एक दिन डिउटी सिध्याएर कोठातर्फ जाँदै थिएँ, सुराकी ‘इ’ बन्दीकोठाको झ्यालमा उभिएर सानो ढुङ्गा खेलाइरहेको रहेछ । मैले उसलाई देख्नेबित्तिकै आँखा घुमाएँ । आफ्नो कोठातिर बढदै थिएँ मेरो ढाडमा कुनै चीज आएर ट्वाक्क ढोक्कियो । फर्केर हेर्दा त्यही सुराकी ‘इ’ले खेलाइरहेको ढुङ्गाजस्तो लाग्यो । मेरा आँखा सुराकी ‘इ’ कहाँ पुगे । उसले डिच्च गिजा देखाउँदै मलाई आफूकहाँ आउन सङ्केत गर्यो ।
मलाई झनक्क रिस उठ्यो, ‘कत्रो हिम्मत यसको ! यसले आफूलाई बिषालु सर्पहरूको बीचमा भएको अनुभूति गर्नू पर्ने ? ढुङ्गाले हिर्काएर पो ल्याउँछ ! के यसले आफू माओवादी हुँ र आर्मिको गिरफ्तारीमा छु भन्ने सोचेकै छैन ? ठीकै छ, यसले आफूलाई यिनीहरूले मार्न सक्छन् भन्ने कुरो सोच्दैन रे ? तर आफू यिनीहरूको मृत्यु बनेर गएका बखत परिस्थितिले कोल्टे फेरेको कुरा किन सोच्दैन यसले ?’
मेरो सम्झनामा पच्चरघाट आइपुग्यो, जहाँ सुराकी ‘इ’लाई हामीले यमराजको रुपमा भेटेका थियौं । बिहानैदेखि उसले हाम्रो गस्ती टोलीलाई सुनकोशीको पल्लोतीरबाट पच्छ्याइरहेको रहेछ । साँझ पाँचबजे पच्चरघाट नजिकै पुगेर हाम्रो टोली खाजाखान बस्यो । म, हिरा र राजेन्द्र तीनजना नजिकैको पुलनेर बसेर खाजाखाने विचारले हिँड्यौं ।
एउटी केटी पुल तरेर आएपछि हामी सोधपुछ गर्न थाल्यौं । सत्र–अठार वर्षकी अनुमान गर्न सकिने उक्त केटीले आफू काठमाडौँको एउटा कलेजमा पढ्ने जानकारी दिई । अनि हातमा समाएको प्लास्टिकको सानो थैलाबाट एउटा कापी देखाउँदै भनी— ‘झोलामा नआटेर हातमा पनि झुन्ड्याएकी छु ।’
हेर्दा सुशील देखिने उक्त केटीको कुरामा विश्वास मानेर हामीले झोला हेरेनौं । त्यसपछि पुलछेउ बसेर खाजा खान थाल्यौं । करिब पन्ध्र–बीस मिनेटपछि त्यही पुल तरेर एउटा लुरेतुरे केटो आउँदै गरेको देखियो । उसको पिठिउँमा पनि केटीको जस्तै झोला झुन्डिरहेको थियो ।
हामी गएर सोधपुछ गर्न थाल्यौं । उसले विद्यार्थीको परिचय–पत्र देखाउँदै बडो निस्फिक्रीसँग खुट्टो हल्लाएर भन्यो— ‘काठमाडौँमा मेडिकल साइन्स पढ्दै छु । घरमा भेटघाट र सातु सामल लिन आएको थिएँ ।’
मैले सोधेँ— ‘तिम्रो झोलामा के छ ?’
