नाथे एउटा जिन्दगीका आयुहिस्साहरू औपचारिकताका उल्झनमा रुमलिएर बित्दो रहेछ । अस्ति भर्खर एकजना मित्रका पिताजी बित्नुभयो । सुनेपछि मलामी हिँडे । घाटमा पुग्दाखेरी करिब करिब अर्थी जलिसकेको थियो । मलामीहरुपनि फात्तफुत्त हिंडिसकेका थिए । केही आवश्यक मान्छेमात्र बाँकी थिए । मैलेपनि हतारहतार एकचिम्टी माटो र केही छेस्का दाउरा चितामा चढाएर मलामी आउनुको औपचारिक रीत पुरा गरेँ । अक्सर आजभोलि मलामी गएका मान्छेहरू चितामा मट्टी चढाएपछि ओल्टोकोटो छेलिँदै बाटो लाग्ने गर्छन् । समयको व्यस्तता र समस्याका जटिलताले मान्छेलाई कसोकसो धेरैतिरबाट बाँध्दै लगेको छ । मान्छे हिजो जस्तो फुक्काफाल स्वायत्त छैन । कतिपय काममा खटाइखटाइ समय चुँडेर निकाल्नु पर्ने भएको छ ।
आजभोलि मलामी जानुमा ओठे औपचारिकताको रीत ठोक्नुभन्दा बढी कुरा केही गरिएको छैन । अर्काको मलामी जानु भनेको अलिकति आफ्नो पनि मलामी जानु हो । अनि आफ्नो भोलिको मृत्युलाई पनि देख्न सक्ने अन्तर्दृष्टि उमार्नु हो । मृतक र उनका परिवारजनप्रति गहिरो श्रद्धाञ्जली र समवेदना दिनको लागि मलामी जाने हो । तर शोक, समवेदना र श्रद्धा व्यक्त गर्नलाई मान्छेसित समय छैन । अनि सिर्फ औपचारिक रीत पूरा गरेर मान्छे आफ्नै काममा कुद्छ । मैले एकचोटि मान्छेको हतारोप्रति कुरा उठाउँदा एकजना आफन्तले प्वाक्क भनिहाले –“हतार नगरेर के गरुन् त ? कति मान्छेलाई अफिस पुग्नु छ । कतिलाई दोकान खोल्न पुग्नु छ । कतिलाई भैंसीलाई घाँस काट्न पुग्नु छ । घाटमै पाँच घण्टा बस्ने हो भने कत्तिको भैँसी भोको रहन्छ । बेलुका भैँसी पियाएन भने भोलि बिहान पशलमा दूध पुग्दैन । पशलमा एकसाँझ दूध नपुग्ने बित्तिकै साँझमा केटाकेटी भोकै पर्छन् । मान्छे रहरले भन्दापनि बाध्यताले जल्दो चिता छोडेर आफ्नै काम धन्दा ताक्नुपरेको छ ।” उनको कुराले मेरो चित्त बुझ्यो । वास्तवमा उनले एउटा अकाट्य सत्य बोलेका थिए ।
काम र पेशाको कारणले बाध्यताबश मशानघाटबाट छिटो छिटो घरतिर कुद्ने जनप्रति मेरो कुनै गुनासो होइन । तर केही मान्छे तास खेल्न, भट्टीमा पस्न र क्यारेमबोर्ड खेल्न पनि हतार गरेर मसानघाटबाट फर्केको देखेको छु । जे होस् हिजोका दिनमा मान्छे अनौपचारिक थियो, सहज थियो, प्राकृतिक थियो, आत्मिक संवेदनाबाट परिचालित थियो । तर आजको मान्छे धेरै कुरामा सिर्फ औपचारिक बन्दो छ, जटिल बन्दो छ, अप्राकृतिक बन्दो छ अनि सतही विचारबाट परिचालित हुँदो छ ।
म आफ्नै गतिविधिलाई गौर गरी नियाल्छु । म पनि कतिपय सन्दर्भमा औपचारिक बन्दै गएको छु । जीवनबाट अनौपचारिक पक्ष बिदा लिँदो छ । श्मसानघाटमा मात्र होइन, कतिपय कार्यका निम्ता र बोलाहटमा औपचारिकता निभाउन पुग्नु परेको छ । गतमहिना एकैदिन सातठाउँबाट बिहेको निम्तो आयो । गमेँ सबैठाउँ पुग्नैपर्ने आफन्तहरुले निम्ता गरेका छन् । यसो मुख देखाउन भएपनि सातैठाउँ पुगीकन छाडेँ । पन्ध्र मिनेटभन्दा बढी समय कतैपनि दिन सकिनँ । यसरी पुगी दिएपछि निम्ता गर्नेपनि खुशी हुने र आफूलाई पनि सन्तोष हुने । विवाहको निम्तो मान्नुपनि सिर्फ औपचारिकता निभाउने मेलो मात्र बनेको छ आजभोलि ।
