म यतिखेर जाली बाठाहरुको समाजमा छु । अर्थात् धेरै खाले जाली बाटाहरुको बीचमा चेपिएको छु । म मात्र होइन, सिङ्गो समाज र देशै जाली बाठाको चङ्गुलमा फँसेको छ । जालीका दुइटा अर्थछन्, एउटा प्वालै प्वाल पारेर बनाइएको कुनै चिज । र अर्को त्यस्तो व्यक्ति जो अरुलाई झूट, पाखण्ड र कपटपूर्ण व्यवहार गरेर अल्मल्याउन वा ठग्न सिपालु हुन्छ । ऊ जालसाज कलामा प्रवीण हुन्छ । गफ र धुत्र्याइँमा निष्णात् हुन्छ । जाली मान्छेलाई इन्द्रजाली, जालन्धरी र औतारी पुरुषपनि मानिन्छ । स्वर्गका राजा इन्द्र जाल गर्ने कुरामा माहिर थिए । चाहे गौतम ऋषिकी पत्नी अहिल्यालाई संभोग गर्न रचिएको जाल होस् या शुक्राचार्यको तपोभंग गर्न आफ्नी छोरी जयन्तीलाई प्रयोग गरिएको सन्दर्भ होस्; यस्ता अनेकौँ मिथकहरू छन्; जहाँ इन्द्रले ठूलठूला कपट कलाको प्रयोग गरेका छन् । त्यसैले अहिलेपनि जाली कर्म गर्ने मान्छेलाई इन्द्रजाली उपमा दिएको होला ।
जाली मान्छे आफ्नो जाली कर्मबाट ऊ स्वस्थान कथाको जालन्धर जस्तो पनि भएको हुन्छ । त्यसैले उसलाई उपमा दिँदा जालन्धरी भनिएको होला । जालन्धर कपट कलामा असाध्य सिपालु थियो । ऊ जे को, जस्तो पनि रुपधारण गरेर अरुलाई छक्याउन सक्ने भएकोले एकदिन शिवको रुप धारण गरेर पार्वतीलाई पत्नी बनाउन कैलाश पर्वततिर लाग्यो । पार्वतीपनि शिवजी आए भनेर पाउ धुन आइन्, यसरी पार्वतीलाई समेत जालमा पार्न सक्ने जालन्धरको कलालाई जालन्धरी भनिएको होला । जालीबाठाको पर्यायवाची शब्दको रुपमा जानन्धरी पद आएको होला । किनभने आफूसित भएको बठ्याइँ अरुकी श्रीमती पट्याउन जाल खेल्ने काममा प्रयोग गरेकाले त्यस्ता चरित्रलाई देखाउन यहाँ मैले जालीको पहिलो अर्थ प्रकट नगरेर दोस्रो कोटीका अर्थहरुलाई प्रकट गरिरहेको छु ।
अनि बाठोको शाब्दिक अर्थचाहिँ चलाख चंख, चतुर, भन्ने बुझिन्छ । बाठो शब्दलाई धूर्त तथा पटुको रुपमा पनि बुझ्ने गरिन्छ । यसलाई अँझ व्यापक आयाममा हेर्दा राम्ररी बोल्न र व्यवहार गर्न सिपालु व्यक्तिको रुपमा हेरिन्छ । त्यसैले बाठोको अर्थ अनुसार बाठो हुनु कदापि नराम्रो चिज होइन, लाटो हुनु हुस्सु हुनुभन्दा बाठो हुनु हज्जारौँ गुना राम्रो हो । हाम्रोजस्तो बहुसंख्यक जनता अनपढ र निरक्षर रहेको अवस्थामा सबै मानिस बाठा हुनुपर्छ । सबै चंख, चतुर र सचेत हुनुपर्छ । यस कुरामा त दुईमत छँदैछैन । तर बाठो हुनुको अर्थ जालीबाठो हुनुपर्छ भन्ने होइन । बाठो हुनुपर्छ, जसले लोकहीतलाई बल पुगोस् । बाठो हुनुपर्छ जसले समाजलाई कुनै न कुनै क्षेत्रमा अग्रगति देओस् । तर अहिले सही सत्य कामको लागि बाठो हुनेभन्दा पनि गलत र असत्य कामको लागि बाठो बन्ने प्रवृत्ति बढेको छ । अर्काको लागि बाठो बन्नेभन्दा पनि आफ्नो निजी स्वार्थको लागि मात्र बाठो बन्ने लहर आएको छ ।
आफ्नो बठ्याइँलाई समाज बिगार्न, संस्कृति बिगार्न, शैक्षिक क्षेत्र बिगार्न, राजनीति बिगार्न अर्थतन्त्र बिगार्न, प्रशासन बिगार्न र देश बिगार्न प्रयाग गर्ने महानुभावहरुलाई मैले जाली बाठाहरुको तहमा राखेको छु । बाठो हुनु आसाध्यै राम्रो कुरा हो, फेरि जाली बाठो हुनु भनेको त्यति नै नराम्रो कुरा पनि हो । आफ्नो लागि, समुदाय र राष्ट्रको लागि आवश्यक बाठो हुनैपर्छ । जब आवश्यकताभन्दा बढी बाठो भएर समाज र देशलाई बिगार्ने काममा आफ्नो चतुरता प्रयोग गर्न थाल्छ । आफूसँग भएको चलाखीपन आफू मोटिने र अरुलाई खोक्र्याउने दिशा तर्फ जब उद्दत हुन्छ । तब उसले केही न केही जालझेल गर्नै पर्छ । जब आफ्नो चलाखीलाई जालझेल, तिगडम र षडयन्त्रमा प्रयोग गर्न थाल्छ, तब त्यो व्यक्ति शुद्ध बाठो, इमानी बाठो रहँदैन । ऊ बेइमान बाठो जाली बाठो बन्दछ ।
इमानी बाठाले त सधैँ सधैँ मुटुमा माटो बोकेर, निष्कलंक भावना बोकेर आफ्नो चातुर्यताको प्रयोग गर्छन् । त्यस्ता इमानी बाठाहरुको बठ्याइँलाई मुरीमुरी प्रशंसा गरेर पनि म कहिल्यै थाक्तीन । त्यस्ता बाठाहरुको संख्या दिनप्रतिदिन थप्दै जानुपर्छ देशमा । तर आफ्नो चातुर्यतालाई जालीकर्ममा प्रयोग गर्ने जाली बाठाहरुको जति भत्सर्ना गरेपछि अधुरै हुन्छ ।
मेरो समाजको आम मनोविज्ञानले जाली बाठाहरुको प्रशंसामा गीत गाएको देख्ता म घायल बन्छु । कसैले घुस खाएर ठूलो घर बनायो । कसैले राष्ट्रको राजस्व हिनामिना गरेर धेरै धनदौलत जोड्यो, कोही अरुलाई ठगेर करोडपति भयो भने त्यस्तो मान्छेको खुब अर्चना हुन्छ । त्यसको आरती उतार्दै अरुलाई उदाहरण दिइन्छ –“जागिरे हुनु त त्यस्तो पो हुनु त, एकै वर्षका चारचारवटा घर किनिसक्यो । फलानाले पच्चीस वर्ष देखिजागिर खाको कुकुरकै ………जाओस् । बाउले बनाइदिएको टिनको छाप्रे घर फेर्न सकेको होइन ।” घुस नखाई इमानी भएर नकमाउने राष्ट्रसेवक अपमानित हुन्छ । घुस्यहाँ जाली बाठो कर्मचारी सम्मानित हुन्छ । कलिला नानीहरुलाई प्रेरित गर्ने उपमा बन्छ । यसरी जाली बाठाहरुका कर्महरुको प्रशंसा किन गर्छन् हँ मान्छेहरू ?
यसैगरी राजनीतिमा लागेर छिट्टै भौतिक प्रगति गर्ने मान्छेलाई औँल्याउँदै कसैले भन्छ –“फलानो गाडी चढ्ने भैसक्यो । काठमाडौँमा कति तले महल बनाइसक्यो । उसको कस्ता कस्ता ठूलाबडासित सम्पर्क छ । चिलानो चाहिँ थोत्रो झोला बोकेर राजनीतिमा लागेको यत्तिका वर्ष भयो । फुस्राको फुस्रै । फिता फेरेका चट्टी टेकेर हिँड्छ । पाँचवर्षसम्म एउटै सर्ट लगाएको लगाएै छ ……………….” यसरी जाली बाठो नेताको गीता गाइन्छ । इमानी नेता उपहास र खिसीको पात्र बन्छ ।
जाली बाठाको प्रशंसामा गीत गाउने समाजको रुग्ण मनोविज्ञान मैले बुझ्न सकेको छैन, जालीबाठाहरू आफ्नो दुनो सोझ्याउने अरुको टपरो घोप्ट्याउछन् भन्ने कुरा, जाली बाठाहरू आफ्नो ओठमा लाली घस्न अरुको गला काटेर रगत झिक्छन् भन्ने कुरा, जालीबाठाहरू आफ्ना तली रङ्ग्याउन देशको ओठको लाली खुर्किन्छन् भन्ने कुरा । देशको चौतर्फी क्षेत्रमा थरिथरिका जालीबाठाहरुको रजाइँ छ । राजनीतिमा जाली बाठाहरू हावी छन् । महाकाली सन्धिबाट एक खरब बीस अरबको नाफा हन्छ भन्ने जाली बाठाहरू छन् । नेपालको बिजुली सेट्लाइटबाट चीन निर्यात गर्ने जाली बाठाहरू छन् । जाली बाठाहरू तिलस्मी जादूको कुरा गर्छन् । मुखबाट अनन्त चमत्कार गर्ने एकसे एक जाली बातहरू यहाँको राजनीतिमा टम्म छन् । यहाँको राजनीतिमात्र होइन कुट्नीतिदेखि अर्थतन्त्र, समाजतन्त्र, प्रशासनतन्त्र, कर्मचारीतन्त्र सबै सबै क्षेत्रमा जालीबाठाहरुको चकचकी छ । हुँदा हुँदा अब त कला, साहित्य संस्कृतिको फाँटमा पनि जालीबाठाहरुकै हालीमुहाली चलेको देखिन्छ ।
एउटा घरमा तीनभाइ छोरा छन् । एउटा छोरो थोरै पढेको छ । सानैदेखि खेतीपातीमा लागेको छ । ऊ बिहानदेखि बेलुकासम्म जनावर र जमिनको सेवाचाकरमा जुट्छ । ऊ धैलोमैलो झुत्रे झाम्रे भएर हिँड्छ । उसको कुनै मान सम्मान छैन । उसको घरमा पनि कुनै इज्जत छैन । अर्को छोरो मास्टरी गर्छ इमानका साथ चक घोटेर आनासुकी जम्मा गर्छ । आफ्ना छोरा छोरीको मुखमा माड जुटाउँछ । जीवनमा गतिलो घर उभ्याउन सकेको छैनन् । धेरैले उसको पढाइ र पेशालाई धिक्कार्छन् । अर्को छोरो सानै देखि चतुर भएर निस्क्यो । लोकसेवा आयोगबाट गा.वि.स. सचिवमा नाम निकाल्यो । काम पट्याउन औधी सिपालु छ । छ महिनामै भन्सारमा खरिदार भएर गयो । दुवैवर्षमा घरघरेडी, गाडी, सबै किनिसक्यो । त्यसघरका बाउआमा पनि त्यसैसित खुशी छन् । रातदिन उसकै बन्दना गाउँछन् । छरछिमेकी आफन्तहरुपनि उसकै स्तुति गाउँछन् । खेती गर्ने र मास्टरी गर्ने छोरालाई सबैले गिज्याउँछन्, हिनाम बोल्छन् । यसरी जाली बाठाको स्तुतिमा रमाएको समाजमा म छु । जालीबाठाहरू आफ्नो चातुर्यता कसैलाई धुत्न, लुट्न, ठग्न, चोर्नको लागि प्रयोग गरिरहेका छन् । म ती जाली बाठाहरुको चतुर्याइँलाई मूर्दावाद भनिरहेको छु । तपाईंपनि मेरो स्वरमा स्वर मिलाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने आउनुस् –हामी बेस्सरी चिच्याऔँ, जाली बाठाहरुका कानमा पर्ने गरी –जालीबाठा मूर्दावाद !!
२०६४/०४/०४