हाम्रो सवालमा उसले आश्चर्य प्रकट गर्दै भन्यो— ‘सरहरू पनि ठट्टा पो गर्न थाल्नुभयो !’ साथै उसले पिठिउँबाट झोला निकाल्दै भन्यो— ‘विद्यार्थीको झोलामा कापीकिताबबाहेक केको आशा राख्नुभएको छ र सर ? चाहनुहुन्छ भने खानतलासी लिन सक्नुहुन्छ ।’ झोला हामीतिर बढाउला जस्तो गर्यो ।
हाम्रो निम्ति उसको सरलता र निस्फिक्रीपना विश्वास गर्न पर्याप्त थियो तर पनि मैले भनेँ— ‘देऊ न त हेरौं, साइन्स पढ्नेहरूको किताब कति मोटा हुँदारहेछन् ।’
उसले झट्ट घडीमा आँखा पुर्याउँदै भन्यो— ‘ओहो…, साथी फुत्किसकेजस्तो छ, सर ! तपाईंहरूले एउटी केटी गएको देख्नुभएथ्यो ?’
मैले भनेँ— ‘हो, पन्ध्र–बीस मिनेट अगाडि एउटी केटी गएकी थिई ।’
केटाले हतारिँदै भन्यो— ‘उसको झोला पो जाँच्नुपर्थ्यो, अलमलिन्थी होला । कति टाढा पुगिहोला ? उसलाई भेट्नु छ सर, हिँडें म त ।’ झोला पिठिउँमा घुसार्दै हिँडिहाल्यो ।
‘केटीको झोला हेरेनौं भन्ने कुरा यसले कसरी चाल पायो !’ मेरो दिमागमा यो सवाल उठ्नेबित्तिकै कराएँ— ‘ए भाइ रुक ।’ अगाडि बढेर उसको झोला समाएँ । छामछुम पार्दा गह्रौं डल्लाजस्तो लागेपछि मैले साथीहरूलाई सङ्केत गरेँ । उनीहरूले केटालाई झ्यापझुप समाए ।
मैले झोला खोल्दै सोधेँ केटालाई— ‘यसमा के छ ?’
केटाले पहिलेझैं निस्फिक्रीसाथ भन्यो— ‘बम ।’ यसोभन्दा उसको चेहरामा डरत्रासको धर्कोसम्म थिएन । मानौं बम भन्ने चीज उसको कल्पनाको किताब हो । विद्यालय भनेको जङ्गल हो ।
उसका झोलामा तीनवटा बम भेट्टिए ।
मैले सोधेँ— ‘त्यस केटीको झोलामा पनि बम थियो ?’
उसले मुस्कुराउँदै स्वीकारात्मक सङ्केत गर्यो ।
‘किन बोकेको ?’
‘तपाईंहरूलाई एम्बुसमा पार्न ।’ उसको हिम्मत देख्दा लाग्थ्यो—ऊ मिहिनेती विद्यार्थी हो । शिक्षकले सोधेका प्रश्नहरूको जवाफ फुर्तीसाथ दिइरहेको छ । हाम्रा निम्ति उसले बोकेको बमभन्दा पनि उसको साहसमा झनै ठूलो विस्फोट देखियो ।
उसलाई अफिसमा पुर्यायौं । अनि केरकार गर्दा थाहा भयो—सिन्धुपाल्चोकको इन्चार्ज रहेछ । गस्ती टोलीलाई एम्बुसमा पार्न बिहानैदेखि नदीको पल्लोतिरबाट पछ्याइरहेको रहेछ । हाम्रो टोली खाजाखान बसेको देखेर उसले सोचेछ—यिनीहरू खाजा खाएर आउन्जेल पारि पुगेर पुलको गौंडामा एम्बुस थापिसक्नेछौं ।
वारि आइपुग्दा एम्बुस थाप्ने ठाउँ हेर्न आएकी केटी साथीको ठाउँमा हामीलाई भेट्यो ।
