Skip to content


काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।

त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।

कर्ममा विश्वास गर्ने स्वभाव भएर सुरुसुरुका दिनमा हाँसेर शिष्टचार देखाउँदै हात फैलाए पनि केही दिन चाहिँन तर सधैं एउटै ठाउँमा देखेर होला परिचित जस्तो हुनथालिसकेको थियो । साथै पैसा नदिँदा पनि पुनः अर्को दिन पनि हाँसेर त्यहीँ नियमित कर्म गरेको देखेपछि तलब बुझ्दाको दिन एव म त्यस्तै खुसी हुँदाका दिनमा दुईचार रुपैयाँ दिन बाध्य भएको थिएँ । यो कार्यले चार वर्षको निरन्तरता पाएको भए पनि औपचारिक रूपमा त्यो मगन्तेसँग बोल्ने र केही कुरा सोध्ने समय मिलेन एवम बोल्न चाहिनँ ।

सधैंझैँ आज पनि ऊ आफ्नो ड्युटीमा थियो म पनि आफ्नो ड्युटीमा जाने हतारमा थिए । अरुदिनभन्दा बढी दुई हात जोरेरै शिष्टाचार व्यक्त गर्दै थियो तर कलेज जान ढिलो भएकाले कुनै वास्ता नगरीकन बाटो लागेँ । पछिल्लो समय कामको चाप केही कम भएको थियो किनकि दुईचार वर्ष पढाएको कलेजबाट प्राप्त हुनुपर्ने रकमको बक्यौता ठूलै भइसकेको हुनाले अब पनि निरन्तरता दियो भने तातो दूध निल्नु कि उकेल्नुहुन्छ भनेर बाँकी तलब दिए देलान नभए कुनै जुनीमा ऋण खाइएको थियो, ऋण चुक्ता भयो भनेर छोडौला भन्ने निष्कर्षमा पुगेर छाडेको थिएँ । दुईचार महिनाको रस्साकसीपछि रकम प्राप्त गर्न सफल भएको थिएँ । मन खुसी हुँदै फर्किएको थिए किनकि नआउला भनेको रकम प्राप्त भयो ।

सधैंको मगन्तनारानले मेरो खुसी थाहा पाए जस्तो गरेर खुसी हुँदै हात फैलायो । उसको प्रस्तुति सधैंको एउटै होला तर मलाई त्यस दिनको बिदाइ र स्वागत विशेष जस्तो लागेको थियो । विचाराप्रति सहानुभूति लाग्यो जीवनभर पेटभरि खान पाएको छैन होला ? दुईचार हजार पाए त सानोतिनो नाङ्लोमा राखेर गरिने पसल थापेर बस्ला र केही सहज तरिकाले जीवन चलाउला जस्तो लाग्यो ।

म उसको अगाडि केहीबेर उभिएँ उसले थापिरहेको थोत्रो लुगा र अनुहारमा पीडा र अभाव देखेँ । उसले थपेको झुत्रो टालोमा केही पैसा जम्मा भइसकेका थिए । कार चढ्नेहरूले खानेभए भनेर माया मारेको पैसा आफ्नो गोजीमा छदैथियो त्यसैले मगन्तेको दु:खमा पनि केही सहयोग गर्ने रहर जाग्यो र गोजीवाट हजारका तीनवटा नोटहरू झिकेर मगन्तेको हातमा थमाइदिएँ । मगन्ते पनि आश्चर्य चकित पर्यो । अरू दिन एकदुई रुपैयाँ दिन कन्जुस्याइँ गर्ने मानिसले कसरी दियो भनेर होला ? वरिपरिका मानिसहरू पनि गहिरिएर हेर्दै थिए ।

मगन्तेलाई तीन हजार दिने पक्कै पनि यो पागल हो भन्ठान्दै होलान् ? तीन हजार दिँदा सुरुमा त मगन्तेले विश्वास नमानेर लिउँ कि नलिउँ भन्ने दोधारमा देखिन्थ्यो । जब मैले यो पैसा राख, माग्ने काम छाडेर सानोतिनो नाङ्ले पसल थाप भनेपछि हजुरको जय होस् भन्दै खुसी भएर पैसा राखेको थियो ।

मानिस त्यसमा पनि म जस्तो मानिसलाई खुसी हुन एव म आत्मसन्तुष्ट हुन ठूलो कुरा नै चाहिँदैन । आज खुसी हुने दुईवटा कुरा पाएको थिएँ । भोलिपल्ट कलेज जान निस्कदाँ सधैं झैँ गणेश मन्दिरको छेउमा हात फैलाएर स्वागत र बिदाइ गर्ने मानिस थिएन । सधैं देखिरहेको मानिस नदेख्दा सुरुसुरुमा त के छुट्यो के छुट्यो हुँदो रहेछ । एउटा मगन्तेको जीवन सुधारेकोमा भने भित्रभित्र गौरवान्वित महसुस गरेको थिएँ ।

यो हप्ता विशेष खुसी भएको देखेर हो कि बिहीबारको दिन बिदा परेकाले हो, गृहलक्ष्मीजीले आज बङ्गलामुखीदेवीको दर्शन गर्न जाने प्रस्ताव राखिन । उनको खुसीको लागि केही कुरा त स्वीकार गर्नैपर्छ नत्र झगडाको निहुँ बन्छ ।

मन्दिरको समीप पुग्दा टाढैबाट देखेँ मेरो परिचित मगन्तनारान मन्दिरको अर्को छेउमा गणेश मन्दिरकै शैलीमा माग्दै रहेछ । टाढैबाट प्रष्ट देखेँ । उसले पनि मलाई सिधै देख्यो तर मन्दिरको छाया परेर लुक्न खोज्दै थियो । म सरासर ऊ भएको ठाउँमा पुगेँ । उसले सङ्कोच मान्दै शिष्टाचार व्यक्त गर्यो । मेरो सहयोगको अवमूल्यन भएको महसुस गरेर म भित्रभित्र रिसले आगो भएको थिए तर केही क्षण केही बोलिनँ । उसले पनि मलाई नै हेरिरहेको थियो । आज त उसलाई केही पाठ सिकाएर जाने विचार गरेर भनेँ “ए भाइ मैले दिएको पैसा के गर्यौ र ? फेरि माग्न थालेछौ ? नाङ्ले पसल खोलेर आत्मनिर्भर बन भनेको होइन ?”

“हो हजुर म त आत्मनिर्भर नै छु नि मेरो लागि अरु कसले माग्देको छ र ? मैले नै मागेको त छु?”

मलाई पारा तातेर आयो । त्यो मगन्तेलाई अटेर विद्यार्थीलाईझैँ एक थप्पड पिट्न मन थियो तर पिट्ने आधार थिएन के गर्ने ? अनि भाइ मैले दिएको त्यत्रो रकम के गर्यौ त ? ऊ मुसुक्क मुस्कानका साथ भन्दै थियो त्यो पैसाको के कुरा गर्नुहुन्छ हजुर ? त्यसरी त मैले यो माग्ने पेसाबाट दैनिक १४/ १५ सय त नियमित कमाइ गरिराछु नि सबै रकम बचत हुने हो भने त मेरो पनि महिनाको ४०/५० हजार बचत हुन्थ्यो नि ? के गर्नु हजुरलाई नि थाहा छँदैछ नि ! यो पापी पेट त पाल्नै पर्यो नि ! दिउँसो दु:ख गरे पनि बेलुकी त मस्ती गर्नै पर्यो नि? होइन र हजुर ?? अब म बोल्ने अवस्थामा थिइनँ । मेरो सुटटाईँ र मेरो ज्ञानले ३०/३५ हजार कमाउन सकेको थिएन तर उसले झुत्रो टालो थापेको आधारमा मलाई चुनौती दिइरहेको थियो । खासमा त मगन्तेको हैसियतमा म पो रहेछु त्यस दिन बोध भएको थियो ।

आज मध्यरातसम्म निदाउन सकिरहेको छैन किनकि मलाई ठूलै कुराको ज्ञात भएको थियो । मेरो देशलाई गरिब देखाएर राज्य सञ्चालन गर्नेहरूले विदेशी दातृनिकायसँग किन हात फैलाइरहेका छन् भनेर ……बुझ्दैछु । मन्दिर फेर्ने मगन्ते र डोनर फेर्ने सुकिला मगन्तेको भीडमा म कहाँ छु खोज्दैछु । प्रत्येक निद्राको प्रहरमा घरिघरि त्यो मगन्ते अनि घरिघरि देश सञ्चालन गर्ने मगन्तेले मलाई प्रहार गरिरहेको भान भइरहन्छ ।…… मलाई प्रहार गरिरहेको भान भइरहन्छ ।

पोखरा-२८, कालिकास्थान
(हाल: कामनापा-११, बबरमहल)
(कथा वास्तविक जीवनमा आधारित भएको हुनाले कसैको जीवनमा असर परेमा माफ गर्नुहोला )

2017-09-18 15:01:40 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *