Skip to content

बेलडाँगी सम्झना-बिर्सना

  • by


झापा दमकदेखि उत्तरतिरको धुलौटे पिच बाटोमा आधा घन्टाको मोटरसाइकल यात्रापछि एउटा ठाउँ आउँछ, बेलडाँगी शरणार्थी शिविर । टाटीले बारेका एकनासका मसिना छाप्रा लहरै छन् जहाँ हजारौं भुटानी शरणार्थी १६ वर्षदेखि जीवन बिताइरहेका छन् । दमक नगरपालिकाको ५ नम्बर वडा पर्ने बेलडाँगीमा तीन शिविर छन् । यीमध्ये अधिकांश शरणार्थी भुटानी सरकारको भेदभाव र अत्याचार सहन नसकेपछि दक्षिण भुटानको आफ्नो थातथलो छाडेर यहाँ आइपुगेका हुन् । भुटानबाट सन् ‘९० को दशकको सुरुतिर लखेटिएपछि उनीहरू भारतीय सीमा डुवर्स हँुदै पश्चिम बंगालको सिलिगुडी आइपुगे । त्यहाँबाट उनीहरूलाई ट्रकमा हालेर पूर्वी नेपालको सिमाना काँकडभिट्टातर्फ पठाइयो । पूर्वी नाकामा आफ्नो नाम दर्ता गराएर नेपाल पसेका उनीहरू सुरुवाती दिनमा झापाकै माई नदीको किनारमा अस्थायी शिविर बनाई बसे । त्यसको दुई वर्षयता उनीहरूलाई शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग -यूएनएचसीआर) ले बनाएका र व्यवस्थापन गरेका झापाका ६ र मोरङका १ गरी सात शिविरमा राखिएको छ जहाँ हाल १ लाख नेपालीभाषी दक्षिणी भुटानी -ल्होत्साम्पा) शरण लिइरहेका छन् ।

यिनैमध्येका एक ४० वषर्ीय लालबहादुर चौहान आफ्नो ५ जनाको परविारसहित बेलडाँगी-२ स्थित ७९ नम्बर छाप्रोमा बस्छन् । उनको परविारलाई एउटा तीन कोठे छाप्रो दिइएको छ । बाँसका भाटाले बारएिको छाप्रोमा द काठमान्डु पोस्ट लगायतका अखबार टाँसिएको छ, प्वालबाट घाम वा पानी नछिरोस् भनेर । एकातिरको भित्तो भगवान्का फोटाले सजाइएको छ । बिजुली नभएकाले कोठा दिउँसै अध्यारो छ । यो साँघुरो संसारमा अटाएका छन् श्रीमती रुक्मिणा, २० वषर्ीया छोरी हरमिाया, १६ वषर्ीया नीरमाया र ११ वषर्ीय छोरा घनश्याम । हरमिाया दमकस्थित ग्लोबल कलेजमा १२ कक्षामा पढ्छिन्, नीरमाया चाहिँ शिविरकै पञ्चवती माविमा कक्ष्ाा ९ मा । घनश्याम सेक्टर स्कुलमा ४ कक्षाका छात्र हुन् । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको रासनबाहेक पाँच सदस्यीय परविारको पालनपोषण र शिक्षादीक्षाको सम्पूर्ण जिम्मेदारी खिरलिा ज्यानका लालबहादुरको काँधमा छ ।

शरणार्थी जीवनबारे जानकारी नभएकालाई लाग्दो हो, विदेशी दातृ संस्थाको अनुदानका कारण उनीहरूको जीवन ऐसआरामले चलेको छ । तर अनुमानविपरीत उनीहरू अहोरात्र खटिरहेका हुन्छन्, विरानो देशमा । सखारैदेखि सुरु हुन्छ उनको व्यस्त दैनिकी ।

‘पानी थाप्न पाँचै बजे उठ्नुपर्छ’ । छेउका नेपाली छिमेकीका घर-घरमा ट्युबवेल भए पनि शिविरभित्रको घना बस् तीका लागि सीमित छन् धाराहरू । दिउँसै पनि पानी थाप्नेका सानोतिनो बजारै लागेको हुन्छ गौचनको झुप्रो छेउको धारामा । झिसमिसेमै प्लास्टिकको सेतो जर्किन र हलुङ्गेको गाग्रीमा पानी ओसार्छन् उनी । त्यतिन्जेल रुक्मिणा उठिवरी चियाको सुरसार गर्न थाल्छिन् । सात बजेतिर लालबहादुर लाग्छन् कर्मथलोतिर । उनी स्थानीय गोपी काफ् लेका ऊन कारखानामा सुपरभाइजरको काम गर्छन् ।