आजभोलि विवाहको मात्र होइन । कहिले कुनै आफन्तको छोरा छोरीको पास्नी (अन्नप्राशन) को निम्तो आउँछ, कहिले कसैको चुडाकर्म (छेवर) को निम्तो आउँछ, कहिले व्रतबन्धमा भिक दिन निम्तो आउँछ, कसैको चौरासीपूजाको निम्तो आउँछ, कसैको जन्मोत्सवको निम्ता आउँछ, कसैकोमा पूजा, लघु रुद्री, पूराणको निम्तो आउँछ । अनि कसैले गोष्ठी अन्तक्र्रिया, प्रवचन, कार्याशाला, पुस्तक विमोचन र कुनै न कुनै समारोहको आयोजना गरी निम्तो पठाउँछन् । समाजमा चेतनाको समृद्धि आएर हो या देखासेखीको बजार गम्केर हो निकै बाक्लै कार्यक्रमहरू हुन थालेका छन् । चाहे त्यो धार्मिक कृत्यसित सम्बन्धित होस् या राजनीतिक, साहित्यिक, सांस्कृतिक र अन्य रीतिथिति, रहनसहनसित जोडिएको होस् । सबै जसो कार्यक्रममा निम्ता बाँडेर भरिसक्य त्यसलाई सभ्य अनि भव्य बनाउन आयोजक पक्ष जुटेका हुन्छन् । फेरि संस्कार संस्कृति भित्र नवीनतम कुराहरु, बिर्सिसकेका कुरापनि नयाँ नयाँ रुप र कलेवरमा व्यूँतीन थालेका छन् ।
मान्छेको आर्थिक स्थितिमा आएको समृद्धिले हो वा देखासिखी, अर्काको अन्धानुकरण र लै लैमा बगेर हो जन्मदेखि मृत्युसम्मका संस्कारहरू भड्किलो ढङ्गले सम्पन्न हुन थालेका छन् । पहिले पहिले विवाह गर्दा बिहेको एउट कार्य मूलकार्यको रुपमा सम्पन्न हुन्थ्यो । केटी माग्नु, अठोट लाउनु, पत्र लग्नु त्यही भित्रका सहायक गौण कर्महरू थिए । अहिले विवाहसँग जोडिएका उपविवाहका कार्यहरू निकै धुमधमकाका साथ सम्पन्न हुन थालेका छन् । केहीदिन अघि एकजना आफन्तीले छोराको बिहे गर्ने भए । सुरुमा टिकोटालोको निम्ता आयो । स्कुलमा एकदिन बिदा लेखेरै भएपनि गएँ । सानो सानो मिनीबसमा पचाससाठी जना मानिस टिको लगाउन गएका छन् । बेहुली पक्षको घरमा खसी काटेर धुमधाम भोज भतेरको आयोजना गरिएको छ । गाउँका सारामान्छे केटाकेटीलाई टीका लाइदिएको हेर्न आएकाछन् । साँच्चै भनूँ एउटा सानो सानो होइन ठूलै विवाह त्यसैदिन सम्पन्न भयो । त्यसको हप्तादिन पछि पुनः बिहेको जन्तीजाने, प्रीतिभोज खाने निम्ता आयो । यो पाली त विवाहको रौनकै अर्को थियो । अब विवाह सकियो भनेको थिएँ । फेरि सम्धीसम्धिना भेटघाटको निम्तो आयो । तीनवटा ट्याक्सी रिजर्व गरी फेरि सानो सानो विवाहकै छनक दिए । सम्धीभेट सम्पन्न भयो । यसरी विवाह भित्र पनि विवाहका काँटकाँटका उपविवाहका झाँकीहरू देखिन थालेका छन् । निम्ताका क्रमहरू थपिन थालेका छन् । अनि युगिन समस्याको चेपमा जकडिएको बेफुर्सदी मान्छे, कहाँ त्यति धेरै समय निकाल्न भ्याउँछ र ?
सिर्फ ओठे औपचारिकता निर्वाह गर्दै अगाडि बढ्नु मान्छेको बाध्यता भएको छ यो घडी ।
यसपालीको तिहारमा थुप्रै चेलीहरुले फूलटिका लाउने निम्ता दिए । निम्ता दिनेमा कोही आफ्नै नजिकका दिदीबहिनीहरू थिए । कोही साइनोका दिदीबहिनी थिए । कोही हितेरीमितेरी नाताका दिदीबहिनीहरू थिए । निम्तो जहाँबाट आएको होस् । श्रद्धा गरेर बोलाएपछि पुग्नु आफ्नो धर्म सम्झेँ । निम्तो गरेठाउँमा नजाँदा खेरी चेलीहरुको आत्मिक भावनमा ठेस पुग्ने डर । चेलीहरुका घरमा ददस मिनेट भएपनि पुग्नै पर्यो । दिएको सगुन खानैपर्यो । यथासक्य दानदक्षिणा दिनै पर्यो । त्यो दिन मलाई सबैतिर भ्याइनभ्याई भो । समय अलिअलि उबारेर भएपनि सबैतिर पुगेँ । कतै छुटाइनँ ।
यसरी फूलटिका लाउन दोडधुप गरिरहँदा एकथरि चेलीहरुले उनेका मालामा फूलका थुँगासँगै माइतीप्रतिको गहन श्रद्धा आत्मीयता र अपनत्वको भावदशालाई खिपी खिपी उनेर गलामा थेग्न नसक्ने गरी लाइदिएको पाउँछु । अर्काथरि चेलीहरुले भने खाली औपचारिकताको रीत पूरा गर्नको लागि केबल झारा टराईको फूलटिका लाइदिएका अनुभूति गर्छु । हृदयबाट गहन आस्था र अपनत्वको भाव खुइलिए पछि आत्मिक तलसित जोडिएका सांस्कृतिक पर्वहरू ओठे औपचारिकता निर्वाहमा खुम्चिएका छन् ।
तिहार अघिको दशैँ झनै व्यस्ततापूर्ण रह्यो । आफ्ना दरदाजुभाइ, भाइवंशज, मावली, ससुराली, नातागोता, इष्टमित्र सबैतिर भेटघाट, टिकोटालो, आशिरवाद आदानप्रदान, खानपान, भलाकुसारीको क्रम चल्यो । यी क्रममा पनि अक्सर हार्दिकताको भावभन्दा पनि औपचारिकता निर्वाहको भाव बढी बलियो हुँदै गएको पाउँछु । सहजता र निसर्गताको ठाउँमा आडम्बर र कृत्रिमता जीवन्त बन्दै गएको दृश्य देख्छु । मानवीय समाजको जीवन्त सदस्य बन्नुको नाताले घिसारिएर पनि औपचारिक रीतहरुमा सामेल हुनैपर्छ । असामाजिक हुइने डरले अनिच्छावश पनि विभिन्न कार्यक्रममा डोरिएर पुग्ने गरेको छु । यस्ता कार्यक्रममा स्वतः स्फूर्त आत्मिक उत्प्रेरणाबाट जानुको मजा अर्कै हुन्छ । तर डोरीले तानिएर जानुलाई डोरिएर हिंड्नु भनेको होला । कतिपय ठाउँमा डोरिएर जानुपर्ने सामाजिक बाध्यता छ । यसरी असामाजिक हुने डरले जुनजुन ठाउँ आफ्नो उपस्थिति जनाउन कुद्छु । त्यहाँबाट अनौपचारिक भावको होइन औपचारिक भावको गन्ध निस्कने गर्छ ।
