Skip to content

‘तिम्रै पर्खाइमा’लाई नियाल्दा


भनिन्छ प्रतिक्षाको घडीको सुई निकै ढीलो गरी घुम्छ । पर्खदा पर्खदा निकै पट्यास पनि लाग्न सक्छ तर जब मिलनको घडीको समय आउँछ, त्यतिवेला जो आनन्द आउँछ समय बितेको थाहै लाग्दैन । यहाँ टीका देवी पोख्रेलको ‘तिम्रै पर्खाइमा’ म अध्ययनमा व्यस्त छु । यहाँ मैले समयको आवाज कति बुलन्द भएर दगुरेको छ या आनन्ददायी जीवनका पहलहरूमा सुनमा सुगन्ध थपेको छ या निरासका पाइलाले विकासका पाइलाहरूमा अवरोध खडा गरेको छ त्यसको लेखा जोखा गर्न भने बाँकी नै छ । सर्वप्रथम टीकादेवी पोखरेल सापकोटाको परिचयमा लागौं ।

उनी कावासोती –२ निवासी खिनाकुमारी पोख्रेल र बालकृष्ण पोख्रेलकी जेठी छोरी हुन् । एमए एमएडसम्मको अध्ययन समाप्त गरी शैक्षिक, समाजिक तथा साहित्यिक क्षेत्रमा सम्लग्न रहेकी टीकाजी पेशाले ।शिक्षिका हुन् । बालक कालदेखि नै लोक गीत र तीज गीतमा कलम चलाउने टीकाजीका तीजगित सँगालो २०५५ र २०५६मा प्रकाशनमा आइसकेका छन् । ‘तरुण आवाज’ नामक स्मारिका पनि उनको प्रधान सम्पादकत्वमा सम्पादन भएको जानकारी पाइन्छ । यिनका गीत गजलले एफएम र पत्रिकामा स्थान ओगटेका मात्र छैनन् पुरस्कृत पनि भएका छन् ।

कृतिको संरचना – ‘तिम्रै पखाईमा’ ५३वटा गजलहरू समावेश भएको यस गजलसङ्ग्रहको प्रकाशन नेपाली भाषा साहित्य सङ्घ नवलपरासीले गरेको छ । यस कृतिको मूल्य १५० रुपियाँ राखिएको छ ।यस कृतिमा नेपाली भाषा साहित्य सङ्घ नवलपरासीका अध्यक्ष नेत्रलाल न्यौपानेको प्रकाशकीय,गोविन्दराज विनोदी, प्रा.डा. नारायणप्रसाद खनाल, निर्मोही व्यास, भूपेन्द्र गण्डर्षि, कृष्णादेवी शर्मा श्रेष्ठ,विष्णु लामिछाने पं.हरिकृष्ण सापकोटाका शुभकामनाका शब्दसुमनले स्थान पाएका छन् । यी वरिष्ठ साहित्यकारहरूले यस कृतिको भूरि भूरि प्रशंसा गरेको देखिन्छ र गजलको अध्ययनले पनि यी प्रशंसाका शब्द सुमनलाई पुष्ट्याइँ गरेको पाइन्छ ।

कृतिलाई नियाल्दा– आत्म निवेदनमा गजलकार टीकाले जीवन दर्शनलाई समाउँदै,जीवन सुखदुःखको अनुभूतिको सङ्गालो भन्ने यथार्थलाई ठम्यउँदै, यिनै जीवनभोगाइका अनुभव बाहिर आउने माध्यम हो र जसले मनलाई आनन्दित तुल्याउँदै जीवनलाई सुन्दर बनाउन सामर्थ राख्छ जस्ता शब्दसुमनले साहित्यको परिभाषित गर्दै, तिम्रै पर्खाइममा’ आफ्नै जीवनका तीता मीठा अनुभव –अनुभूतिको सँगालो हो भनेकी छन् । वास्तवमा लेखकले भनेका यी सारगर्भित धारणा नै मानव जीवनमा व्यहोरिने उकाली र ओरालीका सोपान हुन् । गजलकारले भन्छिन् –

आँसुसँगै बिताएका रात कति छन्
मनभित्र दवाएका बात कति छन्
बात कति छन् पृष्ठ –१ गजल १

यस्तै हो जीवन, जीवनमा कहिले आँसुसँग बिताएका रात,हुन्छन् । मन भित्र भएका बातलाई दबाएर राख्नु पर्ने बाध्यता हुन्छन् ।बाहिरी संसारबाट देखिने खुसीसँग हृदयका पानामा भएका आघात देखिदैनन् र मानिसमा असंख्य चाहनाहरू पुरा हुन सक्दैनन् ।

प्रेमप्रणयका भावनाहरू पनि गजलमा सिन्धुधराको लहरसरि, कतै आँसु बनेर, सुखदुःखमासँगै सँगैबाँच्ने मर्ने प्रतिबध्ता जाहेर गरेर, पिरतीका फूल ओइलाएर, जिन्दगीका पानाहरू धुजाधुजा भएर, पिरतीको लहर मान्छे बन्ने मनको रहर प्रेमलाई जीवन्त बनाउनलाई आकाशबाट अमृत खस्ने प्रहर पर्खेर आदि आदिमा, बगिरहेका छन् । सङ्क्षेपमा भन्नुपर्दा अधिकांश गजलहरूले प्रेमलाई समाएका छन् तापनि विविध भाव र विचारले अभिसिञ्चित भएका छन् । यसबाट भन्न सकिन्छकि गजलकारले गजलको यथार्थतालाई बुझ्न सफल देखिन्छिन् । गजलकारले प्रेमसंयोगमा गरिने आनन्दता, प्रेम वियोगमा हुने पीडा बोधलाई सहजरूपमा प्रकट गरेकी छन् ।

हाम्रो त्यो माया –प्रेम जीवन्त बनाउनलाई
आकाशबाट अमृत खस्ने त्यो प्रहर थियो
गजल पिरतीको लहर पृष्ठ ३२,

प्रेम नै जीवनको सार हो । संसार प्रेमकै आधार हो । जहाँ सुखीका मुसकानहरू मुस्कृत हुन्छन् र दर्दमा आँसुका बलिन्धारा दर्किन्छन् । त्यसोहुँदा प्रेम पवित्र हुनु पर्छ अनि प्रेममा आनन्ददायी मार्गको अवलम्वन पनि गर्नु पर्दछ । घरलाई स्वर्गमय बनाउनु पर्दछ । गजलकारले प्रेमका विविध पक्षलाई समायोजन गर्दै गजलमा आफ्न धारणालाई यसरी पस्केकी छन् –

आफ्नै घर जलाउने तातो रोज्नु हुन्न
पीडैपीडा दिने दुःखको पाटो रोज्न हुन्न्
रोज्नु हुन्न, पृष्ठ १२

च्यात्यौ मेरा प्रीत सबै सिलाएर जाऊ
पिरतीकाो हिसाब–किताब मिलाएर जाऊ
च्यात्यौ मेरा प्रीत सबै पृष्ठ ५०

मायासँग रोए’नी हाँस्छ जिन्दगी
काँडैकाँडाले कोपेनि बाँच्छ जिन्दगी
हाँस्छ जिन्दगी पृष्ठ २४

गजलकारका यी प्रेमले सुसज्जित गजलमा प्रेमी जति टाढा हुँदै जान्छ मायाा त्यति गाढा हुँदै जान्छ भन्ने धारणालाई यसरी पस्केको देखिन्छ–

मनभित्र बस्ने माया टाढा भयो आज
सँसै हुँदाभन्दा माया गाढा भयो आज
गाढा भयो आज पृष्ठ १५

गजलकारले गजलमार्फत चोखो प्रेमको अपेक्षा, प्रेममा पाइने धोखा, पीडा,, प्रेममा वन्दना, प्रेममा गरिने त्याग र समर्पण आदि धारणालाई सलल बगाइएको छ ।
गजलसङ्ग्रहमा राष्ट्रप्रेमको धारणा– गजलकारले आफ्ना गजलमा राष्ट्र राष्ट्रियता र राष्ट्रिय पोसाकप्रति उच्च स्थान दिएको पाइन्छन् –

दौरा सुरवाल, ढाका टोपी शिरमा लगाएर
दोहोरीमा कम्मर भाँचेको कति राम्रो
कति राम्रो पृष्ठ ३८

देशको यो माटोलाई पसिनाले सिञ्चिएर
आफ्नै बल पाखुरीमा बाँचेको कति राम्रो
कति राम्रो पृष्ठ ३८

गजलकारका गजलहरूमा राष्ट्र सिङ्गार गर्नको लागि युवाहरू विदेश पलायन नभै स्वदेशमै बस्नु पर्ने, सबै सबैमा मेल मिलाप, सुख शान्ति सम्पन्नताले छाउनु पर्ने धारणाहरू आएका छन् ।

गजलसङ्ग्रहमा प्राकृतिक प्रेम –गजलकार प्रकृतिसँग हाँस्छिन्, नाच्छिन् र आनन्द मनाउँछिन् । यस कृतिभित्र धेरै प्रकृतिसँग जोडिएका गजल पढ्न पाइन्छन् Þ–

फेवातालमा माछापुछ्रे हाँसेको कति राम्रो
हिमाली त्यो वनमा डाँफे नाचेको कति राम्रो
कति राम्रो पृष्ठ ३८

्जात धर्मप्रति गजलकारको धधारणा–आज संसारमा देखिएको जातीय तथा धर्ममा देखिएका विभेदको गजलकारले अन्त्य चाहन्छिन् । उहाँको धारणा प्रष्ट छ –

जात धर्म संसकृतिको सीमा कोर्न हुन्न
बन्धुत्वको मूलमन्त्र अब छोड्नु हुन्न

गजलकारको धारणामा विश्व बन्धुत्वको चाहना छ, धर्ममा जातमा र आफ्नो संस्कृतिमा विशालताको कामना छ । उनी यी चीजलाई एउटा सीमित सीमाभित्र कैद गरेर राख्न हुँदैन भन्ने भावना छ ।

जीवन जगत र गजलकार –गजलकार जीवन जगतसँग पूर्णरूपेण परिचित छन् आत्मनिवेदनमा आफै भनेकी छन् –‘जीवन सुखदुःखको अनुभूतिको सँगालो रहेछ ।’ जीवनाका अनेक खुट्किलाहरू जन्मदादेखि नै थालनी हुन्छन् र मरेपछि मात्र यी भोगाइको अन्त्य हुन्छ । गजलकारका गजलहरू जीवनका उतार चढावसँग आवद्ध देखिन्छन् । आफ्नो संसार आफैले सजाउन सक्यने भने मानव जीवनमा हजार दुःख परे पनि सहन सकिने, पञ्चै बाजा नबजे पनि नाच्न सकिने आफ्नै मनको आँगनमा खुसी फुलिदिँदा नशापान बिना नै जिन्दगी मात्ने भन्दै जीवनसँग प्रेमको अत्यान्त्यै महत्त्व दिएको पाइन्छ –

मायासँग रोए’नि हाँस्छ जिन्दगी
काँडैकाँडाले कोपे’नि बाँच्छ जिन्दगी
पृष्ठ २४

गजलसिद्धान्त र गजल सङ्ग्रह–गजलकारले गजल सिद्धान्तलाई आत्मसात गरेको पाइन्छ । काफिया र रदिफको सुन्दर प्रयोग भएको छ । तखलुस विनाका गजलहरूको बाहुल्यता भएको पाइन्छ । शुभकामना दिंदै बरिष्ठ कवि एव म गजलका गोविन्दराज विनोदीले, ‘गजलका सेरले विविध अर्थलाई बोकेको हुन्छ र त्यो क्षमता टीकाका गजलमा पाइन्छ । यस दृष्टिले उनका गजल सम्प्रेष्य र शक्तिशाली देखिन्छन् (पृष्ठ, छ)भन्नुभएको छ ।

भाषा शैली –टीकादेवीले सरल र सुबोध भाषामा गजलको सिर्जना गर्नुभएको छ । सबैले गजलका भावसारलाई सरलरूपमा बुझ्न सक्दछन् । टीकाजी स्वय म गीत लेखन पनि गर्नुहुन्छ त्यसो हुँदा उनका गजल लयात्मक र गायात्मक पनि छन् ।

शीर्षकीकरण –गजलकारले यस कृतिको नामाकरण ‘तिम्रै पर्खाइमा’ राखेकी छन् । यस शब्दले विविध संकेत दिन्छ । सर्वप्रथम प्रेमप्रणयसँग यसको भावसारलाई मिलाएर हेर्दा एउटा प्रमी/प्रेमिकाले एउटी प्रेमिका/प्रेमिलाई प्रतीक्षारत भएको देखिन्छ । यस भित्रका गजल पनि प्रेमरसले भरिएका छन् । गजलको शाव्दिक अर्थमा प्रेमी प्रेमिकाको वार्तालापको रूपमा लिइएको गजलमा परम्परा लगायत आजको गजलको प्रयोगलाई आत्मसात गरेको हुँदा यस अर्थमा पनि शीर्षक सार्थक देखिन्छ । अर्को अर्थमा देशमा देखिएका द्वन्द्वले आक्रान्त भएका जनताले शान्तिको खोजीमा पर्खिरहेको, राजतन्त्रबाट लोकतनत्रको पर्खाइमा रहेको विविध अर्थमा पनि यस कृतिको शीर्षकको भावलाई विश्लेषण गर्न सकिन्छ । गजलका शेरहरू अध्ययन गर्दा यी सत्य तथ्यहरू पनि प्राप्त गर्न सकिन्छ । त्यसो हुँदा टीकाजीको यो कृतिको शीर्षक सार्थक छ भन्न सकिन्छ ।

अत टीकाजीका गजललाई केलाएर हेर्दा र सङ्क्षिप्तमा भन्नु पर्दा गजल निश्छल छन् । यी गजलले प्रेमका विविध पक्षलाई आत्मसात गरेका छन् । राष्ट्र राष्ट्रियता भावनाले ओतप्रोत देखिन्छन् । जात,धर्म संस्कृति बन्धुत्वमा सीमा कोर्न, नहुने धारणालाई प्रवलरूपमा उठान भएका छन् । प्रथम गजल कृतिमा देखापरेकी टीकाजी सफल गजलकारको रूपमा आँफूलाई उभ्याउन सफल देखिएकी छन् भन्दै समुज्ज्वल भविष्यको लागि कामना गर्दछु ।

धन्यवाद
सदानन्द अभागी
जेष्ठ १४ गते आइतबार,२०७४,
कावासोती न.पा. ७ शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *