Skip to content


अगोचर दुःख सिएर मुटुले
हामीले बाली पकायौं
अगम्य यात्रा हिँडेर मनले
तिमीले फसल उठायौ
अहर्निष परिश्रम फुलाएर
उनीहरूले विधब्ध निरङ्कुशता टुक्राटुक्रा गिँडे,
बिस्कुन भए मागहरू
तिस्कुलो भेटिएन पूर्तिको
अहम्मा टकराब छ –ओम्मा छैन
वयमा वैमनश्यता छ –व्योममा छैन
हामी किन एउटै पृथ्वीमा आफ्ना विचार लाद्न खोजिरहेका ?
के शक्तिशालीका लागि
कुनै कल्पनाशीलका लागि
अर्को पृथ्वीजस्तै पृथ्वी छैन र ?
आकासगङ्गा चहारेर एउटा मन
साँझ अफिसबाट घर फर्कँदा मनप्रसाद भै
गोरखधन्दामा क्लान्त गङ्गादेवीमाथि
संक्रमणकालीन शासनको फत्तुर जारी गर्छ,

यतिखेर
बाबीयोले नै सही
धाँजा फाटेका मनहरू बाट्न पाए
चोइटिएका मुटुहरू लिउन लगाएर टाल्न पाए
पटकपटक भैरहने
युद्धका रिहर्षलजस्ता युद्धलाई
कहिल्यै नहुने गरी टार्न पाए
जो सुकै शासक होस्
जो सुकै शासित होस्
के फरक पर्छ र ?
घामको झुल्का सबैको साझा हो
नदीको कलकल सबैका लागि हो
पवनको सुगन्ध
चन्द्ररश्मिको कान्ति
माटाको हरक
संगीतको नाद
के बाँड्नु पर्छ र ?
सनातन
सार्वभौम
यी मानव वस्तीका शिविरहरूमा
एक पसर खुसी पोखिए नि ठिक
एक छटाक सन्तुष्टि जोखिए नि बेस्,
हामीसँग
खुसी र सन्तुष्टिभन्दा चढ्न सकिने
अर्को शिखर छैन
तिमीसँग पनि स्वाभिमान र सम्मानभन्दा
लाउने अर्को आवरण छैन
उनीसँग
चित्ताकर्षक र चिन्तनभन्दा पनि महङ्गो
अर्को विचार छैन
समष्टिमा मिल्नुभन्दा ठूलो जित
व्यष्टिमा एकताभन्दा विशाल हित
यो पृथ्वीमा त के
अनन्त पृथ्वीमा पनि कतै छैन ।

पेशल आचार्य
टीकाथली
२०६५–०७–०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *