अक्सर मैले नदीकिनारमा गएर
मन परेका माछाहरुलाई हेर्न खोजे
मलाई माझी झै सम्झिएर सायद
सधा झै तिनीहरू एकैछिनमा बिलाएर गए ।
स्पर्श गर्न खोजे बगैचामा गएर फूलहरू
तर ती पनि छुनुअगावै
खसेर माछा झै
हराएर गए कतै ?
मैले कोइलीको सुमधुर
स्वर आवाजलाई खोज्दै हिडे
शिकारीले जाल
वा
गोली बीच्छ्याए झै
खै कसरी बुझे तिन्ले
मेरो बोली,चाल र भाषालाई ?
कास त्यो कोइलीचरी पनि
भुर्र्रर्र आकाश उढेर गइ !
अँधेराहरुमा घर-आँगन पाखा-पखेराहरुमा गएर
जुनकिरीको मधुर जवानीलाई हेरें,
तर उनीहरू मसँग डराएर
खोलासमुद्रमा गएर
अनि चिहानकी परी चुडेलको रुपधारण गरे
मैले तिनीहरुलाई बारम्बार छुने प्रयास गरे
अफसोच उनीहरू धुँवा र हावाहरुमा हराएर
अनि गगनमा बिलाए ।
फर्किएर मध्यरातमा
अन्धकार कौसीहरुमा गएर
मैले चन्द्रमाको उज्यालो प्रकाशलाई हेरें
तर मैले देख्नुअगावै
मेरा आँखाहरुभन्दा अलि पर
जुन पनि अचानक जमिनमा खस्यो ।
सबै गैसकेपछि अनि अन्तिममा तिमी कुनै घाम
या
मानौ कि स्वयम स्वर्गकी अफ्सरा झै गरेर आयौ
र मेरा आँखाको नजिकै आएर बस्यौ
सदा झैं त्यसपटक पनि मैले तिमीलाई
बारम्बार छुन खोजे
अफसोच कुनै निर्जीव
या,
निदाएको नवजात शिशु झै
तर तिमीले कैले
पनि थाह पाएनौ
अचम्म! मैले तिमीलाई झनै मनपराईरहे
सुम्सुम्याइरहे……
र
रमाइरहे…………
यसर्थ कि मेरी आमाको पूजाकोठामा
भगवानको ढुङ्गापत्थर बरु भत्किएर गयो
बाबुको चट्टान जस्तो बलवान मैदान पनि
बाढीले बगाएर लग्यो
सारा रहरका रङ्गिन थुङ्गाहरू पनि हराएर गए
तर तिमी त्यहाँबाट कैले पनि हराइनौ
बरु कुनै विश्वबिख्यात विद्वानको अमर स्मारक झै गरेर
चुपचाप यथावत अनन्त उभिनै रह्यौ
कि मेरा स्मृतिहरुमा !
