Skip to content


आइपुग्यौं आज हामी
जिल्ला रुपन्देही ।
नेपाल र नेपालीको
दुर्दशा छ यहीँ ।।
मर्चवार क्षेत्र हो यो
सीमास्तम्भ हो यो ।
तीस नम्बर लेखिएको
खडा यहीँ छ यो ।।
–१–

यसैसँग सटाएर
उतापट्टि हेर ।
तीन किलोमीटर् लामो
बाँध बनाएर ।।
दानव नदी खोलानाला
बन्द गराएर ।
सर्वनाश पारी दियो
यतापट्टि हेर ।।
—२—

वर्षा भए यतातिर
हाहाकार हुन्छ ।
मालिगवा पिप्रहवा
असुर्नैया डुब्छ ।।
थुमुवा र बेच्कुइया
रैनिहवा डुब्छ ।
सिलौटिया फरेनामा
रुवाबासी हुन्छ ।।
—३—

बोगडी र सिबुवा त
जलमग्न हुन्छ ।
डुब्दै जाँदा लुम्बिनीमा
जलाशय बन्छ ।।
द:ुख गर्यो खेतीपाती
डुबानमा पर्छ ।
पशुपन्छी डुब्छन् सबै
सर्वनाश हुन्छ ।।
—४—

मान्छे अब यो ठाउँमा
कसरी हो बाँच्ने ।
बाँध फोडी बाँच्ने हो कि
डुबी यहीँ मर्ने ? ।।
अत्याचार चुलिएर
छोपी सक्यो हेर ।
एकैछिन पनि यहाँ
गर्नु हुन्न बेर ।।
–५–

शिरुपाते खुकुरीमा
धार लगाएर ।
अस्तित्वको रक्षा गर्न
जुटौं मर्चवार ।।
हेपिएर बाँच्नुभन्दा
मर्नु निको हुन्छ ।
हामीलाई यो देशको
माटो यही भन्छ ।।
—६—

रसियावाल् खुर्दलोटन
बाँध सक्यौं हेरी ।
हिंड अब सुनौली र
बेलहिया फेरि ।।
यहाँ पनि नकचरो
छिमेकीको चाल ।
दशगजातिर हेर
उस्तै छ नि हाल ।।
—७—

भारतीय प्रहरीको
थाना हेर कता ? ।
नेपालको सीमाभित्र
बनेको छ यता ।।
दशगजाभित्र हेर
कति झुपडी छन् ।
रमाउँदै भारतीय
यहाँ बसेका छन् ।।
—८—

पानी टङ्की बनाएछन्
यतैपट्टि हेर ।
दशगजा नमिचेको
कुन ठउँ छ र ? ।।
नवलपरासीमा अब
हिंड हेर्दै जाऊँ ।
परेको छ त्यहाँ ठूलो
नमेटिने घाऊ ।।
—९—

पिताम्बर नेपाली

२४ वैशाख २०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *