ए भानु ! ए भानु ! भन न तिमी कहाँ छौ
एक पटक त बोल न तिमी जहाँ छौ !
हिजो अस्तिसम्म त यतै थियौ
मेरो बुढो हजुरबाको मुखार विन्दभरि
रामायणका श्लोक गुनजायमान गरी
पल्ला घरे हजुरमाको सुमधुर वचनसँगै
हाम्रो गोलो घेरा भित्र तिमी थियौ
तर
ए भानु आज तिमी कहाँ छौ !
मेरो बुढा हजुरबा
अनि, पल्लाघरे हजुरमा
ऊ त्यो माथिको आकासबाट हेर्नुहुन्छ
तारा बनेर
अनि सम्झाउनुहुन्छ
फेसबुक खोलेर हेर त मेरो तस्विर भनेर
म सम्झन्छु र हेर्छु
हजुर बा र हजुरमाका तस्विर
अनि सम्झन्छु ती तस्विरसँगै
भानु तिमीलाई पनि
र ती श्लोकहरूलाई पनि
तर यी फेसबुके हजुर बा र हजुरमा तस्विरले
भन्दैनन् तिम्रा श्लोकहरू
त्यसै त म चिच्याउॅदै छु
ए भानु तिमी कहाँ छौ !
कति खोजे तिमीलाई
केही वर्षदेखि
तर तिमी कहाँ छौ कहाँ
तामीलाई मात्र हो र
तिम्रो बटुवा साथी घाँसीलाई नि खोजें
घासीको त्यो हाँसीलाई नि खोजें
खोजें गाउँ बस्ती बस्तीमा अति
खोजे तिम्रो हितैसी त्यो तारापति
खोज्दा खोज्दा च्यतियो धोती
तर भेटिएनन् है गजाधर सोती
ए भानु तिमी कहाँ छौ !
तिमीलाई खोज्न कहाँ पुगिनँ म
चाहे होस कान्तिपूर नगरी
चाहे ढेडु बन्दै गुथेर पगरी
तिमीलाई खोज्न,
राम बनेर लङ्कामा पुगिनँ कि
सिताको नै शङ्काम डुबिनँ कि
भन ए भानु तिमी कहाँ छौ !
तिमीसँगै तिम्रो बधु शिक्षा पनि
कता भाग्यो कता
त्यो बधु शिक्षा भाग्नासाथ
आजका बधुहरू गतिछाडा भएका छन्
घरपरिवार भाँडा भएका छन् ।
त्यो प्रश्नोत्तर नि गायब भएको छ
न त प्रश्न छ न त उत्तर छ
त्यसैले त समाज अनुत्तर छ ।
कत हरायो हरायो त्यो भक्तमाला
त्यही भार बढ्न थालदै छ रक्तमाला
ए भानु ! तिमी कहाँ छौ !
मिल्छ भने फेरि कसैको मस्तिष्कमा
जन्म लिएर आऊ
सबैसबैलाई
आदर्श र नैतिकताको पाठ पढाऊ ।
भानु जयन्ती २०७४
