आँसुले नपखाल्ने
संसारको कुनै दुःख छैन
मिल्नुभन्दा ठूलो हित
कसैको पनि हुँदैन
जूनको शीतलताले
आजसम्म कसैलाई पनि
पोलेको था’छैन
पारिलो घामलाई
चर्चरी गाली गरेको
आजपर्यन्त सुनिएको छैन
सन्तान हुँदा नि दुःख
नहुँदा नि दुःख,
नहुँदा एक दुःख
हुँदा सयौं दुख
प्रेम गरेर विवाह गर
या विवाह गरेर प्रेम गर
न पछुताएको कोही छैन
पहिलाले गुलियोपछि अमिलो खाएझैँ हुन्छ,
दोस्राले अमिलोपछि गुलियो चबाएझैँ हुन्छ,
बाबुआमाको
आर्शीवादभन्दा ठूलो प्राप्ति
संसारमै केही हुँदैन
असल भार्याको प्रेमसँग
दाँजिने यो भवसागरमा
अर्को कुनै चिज छैन
साथी अनेकौ हुन्छन् – बनाइन्छन्
तर असल साथी
अत्यन्त थोरै हुन्छन्
युद्धमा सबैको क्षय
र शान्तिमा सबैको जय हुन्छ
वर्षाको आँसुले फूल रोइदिँदा
बिहान गाजल लत्पतिएछ ।
पेशल आचार्य
मन्थली
हालः सहायक प्राचार्य, मन्थली उमावि, मन्थली, रामेछाप ।
२०६५ चैत्र २७
