म पानी
(कविताकाे अन्तिम भाग)
म भूमिकै भलो हुने नवीन गीत गाउँ कि
म देशका हिमालमा गएर प्रीत लाउँ कि
समस्त विश्ववासीका कथा व्यथा सुसाउँदै
अशेष श्वेदविन्दु यै धरातिरै चुुहाउँ कि ! ।।३१।।
बगेर खाेंचखाेंचमा पुगी बजारिदै तल
लिएर स्वर्गको मजा म बन्छु स्निग्ध शीतल
मनुष्यले कतै कतै ममा मिसाउँछन् मल
तथापि यो स्वभाव हो हुँदै बहन्छु निर्मल ।।३२।।
प्रसिद्ध मुक्तिनाथका पवित्र पाउबाट म
भएर कालीगण्डकी बगेर गाउँबाट म
सुषूप्त तिर्सनाहरु अघाउने गरी गरी
म बढ्छु अग्रता लिंदै सुरम्य ठाउँबाट म ।।३३।।
यसो हुँदा हुँदै कतै पुगेन दृष्टि यो भने
सिँचाइका प्रबन्धमा कतै कमी भयो भने
म वृष्टिको लिएर रुपमा सबै सबैतिर
सिँचाइ गर्छु यस्तरी सुखा कतै भयो भने ।।३४।।
जमीनमा हराभरा सुके सरी सरी हुँदा
वसन्तमा र ग्रीष्ममा बडो अलभ्य झैं हुँदा ।
बुझेर भूमिको दशा स्वयं भरङ्ग पर्दछु
र जेठमा असारमा नवीन रङ्ग भर्दछु ।।३५।।
म अग्रगामी जिन्दगीहरु कतै सघाउँछु
झरी म बूँद बूँदमा नदी कतै बगाउँछु ।
यता समस्त कर्मका प्रथाहरु चलाउँदै
मलीनता हटाउँदै धरा स्वयं नुहाउँछु ।।३६।।
विधान बग्नु मुख्य हो विधान के चुँडिन्छ र
विशिष्ट तीब्र बेग यो कहाँ यसै अडिन्छ र
कतै कुना कुना पसी लुकेर बस्न सक्तिन
हिंडेर पुग्छ जो कतै बसेर के पुगिन्छ र ? ।।३७।।
विभिन्न ज्ञान श्रृङ्खला मबाट नै पलाउँछन्
विधान धर्म कर्मका म भित्र कुल्कुलाउँछन्
नवीन सिर्जनाहरु तुरुन्त भुल्भुलाउँदा
दिमाग काव्यकर्मीका समेत सल्बलाउँछन् ।।३८।।
हरा भरा बनी धरा चलोस् यहाँ निरन्तर
म मातृशक्तिको दया कदापि हुन्न निष्फल
यताउता घमण्डका चुरीफुरी फले भने
बगाउँला चुरीफुरी भएर तीब्र बादल ।।३९।।
कतै कतै मनुष्यले मलाई पार्दछन् ढल
जहाँ छ लक्ष्य डेगिलो त्यहाँ म बन्छु निर्मल
म ग्रीष्मको प्रचण्डमा कतै बनेर बादल
अपूर्व ताप सूर्यको समेत पार्छु शीतल ।।४१।।
विभिन्नका कुरा भए, भएन केही मन्थन
मनुष्य हो पुर्याइयोस् ममाथि आज चिन्तन
खडेरी ज्ञानमा परे हिमाल सुक्न सक्तछ
विवेकपूर्ण ज्ञानमा समुद्र सम्म झुक्तछ ।।४१।।