भर्खरै एकजना मित्रको मुखबाट सुनें, अमेरिका बस्ने उनको आफन्तले स्वर्गवासी पिताजीको सराद गर्ने भएछन् अरे । अमेरिकामा बाहुन नपाएपछि यहीँ बाहुनको व्यवस्था गरी फोनबाटै दुईचार शब्द सरादका कर्मकाण्डी श्लोकहरू पढ्न लगाएर तर्पण दिने काम सम्पन्न गराइयो अरे । पुराना कर्मकाण्डहरू अहिलेको युगमा कसरी नवीन कलेवर धारण गरी अघि बढ्दैछन् । यसबाट पनि प्रष्ट हुन्छ ।
अर्को एक अमेरिकावासी नेपाली बन्धुकी आमा मरिन् अरे । अन्तिम मृत्युशैयामा छोरो आइपुग्यो पुगेन भन्दै इहलिला विसर्जन गरिन् गरे । बूढीको एउटै छोरो अमेरिकाबासी, छोराकै घिड्किसोमा प्राणत्याग गरिन् । जीवित रहुन्जेल आमाको दर्शन गर्न आउनु त के मरेपछि पनि उताबाट दिदीलाई ईमेल गर्यो अरे । पशुपतिमा क्रिया गर्ने बाहुन खोजेर मेरो सट्टामा क्रिया गर्न लाइदिनु म यताबाट २/४ हजार डलर पठाइदिन्छु । नभन्दै ऊ नआउने भएपछि उसको सट्टामा भाडाको मान्छे खोजेर क्रियाकाज गराइयो अरे । यसरी पुराना रीतिथिति, चालचलन, संस्कृतिमा कृत्रिमताको, औपचारिकताको जलप लगाउन थालिएको छ ।
आजको युगको व्यस्त र जटिल मान्छेलाई प्राकृतिक सहजताको जीवन बाँचेर पुगेको छैन । कृत्रिमतामा रुमलिनु परेको छ । आडम्बरहीन भएर पुगेको छैन । कुनै न कुनै रुपले आडम्बर र ढोँगलाई ग्रहण गरेर बाँच्नु परेको छ । आत्माको तलबाटभन्दा पनि विचारको तलबाट निर्देशित भएर चल्नु परेको छ । शनैशनैः सबैलाई हार्दिकताको ठाउँमा औपचारिकताको डोरी कस्तै लगेको छ । समाजमा बसेपछि सामाजिक सम्पर्क र त्यसको सान्निध्यलाई पनि चीर नवीन बनाइराख्नु पर्दो रहेछ । साँच्चै भनूँ अहिलेको मान्छेको एक जुनी आयू औपचारिकताका रीत पूरा गर्दा गर्दै थाहै नपाइ चिप्लिएर सकिँदो रहेछ । विभिन्न ठाउँबाट आउने निम्ता, बोलाहट र आमन्त्रणले जीवनको ठूलो हिस्सा आयुलाई खण्डित गरिरहेछ । घरी घरी मनमनै संकल्प गर्छु –मुफ्तमा जीवनधन खर्च गर्न घरबाट कतै नहिडूँ । यसैबेला श्रीमतीजीको आवाज कानमा ठोक्किन्छ– माथि जर्घिनी आमैको घरबाट पूजाको निम्तो आएकोछ, प्रसाद खान जानू । केहीबेर अटेर गरी बसेँ । पत्नीको कचकच अरु बढेर गयो । यस्ता निम्ताहरुलाई अक्सर छल्न खोज्छु र पनि असामाजिक हुने भयबाट निम्तो मान्न पाइला उठाउँछु । एकजुनि आयु यसरी नै निम्तामा कुद्दाकुद्दै बित्नेरहेछ । मेरा संकल्पका धुनहरू कति क्षणभंगुर छन् । ग्लानिबोधले गलेर पानीपानी बन्छु ।
२०६९/०८/३०
