आज पनि उत्तिकै सम्झिरहेको छु
उनी गएपछि
हामीले खेलेको बगरको किनारामा,
बनाएको घर कैयौ पल्ट ढल्यो होला
तर समयले छुटाए पनि
कहिल्यै ढलेन आशाहरू
टुटेन कहिल्यै विश्वासका ताराहरू
हामीले छोएको त्यो नदीको पानी
कैयौ संसार घुम्यो होला
त्योभन्दा बढी घुमेको
तिम्रो स्मृति, मेरो आँखामा
आज पनि उत्तिनै साक्षी छन्
म नगएको कुरै पल रहेन
जहाँ तिम्रो हाँसो छोडिएको थियो
जहाँ तिमी र म भाँडाकुटी खेल्दा
सपनाहरू बुनेका थियौ
अनि कति पटक त तिम्रो सिउदो
बालुवाले भोरेको थिए
हो त्यही बगर साक्षी छ
सोध नदिसँग
जहाँ मेरा आँसुहरू मिसिएका छन्
नदीमा हेर्दै आफ्नो तस्बिरसँगै सोध्थ्यौ,
के हामी पनि मायालाई यसै गरी
सागरसम्म पुर्याउन सक्छौ ?
आज सपना जस्तै लाग्छ होला तिमीलाई
जब क्षितिजमा घामहरू डुब्दै जान्थे
आकासबाट जुन अनि ताराले जिस्क्याउथ्यो
अनि हामी भित्र लुकेको प्रेम
छताछुल्ल धर्तीमा पोखिन्थ्यो
र उनी भित्र रहेका हिमाल पहाड
झरना छाँगा र छहरासँग
मस्त खेलिरहन्थे
साक्षि छ त्यही रात जुन रात हामी मातिएका थियौ
पोखिएका थियौ
आज त्यस्ता कैयौ रातहरू
एक्लै, एक्लै मारिसके
हामीले छोएको नदी सागर बनी सक्दा पनि
जुनले कैयौ रात पर्खिदा पनि
त्यही घाम उदाउने
क्षितिजमा बुढो
रुख जस्तै भै
जहाँबाट बिलाएकी थिइन्
त्यही उनको प्रतिक्षामा
बसिरहेको छुर
रामकृष्ण अनायास, कविडाँडा