ऊन कात्नेलाई ऊन दिने, कातिसकेर आएको ऊन दर्ता गर्नेजस्ता काम गर्छन् उनी । ऊन दुई किसिमले कातिँदोरहेछ, कोरुवा र मेसिनबाट । कोरुवाले एक केजी ऊन कातेको एक सय रुपैयाँ पाउँछन् भने फ्याक्ट्री -जसलाई उनीहरू ‘होल’ अर्थात् हल भन्छन्) मा कात्नेलाई पचास रुपैयाँ दिइन्छ । शिविरमा ऊन कात्दैगरेका दृश्य जताततै देख्न पाइन्छ । लालबहादुर खाली हात बस्दैनन् । बेलाबेला ऊन लोड/अनलोड गर्न सघाउँछन् । गोदाममा काम गर्ने तीनजनामात्र छन् । जसले गर्दा धागो बोकेर हल पुर्‍याउने, अलिक टाढा भए साइकलमा लैजाने र कातेको उनको लाछी ल्याउने कामसमेत उनैले गर्नुपर्छ । यी सब कामका लागि उनले मासिक १ हजार ४ सय रुपैयाँ पाउँछन् ।

बिहान एक कप दूधचिया पिएर निस्केका उनी ९-१० बजेतिर खाना खान छाप्रोमा टुप्लुकिनु पर्ने हो । तर उनकै अनुसार ‘कहिलेकाहीँ एक पनि बज्छ ।’ ग्यास्टि्रकका बिरामी उनलाई उनकी आमा बेलामा खाना खान सम्झाइरहन्छिन् । तर लालबहादुर काममा दत्तचित्त भएर लागेका हुन्छन् । बेलुका ५ बजे काम सकिएपछि उनी सेक्टर सी स्थित आफ् नो छाप्रो आइपुग्छन् । असाध्यै भोक लागेको हुन्छ उनलाई । त्यसैले ६ बज्दानबज्दै खाना खाइसक्छन् ।

‘बेलैमा खानुपर्‍यो नि बत्ती हँुदैन,’ उनी भन्छन् । उनकी जेठी छोरी हरमिाया ढोकाबाट चिहाएर हेर्छिन् । आफूले पढ्न नपाएकाले हुनुपर्छ, लालबहादुर छोराछोरीको पढाइप्रति चिन्तित छन् । भन्छन्, ‘महिनामा एक लिटर मटितेल दिन्छ । केटाकेटीलाई पढ्नै पुग्दैन ।’

लालटिनको मधुरो उज्यालोमा उनका छोराछोरी स्कुलका किताब झिकेर घोत्लिन थाल्छन् । उनी भने अँध्यारोमा आफ् नो अनिश्चित भविष्यबारे सोच्छन् ।

शरणार्थीलाई दातृसंस्थाले दिने रासनले मितव्ययी बन्न सिकाएको छ । थोरैमा बाँच्न अभ्यस्त भइसकेका छन् उनीहरू ।

‘पन्ध्र दिनको चामलले हप्तादिनमात्र पुग्छ,’ उनी भन्छन् । दसैंतिहारजस्ता चाडबाडचाहिँ उनलाई नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।

‘देखेपछि खान मन लाग्छ,’ उनी सुनाउँछन्, ‘तर किन्ने अवस्था हँुदैन ।’ त्यतिखेर उनी घरीघरी दक्षिण भुटानको आफ्नो खेतबारी सम्झन्छन् । त्यहाँका फलफूल र सागसब्जी, दही-मोहीले पोसिएको तन्नेरी अवस्था । त्यहाँ मनग्गे हुने अनाज र गाउँको शान्त र ढिलो बित्ने समय । तर कष्टकर नै सही, शिविरको जीवनले उनलाई नयाँ अनुभव पनि दिएको छ । जस्तै दुर्दिन आए पनि आशाको दियो बालिराख्न सिकाएको छ । ३/४ वर्ष उनले रासन बाँड्न सघाए । रेडक्रसको कार्यालयमा डेढ वर्षसम्म गार्डको कामसमेत गरे । उता भुटानको दागानामै भएको भए कुटोकोदालोमै उमेर घर्किन्थ्यो । अधिकांश शरणार्थी अहिले तेस्रो देश पुनःस्थापना अन्तर्गत अमेरकिा, क्यानडा, अस्ट्रेलियालगायतका देश जाँदैछन् । कहिल्यै जहाज नचढेका र टाढामा विराटनगरसम्ममात्र पुगेका उनी पनि अधबैंसे उमेरमा केही महिनापछि पश्चिमी मुलुकको बाटो नाप्नेछन्, बेलडाँगीका सम्झनाबिर्सना मनभर िसंगालेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *