आज मैले आफू चालीस वर्ष दुईमहिना अठ्ठाइस दिन पुगेको दिन चस्मा किनेँ । उमेरले चालीसको डाँडो उक्लिँदै गर्दा आँखा केही कमजोर भएको अनुभूति हुनथाल्यो । खासगरी किताब या पत्रपत्रिकाका मसिना अक्षरहरू पढ्दा पहिले जुन दूरीमा राखेर देखिन्थ्यो, अब त्यसदूरीमा राखेर हेर्दा लथपथिएजस्तो, प्रष्ट नभएजस्तो हुन थाल्यो । किताब समातेको हातलाई तन्काएर आँखाको दूरीबाट अँझै टाढा लगेपछिमात्र देखिने भयो । पहिले पहिले सुन्थेँ, चालीस पुगेपछि आँखालाई चालिसा लाग्छ । बीस तेरा कुरा इस् भनेजस्तो बीस बाइसको लक्का जवानीमा अरुका यस्ता कुरालाई थोत्रा कुरा, नहुने कुरा भनेर खिल्ली उडाइन्थ्यो । खिल्ली नउडाएपनि बूढापाकाका कुरालाई हतपत मनले पत्यार गर्दैनथ्यो । आफ्नै आँखा कमजोर हुन थालेकोले शङ्का लाग्यो । अनि एकदिन मेरा समवयी साथी दीलबहादुरजीलाई भनेँ, “मेरो त आँखा अलि कमजोर भयो कि क्या हो ? किताबको साना अक्षर पढ्न कठिनाई हुन थाल्यो ।”
उहाँले सहमति जनाउनु भयो, “हो त यसपालिबाट मेरोपनि साना अक्षर पढ्नै हुँदैन । राति ‘जनआस्था’का अक्षरहरू पढ्नै सक्तीन ।” हामी दुवै जनाले साझा निष्कर्ष निकाल्यौँ । “हामीलाई चालीसाले छोएकै हो । एकचोटि आँखा जँचाउनपर्छ ।” नभन्दै केही समयपछि उहाँले आँखा जचाउँनुभएछ । डाक्टरले थोरै पावरको चस्मा किन्नलाई सिफारिस गर्यो र उहाँले चस्मा किन्नुभयो । उहाँले चस्मा किनेपछि मैलेपनि आँखा जचाउँन ढिलाई गरिनँ । उहाँलाई जस्तै मलाईपनि चस्माको सिफारिस गर्यो । र यतिखेर म चस्मा किनेर चारआँखे भएको छु । मेरो अनुहारका मौजुद दुई आँखाले मात्र काम नदिने भएकोले अरु दुई कृत्रिम आँखा थपिएका छन् । म आजबाट चारआँखे बनेको छु । अरु केही समयपछि दुईखुट्टेबाट तीनखुट्टे बनूलाँ अर्थात् हिड्नँलाई दुईखुट्टाको मात्र भर नहुँदा लौरो टेकेर हिँड्ने हुनुपर्ला । यी सबै कुरा शौख र रहरले भन्दापनि शरीरको आवश्यकताले घटित भैरहेका छन् । कतिपय मानिस आफ्नो व्यक्तित्वमा पाइन चढाउन, राम्रो देखिन, आँखाको कुटिल भाव छोप्नदेखि आँखाको अपाङ्गपन या कनाहपन लुकाउनको निम्ति चस्मा पहिरिन्छन् । जोखिममूलक काम गर्नेहरुले आँखाको सुरक्षणको निम्तिपनि थरिथरिका चस्मा लाएका हुन्छन् । मेरो चस्मा किनाइ भने रहरबश शान जमाउनभन्दा पनि बाध्यतावश आवश्यकताको कारणले किनिएको हो ।
शरीरको आवश्यकताले बाध्य भएर किनिएको कुरा त त्यतिखेर थाहा पाउँछु, जतिखेर चस्मा लाएर ठमठमी हिँड्न मलाई एक अदृश्य संकोचले गाँजेको हुन्छ । चस्मा छ गोजीमा, यसलाई निर्धक्क लाउन लज्जाबोध भैरहेछ । कसैले के पो भन्दो हो कि कसैले के पो सोच्तो हो कि अनेकन संशयका भावहरू मानसपटमा मडारिएका छन् । निसंकोच मानिसको जमातपनि मेरो वरिपरि शएर गरिरहेका छन्, जो मुखका प्राकृतिक दाँत उखेलेर कृत्रिम दाँत जडी हाँसिरहेका छन् । अर्थात् राम्रा दाँत लाउने रहरवश, भएका छँदाखाँदाका आफ्ना दाँत फुकालेर नक्कली दाँत लाएर हिँडेका छन् । आफ्नो अनुहारका प्राकृतिक आखीभौँ र परेला उखेलेर वा त्यसमाथि छुरा चलाएर कृत्रिम रौँ जडिरहेका छन् । आफ्नो प्राकृतिक केश र केशको रङ मासेर रहरैरहरमा अनेकौँ कृत्रिम रङका जुल्फी लर्काएर हिँड्ने मनुवाको जमातपनि हाम्रै वरिपरि घुमेको देखेकाछौँ ।
चस्माकै कुरा गर्दा, पैंतालीस वर्ष अघि कटकबहादुर हजुरबाले बालाई ल्याइदिएको गान्धी चस्माले काम गर्न छोडेको गुनासो पिताजीले धेरै दिन गरिरहनुभएको थियो । बिहान बिहान गीता पाठ गर्न दिउँसो दिउँसो गुणारत्नमाला, अर्जुनगीता र सतिसावित्री काव्य रसपानमा निमग्न हुने मेरा पिताजीलाई त्यस चस्माले धोका दिँदैथ्यो । डाक्टरले पहिले उहाँका आँखा जाँच्यो अनि मेरो जाँच्यो । सतासी वर्षीय पिताजीका आँखाको ज्योति देखेर डाक्टर चकित बन्यो “यो उमेरमा यति तगडा आँखा कमै मान्छेका हुन्छन् । सय वर्ष सम्मन पनि केही हुन्न । उसको प्रतिक्रियाले मलाई प्रशन्न बनायो । प्रशन्न यसकारण कि नब्बे वर्षको सँघारतर्फ लम्किँदै गर्नुभएका पिताजीका आँखाको रोशनी टसमस भएको रहनेछ । उल्टै चस्माको मात्र पावर सकिएको रहेछ । पुनः अर्को चस्माको सिफारिस डाक्टरले गरे । हातको ईशाराले पिताजीलाई डाक्टरले धेरै कुरा बुझाउन खोजे । यति तगडा आँखा भएका मानिसका कान भने बहिरा हुँदै गएका छन् । सानो र सामान्य आवाजमा बोलेको कुरा हतपत सुन्नुहुन्न । उहाँलाई कुरा बुझाउन निक्कै कस्सेर बोल्नुपर्छ । बार्धक्य अवस्थामा आँखा बिग्रेर देख्न नसक्ने हुनुभन्दा कान नसुन्ने हुनु नै ठिक रहेछ, किनभने अनावश्यक कुरा सुन्नु नपरेपछि बूढ्यौलीमा आधा तनाव बिसर्जन हुँदो रहेछ । छ्याङ्ग कान सुन्ने बेलाका पिताजी र अहिलेको अवस्थाका पिताजीको मनोभावलाई हेर्छु । उतिबेलाका पिताजी बढी नै तनाव र मानसिक द्वन्द्वको उल्झनमा पर्नुहुन्थ्यो । अहिले निद्र्वन्द्व, निर्ढुक्क बन्दै जानुभएको छ । तनाव र मानसिक अशान्ति सायद कर्णद्वारबाट मस्तिष्कभित्र छिर्दो रहेछ क्यार ।
नयाँ चस्मा फेरिदिएपछि पिताजी अहिले दिनको अधिकाँश हिस्सा काव्य र शास्त्र अध्ययनमा बिताउनुहुन्छ । धेरै नपढ्नु भन्छु, मान्नु हुन्न । यो उमेरमा पनि काव्यप्रतिको उहाँको लगाव स्तुत्य छ । पढ्दा आनन्दित हुने स्वभाव भएकोले नयाँ ठाउँमा घुम्न जाँदा सिलोक, शास्त्र र सवाईका कितावहरू खोजी खोजी ल्याइदिन्छु । पिताजीपनि अन्य कुराभन्दा किताबै ल्याइदिओस् भन्ने चाहना राख्नुहुन्छ ।
वार्धक्यको शिखरमा आरोहण गरेरपनि पढिकन नथाक्ने अर्का गुरु नजिक हुनुहुन्छ –राजदेव सिंह । असीको आसपासमा लम्किँदै गर्दापनि सरदर हामी युवाहरुभन्दा बढी नै पढ्नुहुन्छ । उहाँको किताब किन्ने बानी र पढ्ने बानीदेखि म कायल छु । उहाँसित नयाँ ठाउँको यात्रामा जाने सुयोग मिल्यो भने मनचिन्त्य ढंगले किताब किन्नुहुन्छ । ती किताबका भारी हामी बोकिदिन्छौँ । ती किताब बोक्नुमा मलाई परम अनन्दानुभूति हुन्छ । कतिपय ठाउँमा त लौ तपाई नै किताब छान्नुस्, मन लागेजति किताब किन्ने हो भनेर मलाई नै पुस्तक छनौट गर्ने काम सुम्पिनुहुन्छ । अक्सर उहाँसितको यात्रा मेरो लागि साह्रै नै आल्हादकारी बन्दछ ।
उमेरले पचहत्तर नाघिसकेर पनि किताब किन्ने रहर र जोश अलिकतिपनि घटेको छैन उहाँको । मैले देखेको छु, उहाँको सिरानीमा तीनखालका चस्मा छन् । पढ्दै गर्दा एकखालको चस्माले काम दिएन भने अर्को पावरको चस्मा आँखमा ल्याएर पढ्न थाल्नुहुन्छ, त्यसले पनि काम गर्न छोडेपछि अर्को शक्तिशाली चस्माले पढ्नथाल्नुहुन्छ । अहिलेपनि सरदर दिनको आठ घण्टा नपढेको दिन हुन्न । उहाँका ती तीनैवटा चस्माप्रति मेरो अगाध आदरभाव छ । यो उमेरमा पढाइलाई कम गर्नुस्भन्दा अध्ययन पनि एक किसिमको ध्यानै हो भनेर झन कस्सेर पढ्नुहुन्छ । ज्ञानविज्ञानका हजारौँ ठेलीहरू पढ्न पाउने ती भाग्यमानी जातका चस्मालाई उहाँको घर पुग्दाखेरी प्रेमले स्पर्श गर्न मन लाग्छ । मलाई धेरै पढ्ने मानिसले लाएका चस्मा मात्र होइन; उनीहरुले लगाएका लुगाकपडा जुत्ताप्रति पनि आदरको भाव जागेर आउँछ । अरुचिजको तुलनामा पढन्ताहरुको चस्माप्रति मेरो विशेष झुकाव रहन्छ, त्यसप्रति विशेष आदरभाव रहन्छ । एकै बसाइमा सोह्र घण्टासम्म पढ्नसक्ने यदुनाथ खनालदेखि डा. बाबुराम भट्टराइसम्मका पढन्ताहरुको चस्माप्रति पूराका पूरा आदरभाव मेरो भित्री हृदयमा भरिएको छ । पढेर नथाक्ने आँखाहरुलाई शक्ति दिन पाएका ती चस्माहरुप्रति म नतमस्तक हुन्छु ।
गाउँमा एकजना नब्बे बयानब्बे वर्ष काटेका खत्री बा छन् । उनका आँखाको तेज अहिलेपनि जिउँका तिउँ छ । एकरति कमजोर भएको छैन । तर उनका नाति पनातिहरुले आँखा कमजोर भएर आँखामा चस्मा लाएका छन् । एकदिन मैले पुस्तकका मसिना अक्षर नांगो आँखाले पढिरहेका ती बालाई सोधें, “बा यी अक्षर देख्नुहुन्छ । तपाईका छोरानातिले चस्मा लाइसके । तपाई चस्मा बिनै किताब हेर्नुहुन्छ । तास खेल्नुहुन्छ ।”
हक्की बूढाले जवाफ दिए –“आऽऽ नानी आजभोलिका मोरा केटाहरुले रक्सीले आँखा डढाइहाले नि ।”
बूढाको जवाफ सुनेर त्यहाँ भएका मान्छेहरू गलल हाँसे । बूढाको आशय थियो, आजभोलिका युवायुवती बेलैमाथिबाट मद्यपानमा डुब्छन् । अनि त्यसैको असरले आँखाको ज्योति असमयमै डढेर जान्छ ।
चस्माले दृश्यजगत् नियाल्न शक्ति दिने या बल पुर्याउने कुरा त छँदैछ । कहिलेकाहीँ चस्माले मानिसको अपाङ्गपन छोपेर क्षणिक नै किन नहोस् साङ्गताको भ्रमपनि दिँदोरहेछ । त्यस्तोखाले भ्रममा मआफैँ कतिचोटि परेको छु । एकचोटि शारीरिक रुपमा सर्वाङ्ग सुन्दर र हट्टाकट्टा एकजना दृष्टिविहीन साथी कालो चस्मा पहिरेर अर्को साथीसँग हात समाएर गफ गर्दैगर्दै आए, पहिलोचोटि उनी दृष्टिविहीन छन् भन्ने कुरा मैले भेउ नै पाइनँ, ती साथीलाई मैले पहिलोचोटि देखेको थिएँ, त्यसको निकै पछिमात्र मलाई थाहा भयो –उनी त दृष्टिविहीन (अन्धा) पो रहेछन् । उनको लवाइखुवाइ, चस्मा पहिर्याइले उनी नेत्रहीन छन् भन्ने कुरा कसैले सोच्न पनि सक्तैन । चस्माले मानिसको कमजोरी ढाकछोप गर्ने मात्र होइन । कतिपय कालो चस्मा लाएर हिँडेका मान्छेहरू सामुन्नेमा भेटिएको परिचितलाई पनि नचिनेको या नदेखेको अभिनय गर्छन् । कालोचश्मा लाउनेका आँखा अर्को मान्छेले नदेख्नु स्वभाविक हो तर चस्मा लाउनेले अगाडि सामुन्नेको परिचित मानिसको अनुहार नदेखेको स्वाङ्ग गर्नुचाहिँ ठूलो विडम्वना ठानेको छु । देखेर पनि नदेखेको स्वाङ गर्ने चस्माधारीप्रति मेरो कुनै गुनासो छैन, न त छ कुनै बैरभाव नै । बरु म त्यही कालो चस्मालाई मुरीमुरी साधुवाद दिन्छु । मानिसको ढोँग, आडम्बर र बडप्पनलाई बढाउने ताकत त्यही कालो चस्माभित्र छ । मानिसलाई नाटके, चटके र स्वाङे बनाउने जसपनी त्यसलाई दिदाँ अनर्थ हुँदैन । चस्मामा मानिसलाई भ्रमित पार्ने, सशंकित बनाउने शक्ति हुन्नथ्यो भने दोषी चस्मा कथा वि.पी.ले किन रचना गर्थे होला !
चस्माकै कुरा गर्दा हामी केटाकेटी छँदै एउटा हल्ला सुनिन्थ्यो –‘राजाका भाइ धिरेन्द्रसँग यस्तो चस्मा छ अरे । जसले लुगा लगाएको मानिसलाई पनि नाङ्गै देखाइदिन्छ अरे । त्यही चस्मा लाएर ऊ युवतीहरुलाई हेर्छन् अरे । त्यतिखेर पोखरामा नमितासुनिता नामका केटी अपहरण र बलात्कारपछि मारिएका थिए । गुप्तरुपमा त्यसकाण्डमा अधिराज कुमार धिरेन्द्र शाहको नाम जोडिएको थियो । धिरेन्द्रको नाम आउने बित्तिकै कपडालाई पारदर्शी बनाइदिने उसले लगाउने चस्माको कुरा आउँथ्यो । त्यो चस्मा ऊसँग थियो थिएन, त्यो मलाई थाहा छैन तर भयंकर अपराध र पापकाण्डको रचना गर्ने मानिस अक्सर सार्वजनिक रुपमा हिँडडुल गर्दा आफ्ना अपराधी आँखा छोप्न कालो चस्मा लगाउने गर्दछन् । तर कालो चस्माधारी सबै मानिस अपराधी हुन्छन्, मेरो भनाइको आशय किमार्थ यो होइन । कतिपयले आँखाको सुरक्षाको लागि, कतिपयले डाक्टरको सिफारिसमा नलाई नहुने भएकोले लगाएका हुन्छन्, ती चस्माप्रति भने पूराका पूरा सम्मान भाव छ । तर आफ्ना कुटिल भाव छोप्न पहिरेका चस्माप्रति मेरो घृणा छ ।
चस्माको संसारमा गान्धी चस्माको छुट्टै आदरभाव छ । अहिलेपनि गान्धी चस्माको मोडेल छिटफुट रुपमा बजारमा देख्न पाइन्छ । त्यस मोडेलको चस्मा लाउने मान्छे देख्नेबित्तिकै गान्धीको सत्यनिष्ठाको व्यक्तित्व स्मृतिमा सजीव भएर आउँछ । गान्धीले लगाउने चस्माको मात्र होइन, उनले लगाउने र प्रयोग गर्ने प्रत्येक वस्तुका प्रतीकात्मक अर्थ थिए भनिन्छ । गान्धीको चस्मा दूरदृष्टिको सूचक थियो भने उनले कन्दनीमा झुण्ड्याउने घडीको अर्थ समयप्रतिको सचेतता थियो । उनले कम्मरमा बेरेको धोतीको अर्थ आवश्यकता अनुसारको उपभोग गर या आफ्नो उत्पादन अनुसारको कपडा लगाऊ भन्ने थियो । तर गान्धीका रोलमोडेल यी शिक्षाहरू भारतीयहरुले कति व्यवहारमा लागु गर्न सकेहोला, अनि हामीले कति अनुकरण गर्न सक्यौँ होला, अनगिन्ती प्रश्नवाचक चिन्हहरू छन् । गान्धीको आँखामा पुराना जमानाको पुरानो मोडेलको चस्मा थियो तर उनको नयन रोशनीमा सुदूर अतितसम्म चियाउन सक्ने दूरदृष्टि थियो । अहिले हाम्रा हरेक नेताहरुका आँखामा टल्किने पालिसदार चस्मा त छ तर दूरदृष्टि भने शून्य छ । त्यसैले देशले दुःख पाइरहेको छ । जनताले कष्टका कहर काटिरहेका छन् । गान्धीको चस्माको प्रतीकात्मक अर्थ त के आफ्नै देशका भट्टराईका सुराही, छाता र ट्याङ्का अर्थबाट कति कुरा सिक्नुपर्ने हो सिक्न सकिराखेका छैनन् ।
चस्मासित गाँसिएको अर्को मनपर्ने प्रतिक छ बाइवलमा । स्वर्गमा शरावको चस्मा छ अरे । यदि त्यो शरावको चस्मा लगाउन पाए, हेराइ कति आनन्दमय हुन्थ्यो होला । मान्छे सबै तनावबाट मुक्त मदमस्त प्राणी बन्थ्यो होला । सायद यशुले भौतिक वस्तुबाट निर्मित चस्माको कुरा गरिरहेका छैनन् यस प्रतीकमा । न त कोदाको तीनपाने रक्सीलाई नै संकत गरेका हुन् । उनको गुढ अर्थ व्यञ्जनात्मक छ, उनको संकेत मानस् जगत्तिर केन्द्रिंत छ । बुझेका होलान् यशु अनुयायीहरुले त्यो प्रतीकलाई ? प्रश्न जन्मिरहेछन्, उत्तर खोजिरहेको छु । शरावको चस्माको अर्थ के होला ? कुनै विज्ञ पास्टरलाई सोध्ने इच्छा मनमै थन्किरहेको छ । तर यतिखेर भर्खरै किनेको मेरो गोजीको चस्मालाई साधुवाद दिन्छु । धन्य छ चस्मा तेरो करामत । महिनौँ सुतेको मेरो कलमलाई उठेर कागजका पानाभरि दगुर्ने बनाइस् । धन्य छ चस्मा तेरो महिमा महिनौँ बाँझो पल्टिएर शुष्क बनेको मस्तिष्कलाई ऊर्वर बनाइस् । तेरो शक्ति बन्दनीय छ, आँखाको दृष्टिदोष निन्दनीय छ । जय चस्मा ! जय दूरदृष्टि ।
समाप्त
२०६७ मंसिर १६ गते