उसको बहादुरी र चतुर्याइँले हामीलाई छक्क पार्यो । कुटपिट गर्नुको साटो मुखमा पट्टी बाँधेर सुराकी बनायौं । नाम राखियो ‘सुराकी इ’ ।
एक दिन सुराकी ‘इ’ले हाम्र्रै अफिसको कर्मचारी सुरेशलाई सङ्केत गर्यो । पाँचखालमा नयाँ अफिस बनिरहेको थियो । सुरेश पानीको ट्याङ्कर चलाउने गर्थ्यो । उसलाई समातेर ट्याङ्कर चेक गर्दा पानीभित्र प्लास्टिकले बेरिएका पाँचवटा बम भेटिए ।
ड्राइभरमाथि अफिसीयल कारबाही सुरु भयो । सोधपुछका क्रममा उसले गाउँको एउटा बारीमा पुर्यायो । गहुँ लहलह झुलिरहेको थियो । ड्राइभरले निधारमा औंला रगड्दै भन्यो— ‘मैले ड्रम गाड्दा यहाँ बाँझै थियो ।’
जग्गाधनीसँग सोध्दा उसले केही थाहा नभएको कुरा गर्यो ।
ड्राइभरले निकैबेर सोचेर ड्रम गाडेको ठाउँ अनुमान लगायो । त्यस ठाउँमा खन्न सुरु भयो । करिब डेढ दुई मीटर खनेपछि ड्रम भेटियो । निकालेर हेर्दा बाइस लाख रुपैयाँ र जापानी येन, अमेरिकी डलरजस्ता पाँच देशका मुद्रा अनि थुप्रै गोलाबारुद भेटिए ।
——
सुराकी ‘इ’ मतिर आँखा गाडेर हेर्ने गर्दथ्यो । सोच्थें— मैले नै पक्रेकाले रिसाएको होला । मनमनै गाली गर्दो हो । बदलाको भावना पनि लिँदो हो ।
म सुराकी ‘इ’ कहाँ गएँ, ‘के छ हो इन्चार्ज भाइ ? आँखाको नानीले नै हिर्काउँलाजस्तो गरेर हेर्छौ नि सधैं मतिर ? आज त ढुङ्गाले पनि हिर्काउन पछि परेनौ ?’
उसले मुस्कुराउँदै भन्यो— ‘चाहेमा हामी एकअर्कालाई सहयोग गर्न सक्छौं ।’
मैले ओठ लेप्र्याउँदै भनेँ— ‘लाग्दैन, मलाई तिम्रो सहयोगको खाँचो छ जस्तो ।’
उसले भन्यो— ‘किन नि ! एम.पी.भी. (माइन प्रोटेक्टर भेहिकल) लिएर पोखरा जाने प्रोग्राम क्यान्सिल भएको हो ?’ सुराकी ‘इ’लाई मैले एम.पी.भी. चलाउँछु भन्ने थाहा रहेछ ।
मैले सोधेँ— ‘तिमी माओवादीको सुराकी हौ कि सेनाको, हँ ?’
‘तपाईंहरूको यो प्रोग्राम म गिरफ्तार हुनु अगावै तय भएको हैन र ?’
‘सुरेशले भनेको हो ?’
सुराकी ‘इ’ले टाउको दायाँबायाँ गर्दै भन्यो— ‘मेरो सुराकी अर्कै छ । एकपटक तपाईं काठमाडौँबाट एम.पी.भी.द्वारा ट्रकहरू स्कर्टिङ गर्दै वीरगञ्ज जाँदा उसैको सुराकीका आधारमा ज्यामिरेमा भिडन्त भएको थियो ? त्यहाँ एम्बुस थापेका छन् भन्ने कुराको चाल कसरी पाउनुभएथ्यो भन्नु न ।’
डर देखाई, धम्क्याई सुराकी ‘इ’बाट कुनै कुरा पत्ता लगाउन गाह्रो थियो । त्यसैले उसको कुरा मान्नु उचित ठानें । तैपनि मैले भनेँ— ‘त्यसबाट मलाई के फाइदा ?’
‘फाइदा हुनसक्छ’ भनेपछि म ज्यामिरेको घटना भन्न थालें— ‘एम.पी.भी. लिएर जाँदा कमान्डिङको ठाउँमा एकजना क्याप्टेन, म र एउटा सिपाही खाली ट्रकहरू स्कर्टिङ गर्दै वीरगञ्जतर्फ हिँड्यौं । सिपाहीले माथि बसेर गन कन्ट्रोल गरिरहेको थियो । केही अगाडि गएपछि मलाई एउटा मोटरसाइकलले पछ्याइरहेको जस्तो लाग्न थाल्यो । नारायणगढदेखि उक्त मोटरसाइकल हुइँकिएर अगाडि गयो । ज्यामिरेमा बुझारथ गर्नुपर्थ्यो । त्यसैले ट्रकहरू लाम लागे । म भने पार्किङलाई ठाउँ खोज्दै ट्रकको अगाडि पुगें । गाडी बाटैमा रोकेर उपयुक्त ठाउँ हेर्नलाई झरें ।
‘बाटाका दुवैतर्फ फाट्टफुट्ट पसलहरू थिए, बाँकी टाढाटाढासम्म मकैबारी देखिन्थ्यो । हामीलाई पछ्याउने मोटरसाइकल एउटा पसलछेउ पार्किङ गरेको देखें ।
‘एउटा लोकल केटो चुरोट तान्दै आइरहेको थियो, मनजिकै आएर भन्यो— ‘दाइ, त्यो आलो माटो भएको ठाउँमा एम्बुस थापेको छ ।’
‘यति भनिसकेर ऊ मकैबारीतिर हिँड्यो । मेरा आँखा आलो माटोतिर गए । त्यसपछि उक्त केटातर्फ फर्कें, ऊ बेपत्ता भइसकेछ ।
‘ज्यामिरेमा पहिले दुई–तीन पटक भिडन्त भएको थियो । त्यसैले माओवादीबारे जानकारी किन दिँदैनौ ? भनेर त्यहाँका पसलेहरूलाई हामीले झपारेका थियौं । त्यही भएर सायद मलाई त्यहाँ एम्बुस थापिएको जानकारी मिलेको थियो ।
‘मैले सबैलाई सावधान गराउँदै आलो माटोले बम छोपिएको जानकारी दिएँ । आलो माटो पछ्याउदै मकैबारी पुगेर हेर्दा तार भेटियो । तारलाई काटेर तान्दै जाँदा मकैबारीको बीचमा अवस्थित थोत्रो घरमा पुग्यौं । त्यहाँ कसैलाई भेटेनौं । फर्केर बम डिस्पोज गर्यौं ।
‘त्यो ठाउँ असुरक्षित ठानी म एम.पी.भी लिएर अगाडि बढें । मेरो गाडी निकै रफ्तारमा थियो । मेरो पछिपछि दुइटा ट्रक पनि हुइँकेर आइरहेका थिए । एउटा खोल्सामा पुगेका थियौं । अर्कोतिरबाट कोइला बोकेको ट्रक आयो । बाटो साँगुरो भएकाले साइड दिनलाई ट्रक रोकियो । अगाडि बाटोमा टाएर बालेर कालो पारेजस्तो देखेकाले म झन् हुइँकिएँ । त्यही कालो पारेको ठाउँमा एम्बुस राखिएको रहेछ, मलाई लक्षित गरेर पड्काएको बम मभन्दा पछिल्लो ट्रकको इन्जिनमा पर्न गयो । ट्रक आठ–दस मीटरमाथि पुगेर कोइला बोकेको ट्रकमा खस्यो । यत्तिकैमा माथि जङ्गलको भित्ताबाट सकेट बम बर्सिन थाले ।
‘मैले एम.पी.भी. एक्कासि मोडें । पसल भएको ठाउँमा लगेर रोक्ने सोचेको थिएँ, तर विस्फोट भएकै ठाउँमा रोकियो । जति कोसिस गर्दा पनि गाडी अगाडि बडेन । पछाडि हेर्दा बमको छिर्का लागेर टाएर पन्चर भइसकेको रहेछ । माथि बसेको सिपाही पनि गन चलेन भन्दै तल झर्यो ।
‘के भन्छ यो ?’ भनेर स्कर्टिङ कमान्डर माथि उक्ले । उनी गन र कार्तुस तानेर तल झरे । अनि टायरको आड लिएर गन चलाउन सुरु गरे । करिब तीन सय राउन्ड गोली चलाउँदा पनि माथिबाट सकेट बम बर्सिन कम भएन । त्यसपछि मैले त्यो पाखामा ग्रिनेड प्रहार गरेँ । माओवादीले भित्तैभरि बम लुकाएका रहेछन्, पूरै उल्टिएलाजस्तो गरी पड्कन थाल्यो । ‘ऐय्या मार्यो सालेले, मरें बाबै’ भन्दै केटाकेटीहरूको चिच्याहट सुनियो । त्यसपछि माथिबाट सकेट बम ओइरिन बन्द भयो । भिडन्त भएको थाहा पाउनेबित्तिकै हेटौंडाबाट मिलिटरी फोर्स आइपुग्यो ।
‘कोइलाको ट्रकमा बाबु ड्राइभर र छोरो कन्डक्टर रहेछन् । दुवै जना घाइते भए । तिनलाई अर्को ट्रकमा राखेर हेटौंडा अस्पतालतिर दौडाए ।’
‘त्यसपछिको घटना म भनूँ ?’ सुराकी ‘इ’ हौसियो— ‘घाइतेहरू बोकेर हेटौंडातिर दौडेको त्यो ट्रक हाम्रो ग्रिनेड प्रहारले खोल्सामा खस्यो । खोल्सैभरि बम बिछ्याएका थियौं, ट्रकभित्र बसेका जति हाँडीमा मकै भुटे जस्ता भए । यत्तिकैमा काठमाडौँबाट फाएर हेलिकप्टर आएको चाल पाएर हामी लुकिहाल्यौं । बाटो मास्तिरको जङ्गल हमला गर्न हामीलाई उपयुक्त हुन्थ्यो । त्यसैले बारीका पाखा, कुनाकाप्चा दगुर्ने गल्छेडा, नजिकैका खोल्सा जताजतै, जहाँजहाँ दुस्मनहरू लुक्न सक्थे, बम बिछ्याएका थियौं । तपाईंहरूको सर्च टोलीले त्यो सबै डिस्पोज गर्यो ।’
मैले भनेँ— ‘भन्नाले तिमी पनि त्यो घटनामा संलग्न थियौ ?’
‘तपाईंलाई पछ्याउने मोटरसाइकलको चालकमै थिएँ । अगाडि गएपछि मोटरसाइकल रोकेर मकैबारीको त्यही थोत्रो घरमा तार समाएर बसिरहेको थिएँ । त्यो तार तपाईंले तान्दै आएको देखेर सुइँकुच्चा ठोकें ।’
यति भनेपछि सुराकी ‘इ’ले एक छिन यताउता हेर्यो र साउती गर्दै भन्यो— ‘मलाई यहाँबाट भाग्ने बन्दोबस्त मिलाइदिनुस्, बदलामा एउटा सुराकीको सुराक दिन्छु, जो जतिखेरै तपाईंको मृत्यु पर्खेर बसेको हुन्छ । एम.पी.भी. लिएर स्कर्टिङ गर्ने हुनाले उसको निगरानी विशेषतः तपाईंमाथि नै छ ।’
डरत्रासले डग्नेवाला होइन भन्ने जान्दाजान्दै पनि हामीले उसलाई अनुहारै कच्याककुचुक हुने गरी कुट्यौं । सबै प्रकारका यातना दियौं तर पनि उसले सुराकीको नाम दिएन ।
एक साँझ करिब नौ बजेको हुँदो हो, मैले झ्यालबाट सुराकी ‘इ’ तर्फ चियाएँ । ऊ एउटा कुनामा डल्लिएको थियो । त्यसतर्फ हेर्दाहेर्दै सोच्न थालें— ‘यसले मेरो टाउकोमाथि मडारिइरहेको मृत्यु देखेको छ रे !’
मलाई जिस्क्याउन मन लाग्यो— ‘हेलो सुराकी यी !’
उसले बिस्तारै टाउको उठाएर मतिर हेर्यो । हामीले दिएको यातनाले गर्दा उसको अनुहार अरिङ्गालले चिलेझैं थुलथुलिएको थियो । उसका आँखा आँसुमा डुबेको देखेर छक्क पर्दै मैले भनेँ— ‘तिम्रा आँखामा आँसु !’ त्यत्रो यातना दिँदा पनि उसको मुखबाट पीडादायक स्वरबाहेक बाटो भुलेजस्तो उसको आँसु देखा परेको थिएन ।
माथि जङ्गलबाट फेरि ड्याम्मड्याम्म गोली चलेको आवाज आयो । सुराकी ‘इ’ छातीमा हात राखेर ‘ऐय्या…’ भन्दै घोप्टो पर्यो ।
त्यो देखेर मैले भनेँ— ‘वाह ! तिमी त नाटककार पनिरहेछौ ।’
ऊ झर्कियो— ‘सक्नुहुन्छ भने त्यो गोली चलाउन बन्द गराउनुस्, हैन भने मलाई डिस्टर्ब नगर्नुस् ।’
‘म यो गणको चिफ हो र तालिम रोक्न सक्ने ?’
‘कस्तो तालिम हुँदै छ ?’
‘त्यो मलाई थाहा छैन ।’
उसले मुख बङ्ग्याउँदै भन्यो— ‘दिनमा कोही खाडल खन्छन्, कोही गाउँतिर गएर मान्छे समात्छन् । राति छानबिनका लागि हेड अफिसमा लैजाने भन्छन् । माथि लगेर गोली हान्छन्, खाडलमा पुर्छन् ।’
उसका कुरा सुनेर म जिल्ल परें । वास्तवमा एक–दुई पटक खाल्टो खन्न म पनि गएको थिएँ । राति आएर तालिम गर्छन् भन्थे । उसले भनेजस्तो केही बन्दीहरूलाई हेड अफिस लैजाने भनेर राती यहाँबाट लग्छन् पनि ! त्यसपछि माथि खाल्टो खनेको ठाउँमा ड्याम्मड्याम्म गोली पनि चल्छ । आफैले खनेका खाल्टा पनि कुन प्रयोजनका लागि खनिन्थे, थाहै हुँदैनथ्यो ! मेरो सोचाइ भङ्ग गर्दै उसले भन्यो— ‘तपाईंसँगै बस्ने हवल्दार राई भाग्यो कि यहीँ छ ?’
‘ऊ किन भाग्छ र ?’
‘उसले मलाई देखेको थियो, चिन्यो होला !’
यस्तो रहस्यमयी कुरा गरेर ऊ अर्कोतिर फक्र्यो । निकैबेरसम्म मतिर नहेरेकाले कोठातिर गएँ । सबै साथीहरू सुत्न आइसकेका थिए, राई मनजिकैको खाटमा सुत्थ्यो । उसको खाट खाली थियो । मलाई सुराकी ‘इ’ले भनेको कुरा सम्झना भयो । साँच्चिकै भाग्यो कि क्या हो ? तर सुराकी ‘इ’लाई देखेर राई किन भाग्नुपर्ने ! मेरो दिमागमा थुप्रै आशङ्का जन्मिए ।
भोलिपल्ट पनि राईको अत्तोपत्तो नभएपछि मैले प्रमुख सेनानीलाई सुराकी ‘इ’ले भनेको कुरा भनेँ ।
‘त्यसको सामान चेक गरौं’ भनेर प्रमुख सेनानी हाम्रो कोठातिर लम्के । राईको सिरानमा ठूल्ठूला दुइटा बाकस थिए । बाकस खोलेर हेर्दा माथि कपडा र तल हजारहजारका नोटका गड्डी फेला परे । त्यो सबै अफिसमा लगियो । त्यसपछि तुरुन्त एउटा सर्च टोली राईको घरमा पुग्यो । साँझ उक्त टोलीले राई घरमा नपुगेको खबर पठायो ।
सुराकी ‘इ’लाई सोध्दा उसले मतर्फ सङ्केत गर्दै भन्यो— ‘मैले सरलाई एउटा सुराकी दिउँला भनेको थिएँ, त्यही हो ।’
प्रमुख सेनानीले सुराकी ‘इ’ तर्फ आँखा तर्दै भने— ‘यत्रो यातना दिँदा पनि राईका बारेमा किन नभनेको ? यसको सजाय अवश्य पाउँछौ ।’ अर्कोतिर फर्केर भने— ‘आज राति हेड अफिसमा बुझाउनेहरूको लिस्टमा यसको नाम पनि दर्ता गर ।’
सुराकी ‘इ’ले मुस्कुराउँदै भन्यो— ‘मेरा निम्ति पनि खाडल तयार भइसक्यो सर ?’
अफिसर झसँग भए । केहीबेरसम्म विचलित बने । अनि ‘यसलाई यहाँबाट लग’ भन्दै अर्कातिर हिँडे ।
राति मलाई निद्रा लागिरहेको थिएन ।
‘आज सुराकी ‘इ’ को यहाँबाट बिदाइ हुँदै छ रे, माथि जङ्गलमा लगेर बिदाइको सलामी दिने होलान् ।’ यस्तै सोचेर ओल्टेकोल्टे फर्किरहें । निकै बेरपछि ‘हैन, अहिले मेरो निद्रा पुर्याउने डिउटी हो !’ म निद्राको स्वागतमा जुटें । कान भने तिखै थिए । एक छिनमा ड्याम्म… ड्याम्म… सात पटक गोली चलेको सुनियो । म झसँग भएँ, अङ्गप्रत्यङ्ग शिथिल भएर आए । साँच्चिकै गोली चलेको हो या मेरा कान बजेका हुन् ? उठेर सुराकी ‘इ’लाई राखिएको कोठामा गएँ । त्यहाँ चकमन्न थियो । झ्यालबाट घाँटी तानी–तानी कोठैभरि आँखा घुमाएँ । अनि निराश हुँदै फर्के । मानौं त्यो डरलाग्दो कोठा सुराकी ‘इ’ जस्तै अर्को कुनै आगन्तुकको प्रतीक्षामा थियो ।
मेरो ध्यान जङ्गलतिर गयो । मेरा कानले दिएको सूचनाअनुरूप सातवटा गोली पड्केका थिए । ती सबै गोली सुराकी ‘इ’कै जिउमा ठोकिए ? कि सातैवटा खाल्टा खनिएका थिए ? यो देशमा यस प्रकार गोली कहिलेसम्म चल्छ ? सोच्दै ओछ्यानमा जाँदा राईको रित्तो खाट देखेर जिउ सिरिङ्ग भयो । मुटु एकाएक फुल्दै आयो, बरबराएँ— ‘सँगै खाने–बस्ने, हाँस्ने–खेल्ने, सुख–दुःख बाँड्ने अनि आफ्नै दौंतरीको मृत्युको चक्रव्यूह बुन्ने शैतान ! आज मृत्युको डरले कुनै कुनाकन्दरामा लुकिरहेको होलास् ? ढुक–ढुक तेरो मुटुले तैंलाई हिर्काइरहेको होला, हैन ?’
