जताततै खुसी नै खुसी छाएको छ । चराचुरूङीहरू चिरबिराईरहेका छन् । मानौ उनीहरूको भाषामा रमाइलोको अनुभव साटासाट गरिरहेका हुँदाहुन, अनि भालेले पोथीलाई बोलाइरहेको हुँदो हो । समले उल्लेख गरे जस्तै कति स्वतन्त्र र स्वच्छन्द छ आकाशमा उड्ने चरीहरूलाई ।
“म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु, साच्चै चैत्र-वैशाखको उजाड मनलाई पनि मिल्के, जलजलेमा ढकमक्क फुलेको रङ्गीचङ्गी लालीगुराँसले शान्त पारिदिन्छ । अनि हराउँछ र बहलाउन थाल्छ जस्तै कठोर मन पनि । भावना न हो, कति वहन्छ हावामा । चारैतिर खुलेकाले खुल्ला आकाशको दृष्य, क्षितिजलाई नियाल्दा आकाशको किनारासम्म देखिने टलपलाई रहेको घाम अस्ताउन लागेको दृष्य । यतिबेला यी नै चिरबिराउने चराहरूको आवाजसँगै म पनि चिरबिराए जस्तो गरिरहेको छु । नजिकैको लालीगुराँस चुँड्न पुग्छु अनि चुम्न थाल्छु र तुलना गर्न पुग्छु लालीगुराँसको रङ्ग र जवानीको रङ्ग आखिर उस्तै- उस्तै त हो नी हैन ?
एकातिर मकालु हिमाल मुस्कुराएको छ भने अर्कोतिर कञ्चनङ्घा हिमाल टलक्क टल्केको छ । सफा छ मौसम, मिल्के जलजलेको, अनि कति सुन्दर र स्वच्छ छ यहाँको मौसम । यहाँबाट देखिने दुवै हिमाललाई आफूभित्र संगालेर गुफापोखरी- झन् आˆनै तरङ्गमा तरंगित भएर छचल्किएको छ । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको बयान गर्न गाह्रो छ । तीनजुरे, मिल्के र जलजले क्षेत्रमा फुलेका राताम्मे र सेताम्मे लालीगुराँसले यस क्षेत्रलाई सोभायमान बनाएको छ । चैत्र-वैशाखको फुङ्ग उडेको मौसमले कैयौँ ठाउँलाई लालीगुराँसले सजाउँदा आˆनो सुन्दर वैँश पस्किएर पर्यटकहरूको स्वागातार्थ बसिरहेको जस्तो लाग्छ । २८ प्रजातिका लालीगुराँसले सजिएर बसेको यो क्षेत्र संरक्षितक्षेत्र घोषित भइसकेको कारण लालीगुराँसका प्रजातिहरूको अध्ययन गर्ने उपयुक्त स्थलसमेत बनेको छ । त्यसैले पनि रमाईलो पर्यटकिय क्षेत्र अब झन लालीगुराँसको अध्ययन गर्नेहरूको विश्वविद्यालय बन्ने देखिन्छ । के युवा के युवती , स्वदेशी हुन या विदेशी सबैको मन तानिरहेको हुन्छ मिल्के र जलजलेले । अझ त्यसमा पनि यातायातको सुविधा पुगेको धरान, बिराटनगर, झापा र धनकुटालगायतका सहरहरूबाट समेत यस क्षेत्रमा हजारौँ युवायुवतीहरू मनोरञ्जनका लागि आउने गर्छन । हुन पनि हो, धेरै युवायुवतीहरू यही क्षेत्रमा आएर आˆनो प्रेमको सुरूवात गर्ने गर्छन् भने एक आपसमा प्रेम साटासाट गर्छन् । २ हजार ८ सय ७० मिटरदेखि २ हजार ९ सय ६० मिटरको क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई राष्ट्रिय निकुन्ज बनाउन सके यसले यस क्षेत्रको मात्र नभएर विश्वकै ध्यान आफूतिर तान्ने थियो ।
यहाँ १ हजार २ सयदेखि ५ हजार मिटर सम्मको उचाईमा फुल्ने लालीगुराँस फेला परेको छ । नेपालमा यहीँ उचाईको लेकाली भुभागमा ३० प्रजातीका लालीगुराँस फुल्ने गर्छन् । २०५३ सालमा लालीगुराँस संरक्षण क्षेत्र घोषणा भएपछि यो ठाउँले झन् पर्यटकीय महत्व पाएको छ । यतिबेला पर्यटकीय क्षेत्रको भ्रमण गर्न आएका विदेशी पर्यटकहरू मिल्के र जलजले क्षेत्रमा छन् । उनीहरू बाटोमा लालीगुराँसँग खेल्दै आˆनो क्यामरामा लालीगुराँसको सौन्दर्यलाई कैद गर्न तल्लीन छन । उनीहरू एक आपसमा लालीगुराँसको गुलावमय थुङ्गा चुम्न पनि त्यतीकै लालयित देखिन्छन् । त्यसो त मिल्के, जलजलेमा लालीगुराँस मात्र छैन, पर्यटकहरूको मन तान्ने गुफापोखरीको कञ्चन दृष्य र त्यसमा अवलोकन गर्न सकिने डुबुल्कि मार्दै गरेका माछाहरूको आकृति पनि झन मनमोहक छ । मिल्के, जलजलेको डाँडामा पुगेपछि देखिने मकालु हिमाल, कञ्चनजङ्घा हिमाल र तराईका फाँटहरूले आगन्तुकहरूको मन बहलाईरहेको भान हुन्छ । चराचुरूङीको चिरबिरी आवाज कोइली, लुईंचे, मयुर, मृग लगायतका पशुपंक्षीहरूले मिल्के , जलजलेको रमणीय वातावरणलाई अझ मनमोहक बनाएको छ । अनि भन्न मन लाग्छ मिल्के जलजलेको छातीभरि लालीगुराँस ।
विश्वमा पाइने ८ सय प्रजातिका लालीगुराँस मध्ये नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रको ५ प्रजातिका र तीनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइएकाले यो क्षेत्र विश्वकै नमूना लालीगुराँस संरक्षण क्षेत्र बन्दै गएको छ ।
