८ पुस, २०७४
नेपालगञ्जः
कवि नवराज पराजुलीको नेपालगञ्जमा कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले ५ वटा कविता वाचन गरेर सुनाए ।
करिब १ घण्टाभन्दा बढी समय उनले आफ्ना शसक्त कविताहरू वाचन गरे । पराजुलीले च्याउ, सगरमाथाको गहिराइ, ह्याब्बी बढ्डे, कविता वाचन गर्दा दर्शकहरू कति धेरै पटक भावुक बने । उनले खोया र मैझारोको कविताले प्रेमलाई छोएर संयोग र वियोगको प्रसङ्गलाई उठाएका थिए ।

कवि पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराई’ले २०७३ को पद्यश्री पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा कथाकार सनत रेग्मीले कवि नवराज पराजुलीका कविता युवा पुस्ताकै सबैभन्दा उत्कृष्ट भएको बताएका छन् । कार्यक्रममा बोल्दै कथाकार रेग्मीले कवि पराजुलीका कवितामा जीव्रो भएको र उनको कविताले बोल्ने चेष्ठा गरेको बताएका छन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि, प्रहरी वरिष्ठ उपरीक्षक तथा कथाकार महेश विक्रम शाहले आफू कवि नवराजको कविताको प्रशंसक भएको स्वीकार गरेका छन् । कवि पराजुलीका कविता कलात्मक भएर पनि सरल भएको बताएका छन् ।
कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य हरि प्रसाद तिमील्सिना, नेपाली साहित्य परिवारका अध्यक्ष डम्मर पुन, साहित्यकारहरू महानन्द ढकाल, पूर्ण समिर महतारा, कपिल अन्जान लागयतको उपस्थितिरहेको थियो ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत विद्यार्थीहरुले दर्जन बढी नाँच, गीत प्रस्तुत गरेका थिए । कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख, गणेश रेग्मीले आगामि दिनहरुमा साहित्य र सांस्कृतिक कार्यक्रमहरू गरी उनीहरुको क्षमता बढाउने कार्यक्रमहरू गर्न आफू तयार रहेको बताए ।
