१
हिड्नु हुदैन कहिल्यै रहरमा भन्नुहुन्छ आमा
पर्नु हुदैन है कसैको भरमा भन्नुहुन्छ आमा
हात समाई बत्ती कात्न, टपरी गाँस्न सिकाउदै
सजिलो हुन्छ पराई घरमा भन्नुहुन्छ आमा ।।
२
परिवर्तन के भयो र खै सरकार उस्तै छ
अँझै पनि नारी माथि अन्याय अत्याचार उस्तै छ
ए सरकार तेरो अदालतमा कस्तो सजाए छ र
हत्या हिंसा वलात्कारको समाचार उस्तै छ ।।
३
अचेल समयले यसरी छल गर्दैछ
हेर चिताबाटै उम्किन बल गर्दैछ
जब आगो पचाएर अंगार ओकल्दै थिए
पछाडिबाट कसैले फेरि हलचल गर्दैछ ।।
