परिचय–
कपन बानेश्वर साहित्यिक सप्ताहिकको २०७४ श्रावण ७ गतेका दिन सञ्चालित साहित्यिक कार्यक्रममा एक जान उच्च कद, आकर्षक व्यक्तित्त्वले यी दुइवटा मेरा कृतिमा “तीनजुरेदेखि अनारखोलीसम्म”समालोचनाको लागि हो भन्दै हतार हतारमा प्रदान गर्नुभयो र उहाँ हतारमै बाहिरिनु पनि भयो । तत्क्षणत मैले उहाँलाई चिन्न सकिन तर उहाँका कृति “तीनजुरेदेखि अनारखोलीसम्म” र “आमा मेरी आमा (सम्झनाका केही विम्बहरू)”का आवरण पृष्ठबाटै मलाई याद आयो, उहाँ कृषिमन्त्रालयमा उपसचिव हुँदा मलाई बरिष्ठ माटो विज्ञको बढुवाको पत्र थमाउनु भएको थियो । एकातिर मलाई उहाँसँग भेटहुन पाएकोमा अत्यान्त खुसी पनि लाग्यो तर परिचय नविकरण गर्न नपाएकोमा निकै निरुत्साही पनि भएँ । उहाँको ‘तीनजुरेदेखि अनारखोलीसम्म’अनुभव कथा संगालो अहिले मैले अध्ययन गर्दै छु र मलाई लागेका केही बुँदाहरू यहाँ पस्कने अनुमति चाहन्छु ।
कार्कीजीको जन्म २००१ साल वैशाख १० गते तेह्रथुम म्याङ्गलुङ्ग नगरपालिका –८(आम्बुङ २ भोटेछाप) तेह्रथुममा स्व.माता नारायणीदेवी कार्की तथा स्व.पिता भिमबहादुर कार्कीका जेष्ठ सुपुत्रकारूपमा भएको थियो । उहाँले त्रिभुन विश्वविद्यालयबाट नेपालीमा एम.ए. र वि.एल. गर्नुभएको छ । उहाँको सकृय जीवन सरकारी सेवामा बिते तापनि कार्कीजी अँझै साहित्यिक, सामाजिक, र धार्मिक क्षेत्रमा सकृयताको साथमा लाग्नुभएको छ । उहाँका ‘तीनजुरेदेखि अनारखोलीसम्म”र “आमा मेरी आमा (सम्झनाका केही विम्बहरू)”नामका अमूल्य कृतिहरू बजारमा आइसकेका छन् भने विभिन्न पत्रपत्रिका र जर्नलहरूमा रचनाहरू प्रकाशित हुँदै आएका छन् । मैले जहाँसम्म उहाँसँग समिपमा रहें, उहाँ एक परोपकारी, जनसेवी, कर्मठ, राष्ट्रसेवी, इमान्दार, यथार्थवादी तथा यथार्थमूलक, एक सादाजीवन र उच्च व्यक्तित्वको साथमा, आफूलाई परिचित बनाउने व्यक्तिको रूपमा पाएँ ।
कृतिको संरचना – तीनजुरै (अनुभव कथा संगालो) भीम–नारायणी कार्की स्मृति प्रतिष्ठान काठमाण्डौ र भीमबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठान, काभ्रेबाट संयुक्तरूपमा प्रकाशनमा आएको छ । यो कथासंग्रहमा (क) तीनजुरेको आसपास (२९), (ख)अनारखोली वरिपरि (८), (ग) राजधानी छेउछाउ (२८) र (ग) तराई मधेशतिर (४) गरी जम्म ६९ कथाहरू यस समावेस गरिएका छन् । सत्यमोहन जोशी, परशु प्रधान, प्रा. डा. खेम कोइराला बन्धु्र, प्रा.डा खगेन्द्रप्रसाद लुइटेल, प्रा.डा. कृष्णप्रसाद दाहाल, पा्र.डा.सावित्री कक्षपति र स्वयम कथाकारले यस कथा संगालोप्रति शुभकामना र भूमिका मार्फत गहन धारणाहरू राखेका छन् । प्रकाशक लक्ष्मीदेवी कार्की र अशोक श्रेष्ठको साथै चित्र कलाकार अरुणा हिङमाङको परिचय पनि दिइएको छ । मूल्य रु ३००, भारु २०० संस्थागत रु ५०० युएस डलर ५ राखिएको छ । अमर शहीद नेत्रप्रसाद गुरागाइँमा श्रद्धापूर्वक समर्पण गरिएको छ ।
कथाकार र कथा संगालो प्रति साहित्यकारको अभिव्यक्ति–
सत्यमोहन जोशीले चन्द्र श्रीकार्कीलाई राष्ट्रवादी लेखक र उहाँका कृतिलाई अनुपम कृति भनेर विश्लेषण गर्नुभएको छ । परशु प्रधानले, “यी कथाहरूले ‘अनुभव, कथा संगालो’को यौटा नयाँ प्रयोग सुरुभएको छ”भन्ने ठान्नुहुन्छ । ‘स्वच्छन्द होइन, न अराजक, बरु हो स्वतन्त्रतापूर्ण यात्रा चन्द्रश्रीको’ शीर्षकमा २४ पृष्ठ लामो चन्द्रश्रीको जीवनी, कृतित्व, व्यक्तित्व आदिको बारेमा प्रष्ट्याउने गरी लेखिएको आलेख (जस्ले चन्द्र श्रीकार्कीको बारेमा जान्न चाहन्छो पढ्नै पर्ने)मा प्रा। डा.खेम कोइराला बन्धु लैख्नुहुन्छ –”उपर्युक्त दृष्टिमा चन्द्रश्रीको अध्येता व्यक्तित्वलाई हामी यस आलेखमा पूर्ण छर्लङ्ग्याउन सक्दैनौ उनको कर्ममय जीवन निष्काम यात्रा मूलत अध्यात्मिक आत्मिक जीवन प्रवाह परमपरागत रूपमा उल्लेख्य छ”। प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले यस कृतिमा सङ्कलित रचनाहरूलाइर्, “मूलतः समाजिक यथार्थवादी खालका छन्’भन्नुहुन्छ । प्रा.डा. कृष्णप्रसाद दाहाल भन्नुहुन्छ – “गरिबी, अशिक्षा, पछौटेपनबाट आक्रान्त भएका नेपालीप्रति गहिरो आस्था र संवेदना व्यक्त गर्नु उनको लेखकीय वैशिष्ट्य हो “। प्रा.डा. सावित्री कक्षपति लेख्नुहुन्छ – “…. नेपाली कथाले आधुनिक कालमा प्रवेश गरेपछि देखिएको सामाजिक यथार्थवाद र मनोवैज्ञानिक यथार्थवादी धाराको लेखनलाई निरन्तरता दिएको पाइन्छ । कथाको प्रवृत्तिलाई हेर्दा ती सामाजिक यथार्थवादी चिन्तनमा आधारित देखिन्छन् “। यसमा कथाकारले “मेरो पनि केही भन्नु छ’ भन्दै आफ्नो जीवन र आफूले गरेका विविध कामलाई समेट्ने प्रयास गर्नुभएको छ । यसमा उहाँको साहित्य लेखनको बारेमा लेखेको एक हरफ’यहाँ पेश गर्ने अनुमती चाहन्छु –”मेरो साहित्यिक लेखन पन्ध्रवर्षको किशोर अवस्थामा पहिलो रचना कथाबाट सुरु भएको थियो”।
कृतिभित्र प्रवेश गर्दा –
यस कृतिको पहिलो कथा ‘पृथ्वीको स्वर्ग तीनजुरेहो । ‘स्वर्गकी परी पृथ्वीमा झरी’ भन्दै तीनजुरेको महत्त्वलाई कथाकारले उच्चाइका साथ उठाउनु भएको छ । यसमा आफ्ना जीवन घटनालाई, आफ्ना पुर्खाले भोगमा ल्याएका कुराहरूलाई समेट्दै तीनजुरेको मुख्य रेञ्ज तेह्रथुम, संखुवासभा र ताप्लेजुङ शीर्ष भागमा रहेको छ भने । तीनजुरेको चुली चाहिं तेह्रथुमको लालीगुराँस(वसन्तपुर) नगरपालिका र म्याङलुङ नगरपालिकाको शीर्ष भागमा अवस्थित छ र नाक जस्तो भूबनोट छ ।एउटा जुरो लामो र दुईवटा जुरा छोटा छन् । यो लामो लेखमा कथाकारले बालकाल तीनजुरेको आसपास बिताएको, कोर्काबाट आगोमा परी यहींको जडीबटीबाट उपचार भएको यहाँको प्राकृतिक सुन्दरता, खर्कहरूको बिवरण, खर्कमा गाई भैसी पालन, पानीको प्रमुख स्रोत, लालीगुराँसको सङ्ग्राहलय, अमूल्य जडीबुटीको खानी, वन्यजन्तुबाट समृद्ध, , चराचुरुङ्गीको सङ्गीतमय स्वर, वसन्त ऋतुमा कीटपतङ्गको नृत्य्, घाँसे मैदान, ह्यात्रुङ्गे झरना, वनझाँक्रीको सातवर्षे बालकलाई साथमा लगी दक्षपार्ने काम, महाभारत कालीन भीमसेनले यहाँ व्यतित गरेको जनविश्वास, , यहाँबाट काठमाडौको धरहरा लगायत नेपालका मात्र नभएर भारतका विभिन्न स्थानहरू हेर्न सकिने, लिम्बू र हिन्दूहरूको धार्मिक आस्थाको केन्द्र, पर्यटनको सम्भाव्यता रहेको भन्दै यस कथामा कथाकारले मन फुकाएर वर्णन गरेका छन् । कहिले आउला–मार्मिक कथा, ऋण तिर्न नसकी साहुले घरबाट निकालेको परिवारको छोरासँग साहुका छोराले कहिले आउनेभन्दा साथीले जवाफ दिन्छ–”कहिले कहिले ! जहिले यो देशमा हामी जस्ता गरिब दुःखीका दिन आउला काजी”। मनको धोको–मुखियाबाले चखेवा चखेवी दोहोरी गीतका जोडियालाई अलग्याइ दिएका र बीस वर्ष पछि दुवैको बीचको बार्तामा दुवैको मनको धोको पसिना बगाउने र दीर्घायु हुने पुरा भएको छ । भातृप्रेम–सम्पत्ति हडप्ने नाममा एकजना पढेलेखेका (हाकिम भैसकेका)दाजु र भाइ मिलेर एउटा भाइलाई जग्गा विहीन बनाएकोमा व्यङ्ग वाण हानिएको छ । भ्रष्टचार –यस कथामा उच्च अधिकारीले नमिल्ने कामलाई मिलाएर ल्याउने सुझावलाई तल्लो तहका कर्मचारीले मिलाउन नसेकोले जालझेल गरी भ्रष्टचार गरेको भनी जागिरबाट निकालेको धारणा आएको छ । अर्की द्रौपदी– जेठाजुले बुहारीको यौन शोषण गरेकोले बुहारीले “आज फेरि अर्की द्रौपदी बनाइएकी छु “भन्ने धारणा राखेकी छन् । आजका श्रवणकुमार– छोरा र बुहारीले बिमारी बाबुलाई औषधी उपचार गर्नको सट्टा विदेश जाने ससुरालाई बिदाइ गर्न गएको धारणा आएको छ । समानता– भाषणमा जात जात बीचको विभेदको अन्त, नारी पुरुष बीचमा समानताहुनु पर्छ भन्ने तर व्यवहारमा सामन्ती पनको कारणाले गर्दा जिल्लाकै प्रतिष्ठित नेता अनि समाजसेवीले आफ्नै भतिजीलाई बलात्कृत गरेको कारणाले भतिजीले आत्महत्या गरेको धारणा आएको छ । घर सल्लाह –आमाले पोहोर साल बाबुको बर्खीभित्र चाडबाड मनाउन नसकेको र यस वर्ष तीजमा बहिनी र भान्जा भान्जीलाई कुशे औंशीमा ल्याउन पर्ने धारणा राख्दा बुहारी माइत जान पर्ने र आमाले बुहारीको समस्यालाई बुझिदिनु पर्ने भनेपछि यो वर्ष पनि बर्खी बार्ने बारेबहिनीलाई खबर पठाउने भन्ने धारणा आमाबाट आएको छ ।मित्रताको गाँठो –मित दाजुहरू र मितिनी बहिनीहरूको बीचको यौन तृप्तिको क्रियाकलापहरू (रासलीलाहरू)मा कस्तो मित्रताको गाँठो मान्ने धारणा आएको छ । अरुणपारे फुपू– आइतीलाई भक्तेले विवाह गर्ने भनी मदिरा खुवाएर यौनतृप्ति लिएर भाग्नु आइती गर्भवती हुनु, लाहुरेसँग विवाह हुनु र छोरा जन्मनु, लगातार तीन छोराको जन्म दिए पछि लाहुरे भारत –पाक युद्धमा मारिनु शहीदको छोरो भनेर जेठो छोरोले सेनामा जागिर पाउनु र ऊ पनि मारिनु, यो वेदनाले गर्दा पति र छोराको पेन्सन खान नपाउँदै पागल बन्नु जस्ता धारणा आएको छ । हाङ्मारानी –लिम्बु भाषामा पुरानो परम्परा अनुकुल धामी, झाँक्री, र औषत्री उपचार गर्ने मानिसलाई हाङ्मारानी भन्ने चलन थियो र विश्वास पनि गरिन्थ्यो । नाङ्गे सुब्बा –यो कथामा नाङ्गे सुब्बा र लेखक बीचको अन्तरक्रियामा धेरै चिज समेट्दै मीठो प्रस्तुति छ तापनि यस्ले लिम्बु संस्कृतिमा विवरणात्मक प्रस्तुति गरेको छ । विधवालाई सम्मान, हरेक चाडपर्वमा जाँड रक्सी अनिवार्य, इमानदारिता, धान नाच कुटुम्ब बीचमात्र नाचिने, , लिम्बु प्रकृतिका पूजारी, नारीको उच्च सम्मान, विवाहमा मागी, चोरी, मिलिमतो र जारीविवाह प्रयोगमा रहेको र मागी र मिलिजुली विवाहमा कुनै झन्झट नहुने अरू विवाहमा केटीको मञ्जुरी विना भए उग्ररूप लिने, ख्याल, ख्यालमा चारअङ्गुलको उखानले अरुजात सावधान रहने, धरानका बुढासुब्बा लिम्बू जातिका आदि पुरुष श्रीजङ्गा जो साक्षत् शिवका रूप हुनाले यिनको पूजामा बली दिइदैन तर वनदेवी( सिहकाली देवी)लाई भने बली दिइने, जन्मले सबै लिम्बू सुब्बा, १५/२० गाउँको सुब्बालाई आगे सुब्बा भनिने, सुब्बाहरूको सुब्बालाई या सरकारी जागिर खाएकोलाई डबल सुब्बा भनिने आदि थुप्रै लिम्बू, परम्परा र संस्कृतिको जानकारी कथाले दिएको छ । कुखुरे बैंस हिजो –सानो उमेरमै पनि यौन तृप्ति गर्न चाहनेले वनमा, नदीमा बाबु आमालाई धोका दिंदै आफ्नो कुखुरे बैंसलाई तर लगाउँछन् । प्रस्तुति अति शृङ्गारिक छ । कुखुरे बैंस आज –कुखुरे बैंसले उन्मुक्त केटा केटीले आमा बाबुलाई छक्क्याउँदै दिवा साँझ कसैको ख्याल नराखी यौनतृप्ति गरेको धारणा आएको छ । ठूलाबडा –१ – पढेलेखेका छोरा मध्ये जेठो छोराले साथीसँग सर्भेन्ट(नोकर) भनेर बाबुको परिचय साथीलाई दिन नचाहेको र कान्छो छोराले आफ्नो बाबु भनेर साथी भाइ शिक्षकलाई जानकारी गराउँदा शिक्षकले, ‘तपाईंको छोरा राम्रो छ र ठूलो मान्छे बन्छ’भन्दा बाबुले ‘असल मानिस भए पुग्छ’ भन्ने धारणा आएको छ ।ठूलाबडा–२ –पुरानो स्वेटर र लुङ्गी लगाएर बारीमा काम गर्दै गरेको बाबुलाई आफ्ना धनाड्य सहकर्मीहरूको अगाडि ढोग गर्न शर्म मानेको संका गर्दै बाबुलाई सहकर्मी गए पछि ढोग दिएको छोराबाट अपमान गरेको धारणा आएको छ । झुलीको तिलहरी –घरमा काम गर्न राखिएकी १२ वर्षे बालिकालाई घरमूलिले बलत्कार गरी गर्भवती बनाए पछि त्यही घरमा काम गर्ने जेठालाई विवाह गर्न लगाएको र दुलहीलाई तिलहरी लगाएकोमा झुलीलाई रिस उठेको धारणा । तेल लगाउँदै – अबोध बालिकाहरूलाई तेल लगाउने, भिक्स लगाउने, टाउकको थिच्ने, जुम्रा मार्न लगाउने वाहनामा यौन शोषण गर्न लगाइने एक जना बालिकाले त्यस्तै काममा सरिकसँग दाम्पत्य जीवन जोडेर, यस्ता कुकर्मबाट अबोध बालबालिका बचाउने अभियान सञ्चालन गरेर आफू र आफ्नो पतिलाई उच्चाइमा पुर्याउन सफल भएको ज्ञान बर्धक कथा हो यो । इमानदारी –इमानदारी हुँ भन्नेबाटै इमानदारीताको पालना नभएको धारणा । प्रिया ! यो के गर्यौ– काठमाडौमा छोराछोरी पढाउन भनी छोरा छोरी र पत्नीलाई छाडी विदेश गएका पतिकी पत्नीले अर्को प्रेमी बनाएको खबर प्राप्त गरेपछि विदेशिएको पतिको मनोदशाबाट निस्केको आवाज हो यो । खुलिएको प्रेमगाथा – इजरायल गएकी महिलाको पति र जापानमा गैरकानूनी तरिकाबाट काम गर्नेकी पत्नी बीचको वैवाहिक सम्बन्ध गाँसिएको धारणा आएको छ । आमा मारुनी छोरी तरुनी –शीर्षक भए पनि आमा बाबु र छोरी तीनै जना यौन मस्तिमा लिप्त भएकोले यसलाई कृतिकारले यौन विकृतिको रूपमा आमा मारुनी, बाबु मादले, छोरी तरुनी भन्ने् निष्कर्ष निकालेका छन् । पु–लत्कार –एक जना समाज सेवी, विकास प्रेमी, कथाकार, जस्लाई पुरस्कृत गर्नु पर्ने होलाई गन्यमान्य जनको गुण दोष सहितको स्मारिका निकाल्दा परिवार खलक कटाक्ष गरियो भनी विवाद निकालिएको र अपमानित गर्न लागिएकोले व्यक्तित्व माथि बलत्कार भएकोले पु(पुरस्कार) र बलत्कारको लत्कार भन्न खोजेको धारणा आएहको छ । पुतली– यसमा पनि विदेश गएका पतिकी श्रीमतीले यौनको मजा अर्को मानिससँग लिएको धारणा आएको छ । हाम्रागाउँको जङ्गबहादुर–गाउँको वेलायत सैनिकमा गएको लाहुरेले घर आए पछि शिकार खेल्ने स्कुल खोल्ने केटाकेटीलाई मिठाइ बाड्ने, गाउँलेलाई निसुक्ल मनोरञ्जन गराउने आदि उन्ले गरेका राम्रा कामले गर्दा हाम्र गाउँका जङगबहादुर जयहोस् अमर रहुन भन्न मन लाग्ने धारणा पस्किएको छ । वैदेशिक सहायता –वैदेशिक सहायताको दुरुपयोग को साथै दाहिने हातले दिने, देब्रेहातले फिर्ता लिने चलन भएको उदाहरण सहित प्रष्ट्याइएको छ । अच्छा ग्रहक –रक्सीको ठेक्का लिने ठेकेदारकोमा रक्सी किन्ने थरिथरिका ग्राहकमा ब्राह्मण र क्षेत्री अच्छा ग्रहकमा पर्ने धारणा आएको छ । पेन्सनमा आइस क्यारे –लाहुरे र नेतालाई तुलना गरिएको छ ।। भोटमागेर जितेपछि गाउँका जनता नसम्झने जस्तै लाहुरेले पनि आफन्तलाई विर्सने धारणा आएको छ ।
तीनजुरे आसपासका घटनाक्रमलाई लिएर लेखिएका २९ वटा कथाको भावसार पछि अनारखोली वरिपरितिर लाग्ने अनुमति चाहन्छु । यस उपशीर्षकमा आठवटा कथा समावेस गरिएका छन् ।
प्रसव वेदना –मार्मिक घटना सुत्केरी हुने महिलालाई गोठमा लगेर राखिने उनले आफ्नो सुत्केरी हुँदाको कसैले नछुने र सबै काम आफै गर्नुपर्ने, यस अवस्थामा टाउको निकालेर मरणासन अवस्थामा पुगेकी महिलालाई विदेशी महिलाले सहयोग गरी डडेलधुरा अस्पताल पुर्याएर बचाएको घटना प्रस्तुत गरिएको छ । भाँडभैलो –दुराचारी लम्पट कामुक चन्दराजाले एउटी ब्राह्मण कन्यालाई भोग गर्न खोज्दा ती युवती छुइ भएकाो भनेर प्रथम पटक जोगिएको र दोस्रो पटक सतित्व जोगाउन भैसाको मासुखाएको भनेपछि पनि राँगो काटेर खान बाध्य पार्दा ती कन्याले रगतको टीकालगाएर मष्टोलाई स्मरण गर्दै राजाको कूलमा अनिष्ट होस् र यस्ता कुललाई त्याग गरी चेलीको रक्षा गर भनी श्राप दिएको साथै यी महिलाबाट जन्मेको सन्तानलाई सबैभन्दा तल्लो जातको भाँड भनिएको थियो । यस श्रापबाट मुक्ति प्राप्त गर्न उदयदेव भन्ने राजाले देवीलाई खुसी तुल्याएर देवीले भदौ १ गते भाँडहरूले चन्द वंशका हरेक घर मूलिलाई गालीगलौज गर्न पाउने देवीले नियम बसाल्न भने बमोजिम चन्दका घर मुलिलाई गालीगलौज बेइज्जत गरिने परम्परालाई भाँडभैलो भनिएको धारणा आएको छ । पुत्र वियोग– यो कथापनि बैतडीकै सुत्केरी भएकी महिलाको पुत्र मरेको र उक्त महिलाले नै खाडलमा राखी मट्टी दिइएको यथार्थतामा आधारित मार्मिक कथा हो । कठै कमला –कमला देउकी पुत्री हरेक क्षत्रमा सफलता हाँसिल गर्दै आएकीलाई देउकी पूत्रीको पहिलो शील तोडने भनेर बलत्कार गरी मारेको घटनामा आधारित कथाहो यो ।
लक्ष–प्रगति –राजाको सुदूर पश्चिममा सवारी हुँदा राजालाई राम्रो काम भएको जानकारी गराउन काम नभए पनि गरिने प्रगतिको घटनामा आधारित कथा हो यो । विकासे खेती–जिल्ला कृषि विकास कार्यालयले प्याज भनी वितरण गरिएको बीउले प्याज नफलेर किसानलाई क्षतिपूर्ति दिनपरेको घटनामा कति राम्रो विकासे खेती भनी व्यङ्ग्य कसिएको छ । इन्साफ ! कहाँ छौ तिमी– आमाछोरी बलत्कार गरेकालाई जिल्ला अदालतले कैद सजाएँ र हर्जना तिर्ने गरी जेलचलान गरका अपराधीलाई पुनरावेदनले छुटकारा पाए पछि पीडितले इन्साफ कहाँ छौ भनी प्रश्न राखेकी छन् । परेका डाक्टर –कञ्चनपुरको जैदी नदी किनारका साउदका घरमा डाकाहरूले आक्रमण गर्दा प्रतिकारमा उत्रेका साउदको क्षातीमा बञ्चाराले हानेको घाउलाई जिल्ला प्रमुखले कपासलाई टिन्चर बेन्जेन भिजाइ कोच्दै झुना कपडाले टाइटगरेर बाँधेर रगत बग्नबाट बचाएर लखनउ अस्पतालमा पुर्याउँदा त्यहा्ँका डाक्टर चकित परेको धारणा सहित घटनामा परेका जिल्ला प्रमुखको कामको प्रशंसागर्दै लेखिएको कथा हो यो । आमा हतार छ – मोटरसाइकलमा विरामी आमालाई पुर्याउन हतार भएको तर पत्नीलाई व्युटीपार्लरमा पुर्याइएको धारणाआएको् छ । भँवराको रुवाइ –यो कथामा यौवनमा अनेकौं युवतीलाई यौन मस्ती लिएका कि श्रीमतीको मृत्युको बार्षिक पुण्यतिथिमा आमन्त्रण गरिएकोमा कथाकारलाई युवा अवस्थामा अनेकौ युवतीलाई दिएको धोकाको परिणती हैन र भन्ने धारणा आएको छ । कम्बाइण्ड स्टडी– बाबु घर नभएको अवस्थामा कम्बाइण्ड स्टडी गर्न साथीको घर जाने बहाना गरी होटेलमा यौनमस्ती लिएको र बाबु सोही होटेलमा कार्यक्रममा सहभागी भएकोले जानकारी पाइ आमासँग छोरीको बारे जानकारी गराए पछि आमाले छोरीलाई भविक्ष्यमा यस्तो गल्ती कहिल्यै नगर्ने बाचा बधाएको धारणा आएको छ । धर्म– कर्म – छोरा र बुहारीको धार्मिक लम्पटपारा देखी दिक्क मान्दै बाबुले –’कर्म वेगर धर्म हुँदैन भनेको र आमाले –’भँडार खनेर आँगन पुर्दा धर्म हुँदैन … सोह्र वर्ष ्उमेर पुगेपछि आफ्नो हरेक गाँसमा आफ्नै पसिनाको सुवास हुनु पर्छ’, भन्ने धारणा राख्दा छोरा बुहारीले एक कानले सुनेर अर्को कानले उडाएको धारण्ण आएको छ । बालहित पुरस्कार – एउटा होटेल मालिकलाई एन.जिओ को हाकिमले शान्ति अनाथ बाल विकास केन्द्रको साइनबोर्ड टाँस्न लगाइ, होटेल मालिकलाई अध्यक्ष र अरु नातेदारलाई सदस्य बनाई भाँडा माझ्ने बालकलाई अनाथ भनी स्कुलमा भर्ना गरेको बहाना बनाई एको र होटेलबाट भागेका बालकलाई केन्द्रको बालमन्दिरमा पुर्याइएको जस्ता कर्म गर्दै जाँदा साली समाज कल्याण तथा बालबालिका मन्त्री आफ्नै साली भए पछि राष्ट्रिय पुरस्कार प्राप् भएको धारणा आएको । मिलापत्र–सांसकृतिक कार्यक्रम गर्दै हिडदा एक जोडीको यौन सम्पर्क भै गर्भवती भएकी र केटाले केटी नस्वीकार्ने भनेपछि प्रहरीमा उजुरी भएको र जिल्ला प्रमुखले एकरातसँगै राखिदिने भनेपछि भोलि पल्ट राजनीतिको कारणले यो विवाद भएको अब मिलापत्र भयो र धमिलो पानीमा माछा मार्ने समयसम्म राजनीतिमा नलाग्ने भन्दै कथा समाप्त भएको छ । सुनकेशरी मैया –एक र दुई– यी दुई कथामा एक जना कर्मचारी एक क्याम्पसकी छात्राको नितम्ब छुने लामो केशरासी देखेर लोभिन्छ अनि पछि पछि लाग्छ ।दुबैको सम्पर्क पनि बढ्छ । एक दिन सुनकेशरी मैयाले जयनेपालमा ‘जब प्यार सिसि से होता है’ मेटनी सो हेर्न जाने आग्रह गर्दा घरबाट बालबच्चा र श्रीमती आएकोले समय दिन नसक्ने भनेपछि ती छात्राले वेइमान र धोकेबाज भन्दै दुवैको सम्बन्ध टुट्छ । ४० वर्ष पछि उनको विवाह पार्टीमा भेट हुन्छ तर कपाल काटेको अवस्थामा । त्यो पार्टीमा अर्की सुनकेशरी देखिन्छिन् । ती तिनै पूर्व सुनकेशरीकी छोरी हुन्छिन् । सुनकेशरी मैयाको केशरासीसँग रमाउँदै हेर्दै कथाको समाप्ति हुन्छ । पानीको फोका – आदरता र प्राथमिकता को खोजी गरिएको यो कथामा जागिरबाट निस्केपछि महत्वपूर्ण मानिसबाट भेरी अर्डिनरी पर्सन भइएकोले पानीको फोका जस्तै भी.आ.इपी. र भी. ओ. पी को सम्बन्ध भन्दै कथा समाप्त हुन्छ । यस्ता पनि सहिहद – शहीदको अवमूल्याङ्कनप्रति व्यङ्ग कसिएको यस कथामा हाडनातामा यौन सम्पर्क गरी गर्भिणी भएकी महिलालाई मारेर शहीद घोषणा गराइएको छ । अब त फर्कने गाउँतिरै – नाकाबन्दीको पीडाको कारणाले गर्दा काठमाडौका फुटपाथे व्यवसायीहरू गाउँ फर्केको धारणा । प्रवचन–पदको अहङ्कारको अनुभूति भएका जागिरबाट निस्केका हाकिमलाई कस्ले टेरपुच्छर लगाउँछ भन्दै आजको प्रवचनको इतिश्री हुन्छ । मितव्ययिता – सरकारी स्रोत र साधनको मितव्यायिता भन्दै सरकारी उच्च पदाधिकारीबाटै दुरुपयोग भएको धारणा । सेवाभाव– श्रीमान श्रीमती बीचमा शङ्काको कारणले झगडा भएको र श्रीमान नभएको अवस्थामा श्रीमतीले विष सेवन गरेको र एउटा युवकले अस्पताल र पुर्याएर बचाई श्रीमानलाई आपसी सम्बन्ध विश्वासमा हुनु पर्ने भन्दै कथाको इतिश्री भएको छ । पु–लत्कार–एउटी युवतीले एउटा बुढालाई यौन सम्पर्कको लागि बाध्य पार्दा पार्दै दाजु आएकोले यौन सम्पर्क हुन नसकेको र बिस्तरामा बुढोले पुरुषले महिला माथि गरेको व्यवहार बलत्कार हुन्छ भने महिलाले पुरुष माथि गरेको व्यवहार के पु–लत्कार हुन्छ भन्दै कथाको इतिश्री हुन्छ । अनुग्रह– श्रीमतीको उपचार गराउँदा गराउँदै स्वदेशमा उपचार हुने नभएकोले विदेशमा लानु पर्ने भएको । छोराहरूलाई सुनाउँदा छोराहरूले चासो नलिएको र आफ्नो नामको सम्पत्ति छोराहरूको अनुग्रहले वैंकमा धरौटी शेषपछिको बकस दिएकोले श्रीमतीको उपचार गराउन नसकेको धारणा आएको छ । रोसी वारि रोसी पारी– रोसी वारि रोसी पारिमा कथाकार भूमिसुधारको काममा यहाँ गएको र थारो (धन नभएको) लैनो (धनमाल भएको) को संकेत गर्दै लुटपाटका कुरा, दुर्गम भएकाले कथाकार माम्तीमा बसेर रोसी बारी रोसी पारी काम गर्ने, डोल्मा र म्हेन्दो दुई बहिनीसँगको बार्तालाप, डोल्मासँग कथाकार नजिक भए पनि चोखो सम्बन्ध, यी दुवै युवतीलाई जमदारले लगेको र डोल्माका छोरा छोरी भएपछि कथाकारसँग भेट भएकोर उनको घरमा लगेको खाजाखाँदा पहिला भेटमा जस्तै व्यवहार गरेको धारणा आएको छ । सेवामुखी – वनेपाको रवि ओपीमा भुइँचालेको करणले क्षती पुर्याएको गाउँमा कसैको ध्यान नगएको र साइरामले यसलाई सबैको जानकारीमा ल्याएर जनताले राहत पाएको तर कसैले कामै नगरी आफूले काम गरेको देखाउन खोजेको धारणा आएको छ । प्रणय प्रस्ताव – यस कथामा एउटा हाकिम मादीको किनारै किनार घोडा चढेर उत्तरतिर बढ्दा एउटी माझी पुत्रीसँग भेट हुनु, माझीपुत्रीले आगो उपलब्ध गराएर रुखमा चढ्नु, रुखबाट नदीमा हाम फाल्नु हाकिम अत्तालिनु यती वेला उनका सहयोगी आएर माझी पुत्रीको यो क्रियाकलाप प्रणय प्रस्ताव हो भन्ने जानकारी गराएको धारणा आएको छ । सापनाथ नागनाथ – नेपालमा सरकार परिवर्तन हुन्ँदा प्रयोगमा आउने शब्दावली हो । सरकारमा सापनाथ र नागनाथ जो आए पनि जनतालाई डस्ने नै हुन् भन्ने धारणा आएको छ । बाँचिएको छ र नाचिएको छ – कथाकार तनहुँ जिललाको भूमिसुधार अधिकारी भएको वेलामा तनहुँको भूमिसुधारको क्रियाकलापको अनुगमन अवस्थामा उनको स्वागतार्थ मगर जातिको कौडा नाच, गुरुङ जातिको रोदी नाच, ब्राह्मण क्षेत्रीको वादन भजनबाट निकै प्रभावित भएको धारणा आएको छ । हुस्सु दण्ड – यस कथामा क्यान्सर भएको बिमारीलाई अपरेशन गरेर सफल भएको तीन दिनमा क्यान्सरको कारणबाट मरेको विमारी को पक्ष र पुलिस प्रशासनले पन्ध्रलाख बुझाएको धारणा आएको छ । जम्काभेट –भ्यालेन्टनयन डेमा बाबु, छोराछोरी र आमा घरबाट अलग अलग निस्के पनि एउटै होटेलमा पुगेका रसानदार भ्यालेण्टायन डे मनाएको जमघट भएको धारणा आएको छ कथामा । सत्य धरो धर्म –यस शीर्षकमा तीनवटा यौन सम्पर्कका कथालाई समायोजन गरिएको छ ।।एकमा आर्थिकको लागि, अर्को महिलाबाट अपहरण गराएर यौनसन्तुष्टि र अर्को दृश्यमा कलेज भित्रै यौन विकृतिले भरिएको कथा । मातृभक्त–आफ्नै छोरा एउटा कलेजमा पढाउने र अर्को डाक्टरले आमाको सम्पत्तिहात पारेर आमालाई ह्यूमपाइपमा लगेर छाडिएको र पुलिसले आमा घरकी दिलशोभालाई लानको लागि आग्रह गरेको । मार्मिक र कारुणिताले भरिएको कथा । जेठो छोरा मातेभक्त नामले परिचित भएको कथाकारले पहिचान गरेको । शोषण –छोरीको जिज्ञासालाई शोषणको अर्थ राज्यकोषको दूरुपयोग नै शोषण हो भन्ने धारणा प्रष्ट्यलाएको बदला –मुखियाको घरबाट भागेर पुलिस बनेको व्यक्तिले मुखियाकै छोराको टेम्पोलाई बग्गि खानामा पुर्याइ बदला लिएको धारणा । विकासको मूल – मन्त्रिपदमा पुगेकाले पनि कार्यक्रमलाई प्रष्टयाउनको अलवा भाषणमा विकासमा अवरोध पुर्याए कार्वाही गरिनेभन्दा कार्यकर्ताले विकासको मूल पुटाउँछौ भन्दै नारा लगाउनु भन्दै व्यङ्ग कसिएको छ ।तराई मधेशतिर –यस कथामा मधेशका गरिबहरूको यथार्थ, नागरिकता प्राप्त गर्न नसकी देश विहीन भएको र धनीमानी भारतीयले नागरिकता प्राप्त गरेको धारणा आएको छ । ज्यालादारी –एउटी गरिब महिलाको गरिबीमा ज्यालादारीमा काम लगाई यौन शोषण गरेको धारणा आएको छ । दहेज –श्याम शरणका तीनवटा छोरीमा जेठी छोरीलाई ३ लाख तिलक ३ लाख अन्य खर्च गरेको विवाह सम्पन्न गरे पनि दहेजकै कारणले माइतमा बस्न परेको अर्की छोरीको विवाहमा दहेजकै कारणले गर्दा झुण्डिएर मृत्यवरण भयो ।मुछको लडाइँ –यस कथामा एउटा जमिनदारले जिल्ला र अञ्चलमा जितेको मुद्दा क्षेत्रीयमा पुगेको केवल ५ धुर जग्गाको लागि किन यसरी लड्नु पर्योभन्दा यो जमिनको कुरा नभै मुछका लडाइँ है भन्दै वकिललाई लागेको रकम जति पनि तिर्न तयार तर मुद्दा जीत्नै पर्ने भएकोले वीस हजार रुपियाँ दिएको धारणा आएको छ ।
कार्कीजीका सबै कथाहरू पढेर अति सूक्ष्मसार मैले माथि नै, प्रष्ट्याएको छु ।नेपालको प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका कार्कीका कथाहरूले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र प्रशासनिक यथार्थतालाई प्रष्टरूपमा दर्शाउन सफल भएको देखिन्छ । कार्कीजी जहाँ जन्मनु भयो त्यहाँको भोगाई पनि बढ्तै हुने भयो । त्यहाँका कथाहरूले कार्कीजीका बालकदेखिका घटनाक्रमलाई समाएका छन् । सत्यतामा आधारित यी कथाहरूले तत्कालीन घटनाक्रमलाई अध्यायन गर्दा पाठकहरू रोमान्चित हुन्छन् । उहाँको प्रस्तुतिमा चुम्बकीय शक्ति छ । र्यौनमा धटित घटनाक्रमले पाठकलाई समेत उत्तेजित पार्दछ । यस्तो प्रकारको यौनका कथाको आन्वेषण, विश्लेषण र विना हिचकिच जसरी यौनमा स्त्री र पुरुष समागम गर्दछन् र आनन्द लिन्छन्, त्यो अनुभूति पाठकले पनि सहज रूपमा गर्छन् । त्यसो हुँदा कार्कीजीले आफ्ना कथामा यौनमनोविज्ञानलाई प्रचुरमात्रामा पाठकमा दिन सफल देखिन्छन् ।। कार्कीजीको अर्को लेखन विशेषता भनेको समाजिक यथार्थवाद पनि हो । उहाँले समाजमा घटित घटनाक्रमलाई सहज रूपमा उठाएका छन् । पाठककोसामु जस्ताको त्यस्तै पस्केका छन् । समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग प्रहार गर्नु पनि कार्कीका लेखनको विशेषता मान्न सकिन्छ । आजका श्रवण कुमार, जस्ता शीर्षकबाट आजका छोराले बाबु आमातिर देखाएको तिरस्कारको नमुना हो । कार्की एउटा मानववादी धारमा उभिने व्यक्ति हुन् र उनका कथाले मानववादी धारणालाई प्रष्टसँग बोकेका छन् । कार्कीजीका कथामा नारीसंवेदनाले उच्च स्थान पाएका छन् । कथाकारले जीवनदर्शनलाई बुझेका छन् र कथामा जीवनदर्शनलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
खोजमूलक कथाहरू– कथाकारले कतिपय कथामा अनुसन्धानको काम पनि गरेका छन् । जस्तै भाँड शब्दको प्रयोग सुदूर पवश्चिमबाट भएको धारणा आएको छ ।
प्रवृत्तिगत अध्ययन–
कार्कीजीका कथामा प्रवृत्ति गत अध्ययन गर्दा कथाकारले कथामा स्वच्छन्दतावादी अभिव्यक्ति, यथार्थ दृष्टिको्ण, रसिकह भवना, विवरणात्मकता, पारिवारिक पृष्ठभूमि, नारी सम्मान आदिलाई यथासम्भव, अङ्गालेका छन् ।
पात्र चयन–
कथाकारको अर्को महत्यपूर्ण पक्ष भनेको कथाका पात्रहरूको चयन हो । कथाकार कतिपय कथामा स्वयम आफै उपस्थित भएका छन् भने कतिपय सत्यतामा आधारित घटनामा सम्बधित पात्रहरूलाई समावेश गराएर कथालाई जीवन्त बनाएका छन् । यी कथामा काल्पनिक पात्रहरू भेटिदैनन् ।
भाषाशैली–
भाषा सरल छ । पात्रको परिवेशमा बोलिने भाषाको प्रयोग त्यसको सहजिकरणको लागि गरिएको अनुवादले गर्दा कथाहरू जीवन्त बनेका छन् । ठाउँ ठाउँमा उखानटुक्काहरूको प्रयोग गरिएका छन् । प्रस्तुति राम्रो छ । केलिकलामा अलिक गोपनीय प्रस्तुतिको आवश्यक्ता महसुस हुछ शृङ्गाररसले बाहुल्यता छाए पनि वीर, करुण, हाँस्य, अद्भूत, रौद्र शान्त आदि रसहरूको अनुभूति पाउन सकिन्छ ।
शीर्षकीकरण– तीनजुरेदेखि अनारखोलीसम्मशीर्षक यस कथासङ्ग्रहमा समावेश गरेका कथाका परिवेश, घटनाक्रमलाई केलाउँदा पूर्व पश्चिम उत्तर दक्षिणका घटित घटनाको समावेशीले शीर्षक सार्थ भएको महसुस हुन्छ ।
अतः कार्कीजीका यी कथाहरूको विश्लेषण जति गरे पनि सीमित देखिदैनन् यी कथाहरूले लामो इतिहासलाई समाएका छन् । पुरै नेपालको यथार्थतालाई कथा मार्फत प्रष्टयाउने प्रयास गरेका छन् । कहालीलाग्दो सुदूरको छुइप्रथा, जो आज पनि जीवतै देखिन्छ, लाई कथाले प्रष्टयाएको छ । विकृति विसङ्गति, विदेश–रोजगारले निम्त्याएको नेपाली समाजको कहाली लाग्दो अवस्थामा कथाकारको ध्यान गएको छ । मानव जीवनमा गरिने विविध किसिमका अनुभव । अनुभूतिलाइृ कथाहरूले प्रष्ट्याएका छन् । यो कथा कृृतिले नेपाली कथा विद्यामा एउटा कोशे ढुङ्गा थपे्को छ । यस्ता गहन कथाकारको सुस्वास्थ, दीर्घआयुको कामना सहित नविन कृति पढ्न पाइयोस् भन्ने धारणा सहित बिदा चाहन्छु ।
सदानन्द अभागी
कावासोती न.पा. –७, शातिचोक ।
२०७४ साल भाद्र महिना २१ गते
