्रसाद शर्मा ढकाल । उहाँको जन्म पिता स्व.पं.होटराज ढकाल र माता स्व. उमादेवी ढकालका पुत्ररत्नको रूपमा २००९ साल पुस १६ गते वालिङ नगर पालिका वार्ड नं –८तिरासी, यवादी, स्याङ्जामा भएको थियो । उहाँ हाल कावासोती नगरपालिका वडा नं ३ गुम्वाचोकमा स्थाचयी बसोबास गर्दै आउनु भएको छ । उहाँले सम्पूणा नन्द संस्कृत विश्व विद्यालय वाराणसीबाट स्नातक गरेको हुनुहुन्छ । २०३१ सालदेखि नवलपरासीका विभिन्न विद्यालयहरूमा शिक्षण सेवामा सम्लग्न रही हाल सेवा निवृत्त भएर समाज सेवा र साहित्य साधनामा रमाइरहनु भएको छ । उहाँ त्रिवेणी साहित्य परिषद नवलपरासीको आजीवन सदस्यको साथै विभिन्न संस्थामा आवद्ध हुँदै ब्राह्मण समाज, नवल परासीको जि.का. सदस्य एव म केन्द्रीय पार्षद भै विविध क्षेत्रमा सेवा पुर्याउँदै आउनु भएको छ ।

कृतिको संरचना

‘छरिएका फूलहरू’ गद्य र पद्यको मिश्रित कृति हो । यस कृतिका कविताहरू छन्दोबद्ध र छन्दोमुक्त रूपमा रचिएका छन् । यस कृतिमा शास्त्रीय छन्द र लोक छन्द(झ्याउरे) दुवै प्रयोगमा आएका छन् । गद्य लेखनमा निबन्ध, कथा, यात्रा–नियात्राको साथै स्थान परिचयले स्थान पाएका छन् । यस कृतिभित्र कविताहरूको संख्या बढी छ । यस कृतिभित्र ७७ कविता समावेश गरिएका छन् भने ९वटा लेखहरू समावेश गरिएका छन् । स्व. पिता होटराज ढकाल र माता स्व. उमादेवी ढकालमा समर्पण गरिएको छ । जीवन युगीनले यस कृतिलाई ‘जङ्गली फूलको माला हो यो ’भनेका छन् ।कविवर गोविन्दराज विनोदी यस कृतिको प्रकाशकीय लेख्नुभएको छ भने डा.धनपति कोइरालाले साधुवाद टक्र्याउनु भएको छ । लोकनाथ खरेलजीले शुभकामना व्यक्त गर्नुभएको छ । यस कृतिको गहन भूमिका प्रा.डा. नारायणप्रसाद खनालले लेख्नुभएकोछ । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य परिषद नवलपरासीले गरेको छ र मूल्य १५०रुपियाँ राखिएको छ ।

कविता खण्डको विवेचना –

सरस्वती वन्दनाबाट थालनी गरिएको यो कृतिका कविताका शीर्षकबाटै कविको धारणा प्रष्ट हुने भएको हुँदा ढकालजीका कविताका शीर्षकमा प्रवेश गर्ने अनुमति चाहन्छु। ।

‘सम्झना’ कवितामा बालकृष्णसमको योगदानलाई स्मरण गरिएको छ । ‘कविप्रतिको याचना’ कवितामा लेखनाथले दिएका मार्ग दर्शन सत्मार्गदर्शी हुँदा हुँदै पनि पञ्चायत कालमा सन्मानको मूर्तरूप पाउन नसकेको र कवि शिरोमणि लेखनाथले साहित्यमा दिलएकोयोगदान र उन्ले भोग्न परेको दुःखकष्टलाई समायोजन गरिएको छ । ‘उदाऊ’ यस कवितामा कविले भानुप्रति श्रद्धाञ्जली दिंदै नयाँ फूल फुलाउनका लागि उदाउनको लागि आग्रह गरिएको छ । ‘नारी अघि बढौं’भन्दै नारी मुक्ति र हक अधिकार खोज्नको अघि बढ्नको लागि गीत मार्फत आग्रह गरिएको छ यसरी नै ‘नारी जागौ’मा नारी र पुरुषमा समानताको हुनुपर्ने धारणा राखिएको छ ।

‘वसन्त’ कवितामा वसन्तको महिमाको वर्णन गर्दै नव सौभाग्यको प्रदान गर्ने पालो वसन्तको हो भनिएको छ । ‘सेरोफेरोमा’ कविले वाल्मीकिको, हिन्दूत्वको सार भएको रामायण, सीताजीको बालकाल, वागेश्वरीको वन प्राचिन नगरीको स्मरण गरिएको छ । ‘त्रिवेणी’ पुण्यधामको वर्णन गरिएको छ । ‘प्रपञ्च’यता र उताको परिपञ्चले गर्दा जनतालाई यातना दिएको, सामन्त नहटेको शोषण बढी भएको भन्दै समानाताको खोजी गरिएकोछ । ‘वेदना’ कवितामा मामको खोजी गरिएको छ र अतिकारी तत्त्वले विनाश गर्ने तर निमुखाले मार खान पर्ने धारणा राखिएको छ । ‘दुष्टता’मा दुष्टले झोपडीमा लगाएको आगोको ज्वालाले झोपडी नष्ट भएको र एउटा बालक परेर जलेर भष्म भएकोले कविले यस्ता दुष्ट कर्मलाई मास्नु पर्छ भन्ने धारणा छ ।

‘पाँर्चै पाँच’ यस कवितामा पशुपति नाथका पाँच मुख, पञ्च पिता( राजा, पिता, किसान, गुरू, ससुरा), पाञ्चायन देव (देवी, सूर्य, गणेश, विष्णु, शंकर), चियाउत्पादक पञ्च जिल्ला (झापा, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा), पाँच बुद्धका प्रथम उपदेशी (अस्साजित, अनिवप्प, भदिद्य, महातमै र कोण्यक्), पञ्च लक्षण ( काग चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरका जस्तो निद्रा, अल्पहारी, गृह्य त्यागी विद्यार्थीका पाँच लक्षण) पञ्च तत्त्व (आगो पानी, बतास, पृथ्वी र आकाश), पञ्चामृत (दूध दही, घिऊ, चिनी, र मह) पञ्चगव्य (गाइको दूध, गहूँत, गोवर, दही, घिउ) पञ्चरत्न (हीरा, मणिक, नीर, मोती र सुन) र पञ्चकन्या (तारा, द्रौपदी, कुन्ति, मन्दउदरी र अहिल्या)को बारेमा वर्णन गरिएकोछ । ‘मातृभूमि’मा प्रजातन्त्र आएर आमा हाँसेको र शहीदका रगतले प्रजातन्त्र आएको गरिबको खालीपेट भरिन्छ कि भन्ने धारणा राखिएको छ । ‘प्रभात’ रात बितेर प्रभात आएकोले अब विकासमा लम्कनु पर्छ भन्ने धारणा । ‘बाबु’मा हाँसेर हाँस र सबैलाई हँसाऊ भन्ने धारणा छ । ‘सन्देश’मा प्रजातन्त्र आएकोले फलोस, फुलोस, विपद्सारा साम्यहोस् भन्ने धारणा ।

‘बालक’मा प्रजातन्त्र बालक छ यसको ख्याल गर्नु पर्दछ र हर्लक्क बढाउनु पर्दछ यदि चुकियो भने देश नै बर्वाद हुन्छ । ‘प्रजातन्त्र’मा प्यारो प्रजातन्त्र सदनमा पुगेको र विकास गर्छु भन्छ भन्ने धारणा राखेको । ‘उठौं’मा नेपालको कीर्ति फिजाउन सबै उठौं भन्ने धारणा । ‘नेपाल आमा’मा नेपालको प्राकृति वर्णन गर्दै ‘मानव हौं सबै मानव भएर बाँचौं ’ भन्ने आग्रह । ‘बन्धु परिचय’ बंशको विवरण दिइएको र बान्धवको गति फैलिन र मति सदा उच्च हवस् भन्ने धारणा छ । ‘प्रहार’मा द्वन्द्वको असरलाई समेटिएको छ । ‘बचत’ पैरवी संस्थाले गरेको काम र बचोतहरू कर्तव्यमा लिन भएकोले संकटमा परिदैन र अभाव हट्छ भन्ने धारणा । ‘युवा चम्क’मा यस देशलाई सुनमा सुगन्ध भरेर चम्काउनको लागि युवा चम्क भन्ने धारणा छ । ‘शिक्षा’मा ज्ञानामृत छरेर देशको अज्ञानलाई नाश गर्दै जननीलाई सुयोग्य पुत्र जन्मेको आभास दिंदै रमाउने पार्यौं भनिएको छ । ‘नववर्ष’ले त्रासादिलाई नासेर नयाँवादलाई ल्याइ जोस र जाँगरले मूल्याङ्कन पावस् भन्ने धारणा राखिएको छ । ‘श्रेय’मा कर्ममा लागेर अमर बन्नु पर्छ भन्ने देशको माग छ । ‘स्तब्ध’मा शान्ति क्षेत्र नेपाल क्रान्ति छविले गर्दा आक्रान्त भएको र त्रासै त्रासले देश निस्तब्ध भएको धारणा छ । ‘शून्यता’मा आज अन्योलको घढीमा विनाशका दिनहरू क्रमैले बढ्दो क्रममा मर्ने र मार्नेको पीरको कारणले गर्दा धरा व्याकुल र अधिर भए कि छन् देवले यदि अपार दृष्टि नदिएमा सृष्टि नै नष्ट हुने धारणा आएको छ । ‘जीवन’मा बाल्य दिनको प्यार, ज्ञानामृत, स्वछन्दचारी तन थाहै नपाइ बित्ने, यौवनतामा घोचपेच, करालकाल, शंकालु, यौवन, उत्ताउलो यौवन, चोट, वियोग र योग जुवातास आदिमा बित्ने र बृद्धकालमा तीर्थब्रत आदि नभएको पश्चताप हुने र जाने वेला आउने र सबै थोक यही छाडेर केवल सत्कर्मले साथ दिने भएकोले देवताको आराधनाले मुक्ति प्राप्त हुने धारणा आएको छ । ‘बुद्ध आऊ’मा आज विश्वमा हाहाकार, निराकार, घोरकाल, कराल, काटाकाट, अथाह भेदभाव त्रासैत्रास आदि अवरोध हटाउनको लागि बुद्ध तिमी आऊ र बुद्धत्वलाई जगाऊ भन्ने धारणा राखिएको छ । ‘मिलाऊ’मा पनि शान्ति हराएको प्रजातन्त्र नमान्नुको कारणले गर्दा देश नग्न भएको, अविश्वासी हुन नहुने यदि भएमा अभीष्ट नै हुने धारणा छ । ‘आयो’मा कर्तव्य पथमा चल्नु पर्नेमा नचलिएकोले आज अधोगतितिर लाग्न परेको धारणा छ ।

‘होली’मा अबिरको रङ्ग हुनु पर्नेमा गोली चलेको छ, बारुदको गन्ध चलेको र तातो रगत बगेको छ भन्ने धारणा छ । ‘जीवनको धोको’मा मा.वि.मा स्थायी भएर अवकास लिने धोका पुग्न नसकेको भए पनि कर्तव्य पथ सच्चा हो र सेवाको लागि नै जन्मेको हुँदा जति मार परे पनि सेवालाई छाड्दिन भन्ने धारणा आएको छ । ‘दिक्क’मा देशमा देखिएको क्रान्तिले निम्त्याएको भाइले भाइ मारेर बगेको रगत देख्दा दिक्क लागेको धारणा आएको छ । ‘वसन्ती हावा’को रौनक आए पनि महामारीको खलबल देशमा भएकोले रुवावासी छ र यो रोकिन पर्छ भन्ने धारणा छ । ‘नयाँ वर्ष’मा कविले शान्ति र सबैले रक्षा पाउन सकुन् भन्ने धारणा राखेका छन् ।‘जन लहर’ प्रतिगमन फाल्नको लागि र लोकतन्त्र बहालीको लागि पूर्व मेचीदेखि पश्चिम महाकलीसम्मको जनताको लहर अर्थात देशनै उर्लिएको धारणा आएको छ । ‘लोकतन्त्र’मा जनताको मागलाई स्वीकार्नु पर्छ दवाउन हुँदैन भन्ने धारणा । ‘लोकतन्त्र नेपाल’मा नेपालमा लोकतन्त्र आएको र देश शान्त भएको । शान्तिकै चाहना बोकी नेपाली अघि बढ्दछन् भन्ने धारणा छ । बुद्धको देश भएकोले बुद्धत्वमात्र जप्दछन् । ‘होस’मा जातजाति सबै समेटिनु पर्ने र युवाले होस गर्न पर्ने किनकि देश धरापमा छ । ‘सफलता’मा सहकारीले गरिबहरूका दुखका दिन हटाएको भन्दै नेप्सनको सफलताको कामना । ‘लक्ष्मी तिम्रो सम्झनामा ’महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक योगदानमा गुणगान गाउँदै ब्रमाण्ड सारा लक्ष्मीमा भएको धारणा पोखिएको । ‘शुभकामना’मा दश वर्षे कहाली लाग्ने दिन समाप्त भै ६४ साल शुभ सङ्केतीका भएको धारणा । ‘उद्भव’मा अरविन्द महाज्ञानीको यस धर्तीमा जन्म भएको र उन्ले नव जागृतिको सन्देश फैलाएको धारणा छ । ‘परिचय २०६८’मा कुमारवर्ती उच्च मा.वि. भएको भन्दै यस शिक्षण संस्थाका सबै शिक्षक वर्गको विवरण दर्शाइएको छ । ‘महोत्सव २०६८’मा नवलपरासी कावासोती भएको मेलाको विवरण छ । ‘उद्विकास ’ अनौपचारी शिक्षामा सम्लग्न रहेका व्यक्तिको विवरण छ । ‘अधिवेशन सफल बनोस्’ ब्राह्मणहरूको वर्दघाटमा भएको अधिवेशनको सफलताको कामना गर्नुको साथै ब्राह्मणहरू ब्रह्मणत्व धान्न एकत्रित हुनुपर्ने धारणा छ । ‘१६९ औं मोती जयन्ती कवितामा मोतीरामले भानुभक्तलाई चिनाएको, साहित्यका स्तम्भ र कलिलो बैंसमा नै संसार छाडेको धारणा छ । ‘ ‘सङ्ग्रहलय २०६८’मा थारु संस्कृतिकको पहिचान, नवलपरासी डण्डा बजारमा राखिएको सङ्ग्राहलयको वर्णन गरिएको छ । ‘सङ्गम’मा कोपेन हेगेनको साहित्यिक सम्मेलनको वर्णनको साथै जन्मभूमि सजाएर सुनमा सुगन्ध ल्याउने धारणा पस्किएको छ ।

‘आमा’ –मातातीर्थ औशीमा कविले आमाको स्मरण गर्दछन् । ‘तिमी धन्य छौ ’मा छोरीको अनुकम्पाले डेनमार्क घुम्न पाइएको र डेनमार्क टापु माथिको देश स्वर्ण तुल्य भएकोमा छोरीलाई धन्य भन्दै छोरीलाई जगदम्बा बन्ने र जननी र जन्मभूमिलाई ्विर्सनु हुन्न भन्ने सन्देश दिएका छन् । ‘आउनु’मा कविले युवाहरू रोजगारीको लागि विदेशिएको धारणा राख्दै नेपाललाई युरोप जस्तै विकसित पार्नु पर्ने धारणा राखेका छन्् ।‘अपार नगरी’मा कविले डेनमार्कको वर्णन गर्दै कर्म क्षेत्र विश्व नै हुनसक्छ तर जन्मभूमि नत्याग्ने आग्रह राखेका छन् । रङ्गशालामा ‘मे उत्सव’ हेरिएको, ‘रेस्किलेको समाधिस्थल’, सफा सुन्दर सुडेनको यात्राको वर्णन, डेनमार्क देशको ऐतिहासिक स्थल जल परीको अवलोकन, छोरीलाई कर्मठ पौरखी बन्ने अर्ती दिनु, ईश्वरको ‘चिन्तन’, ‘माल्मो परिचय’, हिले रुलको परिचय, जर्मन यात्रा, बेल्जियम यात्रा, नेदर ल्याण्ड यात्रा, नर्वे यात्रा, तीर्थ यात्रामा भारतका विविध स्थलको वर्णनमा कविले यी देशहरूको प्राकृतिक सौन्दर्य, विकासको गति र यी देशमा रहने नेपालीलाई नेपाललाई नभुल्ने आग्रह गरिएको छ । दुई हजार सत्तरी वैशाख २७का दिन बुटवलमा गरिएको ब्राह्मणको प्रथम अधिवेशनलाई सफलताको शुभकामना प्रदान गरिएको छ । ‘कवि तिमी अमर छौ’मा महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनन्त कृतिहरूको वर्णन गरिएको छ ।

‘हेर’ कवितामा नेपालको सामाजिक परिवेशको वर्णन गरिएको छ र अघि बढेकाहरूलेपछि परेकाहरूलाई फर्केर हेर्न आग्रह गरिएको छ कविता खण्डको अन्तिम कविता ‘सूर्य’ हो । यस कवितामा कविले केन्द्रीय सभापति सूर्य अस्ताए पनि उन्ले गरेका कर्मको अमर रहेको धारणा राखिएको छ । गद्य(लेख) खण्डमा ‘गोरेटो’ प्रथम निवन्ध हो यसमा गोरेटाहरू अनन्त छन् यिनलाई चिनेर पाइला चालेमा सफल भइने धारण, ‘गोसाँईकुण्डको यात्रा’मा रसुवा जिल्लाको लामटाङ राष्ट्रिय निकुञ्जको अपार प्राकृतिक सुन्दरताको साथै ९०१३ मीटरको उच्चाईमा रहेको यो धार्मिक स्थल पुग्न ढिस्का जहाँ नेपाली सेनाको चौकी हुँदै चन्दनबारी, चेलोङपाटी, लौरीविनाएक हुँदै गोसाँईकुण्डमा पुगिने, यहाँ एक पुलिस चौकी, दुई होटल, चार पौवा, कुण्डको किनारमा शिवलिङ्ग स्थापना गरिएको एक आकर्षक मन्दिर, जुन मन्दिर कुण्डभित्र रहेको छ त्यसलाई दुर्विनले खिचि बनाएको, त्यस माथि सूर्य कुण्ड रहेको र यहाँ चौरीको बथान र पुच्छर नभएका मुसाहरू देख्न पाइने, भगवान शिवले भित्तामा त्रिशूलले प्रहार गरी निस्केको जल सूर्य कुण्डमा छङ्छङ् गर्दै गोसाँईकुण्डमा प्रवेश गर्ने, त्यहाँ १०८ कुण्ड रहेको तर लेखकले ती कुण्डको नाम उल्लेख गर्न नसककोले लेखकले यस्ता स्थलको जानकारी पाउन सक्ने चार्टको लागि आग्रह गरिएको छ । तेस्रो लेख नैतिक कथा ‘शिक्षाको झलक’मा बालक कालमै आमा गुमएका र सम्पतिहीन बाबु जो हलोजोतर आफ्नो र छोराको जीवन धान्नेको पुत्रले कठीन परिश्रममा अध्ययन गरी छात्रवृत्ति प्राप्त गरी अमेरिकामा डाक्टर बन्न सफल भै स्वदेश फर्कि सरकारी सेवामा रही गरिब जनताको सेवा गरेको र असाहाय गरिब दुई विद्यार्थीलाई, पनि छात्रवृत्ति दिएको धारण आएको छ । सेवा नै धर्म हो र इच्छा शक्तिलाई गरिबीले छेक्दैन भन्ने शिक्षा प्रदान गरेको छ कथाले । चौथो लेख नन्दभाजू पोखरी को बारेमा लेखिएको छ । नन्द भाउजू पोखरी नवलपरास जिल्ला इटौरा गाउँको पूर्व र दक्षिण तर्फ दुईवटा पोखरी लम्वाई र चौडाई करिब १०० मीटर उत्तर दक्षिण फैलिएका र प्राचिन कालदेखि नन्द भाउजू आराध्य देवीको रूपमा पुजिदै आएका र यी पोखरीमा पानी टन्न भरिदा पनि एकको पानी अर्कोमा मिसिदैन देवीसँग भोज भतेरमा तलाऊमा गई भाँडा माग्दा तत्काल सुनको डुँगामा सुनका भाँडा निस्कने र पछि त्यहीं लगी छाड्न पर्नेमा एकजनाले सुनको डाडु लुकाए पछि भाँडा निक्लने काम लोप भएको । राति ९–१० बजेपछि बाजाहरू बजाउँदै १०वटा नीला बत्तीहरू पोखरीको परिकर्मा गरिरहनु र दुईवटी साना साना बच्चीहरू पोखरी वरिपरि निस्कने र अलप हुने कुरा जानकारीको साथमा यी पोखरीको संरक्षण गर्नु पर्ने धारणा यस लेखमा आएको छ । ‘‘देश कता गयो’मा द्वन्द्वको कारणले गर्दा शान्तिपूर्ण, सुन्दर शान्त विशाल देश त्रासै त्रासैमा गुज्रिरहँदा लेखक चिन्तित छन् र देश कता गयो भनी प्रश्न गर्दछन् । ‘नियात्रा’ यसमा युरोपका डेनमाकर्कको कोपन हेगेन, सुडेनमा माल्मो, युनिभरसिटी, जर्मनको हम्वर्ग सहर, वेल्जियम, नेदरल्याण्ड देशको भ्रमण ११ तला भएको पानी जहाजबाट गरिएको, समुद्रको सौन्दर्यता ८/९ तलामा गएर हेरिएको धारणा राखिएको यो भ्रमणको सौभाग्यता छोरी माधवीद्वारा प्राप्त भएको धारणा राखिएको छ । ‘भारत भ्रमण’मा भारतका उत्तर प्रदेश, मध्ये प्रदेश, आन्ध्र प्रदेश, गोहा महाराष्ट्रका विविभन्न धार्मिक स्थल मठ मन्दिरको यात्रा कान्छो छोरा त्रिलोचन ढकालले गराएरको धारणा पोखिएको छ । ‘टिपन टापन’मा भारतका विभिन्न स्थलको भ्रमण पोखराका सबैतालहरू, तनहूँका ढोरबराह, छाउदीबराह, , काठमाडौ, ललितपुर भक्तपुर लगायत देशका विभिन्न तीर्थ स्थलको बर्ण गरिएको छ । ‘आत्ममन्त्रीमण्डल गठन’ यो यस कृतिको अन्तिम लेख हो र २००९ साल नौ महिना १६ गते यस मन्त्री मण्डलको गठन भएर यस पृथ्वीमा पदार्पण भएको धारणा राख्दै शरीरका सम्पूर्ण भागलाई मन्त्रालयमा विभाजन गरिुएको छ –टुप्पी राष्ट्रपति, मस्तक प्रधानमन्त्री, फोक्सो गृह्यमन्त्री, मन कानूनमन्त्री, आँखा स्वास्थ तथा पर्यटन मन्त्री, नाक वातावरणमन्त्री कान सूचना तथा सञ्चारमन्त्री, टाउको परराष्ट्रमन्त्री, मुख खाद्यतथा शिक्षा मन्त्री, दाँत उद्योगमन्त्री, हात श्रम, समाज कल्याण तथा निर्माणमन्त्री, मुटु अर्थ तथा सिँचाइमन्त्री, पेट आपूर्ति तथा संस्कृति मन्त्री, छाला रक्षामन्त्री, गुह्य सरसफाईमन्त्री, लिङ्ग ढलनिकास मन्त्री, रौं विनाविभागीयमन्त्री खुट्टा यातायता तथा खेलकूदमन्त्री, अर्धाङ्गिनी महिला विकास मन्त्रीहरू(२०३२।११।२४मा थप)को साथमा लेखकले ६५ वर्ष पार भएको धारणा राखेका छन् ।

माथिका शीर्षक र केन्द्रभावलाई अध्ययन गर्दा कृतिकारका भावनाहरू यथार्थतामा भएका र आधारित रहेका छन् । कृतिकार स्वछन्द छन् । राष्ट्र र राष्ट्रियतामा कृतिको धारणा गहन छन् भन्न सकिन्छ । धर्ममा आधारित उनका कविताले नैतिकताको पाठलाई सिकाएका छन्। प्रदेशमा रहेका नेपालीलाई माता र मातृभूमिलाई भूल्न नहुने सन्देशलाई बारम्बार दोहोराएका छन् । उनका कजीवतामा नीति ज्ञान –वैराग्य, प्रेम, संयोग वियोगको प्रस्तुति पाइन्छ ।

विद्यागत शुद्धतामा यो कृति मिश्रितरूपमा आएको छ । पद्य र गद्यलाई समेट्ने प्रयास गरिएता पनि कृतिमा कविताले ठूलो स्थान ओगटेको पाइन्छ ।तर विधागत विभिधता छ । मानवतावादले स्थान लिएका यी कविता, निवन्ध, यात्रा नियात्राले र नैतिक कथाले समाजलाई विकासको बाटोमा लम्कन, जन्म भूमिप्रति मायाराख्न पस्कन सफल देखिन्छन् ।

भाषशैली अति सरल र सहज छ । त्यसो हुँदा पाठकले यसलाई सहज रूपमा अध्ययन गर्न सकिने भएकोले कृतिलाई यो पठनीय छ भन्न सकिन्छ । अन्तमा कृतिकारका यी धारणाले समाजनमा सुसन्देश दिने विश्वासका साथमा उहाँको साहित्यिक यात्रा अँझै सशक्त रूपमा अगाडि बढोस् भन्दै बिदा चाहन्छु ।

धन्यवाद,
सदानन्द अभागी
२०७४ साल बैशाख ०८ गते,
शान्तिचोक कावासोती नगरपालिकावडा नंबर ७, नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *